site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘ग्ल्यामरस’ रेडियोका सेलिब्रिटी
Sarbottam CementSarbottam Cement

— नरेश फुयाँल


अहिलेका अनुभवी र नामी पत्रकार नजन्मिँदै रेडियो नेपालमा समाचार पढ्ने ध्रुव थापालाई विशेषणले सिँगार्न खोज्ने हो भने एउटा वाक्य प्रशस्त हुन्छ— उनी रेडियो पत्रकारिताका सिंगो युग हुन् । रेडियो नेपाल र नेपाल टेलिभिजनमा सुनिने स्व. प्रवीण गिरीभन्दा पनि अगाडि रेडियोको तरंगमा फैलिएका पत्रकार हुन् ध्रुव । त्यसैले अनुभवका चाङ छन् उनीसँग । कहाँ कसरी प्रस्तुत हुने— उनलाई राम्र्रो ज्ञान छ ।

राजाबाट पाएको तक्मा

Prabhu Bank
Agni Group
NIC Asia

पञ्चायत उत्कर्षमा हुँदा दरबारबाट राजा आफ्नो परिवारसहित विभिन्न ठाउँ पुग्थे । शुक्रबार जुन ठाउँमा पुगेका छन्, त्यहाँ सांस्कृतिक कार्यक्रम गर्नुपथ्र्यो । त्यस्तो कार्यक्रममा उद्घोषणको काम रेडियो नेपालका कर्मचारीले गर्थे । ०४५ सालमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित ज्ञानेन्द्र र कोमल पनि सुर्खेत पुगेका थिए । काठमाडौं फर्किने अघिल्लो दिन त्यहाँका प्रहरी, सेना, कर्मचारी तथा स्थानीयले राजाका अगाडि सांस्कृतिक कार्यक्रम गर्नुपर्ने थियो । त्यसको उद्घोषण ध्रुवले गर्नुपर्ने भयो ।

ध्रुवलाई त्यहाँका एक कर्नेलले भने, “ध्रुवजी ! १५ मिनेट गज्जबले कार्यक्रम चलाइदिनुस्, त्यसपछि माइला सरकार गइबक्सिन्छ, अनि जसरी चलाए पनि हुन्छ ।”

Global Ime bank

ध्रुवले भने, “म आफ्नै किसिमले कार्यक्रम चलाउँछु ।”

“होइन, माइला सरकार कडा होइबक्सिन्छ । अलि ध्यान दिनुपर्छ,” कर्नेलले ध्रुवलाई सम्झाउने प्रयास गरे ।

ध्रुवले त्यहाँको स्थानीय तामाङ सेलोसहित चार वटा गीत उनीहरूकै राख्ने तयारी गरे । त्यो देखेर पन्त थरका जर्नेलले भने, “भएन ध्रुवजी । यो तामाङहरूको गीत काट्नु प¥यो । माइलो सरकारले रचाइबक्सिन्न ।”

ध्रुवले भने, “होइन यसको जिम्मेवारी म लिन्छु, तपाईंलाई कुनै अप्ठ्यारो पर्दैन, ढुक्क हुनुस् ।”

हलमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित ज्ञानेन्द्र र कोमल आए । ध्रुवले कार्यक्रम शुरु गरे । स्वागत नै उनले तामाङ सेलोबाट गराए । अरु तीन वटा गीत पनि उनले तामाङ भाषाका सुनाए र नृत्य गर्न लगाए । ती गीतको अर्थ र भाव भने धु्रव माइकबाटै जानकारी दिन्थे । कर्नेलले ‘रुचाइबक्सिन्न’ भनेका ‘माइला सरकार’ले समेत कार्यक्रम मन पराएर ताली पो बजाए । अक्सर १५ मिनेट कार्यक्रममा बस्ने ज्ञानेन्द्र तीन घण्टा बसे । वीरेन्द्र मुसुमुसु हाँस्थे । ऐश्वर्य र कोमलले पनि खुब मजा लिए ।

कार्यक्रम सकिएपछि जर्नेल कृष्णबहादुर गुरुङले ध्रुवलाई भने, “ओहो ध्रुव भाइ ! मैले तिमीलाई चिनेकै रहेनछु । आजको कार्यक्रम गज्जब भयो । ल, तिम्रो जे काम परे पनि भन्नू है । छोराहरूलाई केही गर्नु परे पनि भन्नू ।” ध्रुवलाई राजा वीरेन्द्रले तक्मा दिए ।

प्रहरी छाडेर पत्रकारिता

बुवा सेनाका जागिरे थिए । सेनाको शान–शौकत र इज्जत समाजमा बेग्लै थियो । कमर्स पढे पनि कहिलेकाहीँ ध्रुवलाई सेनामै जाऊँ कि भन्ने रहर लाग्थ्यो । सँगैका साथीहरूले प्रहरीमा जान सुझाए । ध्रुवले नाइ भनेनन् । उनीसहित तीन जना साथी एकैपटक असई भए ।

त्यो बेला पुलिस अहिलेको जस्तो व्यवस्थित तरिकाले ब्यारेक बनाएर बस्न थालेको थिएन । तल्लो तहका प्रहरी कर्मचारी पाटीपौवामा सुत्थे । सेनाले कुट्थे प्रहरीलाई । ‘डन्डे’ भनेर जिस्काउँथे । उनका बुवालाई त्यही पुलिसमा जागिर खाएको मन परेनछ । उनले नखाएकै राम्रो भने । त्यसपछि ध्रुवलाई के गरौं के भयो । त्यही बेला उनीसँग भर्ती भएका साथीलाई प्रहरी अफिसरले चोर ल्याएर केरकार गर्न लगाए । ती साथीले चोरलाई सोधेछन्, “तपाईंले कसरी चोर्नुभयो ?”

चोरलाई ‘तपाईं’ भनी सम्बोधन गरेको सुनेर डीएसपीले ध्रुवका साथीलाई ‘चोरलाई तपाईं भन्ने ?’ भन्दै चड्कन हानेछन् । अफिसरको त्यस्तो व्यवहार चित्त नबुझेर साथी भागेको सुनेपछि ध्रुवले पनि काम शुरु नै नगरी असईको जागिर ‘क्विट’ गरे ।

तर, त्यो बेला पढेका व्यक्तिलाई जागिरको अभाव थिएन । ८ कक्षा पढेका व्यक्तिलाई खोजी–खोजी लगिन्थ्यो । पढेलेखेका ध्रुवलाई पनि जागिरको खाँचो थिएन ।

कृषिमा सब–एकाउन्टेन्टको जागिर खान थाले । फाइल यता र उता गर्दै उनलाई वाक्क लागिसकेको थियो । त्यही बेला ०२६ सालमा रेडियो नेपालले दुई उपसम्पादकका लागि आवेदन आह्वान गर्‍यो । पञ्चायत, स्वर परीक्षा, रेडियो पत्रकारिता र सामान्य ज्ञानको परीक्षा दिनुपर्ने भयो । अरु त पढ्न पाइन्थ्यो तर पत्रकारिता कसरी, कहाँ पढ्ने, उपाय थिएन ।

ध्रुवले साथीका दाइ प्राध्यापक राममणि रिसालसँग परामर्श लिए । उनले राष्ट्रिय समाचार समितिका तत्कालीन प्रमुख संवाददाता भैरव रिसाललाई चिठ्ठी लेखिदिए । ध्रुव त्यही चिठ्ठी बोकेर भैरवलाई भेट्न पुगे । भैरवले पत्रकारिता भनेको के हो, समाचार भनेको के हो, समाचार कसरी लेख्ने, रिपोर्टिङ कसरी गर्ने, पत्रकारिताका काम के–के हुन्, समाचारको प्रभाव कस्तो हुन्छ जस्ता थुप्रै विषयमा एक हप्तासम्म आफ्नै कोठामा बोलाएर सिकाइदिए ।

एक हप्तापछि भैरवले ‘गोरखापत्र’ दैनिकका सम्पादक गोपालप्रसाद भट्टराईलाई चिठ्ठी लेखिदिए । उनले रेडियो पत्रकारिता र रेडियोको समाचार कसरी सरलीकरण गर्ने भनेर एक हप्तासम्म सिकाइदिए ।

भट्टराईले ‘मधुपर्क’का सम्पादक केशवराज पिँडालीलाई भेटाइदिए । पिँडालीले पनि उनलाई सिकाइदिए । पिँडालीले ध्रुवलाई रामचन्द्र न्यौपानेकोमा पठाइदिए । रामचन्द्रले उनलाई ग्रिष्मबहादुर देवकोटाले लेखेको पत्रकारिताको इतिहाससम्बन्धी पुस्तक पढ्न सुझाए ।

ध्रुव त्यो बेला ‘अल इन्डिया’ रेडियो खुब सुन्थे । अमेन सायमीको स्वर उनलाई निकै मन पथ्र्यो । रेडियो नेपालका प्रकाशमान सिंह, प्रचण्डमान सिंह, भोग्यप्रसाद शाह, शेखर मानन्धर, रामकृष्ण गौतम, कृष्णा ताम्राकार, विश्वनाथ विमल, तीर्थराम भण्डारीलगायतका स्वर पनि उनले सुनिरहन्थे ।

रेडियो नेपालमा १०७ जनाले आवेदन दिए । स्वर परीक्षामा करिब ३० जनामात्रै पास भए । ध्रुवको नाम ३ नम्बरमा निस्कियो । उनीहरूले लिखित परीक्षा दिए ।

रिजल्ट आएको हल्ला चल्यो । उनी हेर्न लोकसेवा आयोगको कार्यालय पुगे । त्यहाँ अरुको नामको लामै सूची थियो । उनीहरूले पाएको अंक पनि उल्लेख थियो । तर, ध्रुवको न नाम, न अंक— केही थिएन ।

उनी रिजल्ट हेरिरहेका थिए । लोकसेवाकै एक जना शाखा अधिकृतले उनलाई देखेर भनेछन्, “ए ध्रुवजी, माथि हिँड्नुस् ।”

पास हुनेको रिजल्ट टाँसिएको रहेनछ । दुई जना मागेकोमा उनीमात्रै पास भएका रहेछन् ।

तर, त्यसभन्दा अगाडि नै उनले रेडियो नेपालमा करारमा काम गर्न थालिसकेका थिए । स्वर परीक्षा दिएपछि भोग्यप्रसाद शाह र प्रचण्डमान सिंहले ‘कृषिको काम छोडेर आउन मिल्छ भने आऊ’ भने ।

त्यसअघि एकदिन—

एकदिन ध्रुव समाचारको कपी बोकेर स्टुडियो छिरे । रेडियो नेपालका कार्यकारी निर्देशक भोग्यप्रसाद शाह र समाचार निर्देशक प्रचण्डमान सिंह स्टुडियोबाहिर थिए । ध्रुवले माइक अन गरे र समाचार पढ्न शुरु गरे । समाचार पढिरहेकै बेला ध्रुवले प्रचण्डमान बोलेको सुने, “यो त मेरो जस्तै स्वर भएको केटो रहेछ त !”

प्रचण्डमान त्यो बेला रेडियोमा उम्दा स्वर भएका समाचार वाचक थिए । उनको कुरा सुनेर ध्रुवको मन प्रफुल्ल भयो । गर्वले छाती चौडा भयो । लाग्यो— अब त रेडियो नेपालमा बोलेरै मर्छु ।

भोग्यप्रसाद र प्रचण्डको प्रस्ताव सुनेपछि उनी तीन हात नउफ्रिने कुरै थिएन ।

त्यतिबेला राजा वीरेन्द्रको विवाह हुन लागेको थियो । रेडियो नेपाललाई समाचारका लागि मान्छे चाहिएको रहेछ । भोग्यप्रसाद र प्रचण्डमानले ‘मिल्छ भने आऊ’ भने । उनी पनि कृषिको जागिर छोडेर गए । रेडियोमा नाम निस्किनुभन्दा ६ महिनाअघि नै उनले रेडियोमा काम गर्न थालिसकेका थिएँ ।

पहिलो दिनदेखि नै ध्रुवले रेडियो नेपालमा ‘सामयिक चर्चा’ पढे । समसामयिक विषयमा लेखिएको समाचार टिप्पणी ‘सामयिक चर्चा’ त्यो बेला ‘गोरखापत्र’का सम्पादक गोपालप्रसाद भट्टराई आफैंले लेखेर ल्याउँथे र ‘बाबु अरुलाई नदिनुस् है, तपाईं आफै पढ्नुस्’ भन्थे ।

बहुदल आएपछि पुरानालाई निकाल्छन् भन्ने हल्ला चलिरहन्थ्यो । तर, उनीहरूले नयाँसँग मिलेरै काम गरे । “कम्युनिस्टहरूसँग काम गर्न सकिँदैन भन्थे । कामप्रतिको हाम्रो लगाव र मेहनतका कारण उहाँहरूकै प्रिय भयौं हामी,” उनी भन्छन्, “माओवादी युद्धका बेला पनि काम ग¥यौं । केही अप्ठ्यारो भएन । काम नगर्नेहरुलाई मात्रै हो डर, काम गरेर खानेलाई जोसुकै आए पनि, जुन व्यवस्था आए पनि केही फरक पर्दैन ।”

बहुदल आएपछि रेडियोमा केही नयाँ मान्छे आए । केहीमा राजनीतिक उन्माद देखिन्थ्यो । तर, ध्रुव उनीहरूलाई भन्थे, “तपाईंहरूले यो अवसर पाउनुभएको छ । काम सिक्नुस् । होइन भने भोलि अरु आउँछन् र तपाईंलाई विस्थापन गर्छन् ।”

उनी काम सिक्नुपर्छ र इमान्दार भएर जिम्मेवारी बहन गर्नुपर्छ भनिरहन्थे । ‘राजनीति गर्ने भए टुँडिखेल जाऊ, रेडियो नेपाल आउनु पर्दैन’ भनेर रुखो पनि बोल्थे कहिलेकाहीँ । “त्यतिबेला मसँग कति साथी रिसाउँथे पनि होला । तर, अहिले उनीहरू दशौं, एघारौं तहमा पुगेका छन् । खुसी लाग्छ— मैले सिकाएका साथीहरू आज नेतृत्वमा पुगेका छन् । उनीहरू अहिले पनि मलाई माया गर्छन् ।”

‘फस्र्ट ह्यान्ड’ सूचनाप्रति अझै पनि लोभिन्छन् ध्रुव । सबैभन्दा पहिले समाचार सम्प्रेषण गर्दाका थुप्रै अनुभव छन् उनीसँग ।

दरबारबाट आउने वक्तव्य सबैभन्दा पहिला रेडियो नेपालमा आउँथ्यो । ध्रुव रेडियो नेपाल पुग्दा दरबारको वक्तब्य लिन प्रचण्डमान आफैं जान्थे । पछि ध्रुवलाई प्रचण्डमानले विश्वास गर्दै गए । ध्रुव आफैं दरबारको पश्चिम ढोका गएर वक्तव्य ल्याउँथे । राति अबेर वक्तव्य आयो भने त्यसलाई अर्को दिन बिहान ७ बजेको समाचारका लागि राख्थे ।

“दरबारको त्यो वक्तव्य प्रचण्डमान सिंह सर अथवा म मेरै घरमा ल्याएर राख्थ्यौं । तर, यस्तो अनुशासनमा हामी बस्थ्यौं कि त्यो वक्तव्य भोलिपल्ट रेडियो नेपालमा समाचार बनाउने बेलामा मात्रै खोल्थ्यौं ।”

० ० ०

प्रसारण माध्यम एउटैमात्र, त्यसमा पनि ओजपूर्ण आवाज । रेडियो नेपालमा बोल्ने भनेपछि यसै पनि सेलिब्रिटी । त्यसमा पनि राम्रो स्वर भएका ध्रुवका फ्यान नहुने भन्ने कुरै भएन । कोही चिठ्ठी लेख्थे, कोही फोन गर्थे, कोही भेट्नलाई रेडियो नेपालकै गेटमा हाजिर हुन्थे । ध्रुवलाई ‘तपाईंको स्वर नसुनी निद्रा लाग्दैन’ भन्ने पनि उत्तिकै थिए ।

अनि ? 

एकदिन साँझ ५ बजे हतारमा ध्रुव रेडियो नेपाल छिर्दै थिए । दामोर अधिकारीले भने, “एक जना बझाङका स्रोता तपाईंलाई भेट्न बिहान ११ बजेदेखि पर्खिरहनु भएको छ, भेट्नुस् ।”

ध्रुव गेटमा गएर नमस्ते गर्दै हात मिलाए र बिदा भए । दामोदरले ध्रुवलाई गाली गरे, “बिहान ११ बजेदेखि पर्खेर बसेको मान्छेसँग हातमात्रै मिलाउनुभयो है ? एकछिन बोल्नु पनि भएन ।”

रेडियोको ग्ल्यामर थियो । रेडियोमा बोल्ने मान्छे भनेपछि कतिले कार्यक्रममा अतिथि बनाएर बोलाउँथे । कतिले रिबन काट्न बोलाउँथे । हेर्ने दृष्टिकोण नै फरक थियो । आम मान्छेभन्दा फरक हुन्थे । दार्जिलिङबाट समेत उनलाई भेट्न आउँथे ।

होचोहोचो कद, रातोरातो वर्णको मान्छे ध्रुवलाई देखेपछि भन्थे, “रेडियोमा बोल्ने ध्रुव थापा तपाईं नै हो ?”

कति त पत्याउँदैनथे ।

एफएमका जन्मदाता

नेपालमा एफएम रेडियो स्थापना गर्ने कुरा चल्यो । सम्भाव्यता अध्ययन गर्नुपर्ने भयो । तत्कालीन रेडियो नेपाल प्रमुख घननाथ ओझाले ध्रुव र केदारजंग थापालाई भने, “कसरी फ्रिक्वेन्सी वितरण गर्न सकिन्छ, अध्ययन गर्नुपर्‍यो ।”

नेपालमा एफएम रेडियो प्रसारणका लागि पहिलोपटक मसी चोब्ने मान्छे नै ध्रुव र केदारजंग हुन् । ध्रुव भन्छन्, “हामीले यहाँको भूगोल, जनसंख्या र उद्योग  कलकारखानाको अवस्थाबारे अध्ययन गरेर काठमाडौंमा ५ देखि ६ र जिल्लाको हकमा ठूला जिल्लामा बढीमा २ वटासम्म दिन सकिन्छ भनेर सुझाव दिएका थियौं ।”

तर, अहिले काठमाडौंमै चार दर्जनभन्दा बढी एफएम रेडियो सञ्चालनमा छन् । काठमाडौंबाहिर एउटै जिल्लामा १२–१५ वटासम्म छन् । त्यसप्रति असन्तुष्ट सुनिने ध्रुव भन्छन्, “त्यही भएर त अहिले फ्रिक्वेन्सी जुधेर हैरान छ । अधिकांश एफएम पत्रकारलाई पारिश्रमिक दिन सक्ने अवस्थामा छैनन् । परेका बेला सबै भाग्छन् । आखिर ०७२ सालमा भूकम्प जाँदा रेडियो नेपाल नै चाहियो । रेडियोले मात्रै प्रभावकारी सूचना वितरण गर्न सक्यो ।”

० ० ०

केही समयअघि अचानक एकजना गन्धर्वसँग ध्रुवको भेट भयो । उनले हात जोड्दै भने, “सर, अहिले जागिर छोडे पनि मेरो महिनाको १८ हजार आउँछ । छोराछोरीले हेरेनन् भने पनि हामी दुई बुढाबढीलाई खान समस्या छैन । मलाई थाहै थिएन, हजुरले बचाइदिनुभएको रहेछ हाम्रो पेन्सन् ।”

रेडियो नेपालले ०५७ सालमा आफ्नो नियमावली संशोधन गर्ने तयारी गर्‍यो । त्यो संशोधनमा रेडियो नेपालका कर्मचारीले खाइपाई आएको पेन्सन हटाउने प्रस्ताव पनि थियो । बोर्ड सदस्यसमेत रहेका ध्रुवलाई चित्त बुझेन । त्यसमा असन्तुष्टि जनाउँदै उनले खाइपाई आएको पेन्सन यथावत् रहनुपर्ने अडान राखे । त्यसका लागि फाइल बोकेर मन्त्रालय धाए । करिब ६ महिनामा उनको माग पूरा भयो ।

राज्यका हरेक निकायका काम गर्ने कर्मचारीले जीवनको ऊर्जाशील समय जनताको काम गरेको भनेर पेन्सन लिँदा पत्रकारले किन नहुने ? पत्रकारचाहिँ बुढो हुँदैन ? उसको चाहिँ पेट हुँदैन ? उनले यही प्रश्न गरे ।

बिहीबार आफ्नै घरमा हामीसँग गफिँदा ध्रुवले नेपाल टेलिभिजनका एक समकालीनलाई सम्झिए, “आजकाल कतै भेट हुँदा ऊ मलाई भन्छ— ध्रुवजी, तपाईंको त पेन्सन आउँछ, हाम्रोजस्तो होइन ।”

“मैले उनलाई त्यही बेला भनेको थिएँ, हाम्रोसँगै तपाईंहरूको पनि काम भैहाल्छ, आउनुस् सँगै फाइल बोकेर जाऊँ । तर, उनले त्यो बेला मलाई भनेका थिए— निजामती कर्मचारीले जस्तो पत्रकारले पनि पेन्सन लिने हो ?”

० ० ०

रेडियो नेपालमा काम गर्दा उनी धेरै देश पुगे, कहिले तालिम लिन, कहिले समाचार लिन । त्यही क्रममा उनलाई थुप्रै अवसर पनि आए । जर्मर्नीको सरकारी रेडियोले अफर गर्‍यो, उनले नकारे । बीबीसीमा ९ महिना काम गरेका ध्रुवलाई केही समय बस भन्दा पनि बसेनन् । नेपालै फर्किए, रेडियो नेपालमै काम गरिरहे ।

०४६ सालको आन्दोलन चलिरहेको थियो । त्यही बेला उनलाई रेडियो नेपालले तालिमका लागि बाहिर पठायो । तालिम सकिएपछि बीबीसीका खगेन्द्र नेपालीले उनलाई बोलाए । खगेन्द्रकी श्रीमती बिरामी थिइन् । श्रीमतीको उपचार गरेर खगेन्द्र लन्डन फर्किएकै दिन ध्रुव नेपाल फर्किए ।

“उहाँले मलाई बस, यहीँ काम गर्नुपर्छ भनिरहनुभएको थियो । तर, म लन्डन गएका बेला नेपालमा प्रजातन्त्र पुनस्र्थापना भएको थियो । प्रजातन्त्र आएपछि नेपालमा के—के न भयो होला भन्ने कुतूहल थियो । उहाँले मलाई ‘केही पनि भएको छैन, राजनीतिक संक्रमणकाल छ, झन् अस्तव्यस्त छ’ भन्नुहुन्थ्यो । नभन्दै यहाँ आउँदा त त्यस्तै रहेछ ।”

० ० ०

०५२ सालपछि रेडियो तरंगमा रेडियो नेपालको एकाधिकार समाप्त भयो । एफएम रेडियोहरू बग्रेल्ती खुल्न थाले । सूचना वितरणमा रेडियो नेपालको एकलौटी पहुँच समाप्त भयो । रेडियोको विकल्प त स्रोताले भेट्टाए तर तिनको प्रस्तुति र शैली भने धु्रवलाई उति विघ्न चित्त बुझ्दैन रे ! रेडियो सामग्री जति दमदार भए पनि प्रस्तुति बलियो भएन भने त्यसको प्रभावकारिता न्यून हुन्छ भन्नेमा एफएम रेडियोहरू सचेत नरहेकोमा उनको चिन्ता छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०७५  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC