काठमाडौं । नेपाली सेनाद्वारा सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा “लघु चलचित्र प्रतियोगिता—२०७४” का उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गरियो । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले उत्कृष्ट लघु चलचित्रहरुका साथै “सिपाही वार्षिक पत्रिका तथा द शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा “लघु चलचित्र प्रतियोगिता—२०७४” मा प्रथम हुने संजिव पौडेलकोे लघु चलचित्र ‘अटूट नाता’, द्वितीय हुने शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ र तृतीय हुने प्रद्युम्न मिश्रको लघु चलचित्र ‘ईतिहास निर्माणको यात्रामा’ लाई क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरियो । सोही प्रतियोगितामा चौथो हुने विकास लामाको लघु चलचित्र ‘विजेता’ र पाचौं हुने जोन गुरुङको लघु चलचित्र ‘वैशाखी’ लाई सान्त्वना पुरस्कार स्वरुप जनही २५ हजार रुपैया नगद राशी सहित प्रशंसा–पत्र प्रदान गरियो । प्रतियोगीतामा भाग लिएका सम्पुर्ण प्रतियोगीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही वार्षिक—२०७४” तथा “द शिवपुरी जर्नल–२०१८” मा प्रकाशित लेख रचनाहरु मध्ये प्रथम हुने धर्मबहादुर बानियाँ, द्वितीय हुने रन्जीत थापा र तृतीय हुने पदमबहादुर बुढालाई क्रमशः .५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारका साथै कदर(पत्र प्रदान गरिएको थियो । अन्य ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही नगद १० हजार र कदर पत्र प्रदान गरिएको थियो ।
उक्त अवसरमा लघु चलचित्र प्रतियोगिताका निर्णायक मण्डल र लेख रचनाका निर्णायक मण्डललाई समेत प्रशंसा–पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
नेपाली सेनाले प्रत्येक वर्ष लघु चलचित्र प्रतियोगिताको आयोजना गरि उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गर्दै आइरहेको छ ।