site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चरा बनेर आउँछन् अमृत
Sarbottam CementSarbottam Cement

— सन्तोष रिमाल (बोस्टन, अमेरिका)


यो मौसममा एकथरी चरा घाँटी सुक्ने गरी कराउँदै उड्छन् । कास्कीतिरका मान्छे चराले ‘बीउ कुहियो, बीउ कुहियो’ भनेको सुन्छन् र रोपाइँ गर्न हतारिन्छन् । त्यो चराको उही आवाज लमजुङको उत्तरी भेगतिरकाले ‘टुप्पै रातो, टुप्पै रातो’ सुन्छन् र आफ्नै परिवेशअनुसारको अर्थ लगाउँछन् । त्यो चराको आवाज र लोकगीतको मीठास उस्तै हो भन्छन् गायक अमृत गुरुङ । गाइन्छ एकै, सुनिन्छ अनेक । जसरी एउटै ‘टप्पा’ स्याङ्जादेखि सल्यान र बझाङदेखि बंगालसम्म फैलिएको छ, लोकको आफ्नै शैलीअनुरूप फेरिँदै ।

लोकगीतको यस्तै मीठास लेनदेन गर्न गाउँ–सहर डुलिहिँड्ने यी गायक अहिले अमेरिकाको बोस्टन आइपुगेका छन्, आइतबार कन्सर्ट गर्न ।

Prabhu Bank
Agni Group
NIC Asia

“तपाईं जोगले हुन्छ भेट भन्नुहुन्छ । तर, यो जोग मिलाउन हामीले उच्च शक्ति प्रयोग गर्नुपर्‍यो,” अमृतसँग हात मिलाउनेबित्तिकै साथी मनोज अधिकारीले अनौपचारिक तवरले कुरा शुरु गरे । सांगीतिक यात्रामा अमृतसँगै आएका ‘नेपालय’का अर्पण शर्माले थपे, “हो त ! पावरको तीन वटा म्यासेज आएको छ ।”

‘मलाई १० मिनेट दिनू है’ भनेर माथि उक्लिएका अमृत नओर्लिएसम्म अर्पणले त्यो दिनको बेलीबिस्तार लगाए । बोस्टन डाउनटाउनभन्दा करिब २५ माइल परको एकान्तलाई बासस्थान बनाएका उनीहरू अझै प्रकृतिभित्र छिर्न अर्को राज्य न्यु ह्याम्पसायरको माउन्ट मोन्याडनोकतिर हाइकिङ गएका रहेछन् ।

Global Ime bank

“बोस्टन आएको मान्छे प्रुडेन्सियल टावर नचढेर के पहाड उक्लिएको त ?” अमृतको प्रकृतिप्रेमका जानकार मनोजले ठट्टा गरे ।

“पहाडको टुप्पोमा पुगेपछि वरपरका अरु पहाड देखिन्छन् । परको क्षितिज देखिन्छ । यो संसारको विस्तारित रूप हेर्न त टुप्पोमै पुग्नुपर्छ के,” ठट्टाकै लवजमा तर गम्भीर कुरा बोले उनले ।

हो ! अमृत नउक्लिएका नेपालका पहाड कमै होलान् । शुरुमा उनी जाँदा गाउँ गाउँजस्तै थियो । सशस्त्र द्वन्द्वअघिको त्यो समय, जतिबेला चराले पनि ‘रोम्यान्टिक’ गीत गाउँथे । उनको सम्झनामा बसेका ती गाउँ क्या हराभरा थिए लोक संस्कृतिले ।

बाटोमा बम पड्किरहेका बेला, विद्यालयमा ब्यारेक बसेका बेला, शिक्षकका हात काटिएका बेला र विद्यार्थीले पढ्न नपाएका बेला पनि उनले गाउँ चहार्न छोडेनन् । गाउन छोडेनन् । जसरी चराले गाउन छोडेनन् ।

त्यो द्वन्द्व जायज थियो कि नाजायज ? निष्कर्षको जिम्मा उनी इतिहासलाई थमाउँछन् । त्यो बेला भएका विध्वंशको पुनर्निर्माण होला, उनी आशावादी छन् । उनलाई ठूलो शोक त त्यो कुराको छ, जो द्वन्द्वका बेला नष्ट भयो र अब कसैले बनाउन सक्दैनन् ।

“त्यो श्रुति परम्पराबाट आएका संस्कृति त सत्यानाश नै भयो । लोक परम्पराका ती अमूल्य सम्पत्तिको पुस्तान्तरण हुनै पाएन द्वन्द्वको चपेटाले,” उनलाई ठूलो फिक्री छ, “ती चिज कुनै विश्वविद्यालयले सिकाउन सक्दैन । अनुसन्धानकर्ताले पुस्तकमा लेखेर त राख्न सक्लान् तर सांगीतिक तवरले त्यसको अस्तित्व मेटियो ।”

\"\"

द्वन्द्वअघि जुन गाउँमा जे संस्कृति उनले देखेका थिए, द्वन्द्वपछि पुग्दा त्यो मासिइसकेको थियो । त्यो अब परिपूर्ति हुनै सक्दैन भन्ने सत्यले उनी मर्माहित भइरहन्छन् ।

नेपालीहरू यतिबिघ्न विदेश छरिनुको मुख्य कारण पनि द्वन्द्वको छर्रा नै हो । सहायक कारण अरु पनि होलान् । जे भए पनि अब पुरानो लयमा फर्काउन सकिँदैन । गीत खोज्न गाउँ चहार्ने र सुनाउन विदेश डुल्ने अमृत भन्छन्, “अब नेपालीलाई जोड्ने भनेको नेपाली भाषाले मात्रै हो । अहिलेकाले हेलचेक्राइँ गरे भाषा पनि मासिन्छ, भाषा हराए पहिचन रहन्न ।”

अमृतलाई गायकमात्र भनियो भने अन्याय हुन्छ । उनीसँग कला र संस्कृतिको मिहिन अन्वेषण गर्ने मष्तिष्क छ । त्यसलाई गहिरोसँग अनुभूति गर्न सक्ने चित्त छ । र, सबैलाई मोहित पार्ने गरी प्रस्तुत गर्न सक्ने कला छ । उनका कला धेरैले देखेका छन् । नदेखिने कुरा के हो भने यति साह्रो प्रभावकारी गीत उनी बनाउँछन् कसरी ?

“हिसाब गरेर, नाफा नोक्सान हेरेर, बजार बुझेर म गीत बनाउँदिनँ । हृदयलाई छोएपछि लेख्न पुगिन्छ, लेखेका पंक्तिले छोएर कम्पोजन गरिन्छ । आइज भनेर आउँदैन, आउने बेला अचम्मसँग आउँछ,” उनी खुलाउँछन्, “कहिले त दुई वर्षसम्म एउटा अक्षर पनि लेख्न सकिनँ ।”

उनलाई नेपालको प्रकृतिले छोयो । जीवनले छोयो । मृत्युले छोयो । सबैभन्दा बढी हिंसाले छोयो । उनले मर्माहत भएर बनाएका गीत मान्छेले मन पराए । उनका गीत ‘समावेशी’ छन् । समय समावेश भएको मौलिक । उनका गीतले समय गाउँछन्, त्यही भएर उनी जीवन्त छन् ।

हालै ‘कुरूप अनुहार’ गाएका अमृतले प्रवासी नेपालीका धेरैथरी अनुहार देखेका छन् । जस्तो दुःखमा पनि हाँस्न सक्ने नेपाली मुस्कानले भने उनलाई ‘फिदा’ बनाउँछ ।

“राम्ररी म्यानेज गरिदिए जस्तोसुकै काम गर्न सक्ने मान्छे हो नेपाली,” उनको सटिक मूल्यांकन छ । उनी नेपाली फर्किनै पर्ने जोड गर्दैनन् । ‘प्रोफेसनल’हरुलाई भने यत्ति आग्रह गर्छन्, “नेपाल बस्न मन लागे बस्नू, नलागे नबस्नू । तर, आफूले सिकेको ज्ञान र सीप बाँड्न बेलाबखत आउँदै गर्नू ।”

प्रवासी नेपालीप्रति सहनुभूति र गुनासोको मिश्रण छ उनीसँग । ‘घरका कुरा’ गीत त्यही गुनासोको अभिव्यक्ति हो ।

भएछ के भने, २५ वर्षअघि अमेरिका जान लागेको साथीलाई छोड्न उनी एयरपोर्ट गएछन् । त्यसको १२ वर्षपछि उनी कन्सर्ट गर्न अमेरिका आए र १२ वर्षमा पनि नफर्किएको साथीलाई खुब खोजे तर भेट्न सकेनन् । त्यही  यात्राको सिलसिलामा उनले २०३० सालतिरै डक्टर बनिसकेपछि अमेरिका छिरेका एकजना भेटेछन् ।

“नेपालमा डक्टरलाई भगवान् मान्ने जमानामा किन अमेरिका बसेको ?” उनको प्रश्न सुनेर डक्टरले जवाफ दिएछन्, “अवसरका लागि ।”

देशमा प्रशस्त योगदान दिन र सम्मानित जीवन पाउन सक्ने मान्छे ‘अवसर’को मोहमा डुबेको देखेपछि उनले सम्झिए— राष्ट्रकवि माधव घिमिरेको गीत । 

‘पल्लो घरको धुरीबाट धूवाँ आको छ कि छैन
मैले त खाएँ, भाइले खाको छ कि छैन ?’

फेरि झल्याँस्स भए तिनले बिर्सिएको गीतको मर्म सम्झिएर । 

“मेरो तपाईंसँग गुनासो छ,” ती डक्टरलाई यति भनेर मात्र उनको उद्वेलित मनले शान्ति पाएन ।

“अनि ?”

“अनि फिनिक्सबाट वासिङ्टन डीसी आउँदाआउँदै बाटोमै लेखें यो गीत । त्यहीँ एउटा बच्चाको किबोर्डमा कम्पोज पनि गरें,” विदेशमा आउँदा उनी यो गुनासो गाउन छुटाउँदैनन् ।

‘सात समुद्र तरेर आउँदा साथी मैले भेट्न सकिनँ 
घरको कुरा भन्नै पाइनँ
घरको कुरा सुन्ने कोही पाइनँ’

\"\"

विदेशको झिलिमिली देख्दा आफ्नो देशलाई पनि त्यस्तै बनाउने ईष्र्या पैदा हुनुको सट्ट मोहित भएर झम्मिरहनेलाई उनले कटाक्ष गरेका छन् गीतमा ।

उनी गीतमा सन्देश र कन्सर्टमा अभियान मिसाउँछन् । कहिले शान्ति र कहिले शिक्षाका लागि संगीतको नारा जोड्छन् । गाउँदागाउँदै बीचमा केही आह्वान पनि गर्छन् । चराको स्वच्छन्दताबाट प्रभावित गायकले किन सन्देशको दायित्व र आह्वानको ‘झन्झट’ उठाएका होलान् ? यसो गर्नु उनको चाहना होला कि बाध्यता ?

“लाग्छ नि गीतमात्र सुनाऊँ । संगीतको धूनमात्र बजिरहोस्, केही शब्दै बोल्न नपरोस्,” केही बेर मौन भएर उनी बोले, “राति भोकै सुत्न विवश र विद्यालय जान वञ्चित बच्चाका अनुहार सम्झिन्छु । असक्षमहरूको हातमा परेको शिक्षाको साँचो सम्झिन्छु । सीमित जमातको कब्जामा रहेको देशको स्रोत–साधन सम्झिन्छु । अनि नचिच्याई धरै पाउँदिनँ ।”

चिच्याउँदा पनि नसुन्ने संयन्त्रका कारण संगीतको सन्नाटामा रमाउन न उनले पाए, न उनका पारखीले । त्यही भएर उनको अभिव्यक्ति विद्रोही पनि हुन्छ ।

भनिन्छ— नाचेर, गाएर र बजाएर अभिव्यक्त हुन नसक्नेले मात्र लेखन रोज्छ । शब्दको सीमासँग संघर्ष गर्दै जो वाक्यलाई नचाउन जान्दछ, ऊ सफल लेखक कहलिन्छ । अमृत नाच्न, गाउन, बजाउन, लेख्न र फोटो खिच्न उत्तिकै अब्बल छन् । तैपनि यी माध्यममार्फत सारा उकुसमुकुस रित्याउन नसकेको छटपटी छ उनीसँग ।

जिन्दगी सोचेजस्तो नहुँदा, भावनाले अशक्त हुँदा उनलाई सांकेतिक अभिव्यक्ति गर्न मन लाग्छ । यस्तो अवस्थामा उनी १० वर्षअघि थन्क्याएको कुची र क्यानभास जुटाउन खोज्छन् । फेरि रङदेखि डराउँछन् र त्यसै छोड्छन् । कारण— अभ्यास टुटेको धेरै भयो । हात लट्पटिएला भनेर होइन । “मभित्रका डरलाग्दा र अहिलेसम्म ननिस्किएका अभिव्यक्ति देखेर आफैं तर्सिन्छु भनेर,” उनको डरको कारण यो हो ।

\"\"

द्वन्द्वपछि पनि ती कन्दरातिर उनका पाइला लम्किरहेकै छन् । द्वन्द्वका बेला विभिन्न कारणले रातारात मानिस शहरतिर सरे । गाउँ लगभग निर्जन बन्यो ।

उता जग्गा–जमिन बाँझो छ । घरका भग्नावशेष मात्र छन् । पिँढी झारले पुरिएका छन् । त्यही पिँढीमा टुकुटुकु हिँड्न सिकेका युवा पिँढी विदेशभरि छरिएका छन् । गाउँमा जस्तो विदेशमा चराले गाएको सुनिँदैन । सुने पनि मान्छेकै भाषा बुझ्न मुस्किल पर्ने ठाउँमा चराका गीत कसले बुझ्नू ! फेरि यताका चराले उताका गीत पक्कै गाउँदैनन् । र, त अमृत गुरुङ आउँछन् नि चरा बनेर । अनि सुनाउँछन् गाउँबेंसीका गीत । त्यसलाई कसैले ‘बीउ कुहियो’ सुन्लान्, कसैले ‘टुप्पै रातो’ । तर, सुन्छन् त आफ्नै विगतका गीत ।

तस्बिरः मनोज अधिकारी
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०७५  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC