– नरेश फुयाँल
वि.सं. २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले झन्डै १० हजारको ज्यान लियो । आँखैअघि आफन्तले ज्यान गुमाएको साक्षी बसेर हेर्न कयौं नेपाली बाध्य भए । भौतिक पूर्वाधार हेर्दाहेर्दै सोत्तर भए ।
रसुवाको लाङटाङ उपत्यकामा एक्कासि माथिबाट हिमपहिरो आयो । हिउँ र ढुङ्गामाटोले घरहरू छोपिए । र, ती घरले लाङटाङबासीलाई छोपे । हेर्दाहेर्दै लाङटाङ उपत्यका चिहानमा परिणत भयो ।
बाँचेकाहरूले आफन्त गुमाए । आफन्त गुमे पनि आफ्नो ज्यानको माया सबैलाई हुँदो रहेछ । लाङटाङबासी पनि अपवाद थिएनन् । उनीहरूलाई सरकारले उद्धार गरेर काठमाडौं ल्यायो ।
बल्लतल्ल बाँचेको एकसरो शरीर त काठमाडौंमा थियो तर उनीहरूको मन घरमै थियो । पहिरोले थातथलो त उखेल्यो तर उनीहरूको मनबाट लाङटाङ उखेलिएको थिएन । मन उतै थियो । भएको सम्पत्ति बाँकी छ या छैन, थाहा थिएन तर आशाको धागो भने चुँडिएको थिएन । विपत्तिका कारण जन्मेहुर्केको गाउँ मनमै राखेर चटक्क छोड्नु परेको थियो । त्यसैले लाङटाङबासीलाई गाउँ फर्कनु थियो । तर, आँट जुटिरहेको थिएन । उद्धारका लागि गएको नेपाली सेनाको टोली नै फर्किएको थिएन । त्यसैले काठमाडौंमै शरणार्थी जीवन बाँचिरहे लाङ्टाबासी ।
पत्रकारितालाई छेउ लगाएर टुर एन्ड ट्रेकिङ गाइड बनेका अशोक सिलवालले नयाँ काम भर्खरै शुरु गरेका थिए । लगत्तै भूकम्प गयो । उनी फुर्सदिला बने ।
भूकम्पले नेपाल हल्लायो । उनको चाँहि दिमाग हल्लायो । सय वर्षपछिको इतिहास हो यो, यसलाई लेख्नुपर्छ भन्ने कुराले दिमागमा हान्यो । एक महिनासम्म दैनिक डायरी लेख्छु र केही समयपछि त्यसलाई पुस्ताकाकार गर्छु भन्ने मानसिक तयारी गरे । त्रिपालको ओतमा थिए पीडितहरू । १३ गतेबाट डायरी लेख्ने अठोट गरे ।
तर, भैरव अर्यालको ‘जय भोलि’ नै भयो । त्यो भोलि कहिल्यै आएन । डायरी लेखन शुरु नै भएन । इतिहास सुरक्षित गर्ने रहर आफैंले धुलिसात पारे ।
रहरमा तगारो कसैले हालिदिएको थिएन । त्यसैले कसैलाई अपजसको भारी बोकाउनु थिएन । केवल मनमा छटपटी थियो । अन्तरद्वन्द्वको पीडा थियो । आफैंले आफैंलाई धिक्कारिरहेका थिए ।
‘राजधानी’ दैनिकको विचार पृष्ठ संयोजक थिए । प्रत्येक एक हप्ता छोड्ने हो भने उही व्यक्तिका लेख दोहोरिन्थे । एउटै व्यक्तिका लेखका शीर्षक त फरक हुन्थे होला तर उही विचार, एउटै वाद र व्यक्तिबाट प्रभावित हुन्थे । न नयाँ शिल्प हुन्थ्यो न जानकारी । दोहोरिरहने व्यक्तिका शब्दलाई लेखाजोखा गर्दा आधा दशक बितिसकेको थियो । निरस भइसकेको थियो जिन्दगी ।
त्यसैले ०७१ चैतमा उनले ‘राजधानी’ दैनिकलाई हात हल्लाए । फराकिलो संसार खोजी गर्दै टुर एन्ट ट्रेकिङको ढोका खोले । प्रत्येक दिन फरक–फरक देशका नागरिकसँगको सामिप्यता र संगतले ज्ञानको दायरा थप फराकिलो हुन्छ कि भन्ने आशा थियो । फरक, रंग, भाषा र परिवेशबाट आएकाहरूको संगतले जिन्दगी नै रंगीन हुन्छ कि भन्ने अभिलाषा थियो । तर, प्रकृति नै उनको दुश्मन बनेर खडा भयो ।
अशोक एकदिन घुम्दै राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट) पुगे । भूकम्पसँगै खसेको पहिरोले लाङटाङ उपत्यका मरुभूमिमा परिणत भएपछि विस्थापित भएका स्थानीय फर्किन सकेका थिएनन् । अशोकले भने, “म जान्छु लाङटाङ र हेर्छु त्यहाँ जीवन छ कि छैन !”
उनी तयार भए । व्यवस्थापक, क्यामेरापर्सन र भरिया एक–एक जना पनि भेटिए, साथ लाग्ने । तर, उनीहरू लाङटाङका थिएनन् । उनीहरूलाई स्थानीय व्यक्ति चाहिएको थियो, जसले बाटो देखाओस् । उनीहरू स्वयम्भू पुगे, जहाँ लाङटाङबाट विस्थापितहरू बसेका थिए ।
“जब मैले लाङटाङ जाने कुरा सुनाएँ, उनीहरू निकै उत्साही भए,” अशोक सम्झन्छन्, “गाउँ चिहानमा परिणत भइसकेपछि फर्किन नसके पनि उनीहरूलाई गाउँको माया थियो तर हिम्मत जुटाउन सकिरहेका थिएनन् । त्यसैले जब म तपाईंहरूको गाउँ जान्छु भनें, उनीहरू मसँगै जाने भए ।”
भूकम्पको दुई महिनापछि असार २१ गते ११ स्थानीय अशोकको साथ लागे । नुवाकोट–रसुवा–बेत्रावती–धुन्चे–स्याफ्रुबेसीसम्म गाडीमा गए । त्यहाँबाट पैदल तीन दिन हिँडेर क्यान्जिन उपत्यका पुगे ।
अशोकसँग गएका ११ स्थानीयमध्ये त्यस्ता कोही पनि थिएनन्, जसले भूकम्पमा आफन्त नगुमाएका होऊन् र मन नचिरिएको होओस् ।
बाटोमा हिँडिरहँदा देखे— कति घरको अस्तु पनि थिएन, कति घर खण्डहर थिए । कति घर ढुङ्गामाटोको एक छेउबाट चिहाइरहेका देखिन्थे । पसलका सामान बाहिरबाटै देखिन्थे ।
सेनाले दिएको हेल्मेट लगाएर हिँडिरहेका स्थानीयहरू अशोकसँगै रम्न त खोज्थे तर छिनछिनमै देखिने दृश्यले ‘नोस्टाल्जिक’ हुन्थे । शायद गुमेका आफन्तका तस्बिर मस्तिकमा आइपुग्थे र एकोहोरिन्थे । अशोकले सम्झाइबुझाइ गर्थे ।
‘रिभर–साइड’बाट लाङटाङ उपत्यका शुरु भएपछि डरलाग्दो पहिरो भेटियो । नदीको माथि पहाडको टुप्पोबाटै झरेको पहिरोले नदी थुनेको थियो । त्यही बीचमा केही चौंरीहरू भेटिए । पहिरोले बाटो हराएपछि कुहिरोका काग बनेका ती चौंरी अशोकसँगै हिँडिरहेका स्थानीयकै थिए । ती चांैरीले उनीहरूको मुहारमा जूनकीरीको उज्यालो बालिदिए । तर, परिवारका सदस्य नै गुमाएका उनीहरूलाई पशुको जीवनले मात्रै धेरै बेरसम्म रम्न दिँदैनथ्यो ।
हिँड्दै गर्दा अचानक पहाड खसेको आजाव सुनिन्थ्यो । छेवैबाट ढुङ्गा गुर्किन्थे । झम्झम् परिरहेको पानीले चिरा परेका पहाडलाई बग्न सघाइरहेको थियो । बाटामा यत्रतत्र देखिने लुगा, भाग्दा छुटेका चप्पल, खाँदाखाँदै छोडेर भागेका थाल कचौरा, अशक्तका लठ्ठी र मेकअपका सामग्री भेटिन्थे, त्यसलाई देखेर अशोक र स्थानीयको अनुहार उदासीले छोपिन्थ्यो ।
“हरियो प्लास्टिकमा विदेशीको शव देखियो, जुन निकै गन्हाइरहेको थियो,” अशोक भन्छन्, “त्यस्ता वीभत्स दृश्यले हामीलाई विचलित बनाउन खोज्थे तर पनि हामी जसोतसो सम्हालिन्थ्यौं ।”
स्वर्गजस्तो सानो गाउँ मरुभूमिमा परिणत भएको थियो । स्थानीय र विदेशीले भरिने गाउँ चकमन्न र सुनसान थियो । शव भेला गरेर एकै ठाउँमा जलाएका अस्तुका अंशले लाङटाङ स्मसान प्रतीत भइरहेको थियो । ११ स्थानीयका आँखा रसाउँथे र झरीमै मिसिन्थे आँसु ।
लाङटाङमा ६७३ जनाको बसोबास थियो । भूकम्पले १७५ को ज्यान लियो । तिनै दिवंगतको सम्झनामा लाङटाङ मूच्र्छित थियो । छाडी गएका आफन्तलाई सम्झेर उनीहरू आँखा भिजाउँथे ।
अशोक कल्पिन्थे— भूकम्प एउटा सपना होस्, भूकम्पले लगेका आफन्त सपनामै जाऊन्, सपनाबाट ब्युझिँदा पुरानै स्वर्ग यथावत् होओस् । लाङटाङबासीको मुहारमा हाँसो उसैगरी बुर्कुसी मारिरहेको होस् ।
यो श्वेरपरिकल्पना निमेषमै भत्किन्थ्यो । यथार्थमा फर्किंदा अनुहार उस्तै रुन्चे हुन्थे । त्यसलाई आफ्नो क्यमरामा कैद गर्थे अशोक । बोल्न सक्नेहरूसँग बोल्थे, जानकारी लिन्थे, परिवेशलाई क्यामेराको लेन्समा अटाउँथे । किनकि उनलाई लाङटाङ पूरै विश्वसामु देखाउनु थियो । सुन्दर प्रकृतिलाई कठोर भूकम्पले लुटे पनि त्यहाँ अझै जीवन समाप्त भइनसकेको देखाउनु थियो ।
केही स्थानीय घरगोठ सम्हालेर उतै बसे, केही चाँजोपाँजो मिलाएर फर्किने भन्दै आधा बाटोमै छाडिए । तर, अशोक भने काठमाडौं फर्किए र बुने दुइटा वृत्तचित्र । एउटा थियो— ‘घर फर्किरहेका मान्छे’ र अर्को— ‘लाङटाङ अपडेटः वेकिङ एन्ड वाकिङ’ ।
स्वयम्भूमा रहेका लाङटाङबासी भन्थे, “काठमाडौंमा गर्मीले पोल्यो र लामखुट्टेले टोक्यो । हामी घर फर्किन चाहन्छौं । राज्यले आवश्यक व्यवस्था गरिदेओस् ।” बाटोमा भेटिएकाहरू भन्थे, “पर्यटक आउने वातावरण बनाइदिनुस्, हामी हाम्रै लाङटाङमा बस्छौं ।”
स्थानीयको चाहनालाई अशोकले लिपिबद्ध गरे र लाङटाङमा अझै जीवन समाप्त भइनसकेको सन्देशसहित वृत्तचित्र बनाए ।”
जीवन छोडेर भागेको लाङटाङमा पहिलोपटक पुगे अशोक । जीवन जिउन सकिन्छ भन्ने सन्देश बाँडे । त्यही गुनले होला— लाङटाङ म्यानेजमेन्ट एन्ड रिकन्स्ट्रक्सनले अहिले उनलाई लाङटाङ सद्भावना दूत बनाएको छ । त्यसैले उनी भन्दै थिए, “अहिले मेरो नसानसामा लाङटाङ बगाइरहेको छु ।”
भूकम्पको घाउमा खाटा बस्दै गए । घटना पुराना हुँदै गए । ट्रेकिङ रुट पुनः सुचारु हुँदै गयो । स्थानीय घर फर्किन थाले । सम्भव हुनेहरू पहिरो खोस्रएर बसे, पहिरोको मूलमा परेकाहरूले छेउछाउ रोजे । पर्यटकहरू हिमाली काखको लाङटाङ जान थाले । अशोक नै २०१७ को डिसेम्बर र ०१८ को मार्चमा विदेशी लिएर दुईपटक पुगे ।
अहिले त्यहाँ जनजीवन पुरानै अवस्थामा फर्किन खोज्दै छ । आधुनिकताले खासै नछोएको लाङटाङ भूकम्पपछि भने फेरिँदैछ । टुकी, बत्ती र कुपीमा मुस्कुराउने लाङटाङबासी अहिले बिजुली बत्तीको चहकिलो उज्यालोमा रमाइरहेका छन् ।
अशोक लाङटाङबासीको शब्द सापटी लिएर सुनाउँदै थिए, “हामी हाम्रो काला, संस्कृति र साहित्य रहोस् भन्ने चाहन्छौं ।”