site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रेखा थापा भन्छिन्– ‘जंगबहादुर’ जन्माउने रहर छ
Sarbottam CementSarbottam Cement

–रेखा थापा


रेखा थापालाई सिने जगतकी नायिका, निर्मात्री र निर्देशकमात्र भनियो भने अन्याय हुन्छ । पछिल्लो समय राजनीतिमा पनि सक्रिय छिन् । एनेकपा माओवादी, राप्रपा हुँदै राप्रपा (प्रजातान्त्रिक) पुगेकी थापालाई राजनीतिकर्मीमात्रै भनियो भने पनि अन्याय हुन्छ ।

उनी सामाजिक अभियन्ता पनि हुन् । सिने जगतमा ‘हिम्मतवाली’ नायिकाको उपमा पाएकी थापा पर्दामा ‘रिल’मा मात्रै होइन ‘रियल’मा पनि उस्तै ‘बोल्ड’ छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

केही समयअघि ‘छोरीका लागि स्वर्णीम नेपाल’, दाइजो, बालविवाहविरुद्ध अभियान लिएर पश्चिम तराईका विभिन्न जिल्ला पुगेकी थापा समाजमा नवीन र नूतन नारी चरित्र स्थापित गर्ने ध्याउन्नमा छिन् । मध्य र सुदूरको भूखण्डमा नारीजातिलाई अकाल मृत्यु थमाउने प्रथा समेटिएको ‘मालिका’ आगामी कात्तिकको अन्त्य, लक्ष्मीपूजाको दिन प्रदर्शनमा आउँदैछ । त्यसो त उनी सिनेकर्मी कम सामाजिक परिवर्तनको सम्वाहक ज्यादा हुन् । यिनै थापासँग बाह्रखरीकर्मी अक्षर काकाले गरेको राजनीतिक संवाद ।
० ० ०

“रेखा थापा किन अस्थिर ?,” अक्सर ममाथि तेर्सिइरहने जिज्ञासा हो यो । कहिलेकाहीँ त यस्तो लाग्छ— रेखा थापा नायिका, निर्देशक, निर्मात्री र राजनीतिकर्मी होइन, ऊ केवल प्रश्न हो ।

Global Ime bank

राजनीतिक चेत र दृष्टिकोणमा म असाध्यै सङ्लो छु, उस्तै प्रष्ट पनि । राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकतामात्रै होइन देशले दैनन्दिन भोगिरहेको समस्याबारे चिन्तित छु ।

पछिल्लो समय पढिरहेको छु— राष्ट्रियताका अनेक आख्यान, उपाख्यान । व्याख्यान, उपव्याख्यान । हिजो देशलाई आवश्यकता परेका बेला माटो छाडेर टाप कस्ने । अनुकूल भएपछि मूल बाटो खोज्दै आउनेहरू ठूल्ठूला श्वरले चिच्याइरहेका छन् । तिनका कृत्रिम भीडभाडबाट परै रहेकोमात्रै हुँ ।

दुनियाँलाई थाहा छ— म यस्तो समयमा सिने उद्योगमा प्रवेश गरेँ । तिनताक नेपाली सिने क्षेत्र चौपट थियो । नेपाली चलचित्रले दर्शक पाउने अवस्था थिएन । नायकनायिका बेरोजगार थिए । कति पलायन भएर विदेशको बाटो रोजी सकेका थिए । निर्मात्रा चलचित्रमा हात हाल्नु आगाको भुंग्रोमा हात हाल्नुझैँ दुरूह ठान्थे । 

यो भन्दा कत्ति पनि दम्भ र ढोँग प्रस्तुत हुँदैन— मेरो आगमनले मुर्झाउँदै गएको सिने क्षेत्रले त्राण पायो । भनौँ न, मेरो उपस्थितिले सिने क्षेत्रमा पनि ‘हिम्मतवाली’ नारीका लागि मार्ग प्रशस्त गर्दै गयो ।

केही समय भयो, ‘नेपत्थ्य’मा बसेर नेपाली समाजको मनोदशा नियालिरहेको छु । अहिलेका पुस्ताको समय सामाजिक सञ्जालमा नयाँनयाँ ‘भगवान’ जन्माउँदै खर्च भइरहेको छ । आफूभित्रको नायकत्व मारेर, अरूलाई ‘हिरो’ बनाउन अभिशप्त छन् उनीहरू । हरेक घटनामाथि आलोचनात्मक दृष्टिकोण राख्नुपर्छ भन्ने बुझ पचाइरहेका छन् तिनले, शायद ।

अघिल्लो दिन ‘भगवान’ बनाउँछौँ । भोलिपल्टै ज्या...! ‘राक्षस’ पो परेछ भन्दै थकथकी मान्छौँ । देवत्वकरण र तेजोवधको खिचातानीले हाम्रो पुस्तामा आइपुग्दासम्म पूर्णविराम नपाएको देख्दा उदेक लागेर आउँछ । आफूप्रति भरोसा नहुनेले शायद यस्तै नियति भोग्नुपर्छ । तर, म यसप्रकारको अस्थिर छैन । समाजप्रतिको दायित्वमाथि सौदाबाजी गरेको छैन । कर्तव्य सिरानी हालेर सुती बसेको पनि छैन म ।

परिवर्तनको दीर्घयात्रामा छु । हुनसक्छ, अहिले त्यसको प्रत्याभूत गराउन सकेकी छैन । यसर्थ मानिसहरूलाई मेराबारे टिकाटिप्पणी गर्ने सुविधा मिलेको होला ।

विचार परिवर्तन होइन, परिमार्जन

\"\"

धेरैले सुझ न बुझ टिप्पणी गर्न हतारिएको पाएँ— रेखा थापाले राजनीतिक धार बदली । सयमसमयमा उसको विचारमा बदलाव आउँछ । म तिनलाई प्रश्न गर्न चाहन्छु— के खोला एकैधारमा बगेर समुद्रसम्म पुग्छ ? आज अस्तित्वमा रहेका पार्टीहरूको इतिहास केलाउनुहोस्— ती कुन विचार, दृष्टिकोण र राजनीतिक विचारधाराको ओत लागेका थिए, अहिले कहाँ छन् ?

हिजो माओवादी जनयुद्धमा विश्वास राख्थ्यो, एमालेको राजनीतिक ‘लिगेसी’पनि त्यही हो । कांग्रेसको इतिहास पनि मारकाटकै हो । तर, आज त उनीहरूले त्यो विचार बोकेका छैननन् । बरु कटू आलोचक भएका छन् ।

तर, रेखा थापाले राजनीतिक चेत र विचार परिमार्जन गर्दैमा यत्रो हल्ला ?

निःसन्देह म माओवादीमा थिएँ । पार्टीमा नभए पनि माओवादीले उठाएका केही अजेन्डामा म अद्यपर्यन्त छु । तर, मैले बाटो बिराएको छैन । बाटो त उनीहरूले पो छाडे । जो सशस्त्र संघर्षमा विश्वास गर्थे । संसदीय अभ्यासप्रति असाध्यै असहमति राख्थे । तिनै पछि संसदीय भासमा उत्रनै नसक्ने गरी जाकिए । संसदीय गर्तमा निःशर्त डुबे । समाज र राष्ट्र हित सर्वोपरी ठान्थे । अहिले सत्ता र शक्तिकै वरिपरि छन् ।

मैले माओवादी छाडेको होइन, माओवादीलेचाहिँ माओवादी छाड्यो । जनताको विश्वास छाड्यो । तेत्रो जनयुद्ध लडेर आएका घाइते योद्धा, शहीद परिवारको सपना छाड्यो । अनेक गठबन्धनका नाममा माओवादी स्वयम्ले माओवादीको अस्तित्व छाड्यो । अनि रेखा थापामात्रै माओवादी भइरहनुपर्ने ? सरी !

सबैले बुझ्ने भाषामा भन्छु— पहिलो, जहाँ ‘फेलियरहरू’ हुन्छन्, त्यहाँ रेखा थापा अटाउँदिन । दोस्रो, एउटा चुनाव हार्दैमा निराश हुन, अताल्लिएर तिल्मिलाउन म माओवादी भएकी थिइनँ । तेस्रो, म राजनीतिमा भर्ना भएकी छु । विश्वविद्यालय फेरिफेरि पढ्छु । एउटै विश्वविद्यालयबाटमात्रै विशेषज्ञता हासिल गर्नुपर्छ भनेर कहीँ लेखेको छैन । रेखा थापालाई मात्रै यो नियम लागु हुँदैन ।

पार्टीमा दिग्गज भइसकेकी छैन । मन्त्री, सांसद् भएर पार्टी फेरेकी पनि होइन । सिकाइको क्रममै छु । सिकाइको पूर्वार्द्धमै भएको व्यक्तिबारे अनेक टिप्पणी शोभनीय होइन । 

छद्म भेषमा राजनीति

\"\"

केही वर्षपछि थाहा पाउनुहुनेछ— अहिलेका चर्चामा रहेका समाजसेवी धेरैजसो राजनीतिमा सक्रिय हुनेछन् । अहिले समाजसेवाको आवरणमा राजनीतिको बाटो बनाइरहेका छन् । ढोँग र पाखण्डको बर्को ओढेर कतिपय समाजसेवाको नाटक मञ्चन गरिरहेका छन् ।

तर, म छद्म भेषमा छैन । मैले त खुलम्खुला भनेकी छु— रेखा थापा राजनीतिमा सक्रिय हुन्छे । र, चलचित्र क्षेत्रलाई पनि सँगै लैजान्छे । राजनीतिमा लागेर मन्त्री, सांसद् बन्ने मेरो लक्ष्य होइन । त्यो ध्येयले राजनीतिमा आएकी पनि होइनँ ।

नेपालको कानुन, विधि र प्रक्रियाकै बाटो भएर म राजनीतिमा सक्रिय रहनेछु । ढोँग र आडम्बरको आडमा आफूलाई श्रेष्ठ सावित गर्ने अभिनयात्मक कार्यशैली र चिन्तनको घोर विरोधी भने हुन्छ मलाई ।

शिष्ट तवरले समाज बदल्ने मेरो अभिष्ट

दोस्रो संविधानसभाताक तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीले टिकट दिएको थियो । संसद् बन्ने बाटो खुलेको पनि थियो । तर, राजनीतिक हिसाबले म एकदम केटौले थिएँ । मतदाता नामावलीमा नामै नभएकाले संसद् बन्ने सम्भावना पोल्टाबाट उम्कियो ।

अहिले सम्झन्छु— समयभन्दाअघि केही पनि पाइँदो रहेनछ । खैर, सिकाइको विशिष्ट प्रक्रिया थियो त्यो । त्यसले मलाई नराम्रो गरेन । खारिने र तिखारिने मौका पाएँ भनौँ न ।

अहिलेको सन्दर्भमा म सिद्धान्तसँग व्यहारको सामञ्जस्यता हुँदैन । पार्टीभित्र बस्दा ढोँग र पाखण्डको दुर्गन्धले नाक थुनेर बस्नुपर्छ भने म कसैको पार्टी कार्यालय कुरेर बस्दिनँ । झोला बोकेर त म हिँड्दै हिँड्दिनँ ।

आफैँ ओत लागेको पार्टी किन नहोस्, गलतलाई गलत भन्न सक्नुपर्छ । त्यो भन्न नसकेको दिन तपाईं मृत्युवरण गर्नुहुन्छ । भीड सधैँ सही हुँदैन । र, भीडकै पछि लागेर गन्तव्यको पहिचानसमेत गर्न सकिँदैन ।

यहाँ त सबैलाई भयले गाँजेको छ— भीड सँगै हिँडिएन, भीडको कुरा सुनिएन भने आफूलाई गलत पो भनिहाल्छन् कि !

र त, विश्वराजनीतिको कुरा गर्नुहुन्छ भने म डोनाल्ड ट्रम्पको पक्षपाती हुँ । विडम्बना उनलाई धेरैले मन पराउँदैनन् ।

के राप्रपा प्रजातान्त्रिक पनि छाड्दै हुनुहुनुहुन्छ ?

\"\"

अक्सर धेरैको मनमा उब्जिँदो हो, के रेखा थापाले राप्रपा प्रजातान्त्रिक पनि छाड्दैछिन् ? स्मरण रहोस् रेखा थापा जसरी हुन्छ सत्ता, सुविधा हडप्ने खेलमा छैन । र, राप्रपा पनि त्यतातर्फ नलागोस् भन्ने मेरो आग्रह हो । कदाचित् पार्टीमा सत्तालिप्सा र सुविधाभोगी चरित्र देखियो भने मैले फेरि पनि सरी भन्नै पर्छ ।

म थकित् र ऊर्जाविहीन मानिससँग बसेर काम गर्न सक्दिनँ । मलाई पद होइन, परिवर्तन चाहिएको छ । मलाई सांसद् बन्ने जुक्ति चाहिएको छैन, देशका तमाम महिलाको मुक्ति चाहिएको छ । आफ्नै लागि सुविधा साँच्न सक्ने होइन, देशका सयकडौँ दिदीबहिनीहरू स्वतन्त्र र आफ्नो अस्तित्वमा बाँच्न सक्ने बनाउनु परेको छ ।

त्यसका लागि रेखा थापा राष्ट्रपति नै बन्नुपर्छ भन्ने हो र !

हुन त हामीले महिला राष्ट्रपति पनि बनायौँ । सभामुख, उपसभामुख, प्रधानन्याधीश, मन्त्री के मात्र महिला बनाउनौँ ? तर, यी सबै पितृसत्ताका ‘अंशियार’ अझ भनौँ न ‘मतियार’ बने । उनीहरू सब्बै आफ्ना लागि मात्रै बने ।

एउटा घटना सम्झाऊँ—

म ‘मालिका’ सुटिङका लागि विकट बनाइएका, पछाडि पारिएका केही जिल्ला पुगेको थिएँ । 

त्यहाँका आमा दिदीबहिनीलाई सोधेँ— अहिले नेपालको राष्ट्रपति को हुनुहुन्छ ? विद्या भण्डारीलाई चिन्नुहुन्छ ?

दुःखका साथ भन्नुपर्छ— नेपालको राष्ट्रपतिबारे दूरदराजका महिला अनभिज्ञ छन् । आफूजस्तै महिला राष्ट्रपति बनेकोबारे बेखबर छन् । महिला राष्ट्रपति बनेको लाभ सुदूरसम्म पुगेको भए पो थाहा पाउनू ? उनीहरूले अपनत्वको महसुस नै गर्न पाएका छैनन् । 

महिला राष्ट्रपति भएकै बखत् सुदूरको छाउगोठमा महिला दिदीबहिनी साँपले डसेर मर्न अभिशप्त छन् । बोक्सी भनेर दुव्र्यवहार सहन बाध्य छन् । बलात्कार, घरेलु हिंसाका सूचकांकले सीमा पार गरिसक्यो । सुदूरका आँगनमा २५—३० वर्षमै महिला वृद्ध बन्न विवश छिन् । बालविवाह, दाइजो जस्ता कुसंस्कारले महिलालाई मान्छे भएर बाँच्न दिएको छैन । फगत श्रीमान्को बच्चा पाइदिने, उनीहरूकै चुल्होचौको रुँगिदिने, उनीहरूको वासना पूर्ति गरिदिने यन्त्रमानव बन्न अभिशप्त छन् ।

विद्या भण्डारी राष्ट्रपति भएकै बेला महिला पलपलमा मरेर बाँच्नुपर्छ । समाजको नारीको जीवन अस्तित्वहीन छ भने महिला राष्ट्रपति छिन्, भइन् नि भन्नेर गर्व गर्नुको के उपादेयता ?

महिला सत्तामा पुग्नेबित्तिकै महिलाको कायाकल्प हुने भए पुरुषको भाग्य त फेरिइसकेको हुनुपर्ने थियो होइन र ? सदियौँदेखि सत्तामा त पुरुष नै छन् ।

फेरि तिनै महिलालाई महिले सोधेँ— के तपाईं अर्को जुनी पनि छोरी नै भएर जन्मन चाहनुहुन्छ ?

उनीहरूले समवेत श्वरमा भनेँ— नाईं.....!

छोरी भएर जन्मिएवापत् पाउनुनपाउनु हण्डर, गोता पाएका, पितृसत्ताको साङ्लामा बाँधिएर घरद्वार नाघ्न नपाएका निरीह आमाहरू धरधरी रोए र भनेँ, “अर्को जुनी त के सात जुनीसम्म महिला भएर जन्मलिनु नपरोस् । भगवान् छन् र सुन्छन् भने हाम्रो कोखमा छोरी जन्म लिन नआऊन् । यो देशको माटो छोरी हुर्कन र छोरी, मान्छे भएर बाँच्न अनुकूल छैन ।

आफैँ भन्नुहोस्, पितृसत्ताले तोकिदिएको ‘कोटा’मा जतिसुकै महिलालाई पद, प्रतिष्ठाको पगरी गुथाए पनि हाम्रा आमा, दिदीबहिनीको आँसु, रगत बग्न रोकियो त ? कहाँ आयो, कसलाई आयो परिवर्तन ? 

अतःएव लडाईं अझै जारी छ । एक्लै किन नहोस् रेखा थापा लड्दैछे ।

समकालीन नेता; कान्तिहीन अनुहार

धेरैको जिज्ञासा हुनसक्छ, समकालीन राजनीतिमा रेखा थापाको रोजाइको नेता को हो ?

म भन्छु— समकालीन राजनीतिमा त्यस्तो ऊर्जावान् नेता कोही छैन । जसले परिवर्तनको सुनामी ल्याओस् । सब थकित्, अघाएका, पुगिसरी आएकामात्रै छन् । मुलुक परिवर्तन उनीहरूको सपना होइन, लक्ष्य पनि छैन । 

समृद्धिको एक पाने कागज तयार पारेका छन् । पूर्वदेखि पश्चिम त्यही बासी भाषण सुनाउँदै हिँड्छन् । मुलुक परिवर्तनको सपना भन्दा एक—अर्काको आलोचना सुन्दासुन्दा जनता प्रताडित भइसके ।

जसरी हुन्छ सत्ता हडप्ने, घुमिफिरी उही बासी, पुरानै रुम्जाटार जाने थोत्रो बसमा चढेका छन्, कहाँ पुगेर दुर्घटनामा पर्ने हो, तमाम सपनाको चिहान खडा हुने हो यसै भन्न सकिँदैन ।

युवापुस्ता ‘झन्डे’

\"\"

यो देशमा जनता कति होलान् ? मलाई सोध्नुहुन्छ भने छैन । सबै पार्टीका कारिन्दामात्रै छन् । ‘युवा’ त झन् छँदै छैनन् । मान्छे उमेरले मात्र युवा हुँदैन । युवा हुनका लागि नवीन सोच र चिन्तन अनिवार्य शर्त हो । पार्टीको हनुमान, बन्द बाकसभित्रको कठपुतली बन्ने र युवा हुँ भनेर गर्व गर्नुको कुनै तुक हुँदैन । जब स्वतन्त्र अस्तित्व हुन्छ र राम्रो र नराम्रो छुट्याउन सक्ने विवेक बाँकी रहन्छ तवमात्र ऊ युवा रहन्छ । उमेरको २०—२५ले केही अर्थ राख्दैन । 

चुनावताक खुब सुनेँ—जन्मजात ऊ कांग्रेस, कोही एमाले, कोही राप्रपा !
जन्मँदा त उसको अलग अस्तित्व पो हुनुपर्छ । उही राजनीतिक दलको पिछलग्गु ? यस्तो पनि हुन्छ ?

यस्तो आदिम चेतले समृद्धिको चन्द्रमामा पुगिँदैन ।

तपाईंलाई थाहा छ— गौतम बुद्ध युवावस्थामा किन निराश भएर मोक्षको खोजीमा निस्किए ?

सहज उत्तर छ— उनलाई गुमराहमा राखियो । सत्यबाट निकै टाढा पुर्‍याइयो । साँचो अर्थमा जीवन जिउन दिएन । र त, उनी त्याग गर्न तत्पर भए ।

हेर्नुहोस् त रोग, भोक, शोकको सिकार बनेका युवा पुस्ता । अभाव, पीडा, बेरोजगारले दिनहुँ खिँइदै गरेका अनुहार । आफ्नो निधारमा अर्कैले कोरिदिएको भाग्यरेखा बोकेर बाँच्न विवश हुँदा पनि मुक्तिको चाह छैन उनीहरूमा । मोक्ष प्राप्तीको अभिताप छैन ।

अमुकअमुक सिद्धान्त र वादको ‘रक्सी’ पिएका छन्, ह्याङ उत्रँदा कहाँको नालीमा मुन्टो गाडिइरहेको हुने हो अनिश्चित छ ।

केही छैन, आम युवा पुस्ताको परिवर्तनको अभिभारा रेखा थापा एक्लै बोकेर हिँड्न तयार छे । हिँडि पनि रहेकी छे ।

जंगबहादुर जन्माउने रहर छ !

जहाँ जान्छु एउटै सुस्केरा सुन्छु— देशमा परिवर्तन कहिले होला । समृद्धिको गन्तव्य कति टाढा होला । राष्ट्रियताको जगेर्ना कसले गर्ला ?

मलाई त एकपटक पुनः पृथ्विनारायण शाह चाहिएको छ । उनलेमात्रै उन्न सक्छन्, सबैलाई एकताको सूत्रमा । मलाई जन्माउन रहर छ जंगबहादुर— उनले मात्रै अन्त्य गर्न सक्छन्, बेथिती ।

र, एउटा कुरा भनुँ— देशमा ढिलोचाँडो जंगबहादुरले जन्म लिन्छन्, चाहे छोराको रूपमा होस, या छोरीको रूपमा किन नहोस् । मेरो भित्री इच्छाको कुरा गर्नुहुन्छ भने मैले जंगबहादुरको नारी संस्करण देख्न चाहेको छु । र, त्यो पूरा हुने दिन टाढा छैन ।

तस्बिर : सरिता खड्का 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०७५  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC