Skip Advt.

तीनवर्ष बित्यो बनेन रानीपोखरी, फेरि टेन्डर आह्वान गरिँदै 

तीनवर्ष बित्यो बनेन रानीपोखरी, फेरि टेन्डर आह्वान गरिँदै 

काठमाडौं ।  भूकम्पले क्षति पुर्‍याएको जमलस्थित रानीपोखरी पूनर्निर्माणले गति लिन सकेको छैन ।  विनाशकारी भूकम्पको तीनवर्ष बितिसक्दा पनि रानीपोखरीको पूनर्निर्माण अघि बढ्न सकेको छैन ।
पूनर्निर्माण महाअभियानको सुरुवात गर्दै २०७२ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिल्यान्यास गरेकी थिइन् ।
नेपालका १४ जिल्लामा भूकम्पले अति क्षति पुर्‍याएको र त्योसहित उपत्यकाका महत्वपूर्ण पुरातात्विक संरचना पूनर्निर्माण तीव्रताका साथ हुने भन्दै रानीपोखरी पूनर्निर्माणको शिलान्यास गरे पनि यसको पूनर्निर्माण अझै हुन सकेको छैन । काठमाडौं महानगरपालिकाले पूनर्निर्माणको जिम्मा लिए पनि रानीपोखरी पूनर्निर्माणबारे महानगरका कानुन, प्रशासन, अर्थ र पुरातत्व महाशाखाबीच नियमित बैठक र छलफल हुन नसक्दा रानीपोखरी यतिबेला घाँस र झारले घेरिएको छ ।

गतवर्ष स्थानीय तह निर्वाचन सम्पन्न भएपछि रानीपोखरी पूनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले पाए पनि आफ्नो क्षेत्राधिकार प्रयोग गरी रानीपोखरीको पूनर्निर्माणमा महानगरपालिकाले आलटाल गरिरहेको छ । अहिले आएर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले रानीपोखरी पूनर्निर्माणमा चासो देखाएका कारण महानगरपालिकाले योजनामा राखेको यसको पुनर्निर्माण थप अन्योलमा परेको महानगरपालिका स्रोतको भनाइ छ ।

“स्थानीय तहलाई अधिकार आएको बताए पनि रानीपोखरी पुनर्निर्माणमा मन्त्रालय अघि सर्दा महानगरको क्षेत्राधिकार खुम्चिन पुगेको छ,” महानगरका एक अधिकृतले भने, “हाल कंक्रिटवाल भत्काएर रानीपोखरी पुनर्निर्माण गर्ने महानगरको तयारी रहे पनि मन्त्रालयले चासो देखाउँदा थप अन्योलता देखिएको छ ।”

कंक्रिट वालबारे सर्वोच्चमा मुद्दा
 

रानीपोखरी पुनर्निर्माणका क्रममा उठाइएको वाल हटाउने विषयमा महानगरपालिका र निर्माण कम्पनीबीच विवाद चुलिएको छ । महानगरपालिकाका मेयर र उपमेयरबीच तत्कालीन समयमै यस विषयमा फरक मत रहँदै आएको थियो । अहिले भने यो विषय सर्वोच्चमा पुगेको उपमेयर हरिप्रभा खड्गीले बाह्रखरीसँग भनिन् ।

परम्परागत शैली नबिगारः मन्त्रालय 
 

यसै विषयमा चैत २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले महानगरलाई रानीपोखरीको पुनर्निर्माण गर्दा यसको मौलिक र परम्परागत शैली नबिगार्न महानगरको ध्यानाकर्षण गराएका थिए । मन्त्रालय, सम्पदा संरक्षक, पुरातत्वविद् आदिको राय, सल्लाह, सुझावअनुसार रानीपोखरीको डिजाइन तयार गरिँदै गरेको शहरी पूर्वाधार विभागका निर्देशक थापाले बताए । 

“चाँडै डिजाइन तयार गरी टेन्डर प्रक्रिया अघि बढाउनेछौं,” थापाले बाह्रखरीसँग भने, “कम्पनी छनोट गर्न ३५ दिन म्याद लाग्ने भएकाले यही आर्थिकवर्षको अन्त्यबाट रानीपोखरी पुनर्निर्माण सुचारु हुनेछ ।” 

  
 
   

 
 

प्रतिकृया दिनुहोस

सुरञ्जन घिमिरे