ad

साहित्य र कला

म सम्बन्धमा नभएरै आनन्दित छु

म सम्बन्धमा नभएरै आनन्दित छु

– मनीषा कोइराला


देश हाँक्ने कोइराला परिवारमा जन्म, अदभूत सफलता, ब्रेकअप, सम्बन्धबिच्छेद, क्यान्सरजस्तो घातक रोगसँगको लामो युद्ध ! मनीषा कोइरालाले आफ्नो जीवनमा थुप्रै उतारचढाव बेहोरिन् । अहिले उनी राजकुमार हिरानीनिर्देशित सञ्जय दत्तको बायोपिक ‘सन्जु’का कारण चर्चामा छिन् । कारण— उनले सञ्जयकी आमा नर्गिसको भूमिका निभाएकी छन् । ‘नवभारत टाइम्स’की रेखा खानसँगको यो अन्तर्वार्ताका क्रममा मनीषाले सफलता र असफलता, सम्बन्ध, क्यान्सरजस्ता थुप्रै विषयमा खुलेर कुरा गरिन् ।

१) हरेक सम्बन्धले हामीलाई केही न केही सिकाउँछन् । तपाईंले आफ्नो जीवनमा ब्रेकअप र सम्बन्ध बिच्छेदबाट के सिन्नुभयो ?

म अहिले भर्खरै यस्ती साहसिली महिलासँग लन्च गरेर आउँदैछु, जो सम्बन्धको मामिलामा सधैं अभागी रहिन् । उनले जीवनमा धेरै धोका सामना गरिन् । हामीबीच जब सम्बन्ध निर्माण र बिच्छेदसम्बन्धी कुरा निस्कियो, तब हामी एउटा निष्कर्षमा पुग्यौं— यस्तो बेला आफ्नो काम र जिम्मेवारीलाई मेरुदण्ड बनाएर अघि बढ्नुपर्छ । हामी महिलाले यो कुरा बुझ्न जरुरी छ कि सम्बन्धको कुनै ग्यारेन्टी हुँदैन । हाम्रो जिन्दगीमा राम्रा मान्छे आउन पनि सक्छन्, नआउन पनि । आफ्नो काम र पेशाको जग बलियो छ भने दुःखी हुँदा पनि टुक्रिएर असरल्ल परिँदैन । यदि कसैले मेरो इमानदारी, मेरा राम्रा पक्ष र प्रेमलाई बुझ्न सकेन भने त्यो मेरो होइन, उसकै समस्या हो । हानि उसैलाई हो । यसमा म आफूलाई कत्ति पनि विचारी मान्दिनँ ।

२) ‘सन्जु’मा तपाईं सञ्जय दत्तकी आमा नर्गिसको भूमिकामा देखिनुभएको छ । यो भूमिका निभाउँदा मनमा कतै डर थियो ?

मलाई लाग्छ— म अहिले आफ्नो करिअर र जिन्दगीको सुन्दर कालखण्डबाट गुज्रिरहेकी छु । म अहिले ‘मिड फोर्टिज’मा रमाउँदै छु । मलाई नर्गिसको भूमिकामा अफर आउँदा सबैभन्दा पहिले यही डर थियो— मैले यो भूमिकामा नर्गिसको जिन्दगी बाँच्न सक्छु कि सक्दिनँ । किनकि अहिलेसम्म दर्शकले उहाँलाई भुलेका छैनन् । उहाँका हरेक चिज दर्शकको स्मृतिमा ताजा भएर बसेका छन् । उहाँका सूक्ष्मदेखि सूक्ष्म विशेषतालाई टिपेर उहाँकै भूमिकामा बाँच्दा मनमा डर थियो । राजकुमार हिरानीको टिम साह्रै बलियो छ । सम्पूर्ण टिमले मलाई धेरै नै सहयोग ग¥यो । त्यसैले मलाई लाग्छ— सजीव प्रस्तुतिका लागि राम्रो निर्देशक र टिम अत्यावश्यक छ । नर्गिसको समयमा अभिनेत्रीहरूका आँखा अत्यन्त सुन्दर हुन्थे । उनीहरूका मुस्कान र भावभंगिमामा जादू हुन्थ्यो । एक अभिनेत्रीका नाताले मलाई यी सबै पक्षमा सूक्ष्म ध्यान दिनु आवश्यक थियो । नर्गिस महान अभिनेत्री हुनुहुन्थ्यो । मैले पर्दामा उहाँको एक प्रतिशत पनि भूमिका निभाउन सकें भने आफैंलाई भाग्यमानी ठान्नेछु ।

३) तपाईंको समयमा सुनिन्थ्यो— ४० वर्ष उमेरपछि या बिहेपछि हिरोइनको करिअर सकिन्छ । अहिले सिने उद्योगमा हिरोइनको स्थिति कति फेरिएको छ ?

अहिले पूरै फेरिएको त छैन तर फेरिने क्रम जारी छ । उमेरसँगै हामीलाई आमाको भूमिकामा ‘टाइपकास्ट’ गरिदिइहाल्छन् भनेर अहिले पनि सम्हालिनुपर्छ, सजग हुनुपर्छ । मलाई अहिले यस्तै कुराले चिन्ता दिन्छन् । बिहे भयो या ४० वर्ष उमेर पार गरियो भने अरु केही नसोची आमाको भूमिका दिन थालिहाल्छन् । ‘सन्जु’जस्तो ठूलो फिल्ममा एकपटक आमाको भूमिका निभाउनु छ भने म त्यो काम अवश्य गर्छु । तर, म आमाकै भूमिकामा सधैं खेलिरहन सक्दिनँ ।

४) क्यान्सरजस्तो प्राणघातक रोगबाट तंग्रिएर तपाईंले आफूलाई योद्धा सावित गर्नुभयो । त्यस्तो कठोर परिस्थितिमा तपाईंको सबैभन्दा ठूलो सहारा के थियो ?

म आफूलाई किन पनि भाग्यमानी मान्छु भने मसँग यस्तो परिवार छ, जो मेरो सबैभन्दा ठूलो आधार हो । क्यान्सर भएपछि मेरो जीवनमा यस्ता थुप्रै क्षण आए, जतिबेला म दिनरात रोएरै बस्थें । एकपटक म ठूलो डिप्रेसनमा थिएँ । क्यान्सर उपचारका क्रममा मैले एउटा औषधि लिनुपथ्र्यो, जसले श्वेत रक्तकोष (डब्लूबीसी) बनाउँथ्यो । त्यतिबेला मेरो ‘प्लेटलेट काउन्ट’ एकदमै कम थियो र म साह्रै कमजोर भएकी थिएँ । किमोथेरापीका कारण मलाई हड्डीमा साह्रै पीडा हुन्थ्यो । एकपटक दुखाइ यति धेरै भयो कि मैले सहन सकिनँ । आमालाई भनें कि म अब यो हालतमा बाँच्न सक्दिनँ । म र आमा सँगसँगै रोयौं । धेरै रोयौं । रुँदारुँदै उहाँले भन्नुभयो, “हाम्रो लागि भए पनि तिमी बाँच्नुपर्छ छोरी । आफूलाई सम्हाल । केही गरी तिमीलाई केही भयो भने हाम्रो सहारा को हुन्छ ?” आमाको यो कुराले मलाई ठूलो हिम्मत दियो । न्युयोर्कमा मैले क्यान्सरको उपचार गराइरहँदा मेरो वरपरका बिरामीहरू साह्रै उदास, चिन्तित र एक्लै देखिन्थे । त्यो माहोल साह्रै डरलाग्दो थियो । खासमा त्यहाँ पारिवारिक सपोर्ट सिस्टम नै हुँदैन, मान्छेहरू एक्ला हुन्छन् । उनीहरूलाई देखेर मैले ठानें— म उनीहरूजस्तो कदापी हुनेवाला छैन । मलाई मर्नु नै छ भने निष्फिक्री भएर मर्छु । कहिलेकाहीँ म आँखामा चमक ल्याउने अभिनय पनि गर्थें । आफूलाई बलशाली देखाउन प्रयास गर्थें । लड्ने मेरो वंशाणुगत विशेषताका कारण पनि म यस्ती भएकी हुँ शायद ।

५) क्यान्सरजस्तो घातक रोग पीडादायी हुनुका साथै यसले शरीरलाई अरु थुप्रै कारणले पनि हानि पु¥याउँछ । बलिउडकी अत्यन्त सुन्दर अभिनेत्रीका लागि शारीरिक रूपमा कपाल झर्नु, सौन्दर्य हराउनुजस्ता अवस्थाले कति फरक पारे ? डर लाग्थ्यो ?

बिल्कुल । त्यो समय भयावह नै हुन्छ । यी कुराले मलाई साह्रै पीडा दिन्थे । हरेक दिन ऐनामा हेर्दा मनमा त्यस्ता विचार आउनु स्वाभाविक हो । तर, त्यसपछि मैले सोच्न थालें— मलाई सौन्दर्य होइन, स्वस्थ शरीर चाहिएको छ । कहिलेकाहीँ आफैंलाई ऐनामा हेरेर रुन्थें । कतिपय बेला म मनमनै टुक्रिन्थें । तर, फेरि सोच्थें— अहँ ! यसरी चल्दैन । मलाई बाँच्नुपर्छ । अहिले फर्किएर सोच्दा लाग्छ— वाह ! म त्यस्तो अवस्थाबाट त गुज्रिएर आएँ भने अब त कसैगरी गल्दिनँ ।

६) ब्रेकअप र सम्बन्धबिच्छेदपछि प्रेमलाई लिएर मनमा केही तिक्तता छ?

बिल्कुल छैन । तर, अचेल म यो निष्कर्षमा पुगेकी छु कि मेरो पहिलो प्रेम, थाहा छैन अन्तिम हुन्छ या हुन्न, त्यो मेरो काम नै हो । म आफ्नो जिन्दगीको यो क्षणमा आनन्द लिइरहेकी छु । म एकल भएरै आनन्दित छु । म ‘मिड फोर्टिज’मा रमाइरहेकी छु । म आफ्नो काम र विविधरंगी भूमिकाबाट धेरै खुशी छु । मैले जुन आँखाबाट जिन्दगीलाई हेरिरहेकी छु, त्यो साह्रै सुन्दर छ ।

७) कोरियोग्राफर सरोज खानले तपाईंसँग थुप्रै चर्चित गीतमा काम गर्नुभएको छ । केही समयअघि उहाँले बलिउडमा ‘कास्टिङ काउच’को विषयमा चर्को आवाज उठाउनुभो । तपाईंको के भनाइ छ ?

अँ । मैले पनि यस्तो देखेकी छु । चाहे फिल्म उद्योग होस् या अरु कुनै उद्योग— निरीहहरूको शोषण भई नै रहन्छ । यो समाजको घीनलाग्दो वास्तविकता हो । तर, समाजमा जे खराब काम भए पनि निशाना फिल्म उद्योगलाई गरिन्छ । मलाई लाग्छ— महिलाको शोषण जुनसुकै क्षेत्रमा हुन्छ । यो मामिलामा महिला स्वयं सतर्क हुनुपर्छ ।

८) तपाईंले आफ्नो सौन्दर्य र फिटनेसलाई कसरी कायम गर्नुहुन्छ ?

मैले आफूलाई कुनै न कुनै रूपमा सक्रिय राख्छु । अहिले भर्खर म फ्लुबाट तंग्रिएकी छु र कमजोरी महुसस भइरहेको छ । तर, मैले योबीचमा स्ट्रेचिङ गरें । आज बिहानमात्रै मैले मन खोलेर पौडी खेलें । मलाई पानीको ‘फोबिया’ थियो । पानीमा छि¥यो भने गहिराइमा जान असाध्यै डर लाग्थ्यो । आज बिहान पहिलो पटक म पानीभित्र गहिरोमा गएँ । मज्जाले पौडिएँ । मलाई नयाँ कुरा गर्न रहर लाग्छ । योग, स्ट्रेचिङ, डान्स, जिम, स्पोर्ट्स आदि गर्न मलाई मन पर्छ । म नेपाल जाँदा हाइकिङ खुब गर्छु । एकपटक त ११ घण्टासम्म पहाड उक्लिएकी थिएँ । डाँडो चढ्दा चढ्दै मलाई होशै भएन । पछि कति दिनसम्म खुट्टा दुखिरहे ।

९) क्यान्सरसँग लडिरहेका महिलालाई के भन्नुहुन्छ ?

म त यही भन्छु कि तपाईंहरू आफ्नो इच्छाशक्तिलाई मर्न नदिनुस् । यो कुरा सोच्नुस् कि एकपटक पाइने जीवन साह्रै सुन्दर छ । साँचो त के हो भने हामी महिलामा अदम्य शक्ति हुन्छ, जस्तोसुकै कष्ट पनि सहन सक्छौं । बस्— हामीलाई त्यो शक्ति जगाउन मात्रै पर्छ । डिप्रेसन र दुःखमा मन खोलेर रुनुस् । तर, रोइसकेपछि आफूलाई सम्हालेर जिन्दगीको यात्रामा निस्किनुस्, मुस्कुराएर । त्यसले तपाईंलाई ऊर्जा प्राप्त हुन्छ र इच्छाशक्ति पनि बलियो हुन्छ ।

तपाईंको मत