बाह्रखरी समीक्षा

पत्रिकाको मन जित्न सरकार असफल

पत्रिकाको मन जित्न सरकार असफल

नेकपा (अण्डरलाइन) सरकारले जति ठूला भाषण गरे पनि र मन्त्रीहरूले बोलेका कुरालाई दैनिक पत्रिकाले भंगेरा टाउके अक्षरमा हरेक दिन प्रकाशित गरे पनि सरकारे कामकारबाहीबाट भने पत्रिकाको मन जित्नसकेको देखिँदैन । सरकारको विषयमा दैनिक पत्रिकाको धारणा कस्तो रहेको छ भन्ने जनाउ तिनले सरकारको नीति तथा कार्यक्रममा देखाएको प्रतिक्रियाबाट थाहा हुन्छ । गएको साता सरकारको नीति तथा कार्यक्रम र मन्त्रीहरूको सम्पत्ति विवरणका विषयमा दैनिक पत्रिकाले गरेको टिप्पणीको आधारमा सरकारको काम कारवाहीलाई मूलधारका दैनिक पत्रिकाले सरकारलाई समर्थन गर्नुभन्दा कार्यान्वयनको चरणसम्म हेर्ने मनःस्थिति बनाएको देखिन्छ । 

सरकारी स्वामित्व रहेको गोरखापत्र तथा अन्य केहीले सम्पादकीयमा सरकारको नीति तथा कार्यक्रममा चुप लाग्ने रणनीति अपनाए भने अरु पत्रिकाले सरकारको नीति तथा कार्यक्रममा संयमित असहमति जनाएका छन् । जेठ ९ गते बुधवारको कान्तिपुर सम्पादकीयमा लेख्छ – ‘नीति तथा कार्यक्रममा जे जति कार्यक्रम समावेश भएका छन्, तिनको कार्यान्वयनका ठोस आधार सरकारले अगाडि सारेको छैन ।’ यसको उदाहरण दिँदै सो दैनिक लेख्छ – आगामी वर्ष दोहोरो अंक नजिक र पाँच वर्षमा दाहोरो अंकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आय दोब्बर गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिएको छ तर त्यसको लागि आगामी वर्ष ९ प्रतिशत र त्यसपछि १० प्रतिशत बढीको आर्थिक बृद्धिदर चाहिन्छ, यसको लागि पूँजी कसरी परिचालन गर्ने भन्ने विषयमा स्पष्ट छैन । त्यस्तै वैदेशिक लगानी वा स्वदेशकै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने योजना पनि नीति तथा कार्यक्रममा नभएको कान्तिपुरले औँल्याएको छ । 

नागरिक दैनिकले पनि ओली सरकारको नीति तथा कार्यक्रमलाई यथार्थमा अनुवाद गर्न कठोर परिश्रम चाहिने र यसको सफलता वा विफलताका लागि जेठ १५ गते आउने बजेट पर्खिनुपर्ने जनाएको छ । नागरिक लेख्छ – ‘अहिलेको संरचना, कर्मचारीको कामप्रतिको लगाव, ठेकेदार कम्पनीहरूको रवैयालगायत विषयमा आमूल परिवर्तन गर्न नसकेसम्म धेरै उपलब्धिको आशा गर्नु व्यर्थ हुनेछ ।’ यो नीति तथा कार्यक्रमलाई हिमालय टाइम्सले पनि निकै महत्त्वाकांक्षी भन्दै अहिलेको प्रशासनिक व्यवस्थामा पनि आमूल परिवर्तन आवश्यक पर्ने बताएको छ । सरकार निकट मानिने गोरखापत्र, राजधानी तथा नयाँ पत्रिकाले भने नीति तथा कार्यक्रममा सम्पादकीय टिप्पणी नगरेर आफ्नो धार स्पष्ट गरेका छैनन् । 

सरकारको १०० दिनको सन्दर्भमा पनि दैनिक पत्रिकाले समाचार प्रकाशित गरेका छन् । सरकारको १०० दिन शुक्रवार पुगेको हुनाले पत्रिकाले सम्पादकीय मार्फत आफ्नो सोच स्पष्ट पारिनसकेको भए पनि समाचारमा दिएको महत्त्वका आधारमा सम्पादकको सोच बुझ्न सहज हुन्छ । 
शनिवारका पत्रिकामध्ये कान्तिपुरले मात्र सरकारको १०० दिन पुगेको समाचारलाई मुख्य समाचार बनाएको थियो । सो दैनिकमा दुर्गा खनालले यो सरकारको महत्त्वाकांक्षा, सुशासन र भ्रष्टाचार नियन्त्रणको चुनौती र कूटनीतिक तरंगको विषयमा टिप्पणी गरेका छन् । मुख्य फोटोमा प्रधानमन्त्री टोली कुनै फाइटरजस्तो देखिने प्लेनको ककपिटमा बसेको देखाइएको छ । तर, फाइटर प्लनेको उपादेयता भने समाचारमा देखिँदैन । 
नागरिकले ओली सरकारको सय दिनको समाचारलाई ‘शुभ संकेत’ भन्ने शीर्षक दिए पनि प्रथम पृष्ठको तल्लो, सानो एंकर बनाएर संवाददाता तथा समाचार सम्पादकबीच मतभिन्नता देखाएको छ । नयाँ पत्रिका यो सरकारको सयदिनको उपलब्धिको पक्षमा देखिएन । नेपाली कांग्रेसले औंल्याएको १२ कमजोरीलाई उसले एंकर समाचार बनाएको छ । 

राजकुमार ह्यारीको समाचारले पाएन महत्त्व

नेपाल र बेलायतको सयौं वर्ष पुरानो सम्बन्ध भएका कारण नेपालले बेलायती राजपरिवारको समाचारलाई महत्त्व दिँदै आएको थियो । यसपल्ट भने नेपाली पत्रिकाले अचम्मसँग बेलायतका कान्छा राजकुमार ह्यारीको अमेरिकी नायिका मेगान मर्कलसँग भएको विवाहलाई पहिलो पृष्ठमा खासै महत्त्व दिएनन् । बेलायतमा नेपाली सेना रहनेमात्र होइन नेपाली सेनासँग राजकुमार ह्यारीको विशेष सम्बन्ध भएको र तीन वर्षअघि गएको विनाशकारी भूकम्पमा बेलायती राजकुमारले भूकम्पग्रस्त क्षेत्रमा श्रमदानसमेत गरेका थिए । उनको विवाहको समाचारलाई राजधानीले मात्र पहिलो पृष्ठमा ठूलो तस्बिरसहित महत्त्व दियो । कान्तिपुरले एक कोलमको सानो समाचारमात्र बनायो । अन्य पत्रिकाले भित्री पृष्ठमा प्रकाशित गरे । 

सन्दीप समाचारमा

नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले भारतको आईपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा उदाहरणीय प्रदर्शन गरेको समाचारलाई कान्तिपुर तथा राजधानीले विशेष महत्त्वका साथ सोमवार प्रकाशित गरे । नेपाली क्रिकेटले फड्को मारेको भन्दै नयाँ पत्रिकाले सन्दीपको चर्चासहित शनिवार मुख्य समाचार बनाएको छ । 

अपूर्ण वा झुक्याउने समाचार

गत साताका दैनिकमा प्रकाशित समाचारमध्ये नागरिक पत्रिकाको एकदिनको समाचार र एउटा शीर्षक टिप्पणी गर्न लायक देखिए । जेठ ७ गते सोमवारको पत्रिकाको मुख्य समाचार अपूर्ण देखियो । ‘एमाले नाफामा, माओवादी ऋणमा’ भन्ने शीर्षक राखिएको मुख्य समाचारमा एमालेको दैनिक आम्दानी चार लाख भनिएको छ भने माओवादी १४ करोड ऋणमा भनिएको छ । तर एमालेको आम्दानी जतिभए पनि खर्च कति हो र अहिलेको अवस्थामा आर्थिक स्थिति कस्तो छ भन्ने सो समाचारमा खुलेको छैन । त्यसैले दुई पार्टीको आर्थिक अवस्था यो समाचारले तुलना गर्न नसकेको देखिन्छ । 

नागरिककै अर्को समाचार शीर्षकले पाठकलाई झुक्याउँछ । बिहीबार जेठ १० गतेको पहिलो पृष्ठको समाचार शीर्षक छ – ‘ढुंगलेलाई ‘माफ’’ । यो शीर्षक हेर्दा ढुंगेलले माफी पाएको जस्तो देखिन्छ । ‘’ चिन्हले प्रश्नवाचक काम गरेको भन्ने बुझ्न धेरै पाठकलाई सहज हुँदैन । वास्तवमा समाचार शीर्षक प्राविधिकरुपमा गलत नभए पनि जनतालाई भ्रमित पार्ने देखिन्छ । 


 

तपाईंको मत