भीडसँगै हिँडिरहेको एउटा मान्छे

भीडसँगै हिँडिरहेको एउटा मान्छे

– रमेश विकल


भीड लगातार अगाडि बढिरहेको थियो । ऊ पनि भीडसँगसँगै हिँडिरहेको थियो । सँगै हिँडिरहेको एउटा साथीले सोध्यो, “होइन, तँ हामी (भीड)सँग छस् कि छैनस् ?”

“तिमीहरूसँग नभएर कहाँ छु त म ? तिमीहरूसँगै त हिँडिरहेको छु,” उसले जवाफ दियो तर साथीलाई चित्त बुझेन । उसले भन्यो, “तर म तँलाई त हिँडिरहेको देख्तिनँ । तेरा गोडामात्र हिँडिरहेको देख्छु म । तेरो मन कहाँ हिँडिरहेको छ र हामीसँग !”

“हिँड्ने त गोडैले हो नि ! तिमीहरू पनि गोडैले त हिँडिरहेका छौ नि, होइन र ?” उसले हाँसेर जवाफ दियो । तर, सँगै हिँडिरहेको अर्को साथीले भन्यो, “होइन, कहिलेकाहीँ गोडा र मन छुटाछुट्टै हिँड्छन् । मन त स्वतन्त्र हुन्छ । गोडाले हिँड्दैमा ऊ पनि सँगै हिँड्छ भन्ने छैन ।”

“तर मन नहिँडी गोडामात्र त हिँड्नै सक्तैन । शरीरका सबै इन्द्रियलाई हिँडाउने त ‘मन’ नै होइन र ?” उसले गम्भीर भएर तर हाँसेकै छन्दमा भन्यो । भीड हिँडिरहेको थियो । ऊ पनि सँगै हिँडिरहेको थियो । भीडको माझबाट एउटा प्रश्न उठेर आकाशभरि फैलियो, “तर, हामी कहाँ जाँदै छौं ?”

“तत्काललाई त हामी खुलामञ्चमा जाँदैछौं । त्यहाँ हाम्रा नेताहरूले हामीलाई ‘नेतृत्व’ (मार्गदर्शन) दिँदैछन् । त्यहाँ आज पचासौं लाख जनता जम्मा हुन्छन्,” भीडबाटै अर्को आवाज उठ्यो । तर, कुनै अर्कोले कुरा काट्यो, “होइन खुलामञ्चमा त्यत्रो पचासौं लाख मानिस अटाउने ठाउँ कहाँ छ र ?”

“आजलाई अटाउँछन्, अटाउनै पर्छ । आजको यत्रो अभूतपूर्व ऐतिहासिक दिन,” पहिलोले जोडदार स्वरमा भन्यो । त्यत्तिकैमा भीडको अगिल्लो खण्ड खुलामञ्चमा पुगेर फैलियो । यो मञ्च मुलुकभरिका प्रमुख–प्रमुख सहरहरूमा थियो । मञ्चमा ठूलाठूला नेताहरूको भाषण चलिरहेको थियो । भीडको वैरिने क्रम जारी थियो । कहाँबाट मात्र वैरिएका होलान् त यी मान्छेहरू सलहका बथानसरह !

भव्य सजिएको मञ्चमा नेताहरूको बेग्लै भीड थियो । वक्ता नेता कुर्लिई–कुर्लिई भाषण गरिरहेका थिए । त्यसलाई लक्ष्य गर्दै भीडबाट एउटा तीखो प्रश्न फैलियो, “नेताज्यू ! तपाईंहरू हामीलाई कता लाँदै हुनुहुन्छ ? गन्तव्य के हो तपाईंहरूको ?”

बोलिरहेको नेता अलि अकमकियो । उसले आफूनजिकको अर्को नेतासँग कानेखुशी ग¥यो । अनि भीडको प्रश्नतिर प्रतिप्रश्न हु¥र्यायो, “तपाईंहरू कहाँ जान चाहनुहुन्छ ? किनभने तपाईंहरू सार्वभौमसत्ता सम्पन्न जनता ! जनताको इच्छा नै सर्वोपरि हुन्छ । जनता समूह हो, विश्वरूप हो भगवानको । समूहको (विश्वरूपको) इच्छासामु व्यक्ति, नेता दल, पार्टीको इच्छाको केही मूल्य हुँदैन । भन्नोस् तपाईंहरू कहाँ जान चाहनुहुन्छ ?”

“हामी प्रजातन्त्र पुनर्बहालीमा जान चाहन्छौं । हामी त्यहीँ जान भनेर यत्रो लाठी–मुंग्री गोली खाएर आएका हौं,” भीडमाझबाट एकजना बलिष्ठ युवक उठेर रोबदार आवाजमा भन्यो, मानौं ऊ नै यो सम्पूर्ण भीडको एकमात्र प्रतिनिधि हो । बोल्ने नेताले पनि आकाशतिर भालाजस्तो चोरी औंलो ठड्याएर भन्यो, “हो, मैले तपाईहरूलाई त्यहीँ लान ल्याएको । हामी लगभग त्यहाँ पुग्दैछौं । त्यसको पूवाद्र्ध भेटिसकेका छौं । त्यसको पूर्वस्वरूप पुनर्जीवित भएर उभिइसकेको छ ! प्रतिगमनको शक्तिले हातखुट्टा छोडिसकेको छ । अब यसको उत्तर्राद्र्ध पूर्ण स्वरूपको भएर आउनमात्र बाँकी छ ।”

यो नेता अगाडि अरू कोही बोल्न खोज्दै थियो, तर अर्को माइक्रोफोन अगाडि उभिएको नेताले उसलाई बोल्ने अवसर नदिएर भन्यो, “तर, हामीले तपाईंहरूलाई लोकतन्त्रमा लान भनेर पो ल्याएका । हामी त्यहीँ लान्छौं । ‘राजा’ शब्दसँग अन्योन्याश्रति (राजाप्रजा) रहेको ‘प्रजातन्त्र’ धनी वर्गको विलासको साधन हो । हामीलाई धनको प्रभुत्वमा चल्ने प्रजातन्त्र होइन, जनताको लोकतन्त्रमा जानु छ ।”

“तर लोकतन्त्र त हाम्रो एजेन्डामै छैन,” मञ्चको एउटा कुनामा खुम्चिएको अर्को नेताको स्वर उठ्न खोज्यो, “संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र (पुरानो संसद)को पुनर्जीवन । यहीँ पुग्न त हिँडेका हौं हामी । अहिले फेरि कुरा फेर्नु त भएन नि ।”

“कुरा फेर्ने, नफेर्ने मूल मुद्दा होइन । नेपाली जनता ‘राजा’सँग अन्योन्याश्रित भएर टाँस्सिएको ‘प्रजा’ (राजा–प्रजा)तन्त्रमा जान होइन, शुद्ध जनता (लोक)को सम्पत्ति ‘लोकतन्त्र’मा जान भनेर हिँडेको हो । त्यसैले दलहरूको एजेन्डामा छैन भने राख्नुप¥यो । कुनै एजेन्डाले बनाएको होइन लोक ! लोक (जनता)ले बनाएको हो एजेन्डा,” अपार भीडबाट तुमुल ध्वनि निस्कियो अनि मञ्चमा कुर्लिइरहेका नेतागण पनि जोस्सिए । 

एउटा नेताले माइकबाटै चर्को आवाजमा नारा लगायो, “लोकतन्त्र ! जिन्दावाद ! जिन्दावाद !!”

आँखाले भेटुन्जेलसम्म मञ्चअगाडि अपार भीडको आकाशभेदी प्रत्युत्तरले दिगन्त थर्कायो । तर, मञ्चमा बसेका नेताहरूको भीडबाट एउटा नेताको चर्को स्वर जनसमूहको स्वरलाई उछिनेर माइकमा गुञ्जियो, “लोकतन्त्र मात्र होइन, गणतन्त्रोन्मुख लोकतन्त्र ! हाम्रो अभियान त्यसकै निम्ति हो ! त्यसैले हाम्रो अहिलेको नारा हो – गणतन्त्रोन्मुख लोकतन्त्र !”

“हो, हो ! हामी लोकतन्त्रमा मात्र अड्दैनौं । हाम्रो गन्तव्य गणतन्त्र हो ! हामी गणतन्त्रमा जान्छौं !” भीडबाट केही सशक्त आवाजहरू उठे । त्यस आवाजको संक्रामक लहर वायुमण्डलमा लहराउँदै मञ्चतिर बढ्दै मञ्चमा विराजमान सप्तदली नेता, उपनेता गणहरूमा मतैक्य खलबलियो । बोली चर्को स्वरमा साट्टियो । त्यो चर्को स्वरले पनि बढ्दै हल्लाको रूप लियो ! हल्लाखल्लाले विकसित हुँदै झगडाकै रूप लियो ।

“संवैधानिक राजतन्त्र हो हाम्रो परम्परा ।”

“संवैधानिक राजतन्त्रमात्र होइन, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र, हाम्रो माटोसुहाउँदो तन्त्र, संविधानले निर्दिष्ट गरेको तन्त्र ।”

“त्यो संविधान काम लाग्दैन अब ।”

“तर खारेज भएको छैन अझै, सबै काम यसैअन्तर्गत भइरहेका छन् ।”

“खारेज भैसकेको छ, जनताको मतले । नभएको भए गर्नुपर्छ । जनचाहना यही छ । संविधानसभा त्यसै कारणले ।”

“तर, हाम्रो संविधान विश्वमा उत्कृष्ट संविधान ! सबैले भनेका । हामीले पनि मुक्त कण्ठले प्रशंशा गर्दै आएका ।”

“एउटै कुरा सधैं उत्कृष्ट रहिरहन्न, सधैं निकृष्ट पनि रहँदैन । सबै कुरा समयसापेक्ष हुन्छ । आजको हाम्रो माग अर्को संविधान ! संविधानसभा !”

“संविधानसभा अनि गणतन्त्र !”

“होइन, गणतन्त्रमा जाने बेला भएको छैन । हाम्रो देशले थाम्न सक्तैन त्यो । हाम्रा लागि लोकतन्त्र नै ठीक हुन्छ ।”

“यो सोच प्रतिगामी सोच हो, देश र समाजको गति अवरुद्ध गर्ने । गणतन्त्रोन्मुख लोकतन्त्र नभई समाज, देशले एक पाइला पनि अघि बढाउन सक्तैन । त्यसैले ...”

“त्यसैले सीधा गणतन्त्र,” एउटा रोविलो नेताले पहिलोको हातबाट माइक्रोफोन खोस्दै उच्च स्वरमा घोषणा ग¥यो, “एकै फड्कोमा पुगिने ठाउँमा बीच–बीच बेकारका अल्झोमा अल्झिएर ढिलाइ गर्नु प्रतिगमनको लक्षण हो । प्रति क्रान्तिलाई मौका दिनु हो ।”

“होइन, यो व्यावहारिकता हो, सतर्कता हो, पोल्दापोल्दैको भात नफुकी मुखमा हाल्दा जिब्रो डामिन्छ । यो मुखले मात्र गर्छ । मूर्खता प्रतिगमनको कारक हुन्छ ।”

“कसलाई भन्नुभो तपाईंले मूर्ख ?” एउटा उपनेता जुरुक्क उठेर उग्र स्वरमा करायो । पहिले बोल्नेले पनि त्यस्तै ठाडो स्वरमा जवाफ दियो, “तपाईं आफैंलाई सम्झनुहुन्छ भने तपाईंलाई नै । मेरो विचारमा यस्तो प्रतिगामी प्रतिक्रियावादी सोच राख्नेजति सबै मूर्ख । इतिहास नबुझ्ने, समयको दिशासंकेत नबुझ्ने, राजनीति नै नबुझ्ने स्वाँठ हो । हाम्रो लक्ष्य सीधा गणतन्त्र हो ।”

“होइन, त्यो हाम्रो माटोमा जन्मिएको होइन । ... हाम्रो आफ्नो त प्रजातन्त्र हो । हाम्रो परिचित ।”

“प्रजातन्त्रमात्र भन्नु धोका हो । लोकतन्त्र नै समाजका लागि उपयोगी हो ।”

मञ्चको हल्ला तीब्र हुन्छ । माइक खोसाखोसले मेच भाँचाभाँच हुन्छ । गाली गरागरको रूप लिन्छ । यो रोग संक्रामक हुँदै मञ्चमुनिको अपार भीडमा फैलियो । त्यहाँ पनि प्रत्येक मानिस प्रत्येक समूह, प्रत्येक गुट आफ्नो आफ्नो वर्चस्व कायम गर्न धक्कामुक्की गर्दै, एक–अर्काको काँधमा चढ्दै अर्काको भन्दा आफ्नो स्वरलाई उग्र चर्को तुल्याउँदै, आफ्नो रुचि, आफ्नो अभीष्ट अनुरूप दिगन्त थर्काउँदै आकाशको छाती चिर्ने गरी नारा लगाउनथाले, लाखौं अन्धा मुक्काहरूले आकाशको छातीमा प्रहार गर्न थाले, “इन्कलाव ! जिन्दावाद !”

“प्रजातन्त्र – जिन्दावाद, जिन्दावाद !”

“लोकतन्त्र – जिन्दावाद, जिन्दावाद !”

“गणतन्त्रोन्मुख लोकतन्त्र – जिन्दावाद, जिन्दावाद !”

“जन–गणतन्त्र लोकतन्त्र – जिन्दावाद, जिन्दावाद !”

त्यसै बेला त्यहाँ एउटा भीडबाट विचित्र नौलो दृश्य देखियो ! नौलो स्वर नौलो आवाज गुञ्जियो । एउटा मान्छे वीर अस्पतालको माथिल्लो बरन्डामा उक्लिएर घनगर्जन स्वरमा घोषणा गर्दै थियो—

“मान्छे – मूर्दावाद ! मूर्दावाद !!”

“मानवतन्त्र – मूर्दावाद ! मूर्दावाद !!”

त्यो त्यही शुरुदेखि भीडसँगसँगै एक्लो हिँडिरहेको मान्छे थियो ।


(स्रोतः रचना द्वैमासिक– २०६३ जेठ १६)

स्केच सौजन्यः बासु क्षितिज
 

प्रतिकृया दिनुहोस