site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘एकलव्य’ नबनेका ‘रसिक’
Sarbottam CementSarbottam Cement

– राजेश खनाल 


रातो भाले क्वाँयाँ क्वाँयाँ
सुत्केरीलाई ख्वायाँ... 

४० वर्षअघि यो लोकगीत सुन्दा खुट्टा आफैं थर्किन्थ्यो । सुरमा स्वर नलागे पनि गाउन मन लाग्थ्यो । सबै मुग्ध हुन्थे । के किशोर, के युवा अनि के बूढाबूढी । सबैका लागि मनपर्ने गीत थियो त्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

यही कालजयी गीतका स्रष्टा गणेश रसिक (७१)सँग मेरो पहिलो भेट ३० वर्षअघि भयो— सांस्कृतिक संस्थानको उनकै चेम्बरमा ।

त्यसबेला गणेश संस्थानका महाप्रबन्धक थिए । म भने जागिर जोगाउनै राजनीतिमा कलम चलाउन छोडेर कला पत्रकारितातिर हाम्फालेको थिएँ ।

Global Ime bank

मैले कला पत्रकारिता थाल्दा नेपाली फिल्म त्यति बन्दैनथ्यो । बने पनि त्यतातिर मतलब राखिन्नथ्यो । नाचघर, सभागृह र एकेडेमीमा हुने नाटक तथा सांस्कृतिक कार्यक्रमले साताको एकदिन प्रकाशित हुने साप्ताहिक पत्रिकामा तोकिएको ठाउँ भरिन्थ्यो । कहिलेकाहीँ सर्वनामको सडक नाटक पनि फेला पथ्र्यो ठाउँ भर्न ।

कला पत्रकारितामा कलम घोट्दै गर्दा नीर शाह, गणेश रसिक, हरिप्रसाद रिमाल, हरिहर शर्मा, मदनदास श्रेष्ठ, शुभद्रा अधिकारी, सुनील पोखरेल, बद्री अधिकारीहरूसित सम्बन्ध गाँसिँदै गयो ।

आज पनि गणेश ३० वर्षअघिका कैयन् प्रसंग सम्झिन्छन् । त्यसबेलाका अन्तर्वार्ता सम्झिन्छन् । यो आलेख तयार गरिरहँदा हालैको एकदिन गणेशसँग भेट भयो । ०४५—४६ सालतिर ‘चलचित्र’ मासिक पत्रिकामा मैले लिएको अन्तर्वार्ताको कुरा उप्काउँदै थिए उनी ।

भोजपुरको सुन्दर र रमणीय गाउँ छिनामखु नौला गाउँदेखि जीवन यात्रा शुरु भएको हो गणेशको, जसले जीवनमा संघर्ष गर्दै यायावरजस्तो यात्रा गरे । दुःखलाई सधैं आफ्नै साथी–संगाती सम्झिए । सुख पाहुना हो, ती आउँछन्, जान्छन् । यही दर्शनलाई बोक्दै हिँडे उनी । त्यसैले दुःख र पीडाले छाती भतभती पोले पनि त्यसभित्रै खुशी खोज्ने प्रयास गरे । आज पनि उनको जीवन दर्शन यही भएको छ— दुःख त आफ्नै साथी हो, दुःखमै जिउन सक्नुपर्छ ।

नौलागाउँमा जन्मिएका गणेश राई (पछि रसिक) बाल्यकालदेखि नै साहित्य, संगीततर्फ रुचि राख्थे । उनका पिताजी दार्जिलिङमा पढ्थे । पुस्तकतिर पिताजीको रुचि थियो । त्यसैले पनि होला— पिताजीले घरमा सानोतिनो पुस्तकालय नै बनाएका थिए, जहाँ अनेक रंगका पुस्तक थिए ।

पिताजीको पुस्तकालयका कतिपय किताबमा गणेशको ध्यान जान्थ्यो । त्यसैबेला उनले पिताजीको निजी लाइब्रेरीबाट निकालेर पढे, अच्छा राई ‘रसिक’को उपन्यास ‘लगन’ ।

बालापनका बेला पढिएको त्यो उपन्यास उनको बाल मष्तिष्कले बुझ्यो, बुझेन— स्वयं उनैलाई थाहा छैन । त्यतिखेर उनी ५ कक्षामा पढ्थे । त्यो किताब पढे र बुझ्ने कोसिस पनि गरे । उनको मनमा ‘रसिक’को छाप पर्‍यो ।

उनी ८–९ वर्षको हुँदा नै आमाको निधन भयो । यसले उनको बाल मष्तिष्कमा गहिरो प्रभाव पा¥यो । मातृवात्सल्यविहीन हुँदा उनमा अन्तरमुखी स्वभाव विकसित हुँदै गयो— एक्लै बस्ने, एकान्त रुचाउने । फलतः एक्लोपन उनको साथी भयो ।

उनी भन्छन्, “कसैले यसकी आमा छैन भन्दा मलाई आफैंप्रति बडो टीठ लाग्थ्यो ।  यी सबै कारणले पनि म एक्लोपनमा हराउन खोजें । अनि एक्लोपनको साथी बन्दै गए कविता र गीत–संगीत ।”

उनी कक्षा उक्लेर ६ मा पुगेपछि हाइस्कुल पढ्न भोजपुर बजार आए । भोजपुर साहित्यका लागि अर्को उर्वर थलो थियो । त्यहाँ साहित्यमा सक्रिय धेरै अग्रज व्यक्तित्व र साथी भेटे उनले । तिनैमा थिए परशु प्रधान, कृष्ण जोशीजस्ता अग्रज साहित्यकार । शैलेन्द्र साकार, प्रयागरत्न विरही, मेघराज मञ्जुलहरू समवयी थिए ।

यी अग्रज साहित्यकारहरूको संगत र प्रेरणाले उनलाई कविता र गीत लेखनतर्फ मोड्यो । त्यो बेलामा पनि भोजपुरमा हप्ता, पन्ध्र दिनमा साहित्यिक गोष्ठी भइरहन्थे ।

साहित्यकारहरूसँगको संगतले उनको रुचि कविता र गीततिर बढ्यो । अनि उनले पनि केही लेख्ने र सुनाउने गर्न थाले । यसले साहित्यतर्फ उनलाई आकर्षित गर्दै लग्यो ।

त्यसैबेला साहित्यमा सक्रिय हुनेहरूले उपनाम राख्ने चलन शुरु भएको थियो । यतिबेला उनले सम्झिए— आफूले पढेको पहिलो उपन्यास अच्छा राई ‘रसिक’को ‘लगन’ । अनि उनले पनि आफ्नो नाम गणेशको पछाडि ‘रसिक’ उपनाम थपे ।

कुराकानीको क्रममा उनी भन्दै थिए, “पछि मलाई उपनाम रसिक नराखेर ‘एकलव्य’ राखेको भए हुन्थ्यो भन्ने पनि लाग्यो । मेरो जीवनको दर्शनसँग एकलव्य कुनै न कुनै रूपमा मेल खाएको पाउँछु । तर, रहरैरहरको लहरमा म ‘रसिक’ लगाएर मिसिएँ ।”

गणेश जीवनमा सधैं एक्लै हिँडे । जे गरे, एक्लै गरे । आफ्नो गन्तव्य पहिचान गर्दै यहाँसम्मको यात्रा एक्लै तय गरे । त्यसैले पनि उनलाई आफ्नो उपनाम ‘एकलव्य’ राखेको भए हुन्थ्यो भन्ने लाग्छ ।

उनी आफूले उपनाम राख्नुपर्ने एउटा अर्को कारण पनि रहेको बताउँदै थिए । उनको परिवारमा गणेश नाम गरेका धेरै थिए । कोही राई नै लेख्थे, कोही थुलुङ लेख्थे । काकाको नाम पनि गणेश थियो । भतिजको नाम पनि गणेश । हुँदाहुँदा फुपूकी छोरीको नाम पनि गणेशै राखियोे । त्यसैले पनि आफूलाई गणेश राईबाट गणेश रसिकमा रुपान्तरित गर्न जरुरी ठाने । आज यही रसिक उपनामले गणेशलाई जहाँ–जहाँ नेपाली छन्, त्यहाँ–त्यहाँ चिनाएको छ ।

गणेशको पारिवारिक पृष्ठभूमि बलियो नै थियो । हजुरबुबा बडाहाकिम थिए । पिताजी ०७ सालको क्रान्तिमा सक्रिय नेता । हजुरबुबा र पिताजी दुबै सेनाबाट निवृत्त । उनी हजुरबुबा र फुपूहरूका प्यारा थिए । झनै आमाको निधनपछि उनलाई सबैले औधी माया गरे । यद्यपि उनको अन्तरमुखी स्वभावमा भने परिवर्तन आएन ।

सानो कक्षामा पढ्दा शिक्षकले ‘मुनामदन’ गाएर पढाउँथे । पढाउँदा पढाउँदै शिक्षक आफैं रुन्थे । विद्यार्थीलाई पनि रुवाउँथे । यहीँबाट उनले गाउन पनि शुरु गरे ।

एउटा प्रसंग सम्झिन्छन् । उनका पिताजीलाई भेट्न कोही ठूलाबडा मानिस आएका थिए घरमा । उनले एउटा ‘माउथ आरगन’ लिएर आएका रहेछन् । यसअघि नै उनका पिताजीले दार्जिलिङबाट एउटा बेन्जो ल्याइदिएका थिए उनका लागि । त्यही बेन्जो बाजा बजाएर उनले पिताजीका साथीहरूलाई केही गीत गाएर सुनाए । त्यसपछि पिताजीका साथीले उनलाई आफूले ल्याएको त्यो माउथ आरगन दिएर गए । यसले पनि गणेशलाई संगीततर्फ लाग्न प्रेरित गरेको हुन सक्ने उनी बताउँछन् ।

गाउँको स्कुलमा दार्जिलिङका शिक्षकहरू थिए । त्यसबेला पढ्नलाई काठको पाटी प्रयोग हुन्थ्यो । खरी ढुंगाको मसी बनाइन्थ्यो । पाटीलाई चम्काउन अँगार पोतिन्थ्यो । पढ्ने बेला बस्नलाई पिरा लिएर गइन्थ्यो स्कुलमा ।

अलि ठूलो हुँदै गएपछि कक्षा उक्लिनुका साथै केही काम पनि गर्नुपथ्र्यो विद्यार्थीले । काम थियो, शिक्षकहरूलाई तलब दिन चन्दा उठाउने कर्म । स्कुलमा आएको पैसाले नपुगेपछि गाउँलेहरूसित चन्दा उठाइन्थ्यो । त्यसका लागि सांस्कृतिक कार्यक्रम हुन्थ्यो । गीत गाइन्थ्यो । नाचिन्थ्यो । त्यसबेला पाश्र्वगायनको चलन थिएन । नाच्ने मानिस आफैंले गाउनुपथ्र्यो । यस्तोमा गणेश प्रायः केटी बनेर गीत गाउँदै नाच्थे ।

नोस्टाल्जिक हुँदै रसिक पुग्छन्, त्यो मञ्चमा, जहाँ उनी स्वाँस्वाँ गर्दै नाच्दै गाइरहेका हुन्थे, “प्लेब्याक गायनको चलन थिएन, टेपरेकर्डर हुने कुरै भएन । स्वाँस्वाँ गर्दै आफैंले गाउँदै नाच्नु पथ्र्यो । गीतले भन्थ्यो, ‘हेर हेर दाजुभाइ हाम्रो स्कुललाई, कसरी सुधारी लाने हो, कसरी सहयोग गर्ने हो...’ ।  यसरी मान्छे्को मन पगाल्ने किसिमका गीत गाउँदै हिँड्थ्यौं । यति मन नपगाली त कहाँबाट चन्दा आउँथ्यो र !”

यो पनि उनको संगीत यात्राका लागि प्रेरणादायी प्रसंग बन्यो । संगीतका क्षेत्रमा समर्पित भएर लाग्न गणेशलाई यसले निकै ऊर्जा दियो ।

बाल्यावस्था यसरी नै बित्यो । बढ्दो उमेरसितै उनको साहित्य र संगीततर्फको रुझान मौलाउँदै गयो । तर, एकांकीपनले उनलाई छोडेको थिएन । उनी आफ्नै मनका मालिक थिए । त्यसैले जे गर्थे, आफैं निर्णय लिएर गर्थे । स्वच्छन्द थिए । स्वाभिमानी थिए ।

समय बितेसँगै उनी केही गर्ने उद्देश्य बोकेर भोजपुरबाट राजविराज झरे । त्यहाँ केही समय बिताए । साथीहरूसामु राजविराजमा पनि गीत गाए । पछि उनी इलाम गए । इलाममा पनि गीत गाउँदै साथी बनाए । उनलाई संगीतमा सक्रिय हुने एउटा बाटो यहीबाट खुल्यो ।

उनी गीत लेख्ने, गीत गाउने रुचि भएका मानिस । जहाँ गए, गीत गाए । ०२१/२२ सालतिर उनी इलाम पुगे । इलाममा पनि उनले केही साथी बनाए । ती साथी र दाइहरूका अगाडि उनी गीत गाउँथे हार्मोनियम बजाएर । उनीहरू गणेशलाई हौस्याउँथे । इलाममै उनको परिचय नन्द हाङसिङ, जितेन्द्र बर्देवाहरूसित भयो ।

इलाम पुगेपछि उनले अर्को नयाँ कुरा थाहा पाए । त्यस बेलासम्म उनी रेडियोमा बजेका गीतमात्रै गाउँथे । गीत लेख्थे तर आफ्नो गीत गाउँथेनन् । इलामका साथीहरूले आफ्नै शब्दमा आफैंले धून बनाएर गाएको उनले सुने । त्यसले गणेशलाई संगीत सिर्जनामा लाग्न प्रेरित गर्‍यो । उनलाई लाग्यो— आफैंले लेखेर गीत बनाउन पनि त सकिँदो रहेछ ।

०२२ सालको अन्तिमतिर रेडियो नेपालको लोकगीत प्रतियोगितामा भाग लिन गणेश काठमाडौं आए । उनी मेची अञ्चलका कलाकारहरूको समूहमा संलग्न भई लोकगीतसहित काठमाडौं आएका थिए । उनले गाएको लोकगीत तामाङ सेलोमा थियो, ‘आमाले देखे के भन्ला...’ बोलको । अहिले त्यो लोकगीतको लय र शब्द दुबै बिर्सिसके ।

त्यो बेला बद्रीविक्रम थापा मेची अञ्चलाधीश थिए । उनले गणेशका पिताजीलाई चिन्थे । गणेशले आफ्नो परिचय दिनासाथ थापाले उनको स्वर नसुनेरै प्रतियोगितामा भाग लिन सिफारिस गरिदिए ।

गणेश हाँस्दै भन्छन्, “म रेडियो नेपालमा गएँ । स्टुडियोमा नातीकाजी, शिवशंकर, तारादेवी, धर्मराज थापालगायतका कलाकार सबै लहरै बसेका थिए । मैले आफू बाजा बजाएर गीत गाउने भएकोले हार्मोनियम बजाएर गाउँछु भनें । तर, कसैले मानेनन् । ‘लोकगीत गाउने मानिस कहाँ हार्मोनियम बजाएर गाउने’ भने ।”

आफूले तयार गरेको गीत बिनाबाजा गाउने भरमग्दुर प्रयास गरे तर सकेनन् । बाजामा गाउने बानी भएको हुँदा गीतको मुखडा उठाउन फिटिक्कै सकेनन् । पछि धनकुटाका कलाकारहरूले बाजा बाजा बजाइदिने भनेपछि उनले गीत पूरा गरे । पछि उनले ‘उभोलाई हेरूँ त्यो काली लेख उँधोलाई निरह...’ बोलको लोकगीत रेडियोमा पहिलोपटक गाए र इलामबाट आउँदा–जाँदाको खर्च उठाए ।

इलाम फर्किएपछि उनलाई महसुस भयो— काठमाडौंले तान्दैछ । उनलाई लाग्यो— काठमाडौं देशकै राजधानी हो, त्यहाँ जानुपर्छ । त्यहीँ पुगेर केही गर्नुपर्छ । तर, कसरी जाने ? के गर्न जाने ? यो प्रश्नले पनि छोप्यो । उनी यस्तै तर्कनामा रुमल्लिन थाले ।

तर, उनको तर्कना तर्कनामा मात्रै सीमित रहेन । उनको सोच सार्थक हुने मार्गमा अघि बढ्दै थियो । त्यसैबेला मेची अञ्चलबाट जेटीए (जुनियर टेक्निकल असिसटेन्ट) तालिमका लागि १४ जनाको कोटा खुल्यो । उनले पनि निवेदन दिए । तालिम लिने अवसर पनि पाए ।

तालिमका लागि उनी काठमाडौं आए । ६ महिनाको तालिम थियो । तालिम पछि उनको पोस्टिङ पाटनमा भयो । यसरी उनी काठमाडौं पुगे पनि । अडिए पनि ।

काठमाडौं भित्रिएपछि रेडियो नेपाल आउन–जान शुरु गरे । सांगीतिक माहोलमा रमाउन थाले । उनको समय कामका अतिरिक्त गीत–संगीतमा पनि बित्न थाल्यो ।

त्यसै मेसोमा उनी राल्फासँग जोडिए । मञ्जुल, रामेश, रायन, अरिमहरू संलग्न भएको एउटा समूह थियो राल्फा । साहित्यकार पारिजातको सानिध्य मिलेको थियो राल्फासँग जोडिएका संगीतकर्मीलाई ।

गणेशको जेटीए जागिर बुङमतिमा थियो । तर, पनि उनी समय निकालेर राल्फाको काममा हिँड्थे । तिनताक उनको अधिकांश समय मञ्जुलको डेरामा बित्थ्यो । बसोबास नै त्यही थियो भन्दा हुन्छ ।

हाकिमले एकदिन गणेशलाई ‘तिमी त धेरै हिँड्दा रहेछौ’ भनेर ललितपुरको दक्षिणी भेगतिर खटाइदिए । तर, सांगीतिक परिवेशमा लपक्कै भिजेका गणेश साथीहरूको संगतबाट कहाँ टाढा जान सक्थे र ! समय निकालिहाल्थे ।

त्यसो त जागिर धरापमा पार्ने सोचाइ थिएन उनको । धेरै संघर्ष गरेर यहाँसम्म आइपुगेका थिए उनी । जीवनलाई गहिरोसित बुझेका थिए । यतिबेलासम्म उनले कतै–कतै कथा लेखेर पनि छपाउन थालिसकेका थिए ।

उनले कथा लेखेर ‘गोरखापत्र’मा दिन्थे । त्यतिबेला हास्यव्यंग्यकार भैरव अर्यालले खुबै सहयोग गरेको उनी आज पनि सम्झिन्छन् । अर्याल ‘गोरखापत्र’ संस्थानमा कार्यरत थिए । उनको कथा ‘गोरखापत्र’मा छापिन्थ्यो । एउटा कथाको पारिश्रमिक १५ रुपैयाँ पाउँथे उनी ।

गणेश त्यो युगको वर्णन यसरी गर्छन्, “रेडियो नेपालमा गीत गाएको १० रुपैयाँ पाइन्थ्यो । चिया १० पैसा कप थियो, समोसा २५ पैसामा पाइन्थ्यो रेडियो नेपालको क्यान्टिनमा । हामी महिनावारी ३० रुपैयाँमा खाना खान्थ्यौं । मेरो तलब १५० रुपैयाँ थियो । डेरा भाडा २० रुपैयाँ तिर्थें । १५ रुपैयाँमा त एकजोर जुत्ता आउँथ्यो । अहिले त यो सम्झनामा मात्रै सीमित भएको छ ।”

त्यो बेला अभाव थियो, असन्तुष्टि थिएन । गरिबी थियो, हीनताबोध थिएन । बैग्लै आनन्द थियो । त्यही आनन्दले गणेशलाई दिशानिर्देश गरिरहेको थियो ।

भन्छन्, “शायद त्यो समय र परिस्थितिमा रमाउन नसकेको भए म उत्तिबेलै गाउँ गइसकेको हुन्थें । आज पनि म गाउँमै रमाउँछु ।”

राल्फामा जोडिएपछि गणेश केही समय त्यसमा रमाए । तर, स्वच्छन्द सोचका, आफ्नै निर्णयमा कदम चाल्ने गणेशलाई राल्फाकालीन कतिपय कुराहरूले त्यहाँबाट छुट्टिने अवस्था सिर्जना गरिदियो । त्यसबेला मञ्जुलले गीत लेख्थे । रामेशले संगीत दिन्थे । गणेशहरू गाउँथे ।

उनी सम्झिन्छन्, “मञ्जुल लेख्ने । रामेशले संगीत दिने । हाम्रो काम त कोरस दिनेमात्रै भयो । यसले ममा इगो पैदा गर्‍यो शायद । किनभने, हाम्रो गीतले मौका पाइरहेका नै थिएनन् । त्यसैले पनि मैले राल्फा छोडें ।”

वास्तवमा राल्फामा पुरानै समूह सक्रिय थिए । त्यो समूहमा गणेश पछि टाँसिन पुगेका थिए । त्यसैले पनि उनले राल्फा त्यागेका थिए । उनी आफैं संघर्ष गरेर अघि बढ्ने सोचका मानिस थिए । उनी आफू हिँड्ने बाटो आफैं हिँडेर बनाउँदै थिए ।

राल्फाबाट छुट्टिएपछि गणेश, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, नवीन किशोर राईलगायतका कलाकार सम्मिलित लेकाली समूह गठन भयो । लेकालीमा सक्रिय कलाकारले नेपाली लोकसंगीत, आधुनिक संगीतमा केही पृथक अवधारणासहित प्रयोगवादी कर्म गर्दै गए ।

रसिक भन्छन्, “लेकालीको स्थापनापछि हामीले जीवनका गीत गायौं ।  संगीत जीवनका लागि नै हुनुपर्छ भन्ने एउटा दृष्टिकोण तयार ग¥यौं । हामीले तीन किसिमका गीतको वर्ग बनायौं । एउटा अति आधुनिक, जस्तोः ‘लहरा पहरा छहराको गीत’, ‘कति दिन बाँच्ने यो हुस्सुले छोपेको सहरमा’ । प्रयोगवादी जीवन संगीतमा ‘बस बस बसुन्धरा बहिनी’ जस्ता गीत बने । त्यस्तै, लोकगीतमा लोकगीत जस्तो लाग्ने तर बनाइएका लोकगीत गायौं, जसले समाजमा एउटा सन्देश पनि प्रवाह गर्दथ्यो ।”

लेकालीले सामाजिक चेतनाका गीतहरू गाउँदै हिँड्यो । लेकालीमा प्रगतिवादी सोच भएका कलाकारहरू भए पनि राल्फामा जस्तो नेताहरू थिएनन् । नेताहरूको पकडमा लेकाली थिएन । लेकालीमा जो जति थिए, सबै समाजका लागि केही गरौं भनेर लागिपरेका थिए । पछि नवीनकिशोर राईले लेकाली छोडे ।

लेकाली अगाडि बढ्दै गयो । लेकालीले झाँक्री गीत पनि बनायो । यसरी त्यो समयमा लेकालीले लोकसंगीतमा नयाँ तरंग पैदा गर्दै लग्यो । कतिपयले त्यसलाई फलो पनि गरे ।

गणेश भन्छन्, “त्यो नारायण गोपाल, बच्चु कैलाश र प्रेमध्वजहरू उचाइँमा रहेको समय थियो । क्लाइमेक्समा थिए ती गायक कलाकारहरू । लोकगीतमा कुमार बस्नेतमात्रै थिए । त्यो अवस्थामा लेकालीले केही नयाँ सांगीतिक तरंग पैदा गरेकै हो । त्यसले लोकगीतको क्षेत्रमा नौलो माहोल सिर्जना गर्‍यो ।”

यसरी अनेक संघर्ष गर्दै आफ्नो कर्मको बलमा उचाइँमा पुगेका गणेश एक समय सांस्कृतिक संस्थान, रत्न रेकर्डिङ र पछि साझाको पनि प्रमुख बने । तर, पनि आफू उही सामान्य मानिस, संघर्षशील मानिस भएको उनी बताइरहन्छन् ।

भन्छन्, “म ईश्वरप्रति आस्था राख्छु । म पितृप्रति आस्था राख्छु । हाम्रो धर्म, संस्कृतिप्रति आस्था राख्छु । र, यिनै ईश्वरले मेरो जीवनका कतिपय क्षणमा सन्तुलन (ब्यालेन्स) मिलाउने काम गरिरहेका छन् ।”

उनी काठमाडौं छोडेर इलाम गएको पनि १८–२० वर्ष बितिसकेको छ । तर, पनि सरकारले उनलाई नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य–सचिवमा नियुक्त ग¥यो । यो आफ्नो कल्पनाभन्दा धेरै बाहिरको कुरा भएको उनी बताउँछन् । उनले सोचेका पनि थिएनन् । शायद यो आस्थाकै परिणति हो ।

नेपाली साहित्यमा केही उत्कृष्ट सिर्जना दिने गणेशको जीवन दुःखै–दुःखले भरिएको पाइन्छ । उनी बालकै हुँदा आमा बितिन् । त्यसपछि पिताजी बिते । तीन जना भाइहरूको अकाल मृत्यु भयो । उनका लक्का जवान छोरा पनि ३० वर्षको कलिलो उमेरमै बिते । उनकी पत्नी क्यान्सर रोगबाट पीडित छिन् ।

दुःख र पीडाको यो दर्दनाक गाथा सुनाउँदै गर्दा उनी गम्भीर भावमा अभिव्यक्त हुँदै थिए, “मलाई लाग्छ— मेरो जीवनमा मैले कहीँ न कहीँ केही गल्ती गरेको छु वा गल्ती भएको छ । त्यसैले त यो दुःख र पीडाको भोगाइ मेरो भागमा परेको छ । म त्यसकै फल भोगिरहेको छु ।”

तथापि, यस्तै पीडा र दुःखले उनलाई बाँच्न पनि सिकाउँदै छन् । त्यसैले त उनी भन्छन्, “नेपालीको औसत आयु ६५ वर्ष छ । यस हिसाबले म बोनसको जीवन बाँचिरहेको छु । र, यही बोनसकालमा केही राम्रो काम गर्ने, चीरकाल जीवित रहने काम गर्न खोज्दैछु । कहिलेकाहीँ निराशाले छाए पनि भरसक राम्रो गर्ने कर्ममा लागेको छु ।”

सयौं कालजयी गीतहरूका साथै ‘आकाशगंगाको ओतमुनि’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’, ‘दशगजामा उभिएर’ जस्ता पुस्तक पनि पाठकलाई सुम्पिएका सर्जक गणेश सहज जीवन बिताउन प्रयत्नशील छन् ।

भन्छन्, “मेरो जीवन संघर्षपूर्ण नै रह्यो । संघर्ष नभई जीवन खारिँदैन । मलाई यस्तै लाग्छ । जीवनलाई जीवन जस्तो जिउन संघर्ष त गर्नैपर्छ ।”

आज पनि गणेश संघर्ष गर्दैछन् । विभिन्न कालखण्डमा उनले धेरै उच्च पद प्राप्त गरे । अहिले पनि उनी नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा सदस्य–सचिव पदमा छन् । तथापि उनको जीवनसंघर्ष रोकिएको छैन । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०७५  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC