site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
समीक्षा लेख्दालेख्दै निर्देशन
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


नेपालमा चलचित्र समीक्षा कमै हुन्थ्यो । कसैले चलचित्र हेरेर लेख्न मन लाग्यो भने लेख्थे । नियमित रूपमा समीक्षा लेख्ने चलन थिएन । फाट्टफुट्ट समीक्षा लेखिने समयमा पत्रकार दीपेन्द्र लामा उदाए । त्यहीबेला दीपेन्द्रलगायत समकालीनहरूले चलचित्र समीक्षालाई नियमित बनाए । उनको कलम निकै कडा मान्थे निर्देशक तथा निर्माताहरू । ‘क्रूर समीक्षक’ भन्थे । हुन पनि उनी चलचित्रलाई ५ नम्बरमा शून्य नम्बर पनि दिन्थे । त्यही पच्दैनथ्यो चलचित्रकमीलाई ।

किन ?

Prabhu Bank
Agni Group
NIC Asia

प्रजातन्तन्त्रको पुनरोदय भइसकेको थियो । चलचित्र निर्माण बाक्लै हुन थालिसकेका थिए । तर, चलचित्रमा नेपालीपन भेटिँदैनथ्यो । हिन्दी चलचित्रको फर्मुलामा बन्थे । त्यसबेला दीपेन्द्र मौलिक चलचित्र बन्नुपर्छ भन्ने विचार राखिरहन्थे । मौलिक कथा, पटकथा, चरित्र र प्रस्तुति नेपाली चलचित्रमा भेटिनुपर्छ भन्ने उनको मान्यता थियो । त्यही जगमा उनको कलम चल्थ्यो । तर तीन–चारवटा हिन्दी सिनेमाबाट कसैबाट कथा, कसैबाट संवाद झिकेर चलचित्र निर्माण भइरहेका थिए । दीपेन्द्र त्यसको चिरफार गर्थे । चलचित्रकर्मीलाई त्यही कुरा मन पर्दैनथ्यो ।

० ० ०

Global Ime bank

दीपेन्द्रले ०५७ मा ‘नयाँ सडक’ दैनिकबाट व्यावसायिक पत्रकारिता शुरु गरे । त्यसअघि नै मन लागेका बेला विभिन्न पत्रिकामा समीक्षा पठाउने दीपेन्द्रले ‘नयाँ सडक’मा आबद्ध भएपछि झन् चलचित्र समीक्षा नगर्ने कुरै भएन । 

तत्कालीन समय नेपाली रजतपटमा एकलौटी राज गरिरहेकी नायिका करिष्मा मानन्धरले ‘ढुकढुकी’ चलचित्र बनाइन् । करिष्माका श्रीमान् विनोद मानन्धर निर्माता थिए ।

त्यतिबेला सञ्चारमाध्यमहरूले कलाकारलाई पुल्पुल्याएर लेखिरहन्थे । शुभचिन्तकहरूले तारिफ गर्थे । आलोचना गरेर कसैले लेख्दैनथे । कलाकारहरू त्यसलाई आफ्नो लोकप्रियता र सफलता ठान्थे । आफ्नो बारेमा आलोचनात्मक टिप्पणी गरेको कसैले सहँदैनथे । हुन त अहिले पनि सहँदैनन् ।

त्यही समय प्रदर्शनमा आएको ‘ढुकढुकी’को आलोचनात्मक समीक्षा लेखे दीपेन्द्रले । आलोचना तार्किक नै किन नहोस्— विनोदले आपत्ति जनाए । ‘नयाँ सडक’ दैनिकको कार्यालयमै फोन गरे ।

“यस्तो खालको समीक्षा लेख्नु हुँदैनथ्यो । सारा मान्छेले चलचित्र मन पराएका छन् । तपाईंलाई चाहिँ किन मन परेन ?” विनोदले दीपेन्द्रलाई फोनमै थर्काउँदै निर्देशनै दिए, “आइन्दा यस्तो समीक्षा नलेख्नू । यसबारे म भेटेरै तिमीसँग लामो कुरा गर्छु ।”

विनोद रोकिएनन्, “यस्तो समीक्षा लेख्ने अधिकार कसले दियो ? थाहा छ, चलचित्र बनाउन कति गाह्रो हुन्छ ? फिल्मको बारे तिमीलाई के थाहा छ ?” 

दीपेन्द्र चलचित्रकर्मीको रचनात्मक आलोचना गर्थे । चलचित्रकर्मीहरू भने दीपेन्द्रलाई भएभरको गाली गर्थे । गालीले दीपेन्द्रको कलम बन्द त के, थोरै भुत्तो पनि भएन । बरु झन् तिखारिँदै गयो ।

० ० ०

भुवन केसी सेतो पर्दाका लोकप्रिय नायक । उनको नामले मात्रै पनि हजारौं दर्शक हलसम्म पुग्थे । उनै भुवनले चलचित्र निर्माणको बाटो समाए ।

भुवन केसीका दुइटा चलचित्रको आलोचनात्मक समीक्षा गरे दीपेन्द्रले । उनको ‘सुपरस्टार’ हिन्दी चलचित्र ‘रंगीला’को हुबहु नक्कल थियो । दीपेन्द्रले समीक्षामा त्यही लेखिदिए । भुवनले केही भनेनन् ।

केही समयपछि चलचित्र ‘बादलपारि’को कार्यक्रम थियो । भुवनको भेट दीपेन्द्रसँग भयो । त्यहाँ भुवनले भने, “समीक्षा लेख्दा अलि सफ्ट भएर लेख्नुपर्छ ।”

‘सुपरस्टर’को प्रसंग सकियो । भुवन चलचित्र निर्माणको बाटोमा हिँडिरहेका थिए । ‘म तिमीबिना मरिहाल्छु’ उनको अर्को चलचित्र थियो । ‘नयाँ सडक’ दैनिकबाट दीपेन्द्र ‘नयाँ पत्रिका’ दैनिक पुगिसकेका थिए । तर, भुवनका चलचित्रले भने फड्को मार्न सकेका थिएनन् । तामझामको प्रचारबाजी र स्क्यान्डलले चलचित्र प्रदर्शनपूर्व राम्रै ‘हाइप’ बटुले पनि ‘म तिमीबिना मरिहाल्छु’ दीपेन्द्रका आँखामा लायकको चलचित्र थिएन । उनले समीक्षा लेखे । ५ नम्बरमा जम्मा १ एक नम्बर दिए । समीक्षा रचनात्मक आलोचनाले भरिए पनि भुवनलाई त्यो सह्य भएन । अघिल्लो पटक ‘समीक्षा लेख्दा अलि सफ्ट भएर लेख्नुपर्छ’ भनेर सिकाएका भुवनले भनेजस्तो समीक्षा नआएपछि उनी ‘नयाँ पत्रिका’ दैनिकको कार्यालयमै आइपुगे ।

दीपेन्द्र कमलपोखरीस्थित ‘नयाँ पत्रिका’को कार्यालय पुगेर आफ्नै क्याबिनमा टाइप गरिरहेका थिए । भुवन उनलाई खोज्दै त्यहीँ आइपुगेछन् । संयोग ! भुवनले दीपेन्द्रलाई देखेनन् । उनले सम्पादकको कार्यकक्षमा पुगेर भनेछन्, “कहाँ हुनुहुन्छ दीपेन्द्र जी ? मलाई उहाँले सिकाइदिनुहुन्छ कि चलचित्र कसरी बनाउनुपर्छ भनेर ! सिक्नुपर्‍यो ।”

“उहाँको उद्देश्य हातपातै गर्ने त थिएन । उहाँ एक्लै आउनुभएको रहेछ । तर, मनोवैज्ञानिक रूपमा तर्साएर आगामी दिनमा आलोचनात्क समीक्षा लेख्न बन्द गराउन खोज्नुहुथ्यो,” दीपेन्द्र भन्छन् ।

० ० ०

०५७ सालबाट शुरु भएको दीपेन्द्रको पत्रकारिता यात्रा ०७५ सम्म आइपुग्यो । हजारौं चलचित्रकर्मीसँग उनको भेट भयो । चिनजान र परिचय भयो । विनोद र भुवनलगायत थुप्रै चलचित्र निर्माताले उनलाई धम्क्याए । तर, दीपेन्द्रको कलम लत्रिएन, मसी लत्पतिएन ।

नेपाली चलचित्र उद्योग सानो छ । त्यसमा पनि चिनिएका चलचित्रकर्मी र पत्रकार थोरै छन् । दिनदिनै भेट हुन्छ । चलचित्रबारे नै छलफल र बहस हुन्छ ।

नेपालीमा एउटा उखान छ, ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही हुँदैन ।’ त्यस्तै हो नेपाली चलचित्र उद्योग पनि ।

“नेपाली चलचित्र उद्योगमा चलचित्रकर्मी र पत्रकारबीच कहिल्यै पनि स्थायी दुश्मनी हुँदैन,” दीपेन्द्र भन्छन्, “पछि त्यही निर्माता तथा कलाकारले अर्को चलचित्र बनाउँछ । त्यतीबेला उसलाई त्यही पत्रकार चाहिन्छ । अहिले पनि भुवन केसीसँग मेरो भेटघाट भइरहन्छ । कुरा भइरहन्छ । सम्बन्ध राम्रै छ ।”

० ० ०

वायुको वेग कुनबेला कता बहन्छ, पत्तै हुँदैन । मान्छेका इच्छा, चाहना पनि कतिबेला परिवर्तन हुन्छन्, थाहा हुन्न । चलचित्र पत्रकारिता गरिरहेका दीपेन्द्रलाई चलचित्र निर्देशन गर्न मन लाग्यो । निर्देशन कसरी गर्ने, सोच्न थाले ।

उनी यहाँसम्म आउनुअघिको कथा लामो छ ।

चलचित्र पत्रकार हुनुअघि उनी भयंकर चलचित्रप्रेमी थिए । काठमाडौं स्वयम्भूमा जन्मिएका दीपेन्द्र सानो उमेरदेखि नै चलचित्र हेर्थे । जयनेपाल, विश्वज्योति, कुमारीलगायतका हल पुुगेर हेर्थे । चलचित्रले उनको मन खिचेको थियो । ठूलो भएपछि चलचित्रमा देखिन्छु भन्ने संकल्प गरेका थिए । चाइनिज कुङ्फु फिल्म हेर्ने दीपेन्द्रले उसु सिके । उसुमा डिप्लोमासम्म गरे ।

चलचित्रमा कसरी छिर्न सकिन्छ भनेर सोचिरहन्थे । पत्रपत्रिका पढिरहन्थे । पढ्दापढ्दै उनी लेख्नसमेत सक्ने भएका थिए । उनी फाट्फुट्ट चलचित्रसम्बन्धी लेख लेखेर पठाउँथे । छापिन्थे पनि ।

पुल्चोकस्थित डेरामा बस्दा चलचित्रकर्मी चेतन कार्कीसँग पसलमा उनको दिनहुँ भेट हुन्थ्यो । चेतनले नेपाली चलचित्रका पुराना कुराहरू सुनाउँथे । दीपेन्द्र मोहित हुन्थे । 
‘नेपाल समाचारपत्र’ले नेपाली चलचित्र राम्रो हुनका लागि के–के पक्षमा ध्यान दिनुपर्छ भनेर पाठकमाझ प्रतियोगिता गराएको थियो । ०५५ सालमा सहभागी भएका दीपेन्द्र उक्त प्रतियोगितामा प्रथम भए । उत्कृष्ट लेख भनेर पत्रिकामा छापियो । प्रथम भएबापत तीन महिना उनको डेरामा निःशुल्क ‘समाचारपत्र’ आएको थियो ।

० ० ०

चलचित्र पत्रकारिता शुरु गरेपछि दीपेन्द्रको संगत नवीन सुब्बा, छिरिङरितार शेर्पालगायतका निर्देशकहरूसँग हुन थाल्यो । उनीहरू मौलिक चलचित्रका सूत्रधार थिए । एकातिर पत्रकारिता, एकातिर निर्देशकहरूसँगको निरन्तर भेटघाट । उनी हिन्दी, अंग्रेजी, चाइनिज, फ्रेन्च, इरानी चलचित्र हेर्थे । उसुका डिप्लोमा दीपेन्द्रलाई द्वन्द्व निर्देशक बन्नुपर्छ कि भन्ने थियो शुरुमा । तर, पछि चलचित्रको कप्तान निर्देशक हो भने किन अरु काम गर्नु भन्ने लागेर निर्देशकै बन्ने सपना साँचे ।

०६३ सालमा उनले अठोट गरे— निर्देशक बन्छु । पटकथा लेख्न थाले । त्यो बेलासम्म डिजिटल चलचित्र बन्न थालिसकेका थिएनन् । दीपेन्द्र पहिलो डिजिटल चलचित्र बनाउन कस्सिए । निर्माता पनि भेटिए । बन्लाबन्ला जस्तो भएको थियो । तर, उनी आफैंले आफ्नो समीक्षा गरे, “म अझै पनि निर्देशनका लागि परिपक्व भइसकेको छैन ।” उनी पछि सरे । सपनाले आकार ग्रहण गर्नै सकेन ।

निर्देशनलाई आकार दिन चलचित्रमा कतै न कतै आबद्ध भइरहनु नै थियो । आफूसँग भएको ज्ञानलाई थप बढाउँदै लैजानु थियो । ०७१ मा उनले चलचित्र ‘नागबेली’को पटकथा लेखे । चलचित्र बन्यो । त्यसपछि भने आफूलाई निर्देशनको मैदानमा उतार्न मन लाग्यो । ०७२ मा ‘घामपानी’को कथा लेखे । ०७३ मा खिचे । पहिलोपटक ‘घामपानी’बाट चलचित्र पत्रकार दीपेन्द्र लामा निर्देशक भए । उनको पहिलो प्रयासले नै उत्कृष्ट चलचित्र र निर्देशकमा धेरै अवार्ड पायो ।

० ० ०

पत्रकार हुँदा अरुका चलचित्रबारे कडा समीक्षा गर्ने दीपेन्द्रले कालान्तरमा आफैं चलचित्र निर्देशन गरे । उनको चलचित्रमाथि अरुले समीक्षा गर्ने भए ।

“मलाई आफ्नो चलचित्रबारे कहिल्यै पनि समीक्षकको कलम नरम होस् भन्ने अपेक्षा भएन । गुण र दोषका आधारमा तार्किक समीक्षा आओस् भन्ने मेरो अपेक्षा थियो,” दीपेन्द्र भन्छन्, “तर यहाँ सबै चलचित्र बुझेर समीक्षा गर्ने पत्रकार छैनन् भन्ने मलाई थाहा थियो । त्यसैले समीक्षा पनि त्यस्तै आयो ।”

चलचित्र समीक्षा गर्ने व्यक्तिको ज्ञान निर्देशकभन्दा धेरै हुनुपर्छ भन्ने दीपेन्द्रको मान्यता छ । नेपालमा बहुसंख्यक दर्शक अहिले पनि समीक्षा पढेर हल जाँदैनन् ।

“दुई–तीन वर्षयता भने सानो संख्याका दर्शक समीक्षा पढेर चलचित्र हेर्न जान थालेका छन्,” दीपेन्द्र भन्छन्, “डायस्पोरामा रहेका नेपालीहरू विशेषगरी समीक्षामा विश्वास गर्छन् । तर, सबै समीक्षकको समीक्षामा विश्वास गर्दैनन् । केही सीमित समीक्षकले मात्रै विश्वसनीय समीक्षा गर्छन् भन्ने धेरैलाई थाहा छ ।”

० ० ०

‘नयाँ सडक’ दैनिकबाट पत्रकारिता शुरु गरेका दीपेन्द्रले ‘नेपाल समाचारपत्र’, ‘स्पेस टाइम्स’, ‘नेपाल’, ‘नयाँ पत्रिका’, ‘नागरिक’, ‘नयाँ पत्रिका’ हुँदै ‘फरकधार डटकम’मा कलमको निब चलाए । ०७३ बाट चलचित्र निर्देशनमा होमिएका दीपेन्द्रले यो वर्ष ‘गोपी’ निर्देशन गर्दैछन् । वर्षमा एउटा चलचित्र निर्देशन गर्ने सोचमा रहेका दीपेन्द्रसँग आफूले सोचेजस्तो चलचित्र बनाउन गाह्रो रहेको अनुभव छ । दर्शकमा ‘फिल्म लिट्रेसी’ नबढेसम्म भनेजस्तो चलचित्र बनाउन नसकिने बताउने उनी अन्तिममा भन्छन्, “बजारमा जस्तो चलचित्र चलिरहेका छन्, निर्माताहरू त्यस्तै चलचित्रमा लगानी गर्न चाहन्छन् । राम्रो विषयमा चलचित्र बनाऊँ भन्दा लगानी गर्ने व्यक्ति नै भेटिँदैनन् ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  ०६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC