उपेक्षित गुरु नानक मठ

उपेक्षित गुरु नानक मठ

काठमाडौंको बालाजुबाट नयाँ बजारतिर आउँदा पुल तर्नेबित्तिकै देब्रेतर्फ हेर्दा एउटा थुम्को देखिन्छ । वरपरै बस्ने धेरैलाई त्यो थुम्को के हो भन्ने थाहा छैन । थुम्कोमा रुखहरू छन् । वनैजस्तो देखिन्छ । शनिवार बिहान त्यहाँ पुगेर फर्कँदा बाटामा भेटिएका र मैपी नजिकै पसल थाप्ने १० जनासँग सोध्दा कसैले पनि ‘गुरु नानक मठ‘ भनेनन् । एक जना अधबैँसे व्यापारीले पहिले ‘मस्जिद‘ भने तुरुन्तै सच्याएर ‘पञ्जाबीको मन्दिर‘ भने । दुईवटी महिलाले कृष्ण मन्दिर भने । तीन जना पुरुषले मन्दिर भने । अरू चार जनाले त्यहाँ गए पनि के हो थाहा नभएको बताए । कृष्ण मन्दिर हो भनेर गफ दिने एक महिलाले त्यहाँ एकदम सफा छ भनिन् । अरूले सबैले फोहोर छ भने । एक जनाले त ‘‘केटाकेटी धेरै जान्छन् । अस्थायी साधन जताततै फल्छन् ’’ ।

थुम्कोमा उक्लने बाटामा ढोकामा ‘गुरु नानक मठ’ लेखिएको छ । तर, त्यहाँ जानेको ध्यान भने ठूलो साइनबोर्डमा जान्छ । त्यसमा थुम्कोमा भएका धर्मसम्बन्धी विभिन्न वस्तुको वर्णन छ । त्यसमा ‘शालीग्राम भगवानर एवं ‘गुरु ग्रन्थ साहेब सन्दिर‘ लेखिएको छ । यसले नानक मठको महिमा लुकाउन खोजिएजस्तो भान हुन्छ । 

शिखहरूको अरू गुरुद्वाराजस्तो यो मठ सफा छैन । थुम्कोमा दुईवटा घवन छन् । बाटो फोहोर छ । माथि पुगेपछि पहिलो भवन नानक मठसँग सम्बन्धित देखिँदैन । दोस्रो भवनमा ‘प्राचीन उदासी श्री गुरु नानक मठ‘ देखिएको छ । गुरु ग्रन्थ साहेब राखिएको स्थानमा जान ढोकाबाट भित्र पस्नुपर्छ । भित्र डरलाग्दो कुकुर छ । पस्नेबित्तिकै भुक्न थालेपछि मजस्ता कुकुरसँग डराउनेहरू गुरु ग्रन्थ साहेबको दर्शन गर्ने आँटै गर्दैनन् । 

गुरु नानक स्वयं नेपाल आउँदा यहाँ बसेका थिए । उनको सम्मानमा राजा जगज्जय मल्लले त्यस स्थानमा एक हजार ६ सय रोपनीको ‘गुठी’ राखिदिएका थिए । अहिले अतिक्रमणमा परेर त्यस मठको जमिन त्यही थुम्कोमा सीमित भएको छ ।

गुरु नानक स्वयं बसेका कुनै स्थान संसारमा कतै यति उपेक्षित भएको छैन होला । नेपालका शिख समुदाय, नेपाल सरकार, नेपाली समाज, काठमाडौं महानगरपालिका सबैका लागि गुरु नानक मठको अहिलेको अवस्थामा लाज लाग्नुपर्ने हो । त्यहाँ अहिले बस्दै आएकाहरूलाई अन्यत्रै सारेर वरपर सफा सुग्घर गर्ने, वनलाई उपवन बनाउने र ग्रन्थ साहेबको दर्शन सहज बनाउने मात्र हो भने पनि यहाँ संसारभरबाट दर्शनार्थी आउनेछन् । गुरु नानक मठ शिखहरूका लागि मात्र हैन हिन्दुहरूका लागि पनि उत्तिकै पवित्र तीर्थस्थल हो । यसको व्यवस्थापनमा सुधार हुनेबित्तिकै कम्तीमा वरपर बस्नेहरूले गुरु नानक मठ त भन्न सक्थे होलान् ! 

के काठमाडौं र संसारकै शिखहरू, नेपाल सरकार, काठमाडौं महानगरपालिका यस मठको महत्त्वअनुसार संरक्षण र व्यवस्थापन गर्न अगाडि सर्लान् ?          


 

प्रतिकृया दिनुहोस

गोविन्द अधिकारी