राजनीति

वीपी र राजा महेन्द्र एउटै समयमा नभएको भए...

एउटै जंगलमा दुईवटा शेर रहन सक्दैन् भनिन्छ । यही भयो, राजा महेन्द्र र वीपीका बीचमा

वीपी र राजा महेन्द्र एउटै समयमा नभएको भए...

बितेको साढे चार दशकदेखि राजनीतिमा निरन्तर सक्रिय छन्, पशुपति शमशेर जबरा (७७), जो राणाकालिन अन्तिम प्रधानमन्त्री मोहन शमशेर जबराका नाती हुन् । 

मोहन शमशेर जंगबहादुर राणा श्री ३ हुनुपूर्व महाराजगंज स्थित लक्ष्मी निवासमा बस्दथे । त्यही लक्ष्मी निवास भित्रै पशुपति शमशेरको बाल्यकालको अधिकाँश समय बित्यो । पशुपति शमशेरका हजुरबुबा मोहन शमशेरको परिवार ठूलो थियो । पुरा परिवार त्यहीँ बस्दथे । त्यहीँ पशुपतिका ठूलो बुवाका छोराछोरी, उनको पिताजीका छोराछोरीहरु बस्दथे । पढ्थे । खेल्थे । रमाउँथे । 

केही दिन अघि यस पङतिकार र सहकर्मी सौरभसँग लक्ष्मी निवासकै उत्तरतर्फ अवस्थित उनको निवासमा आफ्ना पुराना कुरा सम्झँदै थिए पशुपति शमशेर जबरा, ‘त्यसबेला हामी स्कूल जाँदैनथ्यौं । हामीलाई पढाउन त्यहीँ शिक्षक झिकाइन्थ्यो । हाम्रो पठन पाठन त्यहीँ भित्र हुन्थ्यो । त्यहाँ हामी यति धेरै केटाकेटी थियौं कि एउटा सानो तिनो स्कुल नै चल्थ्यो ।’ 

 

बाल्यकालीन अवस्था सबैका लागि रमाइलो हुन्छ । उनको दिन पनि रमाइलो गरिनै बित्यो । आफ्ना हजुरबुबा मोहन शमशेर जबरा प्रधानमन्त्री भएर सिंहदरबारमा सरेको उनलाई झिनो सम्झना छ ।  उनी सम्झिन्छन् अतितको त्यो पल, ‘हामी केटाकेटी मात्रै सोह्र सत्र जना थियौं होला । फरक फरक उमेरका । म त एकदम सानो थिएँ । म सायद पाँच छ वर्षको हुँला ।’

लक्ष्मी निवासको त्यो ठूलो कम्पाउण्डमै सबै केटाकेटीको दिन बित्दथ्यो । खेल्ने ठाउँ प्रशस्त थियो । तबेला, गोठ र बगैंचा पनि थियो । सानैदेखि अनुशासित जीवन बिताएका पशुपति शमशेर आफूहरुलाई तीन वर्षको उमेरदेखि नै घोडा चढ्न सिकाएको सम्झिन्छन् ।
पशुपतिलगायत अरु केटाकेटीहरुको अधिकांश समय लक्ष्मी निवास परिसरमै बिते पनि कहिले काहीँ उनीहरु बाहिर पनि निस्कन्थे । यसरी बाहिर निस्केर मन्दिर जाने गरेको उनको सम्झनामा छ । 

बाहिर खासै सम्बन्ध हुन्थेन् । कहिले काँही बाहिरका केटाकेटीहरु पनि आउँथे । डा. सिद्धिमणि दीक्षितका छोरा हेमाङ्ग दीक्षितको नामनै लिए उनले ।  लक्ष्मी निवासमा आएर पढाउने शिक्षकहरुलाई पनि सम्झिन्छन् पशुपति । शिक्षकहरुमा ठाकुरनाथ, मित्रनाथ देवकोटा, शारदाप्रसादको नाम लिन्छन् उनी । 

उनी भन्छन्, ‘मलाई सबैभन्दा बढी छाप परेको ठाकुरनाथ सरबाटै हो ।’

त्यसबेला जो राम्ररी पढ्न चाहन्थ्यो तिनलाई राम्ररी नै पढाइन्थ्यो । घोकेर पढ्नुपर्दथ्यो । कतिपय च्याप्टर पशुपतिले पनि घोकेर सुनाएका छन् । उनले एक पटक नेपोलियनको जीवन कथाको एक पाना घोकेर सुुनाएका थिए, लक्ष्मी निवासमै हुँदा । यसले पनि देखाउँछ उनको रुची पढ्नमा थियो ।

आफूहरुले रमाइलो वातावरणमा पढेको सुनाउँदै उनले आफ्नो बसोबास रहेको अहिलेकोे यो क्षेत्र तत्कालिन अवस्थामा लक्ष्मी निवासको तबेला रहेको बताए । त्यहीँ नजिक गोठ पनि थियो । अनेक रुखहरुले सुशोभित सुन्दर बगैँचा पनि थियो । 
यसरी झण्डै २ सय ३० रोपनीको क्षेत्रफलमा पशुपति शमशेरको बाल्याबस्था बित्यो । 

पशुपति शमशेरका अनुसार उनका पिताजी जिवित रहेको भए उनी इन्जिनियर बन्ने थिए । उनको पिताजीको इच्छा उनलाई इन्जिनियर बनाउने थियो । त्यसैले पढाईका लागि राम्रो भन्दा राम्रो शिक्षकको व्यवस्था गरिएको थियो । कुशल शिक्षकहरुको सानिध्यमा उनले शिक्षादीक्षा पाएका थिए । उनी भन्दै थिए, ‘केटाकेटीलाई के बनाउने, के गर्ने भन्ने सबै हिसाब गरिन्थ्यो ।’ 

आफूहरुलाई नेपाली शिक्षकहरुले नै घरमा शिक्षा दिएको बताउने पशुपतिको विद्यालय शिक्षाको प्रारम्भ शिमलाको बोर्डिङ स्कूलबाट भयो । त्यसबेला उनको उमेर आठ नौ वर्षको हुँदो हो । उनी शिमलामा एक दुई कक्षामा भर्ना भएका थिए । 
उनका अनुसार २००७ सालको आन्दोलनभन्दा अघि नै उनी पढ्नका लागि शिमला गइसकेका थिए ।  

वि.सं. २००७ साल पछि पशुपति शमशेरका पिताजी विजय शमशेर दिल्लीमा राजदूत भएर गए । त्यस पछि उनी शिमलाबाट दिल्ली आए । उनको पढाई दिल्लीकै एउटा स्कूलमा हुन थाल्यो । 

तर कलिलो उमेरमै उनले पिताजीको साथ गुमाउनु पर्‍यो । ०९/१० साल  तिरै उनका पिताजीको निधन भयो । पिताजीका इच्छा आकाँक्षाका बारेमा यथेष्ट जानकारी राख्ने पशुपति पिताजीको निधन पछिको एक वर्ष बैंगलोरमा नै बसे । त्यहाँ रहँदा उनले ट्युशन पढेर नै आफ्नो पढाइलाई निरन्तरता दिए । त्यो समयमा उनी स्कूल गएनन् । 

पिताजीको निधन पश्चात पशुपतिका लागि पिताजीले कोरिदिएको मार्गचित्रमा परिवर्तनको रेखा कोर्‍यो । पिताजी उनलाई इन्जिनियर बनाउन चाहन्थे । तर उनका पिताजीको इच्छा नेपाल र नेपाली जनताको विकासमा योगदान दिने थियो । कुनै न कुनै रुपमा उनी जनताको हक हितका लागि समर्पित हुन चाहन्थे । राजनीतिमा सक्रिय हुन चाहन्थे । तर असमय मै भएको उनको निधनले इच्छा अपुरो रह्यो ।   

 

त्यसैले पिताजीको यो इच्छा पशुपतिले आफ्नो शिरमा धारण गरे । उनले आफू इन्जिनियर बनेर होइन्, राजनीतिमा सक्रिय भएर पिताजीको सपनालाई साकार तुल्याउने मार्गमा अग्रसर भए । र, १२ वर्षको उमेरमा थप पढाइका लागि उनी बेलायत गए । 
पशुपति शमशेर भन्छन्, ‘बुबाको निधन पछि बुबाले गर्न खोजेको काम म गर्छु भन्ने मलाई लाग्यो । त्यसैले पनि म नितान्त नयाँ सोचका साथ अगाडि बढेँ ।’ 

यहीँबाट उनको अभिष्ट बन्यो राजनीति । उनी मुलुक र जनताका लागि केही गर्छु भन्ने भावनाका साथ अघि लागे । 

त्यसपछि राजनीति नै उनको लक्ष्य बन्यो । नेपाललाई कसरी विकसित र समृद्ध तुल्याउने ? उनको पिताजीको सोच पनि यहि थियो । त्यसैले पिताजीको निधन पछि उनको दृष्टिकोण परिवर्तन भयो । उनी पनि आफ्ना पिताजीले जस्तै नेपाल र  नेपालीको उन्नती भएको हेर्न चाहन्थे । नेपालमा केही परिवर्तन ल्याउँछु भन्ने भावना उनमा थियो ।  

उनी भन्छन्, ‘स्कुल भरि अरुलाई थाहा थिएन पछि गएर के गर्ने भनेर, तर मलाई थाहा थियो म पछि के गर्छु भन्ने ।’

कुराकानीको क्रममा उनले आफ्नो पिताजीको राजा त्रिभुवनसँग राम्रो सम्वन्ध रहेको बताए । उनी भन्दै थिए, ‘बुबा र त्रिभुवन महाराज दुबै बाँचिबक्स्या भए सायद बुबा प्रधानमन्त्री होइबक्सिन्थ्यो होला ।’  तर उनका पिताजीको निधन भएको केही समय पछि राजा त्रिभुवनको पनि निधन भयो । 

पिताजीको इच्छालाई निरन्तरता दिने सोचाइका साथ बेलायत पुगेका पशुपति शमशेरले राजनीतिशास्त्र, दर्शनशास्त्र र अर्थशास्त्रलाई पढाइको विषय बनाए । उनी मुलुकका लागि केही गर्नुपर्छ भन्ने मानसिकताका साथ पढ्दै थिए । 

बेलायतमा पढ्दा नै उनले विश्वका नाम चलेका ठूला ठूला व्यक्तिहरुले मुलुकको निर्माणका लागि कसरी काम गरे भनेर तिनका जीवनी पढे । आर्थिक सामाजिरुपमा मुलुकको विकास कसरी गर्न सकिन्छ भनेरै उनले यी यावत विषय रोजेका थिए । त्यसैले उनले आफूलाई राजनीतिमा स्थापित गर्ने उद्देश्यका साथ आफ्नो पढाइलाई पुरा गर्दै गए । 

यसरी राजनीति गर्ने विचारका साथ बेलायत पुगेका पशुपति वि.सं. ०२२ साल तिर नेपाल फर्किए । त्यसबेला प्रजातान्त्रिक व्यवस्था थिएन्, पंचायती व्यवस्था सुरु भइसकेको थियो । पंचायती व्यवस्था नआएको भए सायद उनी नेपाल फर्केर नेपाली काँग्रेससंग जोडिइसकेका हुन्थे । किनभने उनलाई काँग्रेस नेता बीपी कोइरालाले आफै काँग्रेसमा आउन भनेका थिए । 

बीपीसँग उनको खासै चिनाजानी थिएन् । उनका  पिताजीसँग बीपीको नजिकको सम्बन्ध रहेको पशुपति बताउँछन् । बीपीको ज्यान आफ्ना पिताजीले नै बँचाएको उनी भन्दै थिए ।  बीपीलाई एक चोटी राणा सरकारले थुनेको थियो । थुनामा रहेका बखत बीपी अनसनमा बसे । धेरै जसो भाइ भारदारहरुले कुचोले बढार्नुपर्ने चिज हावाले लग्छ भने लगोस् भन्ने खालका कुरा गरेका थिए । तर पशुपतिका पिताजी त्यस्तो नहोस् भन्ने चाहन्थे । 

पशुपति भन्छन्, ‘मनबुबा (मोहन शमशेर) लाई कसरी ‘कन्भिन्स’ गर्ने, त्यो बाटो पिताजीले खोज्नु थियो । मनबुवा धेरै धार्मिक होइबक्सिन्थ्यो । त्यसैले बुबाले मनबुबालाई ‘बीपी मरे भने ब्रह्महत्या ठहरिन्छ । त्यसको पाप अरु कसैलाई लाग्दैन्, हजुरलाई नै लाग्छ । त्यसैले हजुरले वीपीलाई छोडिदिइबक्सियोस्’ भन्नुभयो । त्यतिबेला राजनीतिक कुराले मनबुबा मानिबक्सिने कुरै थिएन । त्यसैले आध्यात्मिक मार्गबाट बीपीको ज्यान बचाउने बाटो खोजिएको थियो । त्यसरी उनको ज्यान बच्यो ।’ 
उनी बेलायतमा पढदै गर्दा दुई चार पटक नेपाल आएका थिए । एक पटक छुट्टिमा आउँदा बीपी प्रधानमन्त्री थिए । त्यसैले उनी वीपीसंग भेटन पुगेका थिए । 

वीपी बेलायत जाँदा पनि उनले वीपीसित भेट गरेका थिए । त्यसबेला पशुपति नेपाली विद्यार्थीहरुको युनियनसँग आवद्ध थिए । उनीहरुले नेपाली विद्यार्थीहरुको युनियन खोलेका थिए बेलायतमा । त्यसैबेला एउटा कार्यक्रम गर्दा वीपीसँग भेट भएको थियो । त्यो भेट वीपीका निजी सचिव कुमारमणि दीक्षितका कारण भएको उनी सम्झिन्छन् । 

वीपीलाई अत्यन्तै प्रभावशाली व्यक्तित्व मान्छन् पशुपति शमशेर । उनी ठूला र कुशल राजनीतिज्ञ भएको उनको भनाई छ । मेलमिलापको नीतिका साथ नेपाल आएका बखत तत्कालिन अवस्थामा वीपीलाई राज्य शासन प्रणालीमा समाहित् गराउन सकेको भए मुलुकका लागि धेरै राम्रो हुने उनको कथन छ ।  

पशुपति भन्छन्, ‘वीपी कुशल राजनीतिज्ञ हुन् । तर उनले मौका नै पाएनन् । मौका पाएको भए उनले केही गर्ने थिए । तर  एउटै जंगलमा दुइ वटा शेर रहन सक्दैन् भनिन्छ । यही भयो, राजा महेन्द्र र वीपीका बिचमा ।’ बेलायतबाट फर्किए पछि उनले राजनीतिमा सिधै प्रवेश गरेनन् । जतिखेर उनी फर्किए राजा महेन्द्रको हातमा शासन सत्ता थियो । त्यसैले आफ्नो लागि यो उपयुक्त समय होइन भन्ने उनलाई लाग्यो र उनले अरु काम थाले ।

 

बेलायतमा बस्दैगर्दा नै तत्कालिन युवराज वीरेन्द्रसित उनको सम्बन्ध राम्रो रहेको थियो । त्यसैले वीरेन्द्र शाह राजा हुनासाथै उनको राजनीतिक करिअरको पनि सुरुआत भयो । अनि उनले राजनीतिका लागि सिन्धुपाल्चोक जिल्लालाई चुने । 

त्यसबेला अप्रत्यक्ष चुनावबाट निर्वाचित हुने प्रचलन थियो । त्यसैले उनी पहिले गाउँ पंचायतको उपप्रधानपञ्चमा निर्वाचित भए । त्यस पछि जिल्लाको उपसभापति भए । अनि राष्ट्रिय पञ्चायतको सदस्य भए । यसरी पाँच महिनाको बीचमा उनी राष्ट्रिय पञ्चायत सदस्य भएका थिए, २०३० सालमा ।

आफूले सिन्धुपाल्चोकलाई निर्वाचन क्षेत्रकारुपमा चुन्नुको कारण काठमाडौं नजिक रहेर पनि पिछिडिएको जिल्ला भएकोले आफूले सिन्धुपाल्चोकलाई चुनेको बताउँदै थिए । उनी भन्छन्, ‘सिन्धुपाल्चोकमा हाम्रो परिवारसित सम्वन्धित व्यक्तिहरु पनि थिए । अर्को कुरा, त्यो पिछडिएको ठाउँलाई अलिकति भएपनि विकासको मार्गमा डोर्याउन सक्छु कि भन्ने भावना पनि मनमा थियो ।’

वास्तवमा राजधानी नजिक भएर पनि सिन्धुपाल्चोक जिल्ला पिछडिएको थियो । पाँचखाल हुँदै जिल्ला पस्थे उनी । जाँदा दस बाह्र दिनका लागि कम्तीमा पनि जानु पर्दथ्यो । कोसौं हिँड्नु पर्दथ्यो । कोदारी राजमार्ग बने पनि गाउँ गाउँ जाने मोटर बाटो थिएन् ।
चौतारा र बाह्रबिसे गरेर जम्मा दुई वटा मात्रै हाइस्कूल थियो । दुई गाउँमा मात्रै बिजुली पुगेको थियो । अर्थात, जिल्लाको विकास केही भएकै थिएन । 

तथापि उनी गाउँ गाउँ हिँडे । सुख सयलमा जीवन बितेको भएपनि उनले सिन्धुपाल्चोकको विकासका लागि आफूलाई समाहित गरे ।  उनी भन्छन्, ‘म हिँड्न त सक्थें । तर मलाई खाना र पानीको व्यवस्था मिलाउन गाह्रो हुन्थ्यो । बाथरुम थिएन् । सुत्नलाई पनि समस्या हुन्थ्यो । तर पनि म लाग्दै गएँ ।’ 
दु:ख देख्दा देख्दैपनि उनी राजनीतिमा होमिए । र जब ०३४ सालमा शिक्षामन्त्री भए,  उनले जिल्लामा केही स्कुलहरु थपे । त्यसैबेला ऐशेलुखर्कमा पहिलो हाइस्कुलको स्थापना गरे । कतिपय ठाउँहरुमा निम्न माध्यमिक विद्यालयहरुको पनि स्थापनाको व्यवस्था मिलाउँदै गए । प्राथमिक स्कुलहरुको स्थापनामा पनि उनले ध्यान दिए ।

यातायात र पर्यटन मन्त्री हुँदा उनले बाटोघाटोको निर्माणमा ध्यान दिए भने जलस्रोत मन्त्री हुँदा खानेपानी, विद्युत र सिचाइको व्यवस्था मिलाउँदै गए, सिन्धुपाल्चोकमा । यसरी उनले सिन्धुपाल्चोकको विकासमा सक्दो योगदान दिँदै गए । 
उनी भन्छन्, ‘सिन्धुपाल्चोक जिल्ला अहिले युएनको रेकर्डमा विकसित जिल्लामा पर्छ । त्यो अवस्थामा पुगिसकेको छ ।’

 

वि.सं. २०२२ सालदेखि ०३० सालसम्मको समयमा उनले विभिन्न काममा हात हाले । राजा महेन्द्रको समय भएकोले तत्काल राजनीति नगर्ने मनस्थिति बनाएका उनले केही समय गोरखापत्र संस्थानबाट प्रकाशित हुने अंग्रेजी भाषाको पत्रिका ‘द नेप्लीज पर्सपेक्टीव्स’को सम्पादन समूहमा रहेर काम गरे । उनी त्यसको ‘फरेन एण्ड इकोनोमिक एडिटर’ थिए । उनी संगै त्यो समूहमा थिए, डा. मोहमद मोहसिन र तीर्थराज तुलाधर पनि । डा. मोहसिन चीफ एडिटर थिए ।

पशुपति हास्दै भन्छन्, ‘म पनि कुनै बेला पत्रकार थिएँ ।’ 

त्यस पछि डा. तुलसी गिरीले गृह पञ्चायत मन्त्रालयमा सहसचिव भएर काम गर्न भने । उनले पनि ठिकै छ भनेर काम थाले ।  यसैबीच उनको संगत नेपाली काँग्रेसका साथीहरुसित बढेर गयो ।

उनी एउटा घट्ना सम्झिन्छन् यसरी, ‘त्यसै बीचमा मैले एमएको राजनीति शास्त्रको एउटा कक्षामा एकदिन लेक्चर दिएको थिएँ, पेपर प्रस्तुत गर्दै । जसमा तीन किसिमको शोषणका कुरा उठाएको थिएँ । मैले पेपरमा पहिलो, काठमाडौंले बाँकी नेपालमा गर्ने शोषणको कुरा गरेको थिएँ ।  दोस्रो, बाहुन, नेवार र क्षेत्रीले बाँकी जातीमा गर्ने शोषणको कुरा उठाएको थिएँ । अनि राणाकालिन ‘क्लाइन्ट फेमिलि’हरु (जस्तै गुरुजु खलक, जमिनदारहरु, या राणा घरानामा काम गर्नेहरु)ले गर्ने शोषणको विषय पनि उठाएको थिएँ । यीनै प्रकृत्ति र प्रवृत्तिका व्यक्तिहरु ठूलो पदमा आसिन रहेका थिए । मैले उदाहरण दिने क्रममा यी वर्गले नै सबैभन्दा महत्वपूर्ण पदहरु ग्रहण गरेको पेपरमा उल्लेख गरेको थिएँ । मैले केही उदाहरण नै दिएको थिएँ, जस्तै तत्कालिन प्रधानमन्त्री ध्रुव शमशेरकोमा काम गर्नेको छोरा र अर्को ठूलो पदमा चाहिँ गुरुजु खलकको मानिस भनेर तोकि नै दिएको थिएँ । यो कसैलाई सह्य भएन् । यही उदाहरणले मेरो सह सचिवको जागिर पनि गयो ।’ 

उनको जागिर खोसिए पछि त्यो पेपरको साइक्लोस्टाइल पेपर निकालेर खुबै बाँडियो । धेरैले पढे पनि । 

यस पश्चात केही समय उनी केही काम नगरी बसे । त्यसैबेला युवराज वीरेन्द्र नेपाल फर्केका थिए । उनले तिमीमाथि अन्याय भएछ, फेरि जागिर खाउ भनेर पशुपतिलाई भने । पशुपतिले सिधै ‘म सरकारी जागिर खान्न’ भनिदिए । 
पशुपति हास्दै भन्छन्, ‘मैले वीरेन्द्र सरकारलाई म सरकारी जागीरबाट अघाएँ भन्दै सरकारी जागिर खान्न भनेँ ।’

त्यसैबेला सेडाको स्थापना हुँदै थियो । एउटा स्वतन्त्र संस्थाकोरुपमा । त्यसैले उनले त्यहाँ काम थाले । 

तत्कालिन राजा महेन्द्रको निधन पश्चात वीरेन्द्र राजा भए । यहीँबाट पशुपति शमशेरको राजनीतिक यात्रा पनि सुरु भयो । पशुपति आफ्ना पिताजीको सपनाबाट प्रेरित थिए । त्यसैले इन्जिनियरको बाटो छोडेर राजनीतिको मार्गमा होमिएका थिए । आज चार दशक भन्दा बढिको समय राजनीतिमा उनले बिताइसकेका छन् ।

त्यसबेला पञ्चायतकालीन समय भएपनि राजनीतिमा खुट्टा तानातानको अवस्था थियो । आठ जिल्ला ओगटेको बागमति अंचलमै पनि दुइ समूह थियो । एउटा जोगमेहर श्रेष्ठको र अर्को नेत्रविक्रमको । उनी सिन्धुपाल्चोकबाट उठ्दा उनको सम्पर्क नेत्रविक्रमसंग थियो । तर अंचलमा भएको चुनावमा उनलाई जोगमेहरका धेरै मानिसले पनि सघाएका थिए । पछि उनी जोगमेहर संग पनि निकट भए ।

उनी भन्छन्, ‘पंचायतकै राजनीतिमा ०३६ साल पछि त झण्डै झण्डै पार्टीकरण जस्तै अवस्था थियो । एउटा समूह सूर्यबहादुर सित थियो । अर्को समूह हामीसित थियो । हामी सूर्यबहादुर जीको मुख्य विरोधमा उठेका थियौं; म, प्रकाशचन्द्र लोहनी र पद्मसुन्दर लावती । पछि हाम्रो समूहमा लोकेन्द्रबहादुर जीलाई ल्यायौं ।’

 

पछि मरिचमान श्रेष्ठ प्रधानमन्त्री भए । उनी हार्डलाइनर थिए । त्यसैले पशुपति शमशेरको समूह र सूर्यबहादुर थापाहरुको समूह जुन किसिमले अगाडि बढेको थियो, त्यो त्यहीँ रोकियो ।  सूर्यबहादुर प्रधानमन्त्री हुँदा आफूहरुले आम सभा गरेको र लोकेन्द्रबहादुर प्रधानमन्त्री हुँदा सूर्यबहादुरहरुले आम सभा गरेको किस्सा उनी सुनाउँदै थिए । 

गुट उपगुटकै कारण एक पटक पशुपति शमशेर जबरा आफ्नै जिल्लामा थुनिए । नेत्रविक्रमले उनकै समूहमा संलग्न १६ जना उछृँखल व्यक्तिहरुलाई लगाएर पशुपति शमशेरलाई बाडेगाउँको एउटा स्कूलमा थुनेर राखेका थिए । पछि उनलाई काठमाडौंबाट गएको प्रहरीको टोलीले रेस्क्यु गरेको थियो ।

 

त्यसबेला नेत्रविक्रमको एउटा पोस्टर गाउँमा टाँसिएको  थियो । जस्मा उनले नमस्कार गरेका थिए । पशुपति शमशेरले आफूलाई प्रहरीले छुटाए पछि चौतारामा जिल्लाबासीहरुसित भने, ‘फोटोमा नेत्रविक्रमले नमस्कार गरेर बिदा माँगेका छन् । उनलाई बिदा दिनुस् ।’ 
यतिभनेर पशुपति शमशेर उन्मुक्त हाँसो हाँसे । 

त्यसबेला उनी धेरै भोटले जिते । ५२ हजार भोट आएको थियो पशुपतिको ।  पशुपतिले व्यापारमा पनि हात हाले । उनले नेपालमा एलपी ग्यासको व्यापार सुरु गरे । 

उनी भन्दै थिए, ‘राजनीति गर्न पैसा चाहिन्छ । पैत्रिक सम्पति खर्चेर राजनीति गर्ने कुरा आएन । अरु तरिकाले कमाउने कुरा भएन । त्यसैले मैले नेपाल ग्यासको उत्पादनमा लगानी गरेँ । मेरो राजनीतिक यात्रामा आर्थिक सहयोग पुर्याउनैका लागि मैले यो व्यवसायमा हात हालेको थिएँ ।’  
अन्त्यमा उनी गम्भीर भएर भन्दै थिए, ‘नेपालको जुन ढंगबाट विकास हुनुपर्ने हो त्यो हुन सकेन ।’ 

तपाईंको मत