कतारका नेपालीको ‘तकदिर’

कतारका नेपालीको ‘तकदिर’

– मीनराज वसन्त


बाग्लुङ बलेवामा जन्मिएँ, हुर्किएँ । मीठो—मसिनो होइन, पेटभरि भात खान पनि सङ्क्रान्ति, पर्वादि कुर्नुपर्ने । मासुखान दशैं नै पर्खनुपर्ने । निम्नकोटिको परिवारलाई आइपर्ने अधिकांश दुःख हामीले अंशमा पायौं ।

अरबभूमिको तातो बालुवाले पैताला टट्याएपछि बल्ल बुझें— दुःख के हो ! जीवन के हो !

यायावरीका लागि विदेश पस्ने, आजको ‘लिगेसी’ होइन । हिजो राणाहरूले छाती नापेर विदेश पठाउने प्रचलनको थालनी गरे । गणतन्त्रको युगमा आइपुग्दा पनि एकरत्ती बदलिएको छैन । बदलिएको चाहिँ यत्ति हो— हिजो बलियाबांगा जान्थे, आज ‘भोकानांगा’ समेत जान सक्ने भएका छन् ।

परिस्थितिले मलाई पनि २०—२१ कै उमेरमा अरबको तातो बालुवामा धकेलिदियो । हातमुख जोड्नकै लागि अर्काको देशमा जानुपर्ने अभिशप्त नियति आज जनजनको भागमा परेको छ । म पनि अछुतो रहिनँ ।

तर, नेपालीजस्ता अदक्ष, बेसीपे कामदारलाई अरबसागर केवल दुःखको भवसागर हो ! यही दुःख अनुभूत नगरेको भए मैले ‘मुदिर’ लेख्ने धृष्टता गर्दिनथें कि !

धन्यवाद अरब !

० ० ०

मेडिकल विज्ञानमा विद्यावारिधी गर्ने, डक्टरको उपाधि लिने, स्टेथेस्कोप घाँटीमा बेर्ने— अधिकांशका सुस्वादु सपना हुन् । मेरो पनि थियो । गरिबीले खियाएको मेहनत र छिपछिपे पढाइले पार नलाग्ने देखेपछि लेखनतिरै लहसिएँ ।

आफ्नो दुःख भीमकाय पहाड लाग्थ्यो । त्यो छिचोलेर सुखको शिखरमा कहिले पुग्ने होला ? निकै कहालिन्थें म ।

बाबुआमाले भोग्दै आएको समय, उहाँहरू बाँचेको युग, मद्रास बस्दाताकाका दुःखको झिनाझप्टी आदिलाई समेटेर ६० कै दशकतिर कम्प्युटरमा ९२ हजार शब्द उतारेको थिएँ । उपन्यास भयो कि बेतुकको गन्थन— मैले भेउ पाउने कुरा भएन ।

तिनताक अमर न्यौपाने खुब सुनेका नाम थिए । ‘पानीको घाम’ निकै आह्लादित हुँदै पढेको थिएँ । न्यौपानेका शब्द पढेर द्रविभूतमात्रै होइन, ‘पानीको घाम’ले अपहरण गरेर कैयन पटक नेपालगन्जको कुनाकन्दरा रिँगाएको छ मलाई ।

प्राञ्जल शब्द । उम्दा कथा बुनोट । पात्र छनोट त्यस्तै । ‘पानीको घाम’को शिखरमा अमर दाइ फेरि पुग्नुहोला, नहोला— मनमा द्विविधा बास बसिरहेको छ । अद्यपर्यन्त ।

र त, उपन्यास भन्नेबित्तिकै अमर न्यौपाने नै बुझ्थें । साहित्य र अमर न्यौपाने एकअर्काका पर्याय लाग्थ्यो । विद्युतीय हुलाकको माध्ययमबाट उहाँलाई पठाएँ ती शब्द ।

उहाँलाई बेवास्ता गर्ने सुविधा थियो । ‘ठीकै लाग्यो’ या ‘गज्जब छ’ जस्ता औसत या एकलाइने उत्तरले पनि टार्न सक्नुहुन्थ्यो । तर, उहाँले त्यसो गर्नुभएन । 

“तपाईंमा लेखनको बडो तिलस्मी लगाव छ । सम्भावनाको क्षितिज पनि उस्तै फराकिलो । लेख्न सक्नुहुन्छ तपाईंले, योचाहिँ एकदम सतही कथा भयो ।”

उहाँको उत्तरले केही छटपटी, केही नैराश्यता, केही लघुताभास पक्कै निम्त्यायो । तर, उपन्यास लेख्ने हुटहुटीलाई भने निभ्न दिइनँ ।

उमेरमै कतार जान हतार गरें । अरबको तातो बालुवाले पैताला डामेपछि मेरा चक्षु उघ्रिए । र, अमर दाइसँग पुनः सामीप्यता बढाएँ ।

त्यसबखत पनि उहाँ भन्नुहुन्थ्यो, “नेपालमा बस्नेहरू डायस्पोराको कथा सुन्न लालायित छन् । अझ खाडीको दुःख त विशेष रोजाइमा पर्छ । तिमी कतार छौ, त्यहीँको कथा लेख, हामीले यहाँ बसेर लेख्दा, स्वैरकल्पना हुन्छ, माटो आउँदैन ।”

यही प्रेरणाले डोर्‍याएर ‘मुदिर’सम्म पुर्‍याएको हो मलाई ।

कतारको कहर त लेख्ने तर आफूले त दुःख भोगेको छैन, दाइले भिसा पठाएर अरब पुगेको म कम्पनीमा टहलिनेबाहेक अर्को काम छैन । न्यून वेतनबाहेक सुनाउने पीडा दोस्रो छैन ।

कतारको अल्तामेज कम्पनीमा गएको थिएँ । कम्पनी स्वयंमा रोजगादाता थिएन । उसले अरूलाई कामदार आपूर्ति गथ्र्यो । पहिला कतारस्थित ओमन दूतावास र पछिल्लोपटक कतारीकै लेखापरीक्षण गर्ने संस्था कुर्ने जिम्मा पाएको थिएँ । खासै दुःख भोगेको होइन । औसत नेपाली कामदारले भोग्ने हेयले पनि मलाई छोएको थिएन ।

कतारको दुःख जीवनसादृश्य त उतार्ने तर कहाँबाट शुरू गर्ने ? कुहिराको काग बनें म ।

पुनः अमर न्यौपानेसँगै सहायता मागें ।

“यहाँबाट हेर्दा घाम टाढा लाग्छ तर नजिक हुन्छ । त्यहाँबाट हेर्दा परिवार टाढा लाग्छ तर मन हुन्छ,” यस्तै आशयको अनुच्छेदांशसहित केही टिप्स दिनुभयो ।

तिनताक म नज्मा बस्थें । दोहाको नजिकै थियो त्यो । दैनिकजसो आठ–नौ किलोमिटर गाडीमा जानुपथ्र्यो, अलनासर कम्पनीमा । कामदार छोड्दै जाँदा जहिल्यै ढिला हुने । मालिकको हप्कीदप्की त सामान्य भइहाल्यो ।

एकदिन उसैले फोन गरेर भन्यो, “तँ नज्मा नबस् । सनैया जा ।”

सनैया । कतारीहरूले कामदार राख्ने ठाउँ थियो, श्रमिकहरू बस्ने ठाउँ भनौं । कम्पनीबाट करिब ३२ किलोमिटर दूरी थियो ।

सनैयामा गोविन्द कोइराला थिए, साथी पनि । उपन्यास लेखनको हुटहुटी उनैलाई सुनाएँ । भनें, “गोविन्दजी, उपन्यास लेख्नुपर्‍यो । कतारमा आएर सुखका कथा लेखेर भएन । आखिर सुख पनि छैन यहाँ । भयङ्कर दुःख भोगेको, कम्पनीबाट प्रताडित भएको पात्रहरूको खोजी गर्नुपर्‍यो । तिनैका कथा उपन्यासमा उतार्नुपर्‍यो ।”

जता हेर्‍यो, उतै दुःखको कुम्भिपाक लाग्छ, कसको मात्रै कथा लेख्नू ? अवाक् बने गोविन्द ।

केहीछिन गम खाएपछि तिनले अच्युत न्यौपाने भेटाइदिए । नेपाल प्रहरीमा कार्यरत अच्युत घरको दुःख थेग्न नसकेपछि कतारको बाटो तताएका रहेछन् । कतार जाँदैमा दुःखबाट के पार पाउनू ? झन् गर्तमा जाकिए ।

तर, अरूको दुःख देखेपछि आफ्नो दुःख निकै फिक्का लाग्यो उनलाई ।

मैलेभन्दा धेरै दुःख भोगका मानिस भेटाउँछु भन्दै उनले एक हप्ता पर्खाए । आठौं दिनको दिन बेलुकापख गृष्मकालीन तातो बालुवामा तपतपी पसिना चुहाउँदै एक घण्टा हिँडेर सनैयाकै अर्को कुइनेटामा पुर्‍याए, गोविन्द र मलाई ।

विद्रूप हालतमा पात्र भेटिए । निकै भावुक हुँदै भन्छन्, “कथा त भनूँला तर कथा लेख्न लाग्ने खर्च पो मसँगै छैन त ! कति पैसा दिनुपर्ने हो ?”

चरक्क चिरियो मेरो मुटु ! आँखा रसाउलाझैं भयो । माथि आकाशतिर फर्किएर आँखाको आँसु आँखामै ओभाएँ ।

बल्लबल्ल पात्र भेटेको छु । विह्वल हुँदै कति पैसा दिनुपर्ने हो भन्छन् । कतिसम्म अवोध ! निरीह !

“केही पर्दैन दाजु ! बरु आफूले भोगेको दुःख, स्वप्न, दुःस्वप्न, सबै बेलिबिस्तार लगाइदिनुस् !” यति भनेपछि उनी फुरुंग भए । र, कथा बताउन हतारिए ।

अरबको ५५ डिग्री सेल्सियसको तातो धूप । सात सूर्य एकसाथ उदाएजस्तो भतभती पोल्ने । शरीर पूरै जलेको थियो । राम्ररी हिँडडुल गर्न नसक्ने भएकाले तन्नम हालतमा आराम गरिरहेका थिए ती ।

८२ हजार नेपाली रुपैयाँ ऋण काढेर कतार उडेका उनी । गलत कम्पनीको फन्दामा परेछन् । साहूले भनेको बेला वेतन भुक्तानी नगर्ने । भोकभोकै कामदारले कतिन्जेल हड्डी घोट्नू ?

हैरान भएपछि प्रहरी गुहारेर थुनाएका रहेछन् । मालिकै जेल परेपछि मजदुरको के हालत होला ? आहत् हुँदै बिहान लुकिछिपी पेट्रोलपम्पमा काम गर्न थालेका रहेछन् ती पात्र ।

दर्दले हमेसा पछ्याइरहेका तिनले पेट्रोलपम्मा काम गर्दैमा कहाँ मुक्ति मिल्थ्यो !

एकदिन गाडीमा पेट्रोल भर्दै थिए । एकजनाले चुरोट खाएर नजिकै फ्याँकेछन् । पेट्रोल पम्पवरपर खाल्डाखुल्डीमा इन्धन जमेको हुँदो हो, आगो सल्किइहाल्यो ।

निभाउन त निभाए । त्यतिन्जेल उनको शरीर आधाउधी जलिसकेको थियो । हतार–हतार अस्पताल पुर्‍याइए । सामान्य उपचार भयो । अवैधानिक कामदारका लागि कम्पनीले सबै खर्च के बेहोथ्र्यो !

प्रत्येक शुक्रबार भेट्न उनको दुःखी मकान जान्थें । “घर फर्कौं भने यो हालत छ । पैसा कमाएको होइन, टिकट काट्ने पैसा पनि छैन,” शरीरभन्दा बढ्दा चहर्‍याउँथ्यो उनको मन ।

जेल परेका छन् साहू, उनको दस्तखतबिना घर जान पनि नमिल्ने ! कतारको धूप खप्नुभन्दा जलेको शरीर लिएर भए पनि घरै फर्कन्छु भन्दा पनि जान पाएका छैनन् । योभन्दा विदारक अवस्था अर्को कुन हुन्छ ?

झन्डै आठ हप्ता लगाएर फोए तिनले मनको गाँठो । तिनै पात्रको दुःखी ‘तगदिर’ अन्ततः ‘मुदिर’को रूपमा बाहिर आयो ।

प्रस्तुति: अक्षर काका
 

प्रतिकृया दिनुहोस
ad