साहित्य र कला

योगीजस्तै भगिरथ

योगीजस्तै भगिरथ

– नरेश फुयाँल


देख्नलाई रमाइलो, सुन्नलाई सजिलो तर देखे र सुनेजस्तो हुँदैन समाचारकोे खेती । हतारको साहित्य, तुरुन्तै लेखिहाल्नु पर्ने अनि ‘अडियन्स’लाई सुनाइहाल्नु पर्ने । एकै वाक्यमा भगिरथ प्रयास हो पत्रकारिता । भगिरथ प्रयास नै गरे भगिरथ (योगी)ले पनि पत्रकारितामा आफूलाई टिकाउन र चिनाउन । कहिले स्वदेशमा त कहिले विदेशमा । छापादेखि अनलाइनसम्म, लेख्नेदेखि बोल्नेसम्म ।

दशकौंको साधना र लगनले सबैखाले सञ्चार विधामा अटाएका भगिरथ अहिले लन्डनमा बसेर ‘बीबीसी नेपाली सेवा’ चलाउँछन् । केही दिनको व्यक्तिगत काम लिएर नेपाल आएका बेला उनी हामीसँग बोल्न राजी भए । सकेसम्म यस्ता अन्तर्वार्ताबाट टाढै रहने भगिरथ भन्दै थिए, “म अलि लजालु छु, आफ्ना बारेमा भन्न जान्दिनँ ।”

यही लजालु स्वभावकै कारण हुनुपर्छ— उनी साधक योगीजस्तै लाग्छन् । बोली जति नम्र छ, व्यवहार उत्तिकै नरम र सादगी । जुनसुकै उमेरका व्यक्तिलाई पनि उत्तिकै सम्मान गर्छन् । संविधानविद् स्वर्गीय गणेशराज शर्मालाई सँधै संझने योगी चर्चित धार्मिक गुरु ओशोका अनुयायी पनि हुन्।कम बोल्ने भएरै होला— उनका कुरा जान्न हामीले पनि भगिरथ प्रयास गर्‍यौं ।

भुइँमान्छेका कथा

भगिरथ लन्डन बस्छन्, उतैबाट देशदेशावरका सूचना लाखौंलाई सुनाउँछन् । देशदेखि विदेशका कति राम्रा, कति नराम्रा, कति पत्यारिला कति अपत्यारिला समाचार बनाउँछन्/सुनाउँछन् ।

जुन भूमिमा गरिबी, अशिक्षा, बेरोजगारी र राजनीतिक अस्थिरता छ, त्यो समाचार र समाचार सामग्रीका लागि ‘भर्जिन ल्यान्ड’ हो । अर्थात् नेपाल समाचारको उर्भर भूमि हो, मात्रै त्यसलाई उधिन्न पत्रकारमा दह्रो इच्छाशक्ति चाहिन्छ ।

भगिरथ सुटुक्क नेपाल आउँछन्, भुइँमान्छेका कथा खोज्न । भुइँमान्छे बनेरै गाउँ–गाउँ पुग्छन्, जनताका सुख–दुःख टपक्क टिप्छन् र त्यही कथालाई सुन्दर कलेवर दिन्छन् । त्यही कार्यक्रम स्रोताले मन पराउँछन् । जनताको जनजीवनसँग दिनानुदिन जोडिएका कथा भन्ने उनको बेजोड शैली नै उनको पहिचान हो । विषय पहिचान गर्न सक्नु उनको विशेषता हो ।

०७२ वैशाख महाभूकम्पको एक वर्ष पुग्न लागेको थियो, तर पुनःनिर्माणले गति लिएको थिएन । उनी सिन्धुपाल्चोक र काभ्रे पुगे । भूकम्पपीडित जनताका अस्थायी टहरामा पसे । च्यातिएको पालले न दिनको घाम छेक्थ्यो न रातको शीत । बस्तीमा पानीका मूल सुक्न थालेका थिए, बालबच्चाको पढाइ थन्किएको थियो । अवस्था दयनीय थियो । उनले पीडितकै बस्तीमा पुगेर पीडितकै स्वरमा व्यथा सुनाइदिए । सरकारी  ढिलासुस्तीप्रति जनआक्रोश सुनाइदिए । सरकारी अधिकारीका टालटुले जवाफ पनि सुनाइदिए ।

जनताका समस्या जनताकै आवाजमा सुनाइदिने उनको बानी छ । त्यसैले त उनी सकेसम्म जनताकै घरआँगनमा पुग्छन्, जनताका कथा व्यथा सुन्छन् र सरोकारावाला पक्षलाई पनि सुनाइदिन्छन् ।

० ० ०

भन्नलाई कारागार सुधार गृह हो भनिन्छ तर सबैलाई थाहा छ— कारागार सुधारगृह होइन, अपराधीका क्रिडास्थल बनिरहेका छन् । कारागार ‘ओभर–क्राउडेड’ छन् । नेपाली न्याय प्रणालीको ढिलासुस्तीले कारागारमा क्षमताभन्दा धेरै बन्दी छन् । ‘थप पुर्पक्षका लागि’ भन्दै जेल चलान गर्ने र निरन्तर म्याद थपेर जेलमा राख्ने चलनको अन्त्य भएकै छैन । त्यसले परिवारमा बिखण्डन ल्याइदिएको छ ।  भगिरथलाई अदालतमा हुने ढिलासुस्तीको असर स्वयं व्यक्ति र परिवार तथा समाजमा कस्तो परिरहेको छ भनेर देखाउनु थियो । उनी केन्द्रीय कारागार सुन्धारा गए, सुनसरी, झापा र दाङका कारागार पुगे, कैदीबन्दी र उनीहरूका आफन्तसँग कुरा गरे । जेलर र प्रशासनसँग सोधे, “किन हुन्छ ढिलो ?” न्यायमूर्तिका विचार बुझे र तयार गरे कार्यक्रमको नयाँ शृंखला । स्रोताले नयाँ विषय पाए, राज्य प्रशासनलाई खबरदारी भयो ।

० ० ०

प्रविधिले फड्को मार्‍यो । प्रविधिका कम्पनीहरूबीचको प्रतिस्पर्धाले उपभोगमा सहजता ल्यायो । प्रविधिको सहज उपलब्धता र शुलभ इन्टरनेटले सूचनामा जनताको पहुँच बढायो । इन्टरनेटसँगै सञ्चारमाध्यम पनि ‘ग्लोबल’ बनेपछि स्रोताले विकल्प भेट्टाए । आफ्ना स्रोतालाई आँफैसँग राख्न सञ्चार संस्थाले सामग्रीमा विविधता ल्याउनु पर्ने भयो । आफ्नो अस्तित्व बचाउन पत्रकारले पनि आफूलाई फरक र आकर्षक सामग्रीसहित प्रस्तुत गर्नुपर्ने भयो । अनभिज्ञ थिएनन् भगिरथ ।

तत्कालीन माओवादीको सशस्त्र युद्ध त सकिएको थियो तर त्यसका घाउ भने पुरिएका थिएनन् । द्वन्द्वले छेडेका घाउ आलै थिए, जसलाई मलमपट्टीको खाँचो थियो तर काठमाडौं पलायन भएको नेतृत्वले नजरअन्दाज गरिरहेको थियो । कानमा तेल हालेको नेतृत्वलाई ती चहर्‍याइरहेका घाउ देखाइदिनु थियो, जिम्मेवारीबोध गराइदिनु थियो ।

भगिरथले सफर गरे— लन्डनबाट काठमाडौं र काठमाडौंबाट सशस्त्र युद्धको उद्गम भूमि रोल्पा ।

रोल्पामा उनले ‘सहिद–पत्नी’ तुलसी विकलाई भेटे । उनको अवस्था र समस्या सुने । उनले सुनाउनु थियो– आफ्ना स्रोतालाई ।

“उनका पति १४ वर्षीय वामदेव विक दाङबाट रोल्पाको होलेरीतर्फ फर्किंदै थिए । सानैदेखि भारत बसेकाले नेपालमा सल्किएको युद्धको आगोबारे उनलाई खासै थाहा थिएन । सेनाले घर सोधेछ । उनले रोल्पा भनेछन् । घर रोल्पा भनेकै कारण उनी द्वन्द्वको चपेटामा परे । वामदेव मारिएको ४१ दिनपछि उनकी छोरी जन्मिइन्,” भगिरथ भन्छन्, “बर्दियाकाे अर्को घटना । उनी खेल शिक्षक थिए । माओवादी आएर चन्दा माग्यो, उनले चन्दा त स्वेच्छाले पो दिइन्छ, जबर्जस्ती पनि हुन्छ ? भनेछन् । त्यसदिन त ती माओवादी फर्किए तर भोलिपल्ट आएर ‘एकछिन काम छ’ भन्दै स्कुलपछाडि लगेर टाउकोमा गोली हाने । उनको टाउकोमा छिरेको गोली अझै पनि निकालिएको छैन, यस्तै विषय मैले त्यो शृंखलामा उठाएँ ।”

समस्या गाउँमै थिए, संघर्ष जनतामै थियो, त्यसैले समाचारका कथा पनि गाउँमै थिए । त्यसैले गाउँकै कथा उठाए भगिरथले । कहिले ‘न्यायको खोजी’, कहिले ‘परदेशको पीडा’ त कहिले ‘द्वन्द्वको घाउ’ अनि कहिले ‘बेरोजगार युवा’ जस्ता दर्जनौं विषयमा कयौं शृंखला बनाए र जनजनको कानसम्म पुर्‍याए ।

त्यसअघि

राजनीतिक व्यवस्था परिवर्तनका लागि भन्दै तत्कालीन माओवादीले ०५२ फागुन २ बाट जनयुद्ध शुरू गर्‍यो । ठाउँ–ठाउँमा आक्रमण भए । राज्य र विद्रोही दुवैतर्फ हताहती भइरहेको थियो ।

 २०५८ सालमा माओवादी लडाकुहरुले अछाम जिल्ला सदरमुकाम लगायतका ठाउँमा भीषण हमला गरेपछि उनले अंग्रेजी ‘स्पोटलाइट’का लागि आवरण कथा लेखे । शीर्षक थियो, ‘द प्रोक्सी वार’ । रिपोर्टको विषय थियो— माओवादी युद्ध आफ्नै थियो अथवा उनीहरूको नाममा कसैले छद्य युद्ध गरिरहेको छ, भारतको पो हात छ कि ? उनले प्रश्नचिन्ह उठाइदिएका थिए । भारतको साथ र सहयोगबिना नेपाली भूमिमा राज्यसत्ताविरुद्ध कसरी हतियार उठाउन सम्भव छ ? उनले २००७ सालको क्रान्तिदेखि झापा आन्दोलनसम्मको दृष्टान्त दिएका थिए । माओवादीको नाममा भारतले युद्ध छेडिरहेको हुन सक्ने शंका उनको रिपोर्टमा थियो । माओवादीलाई तालिम, गोलीगठ्ठा ओसारपसार, आर्थिक सहयोग र सेल्टर कहाँबाट प्राप्त भइरहेको छ भन्ने विस्तृत समाचार थियो, त्यो ।

त्यो दरबार हत्याकाण्ड

माधवकुमार रिमाल ‘स्पोटलाइट’ म्यागेजिनका प्रधान सम्पादक तथा प्रकाशक थिए । उनले राजा वीरेन्द्रका संवाद सचिवसँग दर्शन भेटका लागि समय मिलाइदिन आग्रह गरिरहेका थिए ।

रिमालले अनुरोध गरेको लामो समयपछि उनलाई दरबारले हरियो बत्ती बालिदियो । रिमाल ०५८ जेठ १९ गते अपरान्ह दौरा–सुरुवालमा ठाँटिएर दरबारतिर लागे । उनी बहुदलीय व्यवस्थाप्रति असन्तुष्ट थिए । राजा सक्रिय हुनुपर्छ भन्ने उनको मनसाय थियो ।

माधव अन्तर्वार्ताका लागि पत्रकारका रूपमा भन्दा पनि नागरिकका रूपमा गएका थिए । वीरेन्द्रले उनलाई भनेका रहेछन्, “ल माधव ! तिमी अहिले जाऊ । पछि भेट्दै गरौंला ।” त्यसपछि उनी दरबारबाट बाहिरिएका थिए । 

भगिरथ भन्छन्, “माधव दाइ नै हो वीरेन्द्रलाई भेट्ने अन्तिम नागरिक । उहाँ करिब ६ बजेतिर फर्किनुभयो । त्यसलगत्तै दरबारमा पारिवारिक जमघटको कार्यक्रम थियो, त्यसैले पनि उहाँभन्दा पछि वीरेन्द्रसँग कसैले भेट्यो भन्ने आजसम्म बाहिर आएको छैन ।”

शनिबार बिहान सबेरै माधवले भगिरथलाई फोन गरे, “भगिरथ दरबारको कुरा थाहा पायौ ?”

भगिरथलाई थाहै थिएन ।

माधवले भने, “दरबारमा गोली चलेको छ र राजासहित थुप्रै हताहती भएको अपुष्ट खबर छ, अलर्ट बस्नुपर्छ है ।”

‘स्पोटलाइट’ साप्ताहिक भएकाले त्यसका लागि समाचार फाइल गर्न हतार थिएन । सुशील शर्मा र भगिरथ भएर उक्त घटनाको समाचार बीबीसीका लागि फाइल गरे । दिनभरसम्म घटना कसरी भयो र गोली कसले चलायो भन्ने स्पष्ट जानकारी कसैबाट आएको थिएन । घटनाबारे सबैलाई थाहा थियो तर बोल्न कोही पनि चाहँदैनथ्यो ।

बीबीसीका दिल्ली संवाददाता ड्यानियल ल्याकले ‘युवराज दीपेन्द्रले राजासहित परिवारका सदस्यको गोली हानी हत्या गरेको’ समाचार पठाए । त्यसैलाई धेरैले फलो गरे, साभार गरे । तर, सुशील र भगिरथले भने घटनाको पुष्टि कसैले पनि नगरेको र युवराज दीपेन्द्रसमेत कोमामा रहेकाले गोली कसले चलायो भन्ने यकिन गर्न सकिएन भन्ने समाचार पठाए ।

“गोली दीपेन्द्रले चलाएको भनेर सबैले समाचार ब्रेक गरिरहेका छन् तर किन तिमीहरूले पुष्टि भएको छैन भनेर पठाउँछौ ? भन्दै सम्पादकहरूले हामीलाई प्रश्न गरे,” भगिरथ सम्झन्छन्, “त्यसबारे हामीले धेरै सम्पादकसँग बहस गर्‍यौं । दरबारका कोही सदस्य, सरकार, संसद् कसैले पनि नभनेको अवस्थामा हामी कसरी गोली दीपेन्द्रले नै चलाए भन्न सक्छौं भनेर त्यो बेला सुशील सरले कडा अडान लिनुभयो । पछि तत्कालीन सभामुख तारानाथ रानाभाट संयोजक रहेको जाँचबुझ आयोगले पनि दोषी को हो भनेर स्पष्ट किटान गरेन ।”

गोली युवराज दीपेन्द्रले नै चलाएको भनिए पनि अहिलेसम्म यसमा धेरैले विश्वास गर्न सकेका छैनन् ।

०५८ सम्म पनि मोबाइलमा नागरिकको सहज पहुँच थिएन । हुनेखानेका कम्मरमा मात्रै मोबाइल देखिन्थे । राजारानीको दाहसंस्कारको समाचार बीबीसीको पौने ९ बजेको समाचारमा समेट्नु थियो । उनले सँगै रहेका आफ्ना ज्वाइँको मोबाइल मागे र त्यहीँबाट वस्तुस्थितिको वर्णन गर्दै प्रत्यक्ष प्रसारण गरे ।

“दरबारका सबै सदस्यको एक चिहान भएको घटना, जनतामा तीब्र कौतुहल छाएको अवस्थामा ज्वाइँसा’बको मोबाइल मागेर प्रत्यक्ष प्रसारण गरेको मलाई अझै पनि सम्झना छ,” भगिरथ भन्छन् “त्यो घटना म त सम्झन्छु, नै आक्कल–झुक्कल भेटिने साथीहरूले पनि मलाई त्यो प्रत्यक्ष प्रसारण सम्झाउँछन् ।”

दाङ–काठमाडौं–दाङ

सुधारिएको पञ्चायती व्यवस्था कि बहुदलीय व्यवस्था ? भन्ने दुई भन्ने विषयमा बहस र आन्दोलन चलिरहेका बेला ०३६ सालमा भगिरथले दाङबाट एसएलसीको परीक्षा दिए । नतिजा राम्रो आयो । काठमाडौंका लागि बाटो खुल्यो । ०३७ मा अमृत साइन्स कलेज (अस्कल)मा भर्ना भए । उद्देश्य डक्टर बन्ने थियो । छात्रवृत्तिका लागि प्रयास गरे । भाग्यमा विश्वास गर्ने हो भने शायद उनको भाग्यमा थिएन । अवसर पाएनन् । त्रिचन्द्र कलेजमा बीएससी गरे । ग्रान्डी इन्टरनेसनल अस्पतालका निर्देशक डा. चक्रराज पाण्डे उनका सहपाठी हुन् ।

०४२ मा उनी गाउँ नै फर्किए, आफैंले पढेको पद्योदय पब्लिक माध्यमिक विद्यालयमा विज्ञान र गणित पढाउन थाले । हरेक वर्ष उही विषय, उही पाठ्यक्रम घोकाउनु पर्ने, घोत्लिनु पर्ने । उनलाई शिक्षण पेशा साँघुरो लाग्यो ।  पञ्चायतकाल थियो, प्रजातान्त्रिक विचार राख्न मनाही थियो । पत्रिकाको नाममा पनि सेन्सर हुन्थ्यो । भेषराज पौडेल पत्रिका दर्ता गर्न प्रशासन कार्यालय पुगे । उनले नाम राखेका थिए— ‘जय नेपाल’ । ‘जय नेपाल’ शब्द त्यो बेला क्रान्तिकारी मानिन्थ्यो । कर्मचारीले नाम ख्याल नगरी दर्ता गरिदिए । पछि पत्रिका प्रकाशन शुरू भए पनि पञ्चायतको वक्रदृष्टि पर्‍यो । केही दिनमै बन्द भयो । ‘नयाँ युगबोध’ र ‘जय नेपाल’ पत्रिकामा समाचार तथा लेख लेख्थे ।

पत्रकारितामा प्रवेश

०४७ मा काठमाडौं रमाना भए । समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर गर्न त्रिचन्द्र क्याम्पसमा भर्ना भए । त्यही बेला साथी केशव अधिकारीमार्फत ‘स्पटलाइट’का कार्यकारी सम्पादक सुशील शर्मासँग भेट भयो । संवाददाताबाट प्रवेश गरेका भगिरथले  ९ वर्ष काम गरे पछि त्यहाँ एसोसिएट एडिटरको जिम्मेवारी पनि संहाले ।

सन् १९९६ मा सुशील बीबीसी नेपाली सेवाका नेपाल संवाददाता नियुक्त भए । भगिरथ पनि उनलाई सघाउँथे । २००० बाट २००६ सम्म बीबीसीको संवाददाता/स्ट्रिन्जर भएर काम गरे । सन् २००२ मा ‘नेपाली टाइम्स’मा पनि केही महिना काम गरे ।

समयसँगै काम गर्ने संस्था फेरिँदै गए । उनलाई नेपालको पहिलो अनलाइन न्युज पोर्टल ‘नेपालन्युज.कम’मा सम्पादकको जिम्मेवारी प्राप्त भयो । २००४ देखि २००६ सम्म उनले अनलाइन समाचारको अनुभव सँगाले ।

सन् २००६ बाट उनले बीबीसी नेपाली सेवाका लागि लन्डनबाट काम थाले, जहाँ आजपर्यन्त उनको आवाज उस्तै जोश र जाँगरका साथ गुञ्जिरहेको छ, जसरी सन् १९९६ मा गुञ्जिन्थ्यो ।

भगिरथले पत्रकारिता शुरु गर्दा छापा माध्यम र रेडियोको बोलावाला थियो । टेलिभिजन हुनेखानेहरूको पहुँचभित्र मात्रै थियो ।

आज स्थिति फेरियो । समाचारका लागि प्रयोग गरिने सञ्चारमाध्यम फेरिँदै गए । पुरानाहरू ‘अपडेट’ र ‘अपग्रेड’ हुँदै गए । आज भगिरथ कार्यरत बीबीसी पनि अनलाइनमा केन्द्रित हुँदैछ । सबैभन्दा धेरै प्रयोगकर्ता अनलाइनको बाटो भएर आउने भएपछि अहिलेका सञ्चारमाध्यमले अनलाइनमा ध्यान दिँदैछन् । छोटाछोटा भिडियो क्ल्प्सिमार्फत आफ्ना पाठकलाई आकर्षित गर्दैछन् । भगिरथ पनि यसमै अभ्यस्त हुँदैछन्, हुन खोज्दैछन् ।

अहिलेको पत्रकारिता

प्रविधिको विकास भयो । सूचनामा जनताको पहुँच बढ्यो । पत्रकारलाई स्रोतसम्म पुग्न सहज पनि भयो तर अपेक्षाकृत सञ्चारमाध्यमले गुणस्तरीय समाचार प्रकाशन तथा प्रसारण गर्न सकेका छैनन् जस्तो लाग्छ भगिरथलाई ।

लामो समयदेखि लन्डनमा छन्, त्यसैले उनी विदेशकै अनुभव सुनाउँछन् । विषयवस्तुको गहिराइसम्म पुग्न समय लाग्छ । त्यसका लागि लामो समय लाग्न सक्छ । विषयवस्तुले कहिलेकाहीँ जानकार र अनुभवी पत्रकारको ठूलै समूह पनि माग गर्छ । एउटै समाचारका लागि एकभन्दा धेरै र लामो समय खर्चिने ‘ट्रेन्ड’ नेपालमा भने नभएको उनी बताउँछन् ।

पत्रकार स्वयंले पनि समाचारका लागि मेहनत कम गर्ने गरेको उनलाई लाग्छ । पत्रकारमा काम गर्ने जाँगर कम भएको आधार पुष्टि गर्दै उनी भन्छन्, “एउटै स्टोरीका लागि लाखौं रुपैयाँ खर्च गर्न खोज पत्रकारिता केन्द्रजस्ता संस्थाहरू पनि छन्, फेलोसिप गराउन चाहने संस्थाहरू पनि छन् र यसरी लेखिएका समाचार प्रकाश गर्ने सञ्चार गृह पनि छन् तर यतातर्फ पत्रकार आकर्षित भएजस्तो लाग्दैन ।”

गुणस्तरीय सञ्चार सामग्रीका लागि पर्याप्त समय, जनशक्ति र आर्थिक लगानी गर्ने नेतृत्वको पनि अभाव रहेको संकेत गर्दै भगिरथ सञ्चारमाध्यमका सम्पादकमा कुशल नेतृत्व क्षमताको खडेरी रहेको बताउँछन् ।

तपाईंको मत