मेरो प्राकृतिक रगत कसरी अपवित्र ? 

डा. नम्रता पाण्डे 

जति नै विकास, शिक्षा, सुख, शान्ति र समृद्धिका कुरा गर्दै हिँडे पनि र कागजमा नीति नियम र कानुन बनाए पनि व्यवहार  घर र समाजमा मान्यता पाएको छैन महिलाको महिनावारीले । पशुलाई बली दिएर, हिंसा गरेर भगवानलाई रगत भोग लगाउने हाम्रो समाजमा बिना हिंसा, सृष्टिको स्वरूप शरीरबाट प्राकृतिकरूपमा निःसृत हुने महिलाको रगतलाई अछुतो र अपवित्र मान्छ । जति दुर्गमका जनताको चेतनको स्तर खोतल्न खोजे पनि, छाउपडीको विरोध गरे पनि शिक्षित र सभ्य घर अनि समाज नै यो कुरीतिबाट अलग हुनसकेको छैन । तर, अब बिस्तारै विभिन्न संघसंस्था, स्कुल, कलेज र चेतनामूलक कार्यक्रममा महिनावारीलाई अछुतो र पाप होइन उत्सवको रूपमा मनाउन चेतना जागरणका कार्यक्रम सुरु भएका छन् । महिनावारी भएकै कारण खोसिने खुसी र रोकिने पर्व अनि छोइछिटो मान्दैनौ भन्दै युवतीहरू समाजमा परिवर्तनका लागि जनचेतना जगाउन थालेका छन् । महिनावारीकै कारण जन्मेर घरलाई सुन्दरता थपेकी, परिवारलाई खुसी दिएकी छोरी महिनावारी भएकै कारण भान्छा नछुनू, भगवानको पूजा नगर्नू, चाडपर्व नमान्नू भनेर बन्देज लगाइन्छ भने चेतनाको स्तर र व्यावहारिकता कुन तहमा छ हाम्रो ? महिनावारीलाई छुवाछुतको रूपमा होइन बरु यसलाई सहज र प्राकृतिक रुपले हेर्न, सरसफाइमा ध्यान दिन र खानपानमा विशेष ख्याल गर्न परिवारका सदस्यको सहयोग र प्रेरणा जरुरी छ ।

हाम्रो समाजमा चाहिने नचाहिने सबै शिक्षा र अधिकारका बारेमा बहस हुन्छन् । किताब लेखिन्छन् ,सेमिनार गोष्ठी हुन्छन् तर अत्यावश्यक र चाहिने कुरामा शिक्षा दिने र जनचेतना जगाउने काम कमै भएका हुन्छन् । त्यसमध्ये यौन तथा प्रजनन खुलेर दिइनु पर्ने एउटा महत्वपूर्ण शिक्षा हो । महिनावारी महिलामा किशोरी अवस्थामा सुरु हुने प्राकृतिक प्रक्रिया हो । बालिकाको १०-१५ वर्षको उमेरमा सुरु हुने र लगभग ४५-५५ वर्षको बीचमा रोकिने यो प्रक्रिया स्वस्थ महिलाको एउटा गुण पनि हो । किनभने महिनावारी पछिमात्र महिला प्रजननको लागि सक्षम छन् भन्ने सङ्केत पाइन्छ । तर, हाम्रो समाजमा अझै पनि महिनावारी अर्थात्, मासिक धर्मलाई नकारात्मक र पापको कारणले हुने कुरा भनेर व्याख्या गर्न छोडिएको छैन । त्यसैले त छाउपडीलगायतका प्रथाले महिलामा हीनभावना जगाएको मात्र होइन ज्यानसमेत गुमाइएका समाचार समय समयमा सार्वजनिक भइरहेका छन् ।
हामीकहाँ शिक्षा र चेतनाको विकास हुँदैगएको भए पनि महिनावारीलगायतका अन्य संस्कार र परम्परामा अझै अन्धविश्वास तथा गलत मान्यतामा सोचे अनुरूप परिवर्तन आउनसकेको छैन । महिनावारी उमेरअनुसार महिलामा हुने एक प्राकृतिक प्रक्रिया हो । यस्तो समयमा परिवारका सदस्यलगायत विद्यालयमा शिक्षक शिक्षिका र वरपरका सबैले कुरा बुझेर सहयोग गर्नुपर्छ । यस्तो बेलामा मन एकाग्र नहुने, थोरै चिन्ता जस्तो, डर अनि पेट दुख्नेलगायतका शारीरिक असहजता पनि हुन्छन् । त्यसैले किशोरी या महिला जो सुकैलाई भए पनि उनीहरुको मनोभावना बुझेर व्यवहार गरिनु जरुरी हुन्छ । विद्यालयमा १० वर्ष माथिका किशोरीले कक्षामा शिक्षकले पढा रहँदा पनि शौचालय जाऊँ है भनेर सोध्दा अहिले होइन कक्षा सकिए पछि भने जवाफ फर्काउने गरेकोमा धेरै किशोरीले महिनावारी भएको भन्दैनन् तर उनीहरुलाई छोटो समयमा शौचालय जानु पर्ने बाध्यता हुन्छ । यसको पनि ख्याल गरिनुपर्छ । कहिलेकाहीं धेरै पेट दुखेर बीचमै कक्षा छोडेर हिँड्नु पर्ने बाध्यता पनि हुन्छ । किशोरीहरू बताउन हिकिचाउँछन् तर शिक्षक र अभिभावकले यसलाई बुझ्नुपर्छ । उनीहरूले खुलेर महिनावारी भएको र आफ्ना समस्या राख्न सक्ने बनाउने कहिले ?
 
महिलामा सामान्यतया एक एक महिनाको समयमा महिनावारी हुन्छ । कुनै महिना  ठ्याक्कै २८ दिनमै हुन्छ त कहिले २-४ दिन यताउता र १-२ महिना ढिलो पनि हुन सक्छ । किशोरावस्थामा नियमित महिनावारी हुन्छ भन्ने छैन । औसतमा २८ दिनमा मासिक धर्म दोहोरिन्छ । त्यसैले महिनावारी शारीरिकरूपमा परिपक्व भएपछि महिलामा हुने प्राकृतिक प्रक्रिया हो भन्ने  परिवार र समाजले पनि बुझी दिनुपर्छ । वैज्ञानिक हिसाबले हेर्दा यस समयमा सरसफाइ र आराममा ध्यान दिनुपर्ने हुँदा मन्दिर नजाने, भान्छामा नजाने आदि रूपमा संस्कार बसेको होला तर मन्दिर गए पाप लाग्छ, खाना पकाएर खुवाए पाप लाग्छ भन्ने कुरा असत्य र भ्रामक तर्क हुन् । त्यसै पनि महिनावारी भएको समयमा केहि गर्न मन नलाग्ने, एकोहोरो जस्तो, मनमा डर, चिन्ता, असहज महसुस हुन्छ र निराशासमेत जाग्छ । कतिपय अवस्थामा हीनताबोधसमेत हुन्छ । त्यसैले यस्तो अवस्थामा अभिभावकले आफ्ना छोरीहरूलाई विशेष ध्यान दिनुपर्ने र उमेर पुगेका  महिलाले ख्याल गर्नु आवश्यक हुन्छ । यो समयमा पर्याप्त सरसफाइ, उपयुक्त व्यायाम तथा सन्तुलित भोजन आवश्यक हुन्छ ।
किशोरीहरूले खुलेर यसबारेमा जानकारी राख्न सकुन्, भन्न सकुन् र अरूलाई पनि सिकाउन सकुन् भनेर विद्यालय र कलेजका पाठ्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यको विषय समेटिनुपर्छ । महिनावारी, प्रजनन् स्वास्थ्य जस्ता किताब किनेर पढ्न दिनुपर्छ किशोरी छोरीहरूलाई । जति जानकारी भयो त्यति नराम्रा घटनाबाट जोगिन सक्छन् र नकारात्मक कुराह  आउन पाउँदैनन् । सृष्टिको सुरुआत, जीवनमा अत्यावश्यक र प्राकृतिक प्रक्रियालाई अतिरञ्जना र रूढीवादी तरिकाले व्याख्या गर्नुभन्दा सही र उपयोगी ज्ञान बाँड्नमा जोड दिइनुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाले यस विषयमा किताब प्रकाशित गर्नेलगायतका कामहरु गरेको पाइन्छ तर यसका पाठक कम भएको महसुस हुन्छ । यसलाई जनचेतनाका लागि व्यापकरूपमा सर्वत्र फैलाउनु जरुरी छ ।
     

प्रतिकृया दिनुहोस