प्रविधि

सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसा बढ्दै

–विनोद सिंह विष्ट 


बैतडी । सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेको छ । पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् । 

मोबाइल, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले बैतडीमा पनि बालविवाह चुनौतीपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । 

सञ्चार क्षेत्रको विकास भएसँगै पछिल्लो समयमा ग्रामीणस्तरमा पनि सबै नागरिकको हातहातमा मोबाइल फोन, इन्टरनेट सेवा पुगेको छ । मोबाइल इन्टरनेटले बैतडीका किशोर किशोरी उमेर नपुगेरै भागेर बिहे गर्ने चलन बढ्दै गएको छ । यसले गर्दा बालविवाह न्यूनीकरण गर्नसमेत चुनौती थपिएको कार्यक्रम अधिकृत शाहीको भनाइ छ । 

मोबाइल तथा इन्टरनेटको दुरुपयोगले बालबालिकाको पढाइमा समेत असर पारेको सामाजिक कार्यकर्ता लोकेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने, “इन्टरनेट र मोबाइलको दुरुपयोगले बालविवाह र महिलाहिंसा मात्रै नभएर मानव बेचबिखन जस्ता जघन्य अपराधमा समेत वृद्धि भएको छ ।” 

सञ्चारको पहुँचमा सबै पुग्नु खुसीको कुरा हो, सञ्चारले एक ठाउँको खबर अर्को ठाउँमा कम समयमा सुन्न सकिन्छ, देश विदेश कुन ठाउँमा के भएको छ भन्ने हेर्नपनि सकिन्छ तर बैतडीका किशोरकिशोरी भने सञ्चारको दुरुपयोग गर्दै भागेर विहे गर्ने साधन बनाएका छन् । 

फेसबुक, फोनमा कुरा गर्दै मायामा परेर उमेर नपुग्दै भागेर जाने चलन यहाँ पछिल्लो समयमा बढ्दै गएको छ । यसले गर्दा समाजमा सञ्चार माध्यमको दुरुपयोग भएको बालबालिकाका क्षेत्रमा काम गर्नेहरु बताउँछन् । 

“बालविवाहका कारण धेरैजसो महिला हिंसामा परेका छन्, उनीहरु मोबाइलकै दुरुपयोगका कारण बालविवाह गर्न बाध्य भएका छन्,” महिला विकास निरीक्षक विष्ना भण्डारीले बताइन्। 

बालबालिकाको उमेर नपुग्दै मागेर बिहे गर्ने चलन पनि बैतडीमा धेरै छ । कोरोदान ग¥यो भने आफू मरेपछि राम्रो हुन्छ भन्ने गलत मान्यताले जरो गाडेको समाजमा स्वयम् आफै किशोरकिशोरी भाग्ने चलन बढ्दा झनै समस्या भएको छ । 

पछिल्लो समयमा सात, आठ कक्षामा पढ्ने विद्यार्थीको हातहातमा मोबाइल देखिन्छ । बालविवाह न्यूनीकरणमा साँच्चै लाग्ने हो भने १२ कक्षासम्म किशोरकिशोरीलाई मोबाइल बोक्न नदिने कानुन बनाउन आवश्यक छ । 

सञ्चार प्रविधिको दुरुपयोगले विभिन्न समस्या निम्तिन थालेपछि स्थानीय तहले विद्यालयमा मोबाइल फोनमासमेत प्रतिबन्ध लगाउन थालेका छन् । दोगडाकेदार गाउँपालिकाले सूचना नै जारी गरेर विद्यालयमा मोबाइल बोक्न प्रतिबन्ध लगाएको सो गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।  

उनले भने, “मोबाइलको दुरुपयोगका कारण धेरै समस्या निम्तिएकाले विद्यालयमा मोबाइल प्रतिबन्ध लगाइएका हौं ।” 

सञ्चार साधनका गलत प्रयोग गर्दा यस्ता समस्या समाजमा आउने गरेका छन् । मोबाइल इन्टरनेटलाई सही सदुपयोग गर्न जाने सम्पूर्ण संसारलाई कोठाभित्रबाट हेर्न सकिन्छ । रासस

तपाईंको मत