खेल

रसियामा २१ औं विश्वकपको भब्य उद्घाटन

रसियामा २१ औं विश्वकपको भब्य उद्घाटन

एजेन्सी । २१ औं विश्वकप फुटबलको भब्य उद्घाटन भएको छ । रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा भब्य उद्घाटन भएको हो । फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकपको उद्घाटनमा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुतिसँगै ३२ राष्ट्रकै खेलाडी, प्रशिक्षक, अफिसियल तथा अतिथि उपस्थित छन् ।

उद्घाटनमा विभिन्न स्थानीय साँस्कृतिक झल्किने नृत्य तथा प्रदर्शन भएको छ । उद्घाटनमा ब्रिटेनका गायक रोबी विलियम्सले गीत गाउने गाएका छन् भने उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिएकी छन् । त्यस्तै, समारोहमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डो पनि दुई सेलिब्रेटीसँगै उपस्थित भएका थिए ।

रोनाल्डोले २ पटक विश्वकपको ट्रफी ब्राजिललाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उद्घाटन समारोहमा विभिन्न देशका झण्डासँगै मार्चपास गरिएको छ ।  आजदेखि करिब एक महिनासम्म चल्ने विश्वकपमा ३२ देश सहभागी हुँदैछन् । ३२ देशबीच ६४ वटा खेल हुनेछन् । खेल लिग कम नकआउटका आधारमा हुनेछ ।

रुसका विभिन्न १२ वटा रंगशालामा विश्वकप हुँदैछ । जसमा ७३६ जना खेलाडी प्रतिष्पर्धामा उत्रिँदैछन् ।  रसियाले २१औं संस्करणको विश्वकप फुटबल पहिलो पटक आयोजना गर्न लागेको हो । जुलाइ १५ तारिखसम्म सञ्चालन हुने विश्वकपमा आयोजक रसियासँगै, समूह ए मा साउदी अरब, इजिप्ट र उरुग्वे रहेका छन् । त्यस्तै, समूह बी मा पोर्चुगल, स्पेन, मोरक्को र इरान रहेका छन् ।

समूह सी मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् भने समूह डी मा अर्जेन्टिना, आइसल्याण्ड, नाइजेरिया र क्रोएसिया रहेका छन् । त्यस्तै, समूह ई मा ब्राजिल स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्विया रहेका छन् ।  त्यस्तै, समूह एफमा विश्व विजेता जर्मनीसँगै, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । समूह जी मा इंग्ल्याण्ड, बेल्जियम, पानामा र ट्युनिसिया रहेका छन् भने समूह एच मा पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान रहेका छन् । 
 

तपाईंको मत