site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्याब्सन, एनप्याब्सनले मसँग सहकार्य गर्नुपर्ने हो
Ghorahi CementGhorahi Cement

सय रुपैयाँको स्कुल भनेपछि उत्तम सञ्जेलको नाम आउँछ । ०५७ सालमा जोरपाटीको नयाँबस्तीबाट समता शिक्षा निकेतनको सुरुवात भएको थियो । समतामा नर्सरीदेखि स्नातकोत्तरसम्मको पढाइ सय रुपैयाँमा हुँदै आइरहेको छ । 
समता स्कुल १९औं वर्षमा प्रवेश गरेको छ । उक्त स्कुल बाँसको कलात्मक भवनको लागिसमेत परिचित छ । स्कुल हाल ७७ वटै जिल्लामा विस्तारित छ । समताले सय रुपैयाँमा कसरी पढाइरहेको छ, त्यहाँबाट पासआउट भएका विद्यार्थीले राम्रो जागिर पाइरहेका छन् कि छैनन्, कस्ता चुनौतीहरु छन् आदि विषयमा उत्तम सञ्जेलसँग बाह्रखरीका विजेता चौधरीले गरेको कुराकानी । 

सय रुपैयाँमा स्तरीय शिक्षा कसरी दिइरहनु भएको छ ?
विगत १८ वर्षदेखि नै हामीले १ सय रुपैयाँ मासिक शुल्क लिएर पढाइरहेका छौं । भर्ना शुल्क भने १५० रपैयाँ हो । स्तरीय शिक्षा कसरी भने हामी सरकारी र प्राइभेट शिक्षालयको बीचमा उभेका छौं । समता स्कुल अंग्रेजी माध्यमबाट पढाउने स्कुल हो । समताले अतिरिक्तमा स्वीमिङ, हर्स राइडिङजस्ता क्रियाकलाप दिन नसके पनि अन्य सबै क्रियाकलापसहित स्तरीय शिक्षा दिइरहेका छौं ।

सरकारी जान नचाहेका र प्राइभेटमा पढाउन नसक्नेहरुका लागि समताको परिकल्पना गरें । आर्थिक अवस्था कमजोर भएर आफ्नो छोराछोरीलाई राम्रो शिक्षा दिन नसकिरहेका समूहलाई लक्षित गरेका हौं । यसले वास्तवमा स्तर परिवर्तन भएको छ । हामीले सरकारीमा पढेर अरब जानेलाई अंग्रेजीमा पढाएर अमेरिका जाने, जागिरे हुने बनाएका छौं । तर वास्तवमा भन्नुपर्दा यो मिडियमको कुरा पनि होइन । नेपाली मिडियममै पढेर नेपालीमा र अंग्रेजी मिडियममै पढेर अंग्रेजीमा फेल भइरहेका छन् विद्यार्थी । समस्या कहाँ छ भन्दा पढ्न नपाएर फेल भएका हुन्, पढाइलाई महत्व दिनुपर्ने हो ।

Agni Group

यसको परिकल्पना कसरी गर्नुभयो ?
विश्वमै कतै पनि यस प्रकारको विद्यालय छैन । मैले जे प्राप्त गर्न सकिनँ, त्यो अरुले प्राप्त गर्न सक्नुपर्छ भन्ने सोच थियो । म सरकारी विद्यालयबाट पढेकोले मेरो अंग्रेजी राम्रो थिएन । एकताका भारतको बम्बै गएको थिए, त्यहाँ के पाएँ भने तरकारी बेच्नेले पनि राम्रो अंग्रेजी बोल्दा रहेछन् । के कारणले तिनीहरुको अंग्रेजी राम्रो भएको भनेर अध्ययन गर्दा त तिनीहरुले राम्रो किताब पढ्दा रहेछन् । पढेरै सिक्दा र बोल्दा रहेछन् ।

त्यसपछि मैले सरकारीमा जान नचाहेका र प्राइभेटमा पढ्न नसेकाहरुको लागि समताको परिकल्पना गरें । मरो मानसिकता छ, दान दिने भए बिग्रेको झोला र च्यातिएको जुत्ताजस्ता आफूलाई काम नलाग्ने चिज दान नदिने, बरु दिने भए फस्र्ट ह्याण्ड चिज दिने बरु नसके नदिने । शिक्षामा म जानकार छु, यसमा समाजलाई केही दिन सक्छु भनेर २०५७ सालमा ८ सय बच्चालाई लिएर समता स्कुलको सुरुवात गरें । त्यसबखत बुबाले मलाई विद्यालय संचालन गर्न २५ हजार रुपैँया दिनुभएको थियो । त्यही पैसाको बलले यो स्कुलको जग उभ्याउन सकें ।

Global Ime bank

कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि सहयोग गर्नु भएको थियो । हाल मह जोडीको सहकार्य छ कि छैन ?
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथ नभएको भए यहाँसम्म यस विद्यालयलाई ल्याउन सकिँदैन थियो होला । उहाँहरुको नामलाई लिएर मेले धेरै ठाउँबाट चन्दा उठाउने गरेको छु । उहाँहरुले सुरुदेखि अहिलेसम्म ममाथि एक प्रकारले अन्धविश्वास गर्दै आउनुभएको छ । विद्यालयको ५० प्रतिशत श्रेय उहाँहरुलाई दिन चाहन्छु । 

चर्को शुल्क तिरेर प्राइभेटमा पढ्न नपाएका कति बच्चालाई समताले समेट्न सक्छ त ? 

हामीले मिडिल क्लास र आर्थिक अवस्था कमजोर भएकाहरुलाई मद्दत गरेका छौं । हाम्रो विद्यालय ७७ वटै जिल्लामा छ । काठमाडौं र पोखरामा दुईवटा छन् । एउटा जिल्लामा १५ सय विद्यार्थीलाई पढाउने लक्ष्य लिएका छौं । हाल हामीसँग झण्डै ५५ हजार बालबालिका अध्ययनरत छन् । पढाउने कुरामा हामी कन्जुस्याइँ गर्दैनौ । हिजोसम्म जो स्तरीय विद्यालयको पहुँसम्म आउन सकेका थिएनन्, तिनीहरुको पहुँच बढेको छ । समता स्कुलले ठूलो समूहलाई सन्तुष्टि दिएको छ । कम्तिमा ५० देखि ५५ हजार परिवारलाई प्रत्यक्ष मद्दत गरिरहेका छौं । यो अझै विस्तार भएर जानेछ ।

सन्तुष्टिको आधार के ?
हाम्रा विद्यार्थीहरु १७ जना डाक्टर र ४५ जना इन्जिनियर भइसकेका छन् । झण्डै तीन सय नर्स र थुप्रै संख्यामा बैंकका असिस्टेन्ट मेनेजर भएका छन् । थुप्रै युरोप र अमेरिकामा कार्यरत छन् । हालसम्म १५ हजार विद्यार्थी कक्षा १० पास भइसकेका छन् र ती सबै प्रथम श्रेणीमा । एउटा अभिभावक जो बच्चा पढाउन सकेका थिएनन् र जो भाँडा माझेर १ सय रुपैयाँ शुल्क तिरेर छोराछोरी ठूलो मान्छे बनाउन सकेका छन्, तिनलाई कति आत्मसन्तुष्टि मिलेको होला कल्पना गर्नुस् त । हामीले १ सय रुपैयाँ तिर्न नसकेकाहरुलाई चन्दाबाटै समेत पढाइरहेका छौं । 

समता स्कुलबाट पासआउट भएका बालबालिका मेडिकल पढ्न वा बाहिर सहजै जागिर खाने अवस्था कस्तो छ ? सरकारले तगारो हालेको पो छ कि ?
सरकारी पक्षबाट त्यस्तो समस्या केही छैन । तगारो हालेको प्याब्सन र एनप्याब्सनले हो । तिनीहरुले ५०–६० जिल्लामा रजिष्ट्रेशन गर्न सक्छ भनेर बाधा पुर्याइरहेका छन् । उनीहरुले झापा, विराटनगर र दैलेख जिल्ला अदालतमा मुद्दा नै हाले, जुन अहिले पनि मैले लडिरहेको छु । 
उनीहरु वास्तवमा मसँग डराउँछन् । मलाई अनौठो के कुरामा लागेको छ भने उनीहरु त मसँग सहकार्य गर्नुपर्ने हो । म सहयोगी हुनसक्छु तिनीहरुको, तर मलाई देखिसहन्नन् । 

किन डराएका छन् त ?
हाम्रो पोल खोलिदिन्छ भनेर डराएका हुन् । कस्तो पोल त्यो सबैले बुझेकै कुरा हो ।

बालिका शिक्षालाई कत्तिको फोकस गर्नुभएको छ ? 
बालिका शिक्षालाई फोकस गर्ने सोच हाम्रो सुरुदेखि नै थियो । समतामा ८० प्रतिशत बालिका रहेका छन् । म ढुक्कसँग भन्नसक्छु, समताको माध्यमबाट विद्यार्थी र खासमा बालिकाको पहुँच सृजना हुन सकेको छ ।

तराईका जिल्लामा विद्यालयसम्म बालबालिकाको पहुँच हुन सकेको छ त ?
छोरा बोर्डिङमा पढाउने र छोरी सरकारीमा वा छोरी पढाउने नै किन भन्ने मानसिकता तराईमा छ । यस्तोमा अंग्रेजी पढाइदिने र सस्तोमा पढाइदिने भनेपछि अभिभावकलाई समता स्कुलसम्म तानेको हो । हामीले तिनीहरुको आत्मसम्मान समेत जोगाइदिएका छौं । वास्तवमा तिनीहरुले छोरीलाई पढाउन नचाहेका होइनन्, नसकेका हुन् नि त । 

कसरी सम्भव भइरहेको छ सय रुपैयाँमा शिक्षा ?
यो संसारले नै हालसम्म नगरेको कार्य गरेको हो हामीले । त्यही भएर यस विद्यालयलाई सार्कसम्म फैलाउने तयारी छ । हालसम्म भारत, श्रीलंका, बंगलादेशमा स्कुल संचालन गरिसकेका छौं भने माल्दिभ्समा प्रयास जारी छ । सार्कभरी नै यस विद्यालयको खाँचो छ । 

पहिले विद्यालय सहयोगको लागि राम्रो चन्दा आउँथ्यो, अहिले घटेको छ । सबै अमेरिका र युरोप जाने भनेर पैसा जोगाउनतिर लागे । चन्दा उठाएरै हालसम्म विद्यालय संचालन हुँदै आएको मात्रै छैन कि कर्मचारीको तलबदेखि पढ्न रहर गर्नेलाई त्यही चन्दाबाट पढाइरहेका छौं ।

फरक के छ भने, अरु स्कुलले शुल्क तिरेन भने टर्चर गर्छन्, शिक्षकदेखि प्रधानाध्यापकबाट बालबालिकाले टर्चर खप्छन् । पछि हामीले यति तिरेर पढाएका छौं भनेर अभिभावकको टर्चरसमेत सहेका छन् । तर समताले ती दुवैखाले प्रेसरबाट बच्चालाई मुक्ति दिलाएको छ । त्यत्तिमात्रै होइन, अन्य विद्यालयले अभिभावकलाई शुल्कको मामिलामा लज्जित तुल्याइरहँदा हामीलाई १ रुपैयाँ तिरेर विद्यार्थी पढाउने अभिभावकले थर्काउँछन् । किनभने उसले लगानी गरेको छ । अर्थात् हामीले तिनीहरुको आत्मस्वाभिमानको रक्षा गरेका छौं । अर्को कुरा जातिय, क्षेत्रीय र लिंगीय होइन, मान्छेलाई अवसर दिनुपर्छ । हाम्रो स्कुलमा पढ्ने बच्चा ‘भाइलेन्ट’ हुँदैन । त्यो संस्कार पनि हामीले विकास गरेका छौं ।

बाँसको विद्यालय भवन बनाउनु भएको छ यसको खास कारण के हो ?
म एकदमै साम्प्रदायिक मान्छे । मेचीदेखि महाकालीसम्म आफ्नै देशमा सजिलै पाउने कुराको प्रयोग गरौं जो महँगो पनि पर्दैन भनेर बाँसको चयन गरिएको हो । आफ्नो चिजमाथि गौरव पनि भयो र कलात्मक पनि देखियो । भूइँचालोको बेला त्यत्रो विद्यालय तहसनहस भयो तर समता स्कुल बाँसले बनेकोले केही भएन । तर मलाई के दुःख लागेको छ भने त्यत्रो भूइँचालो गएको बेला पनि समतालाई कसैले खोजेन । नेपालमा विद्यालय बनाउन तीन वर्ष कुर्नैे पर्दैनथियो, बाँसको भवन बनाएर पठनपाठन सुचारु गराउन सक्नुपथ्र्यो । 

अरु के नयाँ गर्ने सोच छ त ?
म देशको प्रधानमन्त्री भएँ भने बच्चालाई चार पाँच वर्षको उमेरमा विद्यालय भर्ना गराउने नियम नै लागु गर्छु । बच्चाको दिमाग नै विकास भइरहेको छैन । सबै कमर्सियल भए, आफ्नै सन्तानको लागि समय छैन । उच्च शिक्षा र शिक्षित हुनको लागि माइन्ड फ्रि हुनु जरुरी छ । यसको लागि राज्यले निगरानी र अंकुश लगाउन जरुरी छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC