काठमाडौं । साढे ३३ किलो सुन र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले गोरेलाई मंगलबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिएको छ ।
समितिले गृह मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा गोरेलाई सार्वजनिक गरिएको थियो । उनलाई फरार करार गर्दै अदालतमा मुद्दासमेत दायर गरिएको छ । उनी काठमाडौं उपत्यकाभित्र आएको सूचना पाएपछि समितिले खोजी कार्य तीव्र पारेको थियो ।
उनलाई गौरीघाट क्षेत्रमा पक्राउ गरी प्रारम्भिक सोधपुछ गरिएको समितिले जनाएको छ ।
“यसै मुद्दाका विभिन्न अभियुक्तहरु जम्मा ६५ जना हुनुहुन्छ, निजहरुका विषयमासमेत थप प्रमाण र तथ्य फेला परेका छन्,” समितिका संयोजक पौडेलले भने । त्यसबाहेक पनि अन्य सूचना र प्रमाण पनि फेला परेको समितिले पत्रकार सम्मेलनमा जनाएको छ ।
सनम शाक्य हत्या र साढे ३३ किलो सुन प्रकरणमा गोरे नै मुख्य दोषी भएको छानबिन समिति र प्रहरीको दाबी छ ।
तर अनुसन्धानकै क्रममा रहेकाले थप विषय भन्न नमिल्ने समितिका संयोजक पौडेलले बताए । समितिले यो विषय जेरीजस्तै जेलिएको अवस्थामा रहेको जनाएको छ । मुख्य अभियुक्त गोरे पक्राउ परी सार्वजनिक गर्दै समितिका संयोजक पौडेलले अहिले यो विषय अनुसन्धानकै क्रममा रहेकाले अन्य धेरै बोल्न नमिल्ने जानकारी गराए ।
“हामी गम्भीर विषयमा अनुसन्धान गरिरहेका छौं,” समितिका संयोजक पौडेलले पत्रकारहरुसँग भने, “ हामी गम्भीर विषयमा अनुसन्धान गरी जसरी भित्र प्रवेश गरेका छौं । हामीले मोवाइल अफ गरेर अनुसन्धान गरेका छौं । त्यसैले पनि अहिले यो विषयमा धेरै बोल्न मिल्दैन ।”
उनले मोरङ उर्लाबारीका गोरे काठमाडौंको गौरीघाट क्षेत्रमा बस्दै आएको बताए ।
“फरार रहेकै अवस्थामा सुक्ष्म संयन्त्र परिचालन गर्दै नेपाल र भारतमा खोजी जारी राखेका थियौं,” समितिका संयोजक पौडेलले भने, “उनी काठमाडौंभित्र आएको विशेष सूचनाका आधारमा आधारमा हामीले तीनदिनदेखि खोजी जारी राखेका थियौं । उनी गौरीघाट क्षेत्रमा बस्दै आएको गोप्य स्रोतबाट जानकारी पाएपछि आज बिहान ५ बजेर ३४ मिनेट जाँदा उनलाई गौरीघाट क्षेत्रबाटै पक्राउ गरिएको छ ।”
समितिले गोरेसँग बयान पनि लिइसकेको छ ।
“यो विषय जटिल र गम्भीर प्रकृतिको छ,” समितिका संयोजक पौडेलले भने,“संगठित अपराध भएकाले गम्भीर देखिएको हो । यो जेरी जस्तै जेलिएको छ । हरेक जेरीलाई सेलरोटीजस्तै फुलाउँदै छुट्याउनुपर्ने अवस्था छ ।”