site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मन्त्रीलाई दाइजो सम्बन्धी ‘कडा’ प्रश्न सोध्ने टीभी टक शो बन्द
Ghorahi CementGhorahi Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको सम्पत्ति विवरणसम्बन्धी विषयमा कडा प्रश्न सोधेको भन्दै १२ वर्षदेखि सञ्चालित नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न’ बन्द गरिएको छ ।

मन्त्री बास्कोटाको निर्देशनमा सरकारी लगानी रहेको नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको पत्रकार राजु थापाको टक शो ‘सिधा प्रश्न’ प्रशारणमा रोक लगाइएको हो ।
मन्त्री बास्कोटाले टेलिभिजनका व्यवस्थापकलाई शनिबार प्रसारण हुने सो टक शो रोक्न मौखिक निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

‘‘मन्त्रीले प्रोग्राम रोक्न टीभीलाई मौखिक जानकारी दिएका रहेछन् । हिजो (मंगलबार) न्यूज च्यानलले मन्त्रीजी रिसाउनुभयो, अब यो हप्ताबाट तपाईंको कार्यक्रम नजाने भयो भनेर खबर गर्यो,’’ पत्रकार थापाले बाह्रखरीसँगको कुराकानीमा भने । 

Agni Group

जेठ १२ गते प्रसारण भएको लाइभ टक शोमा अन्तर्वार्ताका क्रममा मन्त्री बास्कोटाले दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भएपछि रिसाएर आफ्नो कार्यक्रम बन्द गरेको पत्रकार थापाले दाबी गरेका छन् । अन्तर्वार्ताका क्रममा पत्रकार थापासँग सञ्चारमन्त्री बास्कोटा उनले मन्त्री भएपछि बुझाएको सम्पत्ति विवरणमा दाइजोसम्बन्धी प्रसंगमा रिसाएका थिए ।      
टक शोको प्रशारण बन्द गरिएपछि पत्रकार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘‘देशका जनताको सूचनाको संवैधानिक हक प्रत्याभूत गराउने, स्वतन्त्र प्रेसलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका सरकारका प्रवक्ताको यो कदमले के यो सरकार स्वतन्त्र प्रेस गतिविधिको विपक्षमा छ ? सत्तालाई जवाफदेही बनाउने पत्रकार र सञ्चारमाध्यम नियन्त्रण गर्न चाहन्छ ? त्यस्तो कदम लोकतान्त्रिक हुनसक्छ ? सत्ताको भूत र मातले गरिने यस्ता गतिविधिले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा हात्तीको देखाउने दाँत मात्रै त हुँदैन ? भन्ने प्रश्न उठेको छ ।’’  

पत्रकार थापाले अन्तर्वार्ताको दिनमा भित्र र बाहिरसमेत मन्त्री बास्कोटाको शैली ‘श्री ३ महाराज’ को भन्दा कम महसुस नभएको पनि बताएका छन् । ‘‘१२ वर्षको टेलिभिजन यात्रामा मैले यति धेरै दबाब झेलेको यो नै पहिलो पटक हो,’’ उनले भने । 

Global Ime bank

सञ्चारमन्त्री बास्कोटाले अन्तर्वार्ताका दिन टेलिभिजनका पत्रकार र कर्मचारीलाई हप्काएको, आफूले नमस्कार गर्दासमेत नमस्कार नफर्काएको उनले अनुभव सुनाए । ‘‘टेलिभिजन हाताभित्र पसेदेखि नै नमस्कार नफर्काउने, हप्काउने, दप्काउने गरेको देखेर म अचम्मै परें,’’ थापाले भने, ‘‘अन्तर्वार्ता दिँदा र त्यस अघि–पछि पनि उनले मलाई रैतिको जस्तो व्यवहार गरे ।’’ 

अन्तर्वार्तापछि सञ्चारमन्त्री बास्कोटाले आफूलाई घाँटीमा ‘सुर्किनी’ लगाउने चेतावनी दिएको उनले बताए । बास्कोटाले सोही दिन नेपाल टेलिभिजनका महाप्रबन्धकलाई समेत थर्काएको पत्रकार थापाले खुलासा गरे । 

‘‘केही दिनमा तपाईंहरुको घाँटीमा सुर्किनी लगाउँछु भनेका थिए । त्यही दिन उनले जीएमलाई पनि काम ढंगले गरेनौ भने केही महिना हेर्छु, नत्र हटाईदिन्छुसम्म भनेर गएका थिए,’’ थापाले बताए ।   

हेर्नुहोस् पूरा अन्तर्वार्ता

टक शोको प्रशारण बन्द गरिएपछि पत्रकार थापाले फेसबुकमा लेखेका छन्, ‘‘१२ वर्षसम्म टेलिभिजनमा कर्म गर्दा मैले जनता र देशलाई केन्द्रमा राखेर कर्तव्य निर्वाह गर्ने कोसिस गरेँ । टेलिभिजन पत्रकारिता गर्ने क्रममा मलाई माया, साथ, सहयोग, सद्भाव दिने र आलोचना गर्ने सबैलाई हार्दिक आभार प्रकट गर्दछु ।’’

यसैबीच नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको टक शो ‘सिधा प्रश्न’ सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाको प्रत्यक्ष निर्देशनमा बन्द भएको घटनाप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । 

योे घटनाले नेपालमा कम्युनिष्ट पार्टी नेतृत्वको शासन सुरु भएयता प्रश्न गर्ने अधिकार कुण्ठित हुँदै गएको प्रष्ट संकेत गरेको प्रेस युनियनले दाबी गरेको छ । ‘‘पत्रकार समेत रहेका मन्त्री बास्कोटाको कृत्य सरकार, सत्ता र यसका कार्यकारीहरुमाथि प्रश्न उठाउने हैन भन्ने निरंकुश मनसायबाट प्रेरित भएर आएको छ । हामीमाथि प्रश्न उठाउनेहरु सरकारी कोपभाजनमा पर्न तयार होउँ भन्ने सन्देश दिने किसिमको निरंकुश शैली मन्त्री बास्कोटाबाट प्रकट भएको छ,’’ युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

सञ्चार मन्त्रालयले भने कार्यक्रम बन्द भएको बारे थाहा नभएको बताएको छ । मन्त्रालयकी उपसचिव एवम् सहायक प्रवक्ता संगीता ओझाले कार्यक्रम हटाइएको बारे मन्त्रालयलाई थाहै नभएको जिकिर गरिन् । उता सञ्चारमन्त्री बास्कोटाको सचिवालय भने यस विषयमा कुनै टिप्पणी गर्न नचाहेको भन्दै पन्छियो ।

बास्कोटाले यस विषयबारे आफूलाई केही थाहा नभएको सचिवालयमार्फत् जानकारी गराएका छन् । “यस विषयबारे मलाई केही पनि थाहा छैन । नेपाल टेलिभिजनको कार्यक्षेत्र भएकाले उतै बुझ्न अनुरोध गर्छु,” मन्त्रीलाई उद्धृत गर्दै सचिवालयले जानकारी दियो ।

नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोक्काले नेपाल टेलिभिजनले सम्झौतामा सञ्चालन गरेको कार्यक्रम बन्द गरेको बताए । त्यस्तै उनले टेलिभिजनले कार्यक्रम बन्द गरेको विषयलाई मन्त्री र मन्त्रालयलाई नजोड्न आग्रह पनि गरे ।

“नेपाल टेलिभिजनले उहाँ (राजु थापा) लाई सम्झौता गरेर कार्यक्रम सञ्चालन गर्न दिएको हो । उहाँ नेपाल टेलिभिजनको कर्मचारी पनि होइन,” उनले भने । त्यस्तै उनले मन्त्री र मन्त्रालयको दबाब नभर्इ आर्थिक कारणले कार्यक्रम बन्द गर्नुपरेको जानकारी दिए ।

“सम्झौताको बुँदामा कार्यक्रम चित्त नबुझे बन्द गरिनेछ भन्ने उल्लेख छ, कानुनी हिसाबले नै बन्द गरिएको छ । जबरजस्ती निकालिएको भन्ने भ्रमपूर्ण कुरा हो,” उनको भनाइ थियो ।
उनले सर्वाधिकार (कार्यक्रम राख्ने वा हटाउने) अधिकार टेलिभिजनमै सुरक्षित भएकाले मन्त्रालयलाई जोड्नु अनुपयुक्त भएको जिकिर गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC