साहित्य र कला

प्रस्तरकलाका ‘पोट्रेट’

प्रस्तरकलाका ‘पोट्रेट’

– अक्षर काका


खोकना– तेलको खानी ।

खोकनाको तेल भनेपछि अद्यपर्यन्त धेरैको मुख आस्वादित हुन्छ । तेल उत्पादनको यही पुस्तैनी भूमिले जन्मायो चन्द्रश्याम डंगोललाई । तर, ‘तेली’को रूपमा होइन ।

‘अरनिको’लाई बिर्साउनले प्रस्तरकलाका कारिगर पो बने उनी ।

सन् १२४५ मा लतिलकलाको अमरापुरी पाटनमा जन्मिएका अरनिकोले प्यागोडाशैली कैलाश पर्वत छिचोलेर चीनसम्म फिँजाए । ३० को दशकको अन्त्यतिर जन्मिएका चन्द्रले भारतवर्षमा मात्र नभई क्यानडासम्म लिच्छवीकालीन चैत्यशिल्प विस्तार गरिरहेका छन् ।

चन्द्रश्याम प्रस्तरशिल्पका यस्ता ‘पोट्रेट’ हुन्, जसले छिनो चलाउनेबित्तिकै जस्तै जब्बर पाषाण मूर्तिको आकारमा सजिन्छ र ‘देवता’मा बदलिन्छ ।

निर्जीव ढुंगालाई छिनो चलाएर सजीव ‘भगवान’मा रूपान्तरण गर्ने चन्द्रश्याम कसरी मूर्तिकलातर्फ समाहार भए ?

एकैपटक डोहोर्‍याएर बाल्यपनमा पुर्‍याउँछन् । नितान्त केटौले उमेर । यति नै वर्ष भन्ने यकिन छैन । त्यस्तै सात–आठ वर्षको उमेर । बाबु कृष्ण डंगोल मूर्ति कलामा पारङ्गत थिए । बिहान सूर्योदयदेखि साँझ अस्ताचलसम्म धातुमा आँखा जोतिरहेका हुन्थे तर खान, लगाउन नपुग्ने ! अहिले त कतिपय वास्तुकर्मीहरूको जीवन दीन–हीन छ । उतिबेलाको कुरा, कष्टसाध्य नै थियो भन्न रुचाउँछन् कृष्ण ।

छरछिमेकका प्रशस्त जग्गाजमिन थियो । आयस्ता पनि राम्रै थियो । घरपिच्छे तेलका कोल । खर्पनमा तेल राखेर तिनै सहर डुल्थे । बेलुका फर्किंदा खल्ती खँदिलो हुन्थ्यो ।

तर, बाबुचाहिँ भोकै पेटले मूर्ति कुँदिरहेका हुन्थे । वास्तुकलाले खेतीपाती चौपट बनाएपछि बाबुले चटक्कै छाडिदिए मूर्तिमा हात घोट्न ।

‘छिनो—हम्मर’ थन्क्याउँदै गर्दा पिताले भनेका थिए, “कला, संस्कृति र सिर्जनाका हिसाबले यो देश स्वर्गको टुक्रा हो । मूर्तिकलाले पाल्छ तँलाई, निरन्तरता दे है !”

यही ‘गुरुवाक्य’ले डोर्‍याएर उनलाई प्रस्तरकलामा पुर्‍याएको हो । पारङ्गत तुल्याएको हो ।

खानीबाट निकालिएका भीमकाय काला ढुंगा । ढुंगासँग सिँगौरी खेल्दै त्यसैलाई बान्किलो मूर्ति बनाउनुपर्ने । छिनो चलाउन जानेर पनि नहुने । अजङ्गका पत्थर उचाल्न बलिष्ठ पाखुरी पनि चाहिन्थ्यो । शुरू–शुरूमा त उनी नकहालिएका होइनन्, “यस्ता पाषाणमा भिजेर कहिले मूर्ति कुँद्न सक्ने होला ? हम्मर, छिनो र ढुंगाको भाषा कहिले बुझ्ने होला ?” अत्यास पनि लाग्थ्यो ।

तर, कामप्रति तिलस्मी लगाव । मूर्तिकलामा भिज्ने तीव्र चाहनाले उनलाई कालिगड बनाउँदै लग्यो ।

काठमाडौँ उपत्यकाको सन्दर्भमा प्राचीन भनाइ छ– यो मन्दिरैमन्दिरको सहर हो । यही सन्दर्भमा एकजना विदेशीले गरेको टिप्पणी जोड्छन् उनी, “काठमाडौं खाल्डामा जति मान्छे बस्छन्, त्यसको दुईगुणा यहाँ मन्दिर र भगवान् छन् । कला र शिल्पको निकै पुरातन संग्रहालय हो यो ।”

उनलाई पनि लाग्छ— ताम्र, पित्तल (धातु), प्रस्तर, सेरामिक्स आदि कलाको लौकिक सिर्जना हो काठमाडौँ सहर । कला, साहित्य, सिर्जनाका हिसाबले त सिंगो उपत्यका खाल्डो ‘गाडधन’ नै हो भन्दा हुन्छ ।

नेपालको कला–संस्कृतिसँग बालखैमा परिचय पाएका चन्द्रश्यामले प्राचीन वास्तुशिल्पमा देशको सौन्दर्य खोजिरहे । नेपाली कला र सिर्जनाको क्षितिज नापिरहे ।


मूर्ति नै जीवन, जीवन नै मूर्ति

प्रस्तरकलासँगको सहयात्राले ३० हिउँद छिचोल्यो । चोभारको मञ्जुश्रीदेखि चीनको साङ्घाई एक्स्पोसम्म उनका सिर्जनाले ठाउँ पाएका छन् । वास्तुकौशल लिएर देशदेशावर गरिरहेका उनलाई नजिकबाट नियाल्दा यस्तो लाग्छ– उनको जीवन नै मूर्ति हो । र, मूर्ति नै जीवन ।

बिहान अँध्यारो फाट्नु अगावैदेखि घनछिनो लिएर मूर्तिसँग सम्वाद शुरू गर्छन् । मूर्ति सुम्सुम्याउँदा सुम्सुम्याउँदै अबेर रात भइसक्छ । कहिले त त्यही मूर्ति सिरानी हालेर कारखानामै सुत्छन् । भनौँ न, प्रस्तरशिल्पको कठोर साधनामा छन् उनी ।

“ढुंगाको अलाप बुझ्न कहाँ सजिलो छ र ? पत्थरलाई नौनीजसरी मूर्तिमा ढाल्नुपर्छ !” हाँसोले अनुहारभरि अनगिन्ती वर्णमाला तयार पार्छ । दीर्घ निःस्वास लिन्छन् उनी ।

हात र ढुंगा दुवैलाई लयमा ल्याउन कम्ता सकस बेहोर्नुपरेन । विशाल ढुंगा पल्टाउँदा कहिले हात च्यापिन पुग्थ्यो । तररर्र रगत धारा लाग्थ्यो । ढुंगा उछिट्टिएर आँखा प्वाल पर्ने भय उत्तिकै । हात गोडा पटपटी फुट्थे ।

यी सबै प्रस्तरकला सिकाइका पाठशाला बने । ‘स्टोन कार्भिङ’मा नूतन आयाम थपिँदै गयो भनौं ।

प्रस्तरकलामा माझिँदै थिए ०५६÷०५७ सालमा ललितकला क्याम्पस भर्ना भएपछि मूर्तिकलाको महत्ता झनै बुझे उनले ।

“त्यसअघि त मूर्तिकला निकै बोझिलो पेशा बनेको थियो, दुःखको आहालै लाग्थ्यो, ललितकला जोडिएपछि पो अनुभूत भयो— देश चिनाएकै यही कलाकृति र सिर्जनाले पो रहेछ ! चिनाउने माध्यम पनि यही पो रहेछ !

“धन्य पिताजी अन्तहृदयदेखि नेपाल चिन्ने मौका प्रदान गरेकोमा,” बाबुलाई धन्यवादसमेत अर्पण गरे उनले । उनी सम्झन्छन्— मुर्झाउँदै गएको कलाकृतिलाई बचाउनुपर्छ भनेर लागिपरेको त्यही बेलादेखि हो ।

ललितकलामा गाँसिएपछि ‘फाइनआर्ट’मा आईएमात्रै उत्तीर्ण गरेनन् । मूर्तिकला प्रवीणसमेत बने उनी । सन् २०१२ मा त्रिभुवन विश्वविद्यालयबाट मूर्तिकलामा स्नातकोत्तर तह उत्तीर्ण वास्तुशिल्प हुन् उनी ।

औपचारिक पढाइमा भने उनका गुनासा रहे, “शुरूमा मैले पढ्दा स्नातकोत्तर तहमा मूर्तिकलाको पाठ्यक्रम नै थिएन । विद्यार्थीहरू परम्परागत मूर्तिकला विषय लिएर पढ्ने इच्छा व्यक्त गर्थे, कक्षाकोठामा जान्थे पनि । तर, पाठ्यक्रम नै नभएकाले के पढाउने भन्ने अन्योल थियो । पछिल्लो कालखण्डमा त्यसमा फेरबदल आएको छ ।”


र, एकल मूर्तिकला प्रदर्शनी

अहिले बबरमहलस्थित नेपाल कला परिषद्मा उनको लिच्छवीकालीन प्रस्तर मूर्ति प्रदर्शनी चलिरहेको छ, असार ५ देखि १४ गतेसम्म ।

नेपालको शासन विकासक्रममा इतिहासमा ‘स्वर्णयुग’ प्रतिविम्बित छ । सन् ४०० देखि ७५० सम्म चलेको लिच्छवी शासनकालमा जस्तो कलाकृतिको विकास कहिल्यै भएन । कला सिर्जनामा लिच्छवीकाल ‘न भूतो न भविष्यती’ प्रतीत हुन्छ । उनको प्रस्तरकलामा लिच्छवीकालीन कलाको प्रतिच्छाया प्रशस्तै भेटिन्छ ।

तर, उनी त्यसलाई लिच्छवीकालकै कलाकृतिको प्रदर्शनी भन्न रूचाउँदैनन् । बरु यत्ति आग्रह छ— विश्वविकासका भीमकाय संरचना देखेर किलकिले बजाउँदै थुक निलिरहेका नेपालीहरूले आफ्नो कलाकृति देखेर गर्व गर्न सकून् । छाती चौडा होस् । उनको ध्येय यत्ति हो ।

किन ?

उनी सन् २०१२ को अन्त्यतिर ‘साङ्घाई एक्स्पो’मा गएका थिए, १२ फिट अग्को मूर्ति लिएर । उनको प्रस्तरकलाको तारिफ नगर्ने कोही भएनन् । एक चिनियाँ प्राध्यापकले हर्षाश्रुनै झारे । भावुक हुँदै भने, “अरनिकोको चर्चा त सुनेकै हो । उनले भित्र्याएको पेगोडाशैलीको आजपर्यन्त चर्चा छ । आज त जिउँदो अरनिको भेटें ।”

तिनी स्वयम् मूर्तिकलाका प्राध्यापक थिए । तर, पिठ्युँमा धाप मार्दै स्यावासी दिए, “आजबाट तिमी मेरो गुरु भयौ ।”

त्यसबाहेक अर्को कारण पनि छ–

लिच्छवीकालीन प्रस्तरकलाको छेऊमा पनि पुग्दैन आजको कौशल । न ढुंगा काट्ने आजकोजस्तो अत्याधुनिक साधन । ढुंगा ओसार–पसार गर्ने माध्यम नै । केवल घनछिनाको भरमा लिच्छवीकालमा भीमकाय मूर्ति कुँदेको र अद्यपर्यन्त त्यसको छटा नबिग्रिएको देख्दा छक्क पर्छन् । भन्छन्, “कहाँका कालिगडले कुँदे होला त्यस्ता मूर्ति ? कति त्याग, तपस्या र साधना गर्नुपर्‍यो होला ? लिच्छवीकालीन कलाकृतिको गहिराई आजको कौशलले नाप्नै सक्दैन ।”

यसलाई अहिलेका पुस्ताले जगेर्ना गर्न सकून । देशदेशावर फिँजाउन सकून्– उनको अभिष्ट यही हो ।

प्रस्तरकला प्रचारको सिलसिलामा १० बढी देश घुमिसकेका छन् तर नेपालको आदिम कलाशैली, काष्ठशिल्प, पित्तल, ताम्रकलाका अघिल्तिर उनीहरूका वास्तुशिल्प निकै ‘पुड्को’ लाग्छ । हर्षले मन हलुँगो हुन्छ, “बाटाघाटा, पुलपुलेसा, ठूल्ठूला भवन नभएर के भो, कलाकृतिमा दुनियाँलाई उछिनेकै रहेछौं नि !”

नेपाली कलाकृति देखेर ईर्षाले जल्छन् र भन्छन्, “तिमीहरूको त ढुंगामै सिंगो मानव सभ्यता र जीवन बाँच्दो रहेछ । मन्दिरका टुँडाल र गजुरले नै साँच्दा रहेछन् इतिहास ।”

तर, पहिलो शताब्दीदेखिका प्रस्तरकला र मूर्तिहरू नासिन थालेका छन् र कति टुटेफुटेर विलुप्त भइसके । केही भूकम्पले नास्यो । धेरैजसो हाम्रै लापरबाहीले मास्यो ।

यही पीडाले प्रताडित हुँदै गत बुधबारबाट परिषद्को ग्यालरीमा उनले १० वटा मूर्तिकला प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा तीन फिटको गणेशको मूर्तिदेखि १२ फिटको छोर्तेन (तिब्बतीयन चैत्य) सम्म राखिएका छन् । र, यी सबै प्रस्तरकला भएकाले उत्तिकै महँगा पनि छन् । कुनै मूर्ति दुई महिनामा कुँदिइसकेका छन् भने गौतम बुद्धको जीवनवृत्त कुँद्न त दशक लाग्यो ।

“मूर्ति त दुई वर्षमा कुँदिसकेको हुँ । बुद्धको जीवन–क्रम अध्ययन गर्न झन्डै दशवर्ष व्यतीत गर्नुपर्‍यो ।

लिच्छवीकालीन कला संस्कृति झल्कने चैत्यहरूको प्रदर्शनी दशकअघिको सपना हो उनको । तिनताका विदेशी सर्जकको अनुसन्धानात्मक कृति फेला पारेका थिए, काठमाडौं उपत्यकाभित्रका चैत्यहरू बारे । त्यसले उनको मथिङ्गल खज्मज्यायो ।

“चिन्दै नचिनेको माटो, बुझ्दै नबुझेको कलाकृतिका बारेमा विदेशबाट आएर सर्जकहरूले खोज, अन्वेषण गर्न सक्छन्, कृति तयार पार्न सक्छन्, यहीँ भएका हामीले यसको महत्ता बुझ्न सकेका रहेनछौं,” ‘माल पाएर पनि चाल नपाएको’ आदिम कहावतले कल्पना गरेको पात्र आफैँ पो लाग्यो उनलाई ।

र, लिच्छवीकालीन कला, शिल्प, संस्कृतिलाई आजको पुस्तासँग जोड्ने ध्येयले प्रस्तरकला प्रदर्शनी गर्ने सपना हुर्काए । सपनाले मूर्तता पाउन झन्डै १० वर्ष पर्खनुपर्‍यो ।

धातुकलाका केही लौकिक नमुनालाई यसपटकको प्रदर्शनीमा उनले प्रस्तरकलामा ढाल्ने प्रयत्न गरेका छन् । सुकुन्दा र पानस त्यसका दृष्टान्त हुन् । त्यसबाहेक बौद्धनाथ स्तुपाको हजार अंश सानो स्वरूप र सिद्धार्थ गौतम बुद्धको जीवनवृत्तले प्रदर्शनीको गुणवत्ता बढाएका छन् । समृद्धिको विम्ब कुवेर, चोभारको डाँडो तरवारले काट्ने मिथकीय पात्र मञ्जुश्री, लोकेश्वरलगायका मूर्तिले प्रदर्शनीमा आकर्षण पैदा गर्न सकेकोमा कृतार्थ छन्, चन्द्रश्याम ।

“प्रदर्शनीमा आउनेहरूले यसबारे विविध जिज्ञासा राख्नुहुन्छ,” उनी उत्फुल्ल हुँदै कुराकानी बिट मार्छन्, “नेपाली कलाकृतिबारे जिज्ञासा शमन गराउन पाउँदा अहोभाग्य ठान्छु ।”
 

तपाईंको मत