ad

खेल

२१ औं विश्वकप आजदेखि, एक महिनासम्म १२ रंगशालामा हुने 

२१ औं विश्वकप आजदेखि, एक महिनासम्म १२ रंगशालामा हुने 

एजेन्सी । विश्वकप फुटबल बिहीबार (आज) रातिदेखि रसियामा भव्यरुपमा सुरु हुँदैछ । फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकपको उद्घाटनमा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुतिसँगै ३२ राष्ट्रकै खेलाडी, प्रशिक्षक, अफिसियल तथा अतिथि उपस्थित हुनेछन् ।
पहिलो खेल रुस र साउदी अरेबियाबीच हुनेछ । आजदेखि करिब एक महिनासम्म चल्ने विश्वकपमा ३२ देश सहभागी हुँदैछन् । ३२ देशबीच ६४ वटा खेल हुनेछन् । खेल लिग कम नकआउटका आधारमा हुनेछ ।

रुसका विभिन्न १२ वटा रंगशालामा विश्वकप हुँदैछ । जसमा ७३६ जना खेलाडी प्रतिष्पर्धामा उत्रिँदैछन् । 

विश्वकप फुटबलः कुन रंगशालामा कुन राष्ट्रको प्रतिस्पर्धा ?

रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा हुने उद्घाटनमा विभिन्न स्थानीय साँस्कृतिक झल्किने नृत्य तथा प्रदर्शन हुनेछन् । भब्य हुने उद्घाटनमा ब्रिटेनका गायक रोबी विलियम्सले गीत गाउने छन् भने उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिनेछिन् । उद्घाटन समारोहमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डो पनि दुई सेलिब्रेटीसँगै उपस्थित हुनेछन् । रोनाल्डोले २ पटक विश्वकपको ट्रफी ब्राजिललाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी नै आजको उद्घाटनमा आकर्षणको केन्द्र बन्नेछन् ।  
नेपाली समय अनुसार उद्घाटन समारोह ८ बजेर १५ मिनेटमा सुरु हुनेछ । उद्घाटन समारोह हेर्न करिब ८० हजार दर्शक आउने अपेक्षा गरिएको छ ।

करिब आधा घण्टासम्म चल्ने उद्घाटन कार्यक्रमपछि नेपाली समय अनुसार ८ बजेर ४५ मिनेटमा उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ । रसियाले २१औं संस्करणको विश्वकप फुटबल पहिलो पटक आयोजना गर्न लागेको हो । जुलाइ १५ तारिखसम्म सञ्चालन हुने विश्वकपमा आयोजक रसियासँगै, समूह ए मा साउदी अरब, इजिप्ट र उरुग्वे रहेका छन् । त्यस्तै, समूह बी मा पोर्चुगल, स्पेन, मोरक्को र इरान रहेका छन् ।

समूह सी मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् भने समूह डी मा अर्जेन्टिना, आइसल्याण्ड, नाइजेरिया र क्रोएसिया रहेका छन् । त्यस्तै, समूह ई मा ब्राजिल स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्विया रहेका छन् ।  त्यस्तै, समूह एफमा विश्व विजेता जर्मनीसँगै, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । समूह जी मा इंग्ल्याण्ड, बेल्जियम, पानामा र ट्युनिसिया रहेका छन् भने समूह एच मा पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान रहेका छन् । 
 

तपाईंको मत