– ज्ञानु अधिकारी
सुमन सौरभ नेपाली लघुकथा विधाका प्रतिभाशाली स्रष्टा हुन् । लघुकथाका क्षेत्रमा पृथक् पहिचान बनाउन सफल सौरभ प्रयोगवादी लघुकथाकारका रूपमा समेत परिचित छन् । विशेषतः लघुकथा विधामा मात्र केन्द्रित रही साहित्य लेख्न रुचाउने उनका हालसम्म लघुकथा विधाका कृतिमात्र प्रकाशित देखिन्छन् । पचासको दशकदेखि यता निरन्तर लघुकथा लेखनमा सक्रिय रहेका सुमनका झन्डै आधा दर्जन लघुकथा कृति प्रकाशन भएका छन् । ‘आधुनिक लघुकथाहरू (२०५२)’, ‘पराइ विचार (२०६५)’, ‘चौथो लिङ्गी (२०६८)’, ‘मृत्युसङ्ग्रह (२०७२)’ र ‘स्वप्निस्तान (२०७४)’ जस्ता लघुकथासङ्ग्रह कृतिमध्ये ‘स्वप्निस्तान’ उनको सबैभन्दा पछिल्लो कृति हो । यो कृतिमा उनले स्वप्न अर्थात् सपनालाई केन्द्र बनाई लेखिएका ४७ वटा लघुकथा समावेश गरेका छन् । अघिल्लो लघुकथा सङ्ग्रहजस्तै यो कृतिमा पनि विषय र प्रस्तुतिमा नौलो प्रयोग गरिएको देखिन्छ । सङ्ग्रहमा समावेश लघुकथाहरूले परम्परागत लेखनभन्दा पृथक् मार्ग रोजेका छन् ।
लघुकथा नेपाली साहित्यमा पछिल्लो समय लोकप्रिय बन्दै गएको विधा हो । यो विधामा स्रष्टाहरूको उपस्थिति जुन किसिमले बढ्दै गएको छ, त्यहीअनुरूपको गुणात्मक मूल्य कायम गर्न सकेको देखिँदैन । उस्तै विषयवस्तु र एउटै किसिमको शैलीले गर्दा लघुकथा लेखनमा नवीनता र पृथकता आउन नसकेका बेला प्रस्तुत कृतिले नयाँ प्रयोग आरम्भ गरेको छ । यो सङ्ग्रहका ४७ वटा लघुकथा सपनालाई नै मुख्य केन्द्र बनाई लेखिएका भए पनि कथामा प्रयुक्त अन्तर्वस्तुमा भने विविधता देखिन्छ । सङ्ग्रहका प्रायः सबै लघुकथाको प्रारम्भ सपनाकै प्रसङ्गबाट भएको देखिन्छ भने आख्यानको पृष्ठभूमि सपनालाई नै बनाइएको छ । प्रस्तुत कृति लघुकथा विधाकै एउटा प्रयोगशील कृतिका रूपमा देखिन्छ । नेपाली समाज र मान्छेका विविध कमीकमजोरीमाथि व्यङ्ग्य गरी लेखिएका यी लघुकथा परम्परित विषय र प्रस्तुतिभन्दा नितान्त पृथक छन् र यही पृथकताका कारण लघुकथा विधाको परम्परामा यसले नवीन धार र प्रवृत्तिको निर्माण गरेको छ ।
सपनाका सन्दर्भबाट उठान गरिएको कथानकलाई यो कृतिका हरेक कथामा रहस्यमय र प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ । प्रत्येक लघुकथाको पहिलो वाक्यमा उत्सुकता जगाउने यस्ता बीउ रोपिएका छन् कि, त्यही उत्सुकताले तानिएर पाठक कथाभित्र प्रवेश गर्छन् र चमत्कृत हुँदै बाहिर निस्कन्छन्, जसरी यी लघुकथाका पात्रहरू स्वयं चमत्कृत भएका छन् । लघुकथामा पहिलो वाक्यका रूपमा प्रयोग गरिएका यस्ता वाक्यहरू सुक्तिमय, काव्यात्मक र रहस्यमयी छन् । उदाहरणका रुपमा—
– उसले मेरो सपना चोरेर हैरान पाथ्र्यो– (दोधार)
– ऊ सपनामा भेट्न आयो– (गोटीहरू)
– विपनाको बोझले एलर्जी भयो र स्वतन्त्र मनले सपनाको रेस्टुरेन्टमा छिरें– (कुरूप विपना)
– सपनाको सहरमा घुमिफिरी फेरि आन्दोलनको ऋतु शुरु भएको थियो– (शहीदको सपना)
– सपनाको मैदानमा चटक देखाउँदै थियो समय– (औकात)
– बुढी औंला चुस्दै गरेकी छोरी मेरो छातीमा मस्तसँग निदाएर सपनामा पुगिसकेकी थिई । उसको कोक्रो बनेर सुस्तरी हल्लिरहेको म पनि सपनामा उसलाई पछ्याउन थालें– (लुटपाट)
– तीन महिने सपना तालिम लिएपछि मलाई सपनाको कुलत नै लागेको थियो– (तालिम)
– केही दिनदेखि सपनाले मलाई राजदरबार पु¥याउँथ्यो अर्दलीका रूपमा– (मोहभङ्ग)
यो सङ्ग्रहका लघुकथामा ‘म’ र ‘ऊ’ गरी दुई समाख्याताको प्रयोग गरिएको छ, अर्थात् प्रथम पुरुष र द्वितीय पुरुष दृष्टिबिन्दु प्रयोग गरिएको छ । यी दुई समाख्याताका रूपमा उभिएका पात्र सपनामा प्रवेश गर्छन् र स्वैरकल्पनाका माध्यमबाट मानव जातिमा निहीत विभिन्न किसिमका यथार्थलाई उजागर गर्छन् । प्रस्तुत सङ्ग्रहका लघुकथा विषय र प्रस्तुति दुबैमा सफल देखिन्छन् । लघुकथा लेखनमा स्वैरकल्पना, विपर्यास, चिद्वैषम्य, अधिकल्पना, मायिक यथार्थ, परोक्ष यथार्थजस्ता शैली वा प्रविधि प्रयोग गरी लेखिएकाले प्रस्तुत सङ्ग्रहका कथाहरू लघुकथाका भीडमा पृथक् किसिमका देखिन्छन् ।
सपनालाई कतै विपनामा घोलेर र कतै विपनालाई सपनामा घोलेर कथानक बुनेका लघुकथाकारले यो सङ्ग्रहका लघुकथामा अन्तर्विषयकताको प्रयोग गरेका छन् । लघुकथाका समाख्याता कहिले चित्रकार, कहिले साहित्यकार, कहिले व्यापारी, कहिले भक्त, कहिले वैज्ञानिक, कहिले डक्टर अनि कहिले मजदुरका रूपमा उपस्थित हुने भएकाले समाख्याताको चरित्र र उसको पेशाअनुरूपको विषयवस्तु प्रयोग भएको छ । विज्ञान, चिकित्सा, कानुन, चित्रकारिता, साहित्य, दर्शन, राजनीति आदि विविध क्षेत्रका सन्दर्भहरू कथामा प्रयोग हुन आएकाले प्रस्तुत सङ्ग्रहका लघुकथाहरू अन्तर्विषयकताका दृष्टिकोणले समेत उल्लेखनीय छन् ।
यी लघुकथाहरूमा वर्तमान यथार्थको चित्रणका साथै त्यसप्रति मीठो व्यङ्ग्य पनि पाइन्छ । यस किसिमका व्यङ्ग्यहरूमा युगचेतनाको अभिव्यक्ति प्रभावकारी रूपमा आएको छ । ‘गोटीहरू’ शीर्षकको लघुकथामा कथाकारले युगबोधको अभिव्यक्ति यसप्रकारबाट गरेका छन्—
‘नाइँ, सपनाबाहिर विपना छ । विपनामा चेसबोर्डका गोटीसरह तपाईंहरू र महरू छौं, कल्ले हो कल्ले खेलिरहन्छ हामीलाई । (पृ.४०)
सत्तामा बस्ने सत्तासीनहरूले नेपाली जनतालाई गोटी बनाएर खेलेको यथार्थलाई यहाँ सटिक व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ ।
सपनालाई केन्द्र बनाएर यस प्रकारका कथा लेख्दा लघुकथाकारलाई विषय प्रस्तुतिमा केही हदसम्म सहज नै भएको देखिन्छ । सपनाको आधार लिइएकाले जुनसुकै विषयवस्तुलाई पनि आख्यानको आवरण लगाइदिन कथाकार स्वतन्त्र छन् । विपना अर्थात् यथार्थमा हुनै नसक्ने असम्भव कुराहरू पनि सपनामा सम्भव भएका छन् । लघुकथाका पात्रहरू सपनामा अद्भूत ठाउँमा पुग्छन्, उनीहरू सपनासँग, छायासँग, रातसँग, मैनबत्तीसँग संवाद गर्छन् । विभिन्न क्षेत्रका विशेषज्ञ र डक्टरहरूसँग भेट्छन् । अनौठा किसिमका यात्रा गर्छन् र कयौं रोमाञ्चकारी प्रतियोगिताहरूमा भाग पनि लिन्छन् । यसरी कल्पना र स्वैरकल्पना प्रयोग गरी अन्ततः लघुकथाकारले मानवीय कमजोरी र आजको विसङ्गत पक्षमाथि नै व्यङ्ग्य प्रहार गरेका छन् ।
यो सङ्ग्रहका लघुकथामा पाइने अर्को महत्वपूर्ण पक्ष भनेको भाषाशैलीगत सौन्दर्य हो । विभिन्न विम्ब, प्रतीक, मिथकहरूका साथै काव्यात्मक भाषा प्रयोगले लघुकथा आकर्षक बनेको छ । उदाहरणका रूपमा ‘विद्रोह’ शीर्षकको लघुकथाको शुरु वाक्यलाई लिन सकिन्छ—
‘सपनामा खोला थियो र खोलाको किनारमा एउटी युवती गिट्टीको थुप्रोमा पसिनाको थोपाले एकोतार कविता लेखिरहेकी थिई – टक्क टक्क, तप्प तप्प ।’ (पृ.८१)
यस्ता सूक्तिमय र काव्यात्मक वाक्यले लघुकथालाई रोचक, रहस्यमयी, बौद्धिक र कलात्मक बनाएका छन् । लघुकथामा हुनुपर्ने सम्पूर्ण अभिलक्षणहरू अटाएका यो सङ्ग्रहका लघुकथाहरू मानक लघुकथाका रूपमा देखिन्छन् । यसरी लघुकथा विधामा यति धेरै प्रयोगहरू एकै ठाउँमा गरिएको यस कृतिले नेपाली साहित्यको लघुकथा लेखनमा फरक धारको प्रारम्भ गर्नुका साथै लघुकथा लेखनलाई परम्परित सोच र ढाँचाबाट समेत मुक्त गराएको छ ।
(पद्मकन्या बहुमुखी क्याम्पस)