site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टेलिभिजन इतिहासका साक्षी
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


डक्टर हुने रहर त थिएन तर परिवारको चाहना थियो । दुर्गानाथ शर्माको मन त्यता थिएन । काँधमा आला भिरेर मृत्युको मुखमा पुगेका बिरामीलाई पुनर्जीवन त उनले दिन सकेनन् तर नेपालमा नयाँ सञ्चार प्रविधि भित्र्याएर त्यसमा जनतालाई अभ्यस्त बनाउन सके । टेलिभिजन जनतालाई देखाउँछु भन्दै नीर शाहसँगै मन्त्रालय पुग्दा खिसिट्युरी गर्दै फाइल फ्याँकिदिने कर्मचारीहरूलाई काम गरेर देखाइदिए । नेपाली जनताले काँचको पर्दामा आफ्नै कुरा हेर्न पाए । अक्षरदेखि अडियो हुँदै दृश्यसम्म खेलाएका दुर्गाले देशमात्रै होइन, विदेशका कुरा पनि देखाए । त्यसका लागि उनले गरेको संघर्ष आजको पुस्तालाई लोककथा जस्तो लाग्न सक्छ ।

० ० ०

Agni Group

लक्ष्मीनाथ शर्मा (फिल्म निर्देशक) डक्टर बन्ने सपना बोकेर साइन्स पढ्न बनारस गएका थिए । आईएसी नै फेल भएपछि उनी रित्तो हात इलाम फर्किए । माइला दाइ इन्जिनियर थिए । दुर्गानाथलाई बुवाले भन्थे, “लक्ष्मीनाथले डाक्टर पढ्न सकेन, अब तँ डाक्टर हुनुपर्छ ।”

गणितमा राम्रा थिएनन् दुर्गा तर पनि उनलाई साइन्सै पढ्ने दबाब आयो । काठमाडौं आउँदा दाइले त्रिचन्द्र कलेजमा आईएसी भर्ना गरिदिइसकेका थिए ।

Global Ime bank

आईएससीमा तेस्रो श्रेणीमा पास त भए तर यो नतिजाले डक्टर पढ्नका लागि ढोका खोल्दैनथ्यो । सोचे— बीएसी पढेर शिक्षक हुनुुभन्दा नपढेकै बेस ।

उनले साइन्स पढ्न छोडे । जमलस्थित दाइको कोठा छोडे । नेसनल कलेजमा इभिनिङ सिफ्टको फर्म भरे । अरुको कमिजको फेर समातेर बाँच्नुभन्दा स्वाभिमानले एक छाक खाएरै बाच्नु बेस भन्ठानेर एड एजेन्सीमा काम थाले ।

रानीपोखरी छेउको घरमा चार जना मिलेर कोठा लिए । भाडा ८० रुपैयाँ थियो । चार जनाले शुरुमा एक–एक वटा ओछ्यान लगाउँथे । सम्पत्तिका नाममा एउटा सुटकेसमात्रै थियो । सय रुपैयाँमा रत्नपार्कस्थित डाँफे रेस्टुराँले एक महिना खाना खुवाउँथ्यो । होटल मालिक पूर्वी नेपालकै थिए । दुर्गाको घर इलाम । मासु नखाए पनि मासुको झोल सित्तैमा दिन्थे । १२० रुपैयाँ भए काठमाडौंमा जिन्दगी चल्थ्यो । २५० रुपैयाँ उनको तलब थियो । साँझ पढ्न जाने दुर्गालाई काठमाडौंमा एक्लो जिन्दगी धान्न टाउको दुखाउनु परेको थिएन । प्रवीण गिरी, विश्वम्भर प्याकुर्‍याल उनका सहपाठी थिए ।

मन्त्रीको त्यो आदेश

एड एजेन्सीमा काम गरिरहेका बेला ‘गोरखापत्र’लाई उनले नजिकबाट चिन्ने मौका पाएका थिए । काम गर्न पाए त सरकारी जागिर राम्रै हुन्थ्यो तर सजिलो थिएन । कसैको ‘भिटो’ प्रयोग नभएसम्म काम पाउनु आकाशको तारा खसाल्नुसरह थियो ।

तत्कालीन जल्दाबल्दा मन्त्री नवराज सुवेदी दाइका साथी थिए । उनी गएर सुवेदीलाई जागिर लगाइदिन आग्रह गरे । सुवेदीले ‘तपाईंलाई मिल्ने जागिर कहाँ छ, खोजेर आउनू, म भन्दिन्छु’ भने ।

‘गोरखापत्र’ दैनिकको विज्ञापन शाखामा सुपरभाइजर पद खाली छ भन्ने चाल उनले पाइसकेका थिए । मन्त्री सुवेदीले गृहसचिव सुन्दरप्रसाद शाहलाई निर्देशन दिए । चल्तापुर्जा मन्त्रीले दिएको निर्देशन सचिवले नमान्ने कुरै थिएन ।

भोलिपल्ट बिहानै दर्खास्त बोकेर दुर्गा गृह मन्त्रालय पुगे । सचिव शाह उनैलाई पर्खेर बसिरहेका रहेछन् । उनले दुर्गाको दर्खास्तमा तोक लगाइदिए, “निजलाई त्यहाँ खाली रहेको विज्ञापन शाखाको सुपरभाइजर पदमा भर्ना गरिदिनू । भर्ना गर्न मिल्दैन भने के कति कारणले मिल्दैन, पेश गर्नू ।”

यस्तो भाषासहितको तोकादेशलाई नजरअन्दाज गर्ने ‘गोरखापत्र’ दैनिकको सामथ्र्य थिएन । तोकादेश हेरेपछि महाप्रबन्धक भवानीराज मास्केले दुर्गालाई शीरदेखि पाउसम्म हेर्दै भने, “ल ! यस्तो राम्रो तोकादेश लिएर आउनुभएको रहेछ । भोलि आउनुस्, म नियुक्ति दिन्छु ।”

उनले ६ महिनाको अस्थायी नियुक्तिपत्र पाए । गोपालप्रसाद भट्टराई ‘गोरखापत्र’का सम्पादक थिए । उनले डा. तारानाथ शर्माका भाइ भन्ने थाहा पाएपछि ‘तपाईंको लेखन राम्रो होला, समाचारमा आउनुस्’ भन्थे । तर, दुर्गाले आफू कसैको निगाहभन्दा पनि प्रतिस्पर्धाबाट मात्रै आउने बताए ।

केही समयपछि विज्ञापन खुल्यो । दर्खास्त दिए । पास भए । उप–सम्पादकको जिम्मेवारी बहन गर्दै उनी सम्पादकीय शाखामा प्रवेश गरे ।

त्यो समाचार

अमेरिका गएका थिए दुर्गा । फर्किंदा ढाकामा ट्रान्जिट थियो । उनले विमानस्थलमा अनौठो दृश्य देखे । 

एकजना व्यापारीले त्यहाँ रहेका थुप्रै नेपालीलाई स्टिकरसहितका चस्मा, चर्को गर्मीमा पनि जिन्सको पाइन्ट, ज्याकेट, तीन–चारवटा सुनका औंठी, गलामा सिक्री, दुइटै हातमा घडी दिए । नेपालीले ती सबै लगाए र तिनै व्यापारीलाई पछ्याए । चर्को घाममा मोटामोटा ज्याकेट, ज्याकेटभित्र स्विटर, पाइन्ट, एउटै हातमा तीन–चार वटा औंठी लगाएको देखेर सँगै रहेका एक विदेशी नागरिकलाई अनौठो लागेछ । दुर्गालाई सोधे, “एयरलाइन्सले उपहार बाँडेको हो ?”

दुर्गाले जवाफ दिए, “होइन होइन, यो त यिनीहरूको व्यापार हो ।”

लुगा, गहना लगाएर व्यापारीसँगै हिँड्ने नेपालीले बस्ने ठाउँ पाउँथे, सित्तैमा प्लेन चढ्न पाउँथे । काठमाडौं विमानस्थल ओर्लिएपछि सामान छिराइदिएबापत पैसा पनि पाउँथे । त्यही विषयलाई लिएर दुर्गाले ‘आकाशे भरिया’ शीर्षकमा समाचार लेखे ।

समाचार छापिएको साँझ एकजना व्यक्ति ‘गोरखापत्र’को कार्यालय आएर भने, “आज मैले गोरखापत्र किन्न पाइनँ, १० कपी दिनुपर्‍यो ।”

“किन चाहियो १० कपी ?”

“आज एउटा आकाशे भरिया भन्ने समाचार छापिएको रहेछ । त्यो मलाई मन पर्‍यो । यो पत्रिका लगेर सरकारी कार्यालयमा छोड्दिन्छु ।”

व्यापारीहरूले कसरी कर छलिरहेका छन् भनेर त्यो समाचारले स्पष्ट पारिदिएको थियो ।

मुद्रण राक्षस

प्रविधि पुरानो थियो । अक्षर कम्पोज गर्नु पथ्र्यो । कहिलेकाँही त्यसले धोका पनि दिन्थ्यो । भारतीय राष्ट्रपति जाकिर हुसेन नेपाल भ्रमणमा आएका थिए । ‘गोरखापत्र’सँगै ‘राइजिङ नेपाल’ पनि प्रकाशन हुन्थ्यो ।

समाचारमा ‘ल्याटर डा. जाकिर हुसेन...’ हुनुपर्नेमा ‘ल्याटर’को ‘आर’ छुटेछ । ‘लेट डा. जाकिर हुसेन...’ भयो । अनर्थ लाग्यो ।

यस्तो गल्तीका कारण सम्पादक (गोकुलप्रसाद पोखरेल)लाई निलम्बन गरिएको सूचनासँगै राष्ट्रपति जाकिर हुसेनलाई त्यो पत्रिका पढ्न दिइयो ।

जाकिर हुसेनले भनेछन्, “यसलाई मुद्रण राक्षस भनिन्छ । यो प्रविधिमा यस्तो गल्ती सामान्य हो । म त अथिति हुँ, राजालाई बिन्ती गरिदिनू, सम्पादकलाई सस्पेन्स गर्नु पर्दैन रे भनेर ।”

नारायण बस्नेत उक्त समाचार छापिएको पेजको संयोजक थिए । उनी निलम्बनमा परेर पनि फुक्का भए । केही वर्षपछि तिनै अञ्चलाधीश भए ।

ध्वनि तरंगको यात्रा

०३२ सालमा भारतदत्त कोइराला ‘गोरखापत्र’का सम्पादक थिए । प्रचण्डमान सिंह समाचार निर्देशक । प्रचण्डमानले भारतदत्तलाई भनेछन्, “मलाई समाचार सम्पादन गर्न सक्ने, अंग्रेजी समाचार नेपालीमा अनुवाद गर्न सक्ने र राम्रो स्वर भएर मान्छे चाहियो । तपाईंकोमा छन् भने पठाइदिनुस् ।” 

भारतदत्तले दुर्गालाई भने, “तपाईंको अनुवाद राम्रो छ । स्वर पनि राम्रो छ जस्तो लाग्छ । तपाई रेडियोमा जानुस् काम गर्न ।”

उनलाई लाग्यो— मलाई यिनीहरूले लखेट्न लागे । भने, “मलाई मेरो स्वर राम्रो छ जस्तो लाग्दैन । मलाई यहीँ ठीक छ, जान्नँ ।”

भारतदत्तले भने, “तपाईंलाई गोरखापत्र छोडेर जानुस् भनेको होइन । त्यहाँ बिहान–बेलुका काम गर्नुस्, एक्स्ट्रा पैसा हुन्छ भनेर भनेको हुँ ।”

मन अमिलो बनाउँदै उनी रेडियो नेपाल छिरे । महाप्रबन्धकको कोठामा पुगे । कृष्णबहादुर खत्री कार्यकारी निर्देशक थिए । उनले ‘गोरखापत्र’ हेरेर तीन–चार वटा समाचारमा रातो मसीले चिन्ह लगाउँदै स्टुडियोमा गएर रेकर्ड गराउन भने ।

कन्ट्रोल रुममा बसिरहेका उनीहरू त दुर्गाको स्वर सुनेर छक्क पर्दै भने, “कति राम्रो स्वर !”

दुर्गा भन्छन्, “आज पनि मलाई मेरो स्वर राम्रो छ भन्ने लाग्दैन । उनीहरूले त्यही दिन आजैबाट आउनुस् पो भने ।”

भोलिपल्ट बिहानैबाट रेडियो नेपाल जान थाले उनी । दिउँसो ‘गोरखापत्र’मा काम गर्ने दुर्गाले रेडियो नेपालमा बिहान र बेलुका काम गर्न थाले । बेलुकीको समाचारपछि ‘सामयिक चर्चा’ नामक समाचार टिप्पणी पढ्न थाले । ६ महिनापछि मुख्य समाचार पढ्ने परिपाटी भए पनि स्वर र भाषा राम्रो भएको हुँदा उनले भने एक महिनापछि नै पढ्ने मौका पाए ।

प्रवीण गिरी, कमल प्रधान, गौरी केसी, भारती सिलवाल, मञ्जु लामिछाने, ललित क्षेत्रीलगायतका समाचार वाचक उनका सहकर्मी थिए । १७ वर्ष ‘गोरखापत्र’मा काम गरेका दुर्गाले १० वर्ष रेडियो नेपालमा समाचार पढे ।

० ० ०

तत्कालीन राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायतमा घोषणा गरे, “नेपालमा टेलिभिजन स्थापनाबारे सम्भाव्यता अध्ययन गरिनेछ ।”

प्रसारण माध्यमको नाममा रेडियो नेपालमात्रै थियो । सरकार दरबारको आदेश र निर्देशनभन्दा बाहिर जाँदैनथ्यो । पञ्चायत भएकाले निजी क्षेत्रको हात बाँधिएको थियो । रेडियो तथा टेलिभिजन सञ्चालनको अनुमति निजी क्षेत्रलाई थिएन ।

काठमाडौं तथा मुख्य शहरका हुनेखाने तथा विदेशबाट फर्किएका जनताका घरमा टेलिभिजन सेट राख्न थालिएको थियो । ती सेटमा भारतीय टेलिभिजन ‘दूरदर्शन’ आउँथ्यो । त्यसले नेपाली संस्कृतिमा हस्तक्षेप गर्न खोजेको आँकलन गरेर हुनुपर्छ या प्रसारण माध्यम पनि छ भनेर देखाउन हो— दरबारले टेलिभिजन स्थापनाको सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्‍यो । तर, त्यसका लागि न बजेट थियो, न कुनै तयारी ।

सरकारले नीर शाहलाई मन्त्रालयका खरदार दिएर दुई जनाको कमिटी गठन गरी काम गर्न भन्यो । उनी शाही नेपाल चलचित्र संस्थानका उपमहाप्रबन्धक थिए । संस्थानले राजापरिवारका भ्रमणको ‘न्युज रिल’ (डकुमेन्ट्रीजस्तै) बनाउँथ्यो । त्यो ‘न्युज रिल’ सिनेमा घरहरूमा देखाइन्थ्यो । ‘न्युज रिल’को स्क्रिप्ट र भ्वाइस–ओभरका लागि नीरले दुर्गालाई ‘हायर’ गरेका थिए । त्यही बेला उनले थाहा पाएका थिए— दुर्गाले दृश्य माध्यममा काम गर्न सक्छन् ।

दुर्गालाई बोलाए । उनी काजमा आए । फ्रान्सको सोफ्राटेपले नेपालमा टेलिभिजन स्थापनाको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन बुझाएको थियो । त्यो मन्त्रालयको कुनै दराजमा थन्कियो । जापानको एनएचके टेलिभिजनले बुझाएको रिपोर्ट केही व्यवहारिक त थियो तर त्यसको पनि कसैले वास्तै गरेन ।

नीरले इन्जिनियरिङमा मौसम विज्ञानबाट रवीन्द्र शमशेर राणालाई, साउन्डमा तपनाथ शुक्ललाई ल्याए । पुरण राणालाई पनि ल्याए । विश्वप्रसाद मास्केलाई प्रशासन प्रमुख बनाए ।

नेपाल टेलिभिजनलाई सिंहदरबारको माथिल्लो तलाको एउटा कोठा दिइएको थियो । त्यहाँ सामान्य स्टुडियो निर्माण गरियो । दुर्गाको काम दैनिक आधा घण्टाको समाचार बुलेटिन तयार पार्नु थियो । निकै कम गुणस्तरको भीएचएफ क्यामेरा थियो । त्यही प्रयोग गर्नुपथ्र्यो ।

“पुरानो घरमा स्टुडियो भएकाले समाचार रेकर्ड गर्दा मिस्त्रीले घर तथा झ्याल ढोका मर्मत गरेको ट्वाङ... ट्वाङ... आवाज आउँथ्यो, त्यो पनि समाचारसँगै रेकर्ड हुन्थ्यो । कार्यालय सहयोगीलाई पठाएर काम रोक्न लगाई पुनः शुरुबाट समाचार रेकर्ड गथ्र्यौं,” दुर्गा सम्झन्छन्, “सडकमा कुकुर भुक्थे । सहयोगीलाई कुकुर लखेट्न लगाएर समाचार फेरि शुरुदेखि रेकर्ड गर्नु पथ्र्यो ।”

समाचारको पहिलो बुलेटिन ०४१ पुस १४ गते तयार पारे दुर्गाले । पहिलो एंकर उनै थिए । उनले ‘अब प्रसारण हुँदैछ समाचार’ भनेपछि काँचको पर्दामा रमा सिंह देखिइन् । समाचारमा भिडियो थिएन । आफैले तयार पारेका केही समाचार र राससले पठाएका समाचार थिए । नेपाली टेलिभिजनको इतिहासमा पहिलो बुलेटिन रमा सिंहले पढिन् । उनले ‘भोलिबाट दृश्यसहित आउनेछौं’ भनिन् । दोस्रो दिनबाट राजेन्द्रदेव आचार्य, राजु सिलवाललगायत रिपोर्टिङमा हिँडे । नेपाल टेलिभिजनले भिडियोसहितको समाचार दिन थाल्यो ।

टेलिभिजन त शुरु भयो तर दक्ष जनशक्ति थिएन । कसरी दिने निरन्तरता ? समस्या थियो । 

त्यसपछि ?

काठमाडौंमा १५ जना स्नातक युवालाई भेला पारे । डब्लूआईएफ (वल्र्ड भ्यु इन्टरनेसनल फाउन्डेसन) नामक संस्थाले क्यामेरा म्यान, साउन्ड, रेकर्ड, कार्यक्रम र समाचारको तालिम दियो ।

शुरुमा जनशक्ति थिएन । ‘अल इन वन’ थिए दुर्गा । समाचार पढ्ने, रिपोर्टिङ गर्ने, लेख्ने, कार्यक्रम तयार गर्ने र प्रस्तुत गर्ने उनी आफैं गर्थे । जनशक्ति बिस्तारै तयार हुँदै गयो । उनले जिम्मेवारी बाँडफाँट गर्दै गए ।

कथा जस्ता ती दिन

अफिस खडा भयो । सामान्य समाचार बुलेटिन पनि तयार हुन थाल्यो । तर, नयाँ प्रविधि र दक्ष जनशक्तिको अभावमा नेपाल टेलिभिजनले गुणस्तरीय सामग्री दिन सकेको थिएन । जनताको विश्वास त परको कुरा, सरकारले नै पत्याउँदैनथ्यो ।

नीर र दुर्गा फाइल बोकेर मन्त्रालय पुग्थे । सचिवहरू ‘तपाईंहरू दुई जनाले टिभी ल्याउने ? के हो टेलिभिजन भनेको थाहा छ ?’ भन्दै फाइल फाल्दिन्थे,” टेलिभिजन स्थापनाका दिन सम्झँदै दुर्गा भन्छन्, “अरुले पत्याउने गरी हामीले केही न केही काम गर्नुपर्छ भनें, शाहजीलाई । उहाँले पनि हो, गर्नुपर्छ भन्नुभयो । तर गर्नेचाहिँ के ?”

अनि ?

“राजाको अस्ट्रेलिया भ्रमण हुँदैछ । भीएचएफ क्यामेरामात्रै भए पनि लिएर जाऊँ । त्यहाँ भिडियो खिचौं, स्टालाइट बुक गरेर काठमाडौंका दुई–चार ठाउँमा देखाऊँ,” दुर्गाको प्रस्ताव नीरलाई मनासिब लागेछ, हुन्छ भने ।

पैसा माग्न उनीहरू मन्त्रालय गए । मन्त्रालयले पत्याएन । रित्तो हात फर्काइदियो ।

नीरले टेलिभिजनका नाममा नेपाल बैंकबाट ९० लाख रुपैयाँ कर्जा लिए । क्यामेरा किन्न उनी हङकङ गए । भिडियो क्यामेरा भएका श्याम चित्रकारलाई लिएर दुर्गा बैंकक उडे । राजाको भ्रमण दलमा उनीहरू अटाएनन् । त्यसैले सिड्नीको टिकटका लागि दुर्गा बैंकक गएका थिए । बैंककस्थित अस्ट्रेलियन दूताबासमा गएर उनले आफ्नो देशको राजा अस्ट्रेलिया जान लागेको र त्यसको समाचारका लागि आफूलाई भिसा चाहिएको भन्दै आग्रह गरे । दूतावासले तत्काल भिसा दियो । उनीहरू सिड्नी उडे ।

सिड्नी पुगेर दुर्गा पहिले त्यहाँको सरकारी टेलिभिजन एबीसी गए । उनले त्यहाँ आफ्नो व्यथा सुनाए । पहिलोपटक प्रसारण गर्न लागेकाले सहयोगको आवश्यकता रहेको याचना गरे । उनले स्क्रिप्ट आफैं लेख्ने र भ्वाइसओभर पनि आफैं गर्ने तर कुशल भिडियो एडिटर दिन भने ।

दुर्गाले भने, “हामीसँग भिडियो छैन । अलिअलि भिडियो खिचेर ल्याउँछौं । यहाँका मुख्य–मुख्य ठाउँको दृश्य तपाईंहरूको अर्काइभबाट दिनुपर्छ तर पैसा चाहिँ दिन सक्दैनौं ।”

एबीसीले ‘हुन्छ’ भन्यो ।

भोलिपल्ट बिहान एबीसी पुग्दा भिडियो सम्पादक दुर्गाको काम गर्न तयार थिए । चिया र खाजा पनि नखाई उनले काम गरिदिए ।

दुर्गा र श्यामको साँझ ५ बजे क्यानबेराको फ्लाइट थियो । ५ बज्न लागिसक्यो तर एडिटरले काम गरिरहेका थिए । निकै मेहनत र लगावका साथ उनले काम गरेर भनेजस्तै भिजुअल तयार गरिदिए । काम सकेर उनले आफ्नै गाडीमा एयरपोर्ट पुर्‍याइदिए । “समयमै पुग्नका लागि उनले यसरी गाडी कुदाए कि हामीलाई त्यो दिन बाँचिन्छ भन्ने आशै हराएको थियो । कहाँ लगेर ठोक्छन् भनेर मुटु कामिरहेको थियो । १० मिनेटमै उनले एयरपोर्ट पुर्‍याए,” दुर्गा सम्झन्छन् ।

काउन्टरमा पुगेर बुझ्दा एक घण्टा फ्लाइट डिले भएको रहेछ । होस उडेका दुर्गाले बल्ल सास फेरे ।

क्यामेरा नै हराएपछि...

दुर्गा क्यानबेरा पुगेपछि सिड्नीबाट नीरले फोन गरे, “क्यामेरा त मैले किनेको थिएँ तर एयर इन्डियाले हराइदियो ।”

समस्याको जञ्जिरले घेरिरहेका बेला फेरि अर्को समस्या आइलाग्यो । पर्‍यो फसाद !

अनि के भयो ?

काठमाडौंमा ‘गोरखापत्र’ र ‘राइजिङ नेपाल’ले राजाको अस्ट्रेलिया भ्रमणको समाचार नेपाल टेलिभिजनले प्रसारण गर्दैछ भनेर फ्रन्ट पेजमा ब्यानर न्युज छापेका थिए । सरकारले समेत नपत्याइरहेका बेला यो काम गर्न सकिएन भने के हुन्छ ?

मथिंगल हल्लियो दुर्गाको ।

“हामीले त्यो प्रसारण गर्न नसके सिड्नीको हार्बरतिर डुबेर मरे हुन्छ भन्ने लाग्यो,” दुर्गा सम्झिन्छन्, “म फेरि एबीसी गएँ । मैले हाम्रो क्यामेरा हराएको कुरा सुनाएँ । तपाईंहरूको क्यामेरा भाडामा दिनुस्, जति लाग्छ, हामी भाडा तिर्छौं भनें ।”

दुर्गाको कुरा सुनेर त्यहाँका प्रमुख हाँसे र भने, “हाम्रो नियमअनुसार कसैलाई पनि दिन मिल्दैन ।”

आशाको दियो छिनभरमै निभ्यो । प्रमुखले उपाय भने सुझाए, “भोलि बिहान ९ बजे फलानो पसलमा जानू, त्यो पसल तपाईं बसेकै होटलको छेउमा छ । त्यहाँ गएर युम्याटिक क्यामेरा माग्नू, उसले दिन्छ । तिमीहरूको क्यामेरा भए पनि त्यसबाट खिचेको भिडियो हाम्रो सेटलाइटले एक्सेप्ट गर्दैन । युम्याटिक क्यामेरा नै चाहिन्छ ।”

नीर पनि आइपुगे । उनको अनुहार तनावले पोतिएको थियो । दुर्गाले उपाय सुनाए । नीरको अनुहारबाट तनावका धर्सा थोरै हरायो । तर, निमिट्यान्न भने भएन ।

नयाँ क्यामेरा चलाउन आउँछ कि आउँदैन ? मनमा शंकाले डेरा हाल्यो । रातभर निद्रा परेन । बिहान ९ बजे पसल खुल्छ÷खुल्दैन, खुलेन भने ? प्रश्नै प्रश्नले लपेटिरहन्थ्यो । 

भाग्य ! ९ बजे पसल खुल्यो । हराएको खुसी फर्कियो ।

“क्यामेरा भाडामा पाइन्छ ?”

“किन नपाउनु ?”

जवाफले खुशी बोकेर आयो ।

श्यामले युम्याटिक क्यामेरा देखेकै थिएनन् । दुर्गाले भने, “क्यासेट, ब्याट्री यहाँ हाल्ने, अन–अफ यता छ, यति जानेपछि त भैगयो नि !” 

श्यामले भने, “हैन, चलाको छैन, गाह्रो हुन्छ होला । चलाउन आएन भने के गर्ने ?”

उनले म्यानुअल मागिदिन भने । पसलमा छैन रहेछ । 

श्यामले भने, “ह्वाइट ब्यालेन्स सिस्टमबारे सोधिदिनुस् न ।”

दुर्गाले सोधे । पसलको मान्छे झनक्क रिसाउँदै भन्यो, “मैले क्यामेरा भाडामा दिने हो । चलाउन सिकाउने हैन ।”

दुर्गाले श्यामलाई भने, “पशुपतिनाथलाई लाख बत्ती बाल्छु भनेर प्रार्थना गर्नुस् । भए हुन्छ, नभए मर्नु हुँदैन !” 

राजा वीरेन्द्र प्लेनबाट एयरपोर्टमा झरे । श्यामले खिचे । प्रधानमन्त्रीलाई भेटे, उच्चपदस्थसँगको भेट सकियो । चिडियाखाना जाने कार्यक्रम थियो । साँझ ब्याङ्क्वेटसम्मको कार्यक्रम खिचे । वीरेन्द्रको ‘रिर्टन स्पिच’ पनि खिचे तर खिचेको क्यामेरामा रेकर्ड भएको छ कि छैन— दुर्गा, नीर र श्याम कसैलाई पत्तो थिएन ।

टेप निकालेर तीनै जना एबीसी पुगे । एडिटिङ रुम मागेर टेप बजाए । राजा–रानी प्लेनबाट बिस्तारै अभिवादन गर्दै ओर्लिंदै गरेको दृश्य देखियो ।

“हामी पृथ्वीमा सबैभन्दा खुशी भएको दिन नै त्यही थियो । यसरी शुरु भएको हो नेपाल टेलिभिजनको इतिहास,” तीन दशक पहिलाको त्यो प्रसंग सुनाउँदा बिहीबार पनि दुर्गाको मुहारमा खुशीका लाभा उसैगरी दौडिरहेका देखिन्थे ।

आधा घण्टाको भिडियो तयार भयो । काठमाडौंको बलम्भूस्थित स्याटलाइटले भिडियो रिसिभ गरेको खबर पुग्यो ।

काम सुखद रूपमा सम्पन्न भएको खबरपछि उनीहरू बार छिरे । लामो तनावपछि प्राप्त खुशी साटे ।

“त्यो भिडियो त्यही दिन भ्युज सेन्टरहरू बसन्तपुर, रत्नपार्क, गौशाला लगायतका ठाउँमा देखाइयो । मान्छेको ठूलो भीड छक्क प¥यो रे !” दुर्गा भन्छन्, “बल्ल पत्याउन थाले हामीलाई । गरे हुन्छ भनेर हामीले प्रमाणित गरिदियौं ।”

विश्व घटना

नेपाल टेलिभिजनभन्दा अरु कुनै दृश्य–प्रसारण माध्यम थिएनन् । ‘दूरदर्शन’को धमिलो सिग्नल आउँथ्यो । त्यसमा पनि अन्तर्राष्ट्रिय समाचार खासै धेरै हुँदैनथे । भारतसँग जोडिएर आएका घटनामात्रै समेट्थ्यो । त्यो खुब मनपथ्र्यो दुर्गालाई ।

मलेसियामा एबीयू (एसियन ब्रोडकास्टिङ युनियन) भन्ने एसियन देशहरूको संस्था छ । त्यसको सदस्य नेपाल टेलिभिजन पनि भयो । यसमा एसियाका सबै राष्ट्र सदस्य छन् । एबीयूलाई उसका सदस्य राष्ट्रका सबै टेलिभिजनले आफ्नो समाचार पठाउँथ्यो । एबीयूले ती समाचारलाई काँटछाँट गरेर प्याकेज बनाएर सबैलाई पठाउँथ्यो ।

ईबीयू (युरोपियन ब्रोडकास्टिङ युनियन)ले पनि अन्तर्राष्ट्रिय समाचार पठाउँथ्यो । यी दुईबाट नेपाल टेलिभिजनलाई अन्तर्राष्ट्रिय समाचार प्राप्त हुन थालेको थियो ।

जर्मन एम्बेसीमा टंकलाल श्रेष्ठ काम गर्थे, जो दुर्गाका साथी थिए । एम्बेसीमा जर्मन समाचार एजेन्सीले तयार पारेको उनीहरूको टेलिभिजनको ‘करेन्ट अफेयर्स’को कार्यक्रम पठाएछ । टंकले त्यो दुर्गालाई पठाइदिए ।

स्क्रिप्टसहित त्यो भिडियोमा तेस्रो मुलुकका समस्या, संयुक्त राष्ट्रसंघका क्रियाकलापजस्ता समाचारको विश्लेषण थियो त्यहाँ । त्यसले दुर्गालाई आकर्षित गर्‍यो ।

परिणाम ?

यसलाई नेपालीमा दिन पाए गज्जब हुन्थ्यो भन्ने लाग्यो उनलाई । विडम्बना ! त्यो स्तरको कार्यक्रम बनाएर दिन सक्ने जनशक्ति थिएन । उनी आफैंले त्यो कार्यक्रमको डिजाइन तयार पारे । सामग्रीका लागि उनले अमेरिकी, जापानी, इजरायलीलगायतका दूतावासलाई उनीहरूका सामग्री पठाइदिन आग्रह गर्दै चिठ्ठी लेखे । दूतावासले पनि नाइ भनेन् । सामग्रीको खाँचो भएन । शुरु गरे ‘विश्व घटना’ । पहिलो १० मिनेट विश्वका ताजा घटना दिने निर्णय गरे । बाँकी समय रमाइला सामग्री, नयाँ प्रविधि, मानवीय अभिरुचिका सामग्री दिन थाले, जसले दुर्गालाई चिनायो । ०४५ बाट शुरु भएको कार्यक्रम उनले ०६२ सालसम्म निरन्तर चलाए ।

“अहिले पनि मलाई त्यहाँका चेयरमेनले विश्व घटना चलाइदिन आग्रह गर्नुहुन्छ,” दुर्गा भन्छन्, “मैले ०६१ मा जागिर छोडे पनि ०६२ सम्म यो कार्यक्रम चलाएँ ।”

दुई कार्यकाल नेपाल टेलिभिजनको प्रमुख भएर काम गरेका दुर्गालाई अहिले नेपाल टेलिभिजनमा भइरहेको राजनीति देखेर ‘विश्व घटना’ चलाउनै मन लाग्दैन रे ! पत्रकारभन्दा पनि आफूलाई राजनेता ठान्ने पत्रकारको चुरिफुरी उनलाई स्वीकार्य भएन । फलतः उनले ‘विश्व घटना’लाई विराम दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०७५  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC