site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पानी जिन्दगी
Ghorahi CementGhorahi Cement

– सुरञ्जन घिमिरे


अनि पानीको सुविधा छ ?

देशको राजधानीमा भाडा बस्ने नागरिकले डेरा खोज्दा होस् वा प्रतिष्ठित व्यक्तिले विभिन्न प्रयोजनका लागि जग्गा छनोट गर्दा होस्— यो प्रश्न अनिवार्य सोध्छन् । काठमाडौंबासीमध्ये धेरैको दैनिकीको करिब आधा समय यसकै जोहोमा बित्छ । बिहान उठ्नेबित्तिकै धारा खोलेर मुख धुन पाउनु गौरवको विषय हो ।

Agni Group

सबैभन्दा बढी चेपिएका विद्यार्थी हुन् । उनीहरूलाई सहजै पानी उपलब्ध हुनु ‘आकाशको फल’झैं हुन्छ । अर्थोपार्जनको भरपर्दो स्रोत नभएका विद्यार्थीलाई घरबेटीले पनि पानी वितरण र प्रयोगमा च्याप्ने गर्छन् ।

बिहानै उठेर पढ्ने चाहनाभन्दा बाल्टी, ड्रम र बाटामा पानी भर्ने बाध्यताले विद्यार्थीलाई गाँजेको छ । पानी भर्दाभर्दै पोखिएर कोठा हिलो हुने समस्या सुन्दा सानो तर भोग्दा विशाल छ । यो काममा खर्च भएको समयको घाटा–नोक्सानी न घरबेटी, न क्याम्पस प्रशासक, न शिक्षक, न सरकार— कसैले देख्दैनन् ।

Global Ime bank

सफा पानीले बिहानै मुख धुन नपाएका, नुहाउन नपाएका विद्यार्थीले कक्षाकोठामा कसरी उपस्थिति जनाइरहेका छन् ? कसरी प्रस्तुत हुन सकेका छन् ? उनीहरूको पढाइप्रतिको सक्रियता र मनोभाव कस्तो होला ? यसको वास्तविकता सुनाउनुमा त्यति मजा छैन । जति काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को सुस्त खानेपानी वितरण र मेलम्ची खानेपानी आयोजनाको बारम्बार मिति परिवर्तनमा सरकारलाई मजा छ ।

जेहोस्– पानीले कसैलाई भेदभाव गरेको छैन । ऊ जता बगायो, त्यतै बगेको छ । तर, बगाउनेहरुले ढंग नपुर्‍याउँदा उपभोक्तामाथि मनपरी गरेको छ ।

नेपालका पूर्वी, पश्चिमी र दक्षिणी नदीनालामा भारतले मनलाग्दी बाँध बाँध्ने र उसको स्वर्थअनुसार यसको सञ्चालन गर्ने हुँदा नदीको जोखिममा रहेका सीमावर्ती तराईका जिल्ला बर्सेनि डुबानमा पर्ने गरेका छन् ।

पानीले बितन्डा मच्चाएका जिल्लामा काठमाडौंका सरकारी र गैरसरकारी संस्था, राजनीतिक दलका भातृ संगठन र समाजसेवीहरूले एकाध दिन राहत वितरण गरे पनि पानीको सबल व्यवस्थापन नगरिँदा बर्खा शुरु भयो कि त्यहाँको जनजीवन झुकझुक–झुकझुकमा बाँच्न बाध्य हुन्छ ।

जलस्रोतको दोस्रो धनी देश नेपालमा पानी धेरै भए पनि सरकारले तह लगाउन नसक्दा बबाल मच्चिएको छ ।

संसारमा पानीको अवस्था र चाल जस्तो रहे पनि आध्यात्मिकहरू बिहानै सूर्यलाई पानी अर्पण गर्छन् । पीपलको फेदमा, तुलसीको मोठमा पनी चढाउँछन् । सहचालक, चालकहरू आफ्नो गाडीको रेडियटरमा पानी नै भर्छन् । कृषकहरू खेतीपातीका लागि पानीमै भर पर्छन् ।

विकृत आत्मा शुद्ध पार्नका खातिर होस् वा एउटा चोखो वस्तु देउताका नाममा चढाउन, आँतको तिर्खा मेटाउन होस् या जलविद्युतबाट बिजुली बाल्न या सिँचाइका लागि— पानीको प्रयोग र महत्व अपरम्पार छ ।

हेर्दा र सुन्दा सामान्य लाग्ने पानीको विशेषता उत्तिकै असामान्य, तेजिलो र तिलस्मी छ । यसैले विज्ञान सोध्छ– पानीको अनौठो गुण के हो ? यसको वैज्ञानिक उत्तर छँदै छ । तर, व्यवहार सञ्चालनको अनन्त गहिराइमा पानीको अनौठो गुणबारे विज्ञानले गरेको परिभाषा संकुचित र सीमित भइदिन्छ ।

– एउटा सर्ट धुन कति पानी प्रयोग गर्ने ?
– एउटा पाइन्ट धुन कति पानी लाग्छ ?
– एक गोली औषधि निल्न कति पानी आवश्यक पर्छ ?
– एउटा चराले तिर्खा मेट्न कति पानी पिउने गर्छ ? 
– चर्पी गइस्केपछि फ्लस गर्न र हात धुन कति पानी खर्च गर्ने ?

पानी प्रयोगसँगै दैनिकी सञ्चालन र जिन्दगी जिउनुको उपक्रममा यी प्रश्नको उत्तर महत्वपूर्ण रहिदिन्छन् । कहिलेकाहीँ दिमागमा यस्तो कुरा खेल्छ— यो जिन्दगी पानी हो । र, जिन्दगीलाई भन्न मन लाग्छ– पानी जिन्दगी ।  

पानीको स्वाद हुँदैन, आकार हुँदैन र हुँदैन कुनै रंग । तरै पनि पानीलाई मानिसले अनेक आकार, स्वाद र रंगमा ढालेका छन् । 

मानव जीवनको लामो शृङ्खलामा मानिसले पानीजस्तै जिन्दगीलाई पनि आ–आफ्नो स्वार्थ र आवश्यकताअनुसारको स्वाद, आकार र रंगमा ढालेका हुने रहेछन् ।

बोत्तल र जारको प्रशोधित पानीजस्तै, ढुंगेधाराको पानीजस्तै, कुवाको पानीजस्तै, इनारको पानीजस्तै, धाराको पानीजस्तै, ट्युबेलको पानीजस्तै, हिमनदीको पानीजस्तै, वाटरपम्पको पानीजस्तै, झरनाको पानीजस्तै, समुन्द्रको पानीजस्तै, पोखरीको पानीजस्तै र छतको ट्यांकको पानीजस्तै पार्टीका कार्यकता, नेता, मन्त्री, प्रधानमन्त्री, व्यापारी, व्यवसायी, विद्यार्थी, शिक्षक, साहित्यकार, पत्रकार, प्रधानाध्यापक, श्रमिक, वकिल, अन्वेषक, वैज्ञानिक आदि सबै पद र ओहोदाका मान्छेको जिन्दगीको आकार, रंग र स्वाद पनि उत्तिकै फरक–फरक छन् ।

विज्ञान भन्छ— पानीको तापधारण क्षमता धेरै हुन्छ । कतिपय विफलतासँगै शोक मनाउनुपर्ने र कतिपय सफलतासँगै उत्सव मनाउन पाइने जिन्दगीको आरोह–अवरोह धारणक्षमता पनि कहाँ कम छ र ! यसैले मलाई यो जिन्दगी पानीजस्तै लाग्छ ।

कोहीकोहीको जिन्दगी तरल हुन्छ । जो, जसले जे भन्छ, त्यही मान्छ । ऊ आफूभन्दा बढी अरुबाट नियन्त्रित हुन्छ र त्यसैगरी बग्छ । बगाइका अनेक कालखण्डमा कतै ठोकिन्छ तर बगाउनेहरूलाई लाग्छ– यो उसको नियति हो ।

ऊ आफैंले पनि आफ्नो नियति बुझेको हुँदैन । उसलाई लाग्छ— मेरो हुनु नै यही हो, जो म भइरहेको छु । उसको आफ्नो मूल वा भंगालो भन्नु केही हुँदैन । यसैले उसलाई आफ्नो गन्तव्य थाहा हुँदैन । बग्नुमात्र आफ्नो नियति सम्झिन्छ । र, बगिरन्छ ।

कोही–कोहीको जिन्दगी ठोस हुन्छ । हिउँजस्तै कडा । यस्ताहरू अरुलाई थोरै कोल्ट्याएर आफू सीधा ठडिएका हुन्छन् । उनीहरूलाई लाग्छ— यो ब्रह्माण्डभर आफू जमूँ, सके त्यहाँका सबै कुरा आफ्नो पकडमा ल्याऊँ । यस्ता जम्नेहरू जमिरहन्छन् । सकेको बेला अरुलाई जमाउँछन् पनि । तर, यिनीहरूलाई थाहा हुँदैन— जम्ने गुण भौतिक हो । त्यसैले मानवताको सूक्ष्म हार्दिकतासँग यिनीहरूलाई खासै मतलब हुँदैन । ‘पर्दा आफैंले गर्ने हो’को लघु मानसिकता बोकेर हिँडिरहेका हुन्छन् ।

कोही–कोहीको जिन्दगी बाफजस्तै हुन्छ । उनीहरू संघर्ष नामको आगोको उच्च तापक्रमसँग लड्दा–लड्दै, भिड्दा–भिड्दै पृथ्वीको औसत उचाइभन्दा माथि पुग्छन् । वायुमण्डलमा फैलिन्छन्, वर्षा बन्छन् र धर्तीको सिँचाइ, सन्तती र भावी पिँढीको सहजताका लागि विशिष्ट भूमिका खेल्छन् ।

तात्ने, सेलाउने भरिने, छचल्किने, पोखिने, उड्ने, जम्ने, उम्लिने, सुक्ने र बग्ने पानी आफ्नैको चाहिँ न आकार छ, न रूप र रंग छ । जिन्दगी आफैंमा समग्र, विशाल र भीमकाय छ तरै पनि जिन्दगी पानीजस्तै छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०७५  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC