Skip Advt.

‘नखाए मरिँदैन, खाए मरिन्छ !’

‘नखाए मरिँदैन, खाए मरिन्छ !’

अक्षर काका


आकाश धुम्मिएको धुम्मियै छ । अझ चर्को छ, बाँसबारीस्थित न्यूरो अस्पतालको सन्नाटा ।

पित्तथैलीमा क्यान्सर (कोलान्जिओकार्सिनोमा)को संक्रमण फैलिएर कोमामा पुगेका वरिष्ठ न्यूरोसर्जन प्रा.डा. उपेन्द्र देवकोटा जीवन–मृत्युको दोसाँधमा छन्, यतिबेला ।

एसियाकै यशश्वी, दुर्लभ चिकित्सकको कोटीमा गनिने देवकोटाले जीवनकालमा हजारौँको रोग निको पारे । कतिलाई मुत्युको मुखबाट थुतेर ल्याए पनि ।

हजारौँलाई ‘जीवनदान’ दिने सर्जन अहिले आफैँ अस्पतालको शैय्यामा छन् । र, भगवानसँग प्रार्थना गर्न सिवाय कुनै विकल्प छैन शुभचिन्तकसामु ।

यही पीडा प्रतिच्छवित् छ अस्पताल परिसरमा । उपचारका लागि अस्पताल पुगेकामात्रै होइन, निको भएर फर्किएका सेवाग्राहीको अनुहारमा पनि कुनै कान्ति, चमक छैन । र, निर्निमेष बिन्ति बिसाइरहेछन्– “डा. देवकोटा चाँडो निको भएर बिरामीलाई पुनर्जीवन प्रदान गर्न सक्ने होऊन् !”

देवकोटाले दिएको ‘पुनर्जन्म’
एउटा सेतो रङको गाडी अस्पताल परिसरमा आएर घ्याच्च रोकियो । आएका रहेछन्– पूर्वसभामुख तारानाथ रानाभाट । 

डा. देवकोटा बिरामी भएर थला परेयता मलिन अनुहार लिएर अस्पताल आउजाउ गरिरहँदा रहेछन्, रानाभाट ।

“हजारौँको जीवन बचाउने ‘भगवान’ हुनुहुन्छ उहाँ । हाम्रो प्रार्थनालेमात्रै उहाँ बौरिने हो–होइन,” भेट्नासाथ भक्कानिए उनी ।

१२ वर्षअगाडिको दुःखद् घटना बेलिबिस्तार लगाउँछन् रानाभाट । तिनताक मस्तिष्कको स्नायुग्रन्थी फुटेर अचानक अचेत भए पूर्वसभामुख रानाभाट । अस्पताल पुर्‍याउन ढिला गरिएको भए चिकित्सकलाई बचाउन हम्मेहम्मे पर्थ्यो ।

डा. देवकोटा त्यतिबेला नर्भिक अस्पताल थापाथलीमा कार्यरत थिए । परिवारजनले सोध्दैखोज्दै पुर्‍याए । डा. देवकोटाले तत्कालै सर्जरी गरे । जोखिममुक्त भए रानाभाट ।
कामप्रति कत्तिको तिलस्मी लगाव थियो भनेर जान्न एउटा घटना स्मरणीय हुन्छ ।

अघिल्लो दिन रानाभाटको शल्यक्रिया सफल भयो । भोलिपल्ट जहान–परिवार लिएर मनकामना जाने कार्यक्रम बनाएका रहेछन् देवकोटाले । बिहानै स–परिवार प्रस्थान गरे ।

उता केबलकारबाट ओर्लिएर मनकामना मन्दिर जान खुट्किला चढ्नमात्रै के आँटेका थिए, यताबाट खबर गयो, “रानाभाटको स्वास्थ्य पुनः बिग्रियो, रक्तश्राव भएजस्तो छ ।” हेर फसाद !

मन्दिर दर्शन नगरी तत्कालै फर्किए उनी । र, नर्भिक आएर पुनः दोस्रोपटक शल्यक्रिया गरेर रानाभाटलाई जोखिमबाट पार लगाए ।

यसर्थ पनि बिग्रँदो स्वास्थ्य अवस्था देखेर विह्वल हुन्छन् रानाभाट । 

“कहाँ उहाँको मात्रै स्वास्थ्य लाभको कामना गरिरहेको छु र ! उहाँलाई सकुशल बनाउन सकियो भने अझै हजारौँको जीवन बचाउन सक्नुहुन्छ उहाँले,” विक्षिप्त हुन्छन् रानाभाट ।

र त, उनी प्रत्येक दिनजसो बिहान अस्पताल आउँछन् । चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे बुझ्छन् । स्वास्थ्य अवस्था स्थिर छ भन्ने थाहा पाएपछि निराश हुँदै फर्कन्छन् ।

“अस्ति अप्रिय खबर सुनाए । बेहोस होउलाझैँ भएँ । हतारहतार अस्पताल आइपुगेँ । अनुहार ढाके पनि खुट्टा उघारै राखिएको रहेछ । छामेर फर्किएँ,” पीडा सुनाउँछन् उनी ।

त्यसबाहेक हररात ऐँठन हुन्छ । दुःस्वप्नले गाँजिरहन्छ उनलाई । “बिहान प्रातः भ्रमणमा निस्कन्थेँ, अहिले अस्पताल नै आउन थालेको छु,” स्वरमा भावुकता थपिन्छ उनको ।

रानाभाटसँग कुराकानी गरिरहँदा नेपाल सरकारका पूर्वसचिव माधव रेग्मी आए । उनको अनुहार पनि छायाच्छन्न थियो । भेट्न नपाउँदाको पीडा प्रतिच्छवित् ।

बिरामी भएको खबर थाहा पाए पनि भेट्ने मौका पाएका रहेनछन् । अस्पतालमा भीडभाड बढेपछि आफन्तजनका अलावा विशिष्ट व्यक्तिहरूलाई समेत भेटघाटको प्रवन्ध मिलाइएको रहेनछ । 

भुइँतलामै रहेको आगन्तुक पुस्तिकामा स्वास्थ्य लाभको कामना लेखेर फर्किन बाध्य भए उनी ।

फर्कनै लाग्दा डा. देवकोटासँगका केही अनुभूति आफन्तजनसँग साटफेर गरे ।

डा. देवकोटाको बारेमा घुर्मैलो सुनेका उनले भेट्ने मौकाचाहिँ २०५६ सालमा प्रमुख जिल्ला अधिकारी हुँदाताक पाएका रहेछन् ।

त्यसबेला पुरानो राहदानी बदल्ने सिलसिलामा पुगेका रहेछन् देवकोटा । संयोगवस भेट भयो भनौँ ।

सरल व्यक्ति, सरस व्यक्तित्व
राजाको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्रीसमेत भएका डा. उपेन्द्र देवकोटाबारे अनौठो विम्ब थियो उनको दिमागमा, ओझपूर्ण व्यक्तित्व लाग्थ्यो ।

तर, उनलाई भेटेपछि विम्ब प्रतिस्थापन भयो । निकै सरल र सरस पो प्रतिविम्बित भए ।

एउटा घटना अझै पनि ताजै छ उनको दिमागमा । पाना भरिएका राहदानीका अतिरिक्त पुरानो नागरिकता पनि रहेछ उनको साथमा ।

नेपाली कागजको झुत्रिएको नागरिकता देखेपछि रेग्मीले अनुरोध गरे, “डाक्टर साब, राहदानीमात्रै होइन, नागरिकता पनि फेर्नूहोस् !”

तर, उनले जवाफ दिए, “के कुरा गर्नुभएको यस्तो, पुरानो भएर के भयो त, यो नागरिकतामा मैले आफूलाई पाउँछु, मेरै प्रतिच्छाया हो यो । र, यही धूमिल सम्झनामा बाँच्न चाहन्छु ।”

त्यस्तै अर्को घटना पनि उनी स्मरण गर्छन् । नामुद चिकित्सक, देशदेशावरले मानेका न्युरो सर्जन । रेग्मीले सोधे, “हजुर त चिकित्सकजस्तो मान्छे, स्वस्थ रहन केही टिप्स दिनूहोस् न !”

सोफाबाट उठेर हिँड्न हतारिइसकेका डा. देवकोटाको टिप्स थियो, “नखाए मरिँदैन, खाए मरिन्छ !”

कस्तो सटिक टिप्स । टिप्स होइन, जीवनदर्शन नै लाग्यो उनलाई ।

सम्झनामा त्यो बढुवा
विक्रम् सम्वत् २०५० सालको कुरा हुनुपर्छ, तिनताक वीर अस्पतालमा कार्यरत थिए न्यूरो सर्जन डा. देवकाटा । त्यतिबेला लोकसेवा आयोगको उपसचिव थिए माधव रेग्मी ।

लोकसेवा आयोगको बैठकमा बढुवाको फाइल आइपुगेको थियो । संयोगले त्यो फाइल तिनै देवकोटाको रहेछ ।

आयोगको बैठकमा रेग्मी पनि थिए । देवकोटाको बढुवाको विषयमा आयोगका तत्कालीन सदस्य तथा पहिलेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. द्वारिकानाथ रेग्मीले भनेको वाक्यले उनको मस्तिष्क तरंगित हुन्छ । डा. रेग्मीले भनेका थिए, “डा. देवकोटा नेपालमा नपाइने, दुर्लभ व्यक्तित्व हो । नेपालको भाग्यले यहाँ जन्मिन पुगे । यहाँ काम पनि गरिरहेका छन् । विदेश गए भने करोडौँ कमाउन सक्छ । तर, नेपाल र नेपालीको सेवालाई सर्वोपरी राखेको छ । डा. देवकोटा यसपटक बढुवा हुनसके भने इज्जत मर्यादा रहला । अन्यथा नैराश्यताबोध भएर विदेश पलायन पनि हुन सक्छन् । यसर्थ मेरो विन्ति छ, यसपटक देवकोटोको बढुवा गरौँ ।”

डा. रेग्मीको दृष्टिकोणमा सबै सहमत भएर देवकोटा बढुवा भएका थिए त्यतिबेला ।

मेडिकल क्षेत्रको मानक बनेका डा. देवकोटाको सपना प्रतिच्छवित् भएको बाँसबारी, न्युरो अस्पतालको स्तर, क्षमता   विकासका लागि राज्य र सरोकारवाला निकायले विशेष ध्यान पुर्‍याउन सके साँचो अर्थमा उनीप्रति स्वास्थ्य लाभको कामना हुन सक्ने रेग्मी बताउँछन् ।

० ० ०

पत्नी डा. मधु देवकोटा, छोरीहरू मेघा, वसुधा र मञ्जरीको विशेष निगरानीमा छन्, बाँसवारीस्थित आफ्नै बलबुतामा २०६२ चैत ३१ गते खोलेको अस्पतालको विशिष्ट वार्डमा । 

‘श्वास छउञ्जेल आस–’ लाग्छ–आहानले कल्पना गरेको लौकिक पात्र यिनै देवकोटा हुन् । र त, चिकित्सक, आफन्तजन, अस्पतालको प्राङ्गणमा छरिएका शुभेच्छुकको अनुहारमा आशाको उज्यालो दियालो प्रदीप्त छ– “डाक्टर साब बौरिन्छन् पक्कै !”

शुभेच्छुकहरूको भीड थपिँदै गएपछि भेटघाटमा पूर्णतया प्रतिवन्ध लगाइएको छ ।

गत मंसिर १० गते चुनावी कार्यक्रममा भाषण गर्न गोरखा पुगेका ६३ वर्षिया देवकोटालाई त्यहीँ जन्डिसको लक्षण देखा परेको थियो । त्यसपछि बेलायतको किङ्ग्स कलेज अस्पतालमा उपरारार्थ पुर्‍याइएका उनी ६ महिनापछि गत वैशाख १५ गते स्वदेश फर्काइए । त्यसयता मेघाच्छन्न छ, शुभचिन्तकका अनुहार ।

व्यथाले च्याप्दै लगेपछि शनिबार पुर्ख्यौली थातथलो जाने इच्छा व्यक्त गरे देवकोटाले । सिस्नेधाराको पानीले घाँटी भिजाउने र जन्मघरको छिँडीमा सुस्ताउने इच्छा व्यक्त गरेपछि शनिबार हेलिकप्टर चार्टर गरेर गोरखा पुर्‍याइयो । जन्मघरबाट फर्काएर ल्याइएको उनलाई अस्पतालको विशिष्ट वार्डमा राखिएको छ । तथापि स्वास्थावस्थामा सुधारको कुनै गुञ्जायस छैन । अद्यपर्यन्त स्थिर छ स्वास्थ्य ।

सामाजिक सञ्जालमा ‘अशुभ हल्ला’ फैलिएपछि अस्पताल परिसरमा आफन्त र शुभेच्छुक जाने क्रम बाक्लिन थालेको छ । प्राणप्रिय चिकित्सक भेट्न नपाएपछि आगन्तुक पुस्तिकामा पीडा पोखेर फर्कन्छन्– प्रिय डक्टर तिमी छिटो निको होऊ ! हजारौँ बिरामी तिम्रै प्रतिक्षामा छन् !

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

प्रधानमन्त्रीको ‘झापामोह’, नियुक्तिमा अधिकांश ‘झापाली’

काठमाडौं । मुलुकमा आधारभूत तहको प्रतिनिधित्व गर्ने शक्तिशाली कम्युनिस्ट सरकार छ । यसको मूल ध्येय भनेको राज्यका हरेक तह र

लय बिग्रिएको एउटा जीवन

“ओई, साइकल बिस्तारै ठेल्, गानो जाला ! मख्खिचुस साहूले राम्रो मुखले कहिल्यै पैसा दिएको थाहा छैन, पक्लक्क मरिहालिस् भने लाश

विष पिएका पूर्वलडाकुको आक्रोश– गणतन्त्र जनताको बैरी बन्यो

२०५८ साल । आगाको फिलिङ्गोजस्तो जेठको धूप । त्योभन्दा चर्को थियो– माओवादी सशस्त्र सङ्घर्षको राप–ताप । मध्यपश्चिम माओवादी आन्दोलनको ‘आधार

दूध बेचेरै लखपति

धादिङ । दुई दशकअघिसम्म धादिङ, छत्रेदेउरालीको सिरानचौर ‘गुल्जार’ थियो । खेत–खोरिया आवादी थिए । तर, समय सधैँ यस्तै कहाँ रहिरह्यो र