साहित्य र कला

नायिका होइन, अभिनेत्री

नायिका होइन, अभिनेत्री

– अक्षर काका


बिहीबार बिहान नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसम्बन्धी अन्तिम गृहकार्य चलिरहँदा मध्य–बानेश्वरको एउटा क्याफेमा ऋचा शर्मा आफ्नै तनावले मुर्मुरिएकी थिइन् । एकातिर जेठ ११ बाट प्रदर्शन हुने ‘सुनकेसरी’ प्रचारप्रसारको धपेडी, अर्कातिर बिनाकारण डेढ घण्टा पर्खिनुपरेको उच्चाटलाग्दो समय ।

प्रचण्ड र केपी ओलीले पार्टी कार्यालयमा बिरुवा रोप्नै लाग्दा ऋचाले फोन गरिन्, “९ बजे भेट्ने कुरा थियो, अहिलेसम्म आउनुभएन । अरूको समयको ख्याल गरिदिनुस् न ।”

क्षमा माग्नुको विकल्प थिएन । पर्खिनुको दुःख जति हुन्छ, पर्खाउनुमा पनि उत्तिकै हुन्छ । ऋचाको अनुहारमा प्रतीक्षाको बाक्लो तुवाँलो फिँजिइरह्यो । डेढ घण्टा पर्खाएपछि बल्ल म पुगें । क्लान्त अनुहारमा पुनः बादल मडारियो तर धेरैबेर टिकेन ।

“कुराकानी शुरू गरौं, मसँग आधा घण्टामात्रै समय छ,” आफैं सहज बनाइन् र कुराकानीको पोयो फुकाइन् ।

ऋचासँग संगत गर्नेहरू भन्छन्– आगोको फिलिंगो हुन् उनी । कतिबेला रापिन्छिन् र कतिबेला चिसिएर श्यामल बन्छिन्, पत्तै हुन्न ।

ऋचा निर्मात्री तथा अभिनेत्री रहेको ‘सुनकेसरी’ जेठ ११ बाट प्रदर्शनमा आउँदैछ । हामीले उनी कैलालीबाट कसरी अस्ट्रेलियासम्म पुगेर ‘सुनकेसरी’ बनिन् भन्ने जान्न बोलाएका थियौं । महँगो लगानीमा बनेको करिअरकै महत्वाकांक्षी चलचित्रबारे बोल्नुअघि उनले जिन्दगीका अरु आयाम खोतलिन् ।

० ० ०

कैलालीबाट अभिनय यात्राको बाटो पहिल्याउँदै काठमाडौं खाल्डो आइपुगेकी हुन् ऋचा । कान्छी सन्तान । ५४ वर्षको उमेरमा जन्मिएकीले होला— बाबुको असाध्यै लाडप्यारमा हुर्किइन् । चार दिदीबहिनी र एक दाजुकी कान्छी बहिनी हुनुको लाभ प्रशस्तै उठाइन् ।

बाबु–छोरीको सामीप्यता आणुवंशिक हुन्छ । तर, उनको आनुषंगिक थियो । गढवाल पैत्रिक थातथलो । धनगढीमा काठेमिल । बाबुको ख्याति बेग्लै । नपुग्दो केही थिएन ।

त्यसको असर पढाइमा पर्‍यो । औसतबाट उँभो लाग्न सकिनन् उनी । “पासमात्रै हुँदा पनि गर्वबोध हुन्थ्यो,” अनुहारमा अतीत उद्दीपक हुन्छ उनको ।

कैलालीमा कखरा सिकेकी ऋचाले निम्न माध्यमिक तहको पढाइ भने काठमाडौंबाट शुरू गरिन्, लिटल एन्जेल्स स्कुल, हात्तीवनबाट । नामी निजी विद्यालय हो त्यो । पढाइसँगै अतिरिक्त कार्यकलापमा जोड दिन्थ्यो । पढाइबाहेक नृत्यकला, बास्केटबल र अन्य विधातिर पो आकर्षित भइन् उनी । पढाइ प्राथमिकतामै थिएन ।

“पढ्न खासै मन गर्दिनस्, नाचगान गरेरै भात खान्छेस् कि के हो ?” शिक्षकहरू बेलाबखत भन्थे । तर, पढाइकै लागि भनेर भयंकर समय छुट्याइनन् उनले, कहिल्यै । तर, ०६० मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भइन् ।

“ऐच्छिक र अनिवार्य दुवै गणित बिग्रिएका थिए तर नतिजा आउँदा पास भएछु,” फिस्स हाँस्छिन् उनी ।


बाबुसँगको सान्निध्यता

दिदीबहिनी सबै काठमाडौं मावलीमै बसेर पढ्ने । बाल्यकालमा बाबुसँगै रत्तिइन् ऋचा । जहाँ जाँदा पनि सँगै । बिहान चोक–चौतारीमा चिया खाँदा पनि बाबुको हात समातेर त्यहीँ पुग्थिन् उनी । त्यसबेलाको एउटा रमाइलो किस्सा सुनाइन् उनले ।

तराई–मधेसको ठाउँ । आँप–बगान थियो । त्यस्तै डेढ सय आँपका बोट थिए होला । आँप–पारखी थिए पिता । आँप पाक्ने मौसममा गनेर बस्थे उनी । केटाकेटीलाई भन्थे, “खानु हुँदैन है केटाकेटी हो !”

केटौले उमेर न हो । उनीहरूचाँहि बाबु ओझेल पर्नेबित्तिकै झटारो हानेर आँप खसालिहाल्थे ।

बाबु आएर सोध्थे, “खै आँप ?”

के भनेर जवाफ दिनू ! “हावाले भुइँभरि झार्दियो । झरेका आँप लोखर्केले खायो होला,” टार्थे उनीहरू ।

बाबु मधुमेहका रोगी । गुलियो खान नमिल्ने । तर, बिहान सधैं मिठाई किनेर ल्याउने । “हाम्रो बहानामा खान पाइन्छ भनेर ल्याउने क्या !” हत्त न पत्त प्रष्ट्याउँछिन् ऋचा ।


बाबुसँगको वियोग

१९ वर्षकी थिइन् ऋचा । मस्तिष्कवरिपरि घुमिरहन्छ त्यो विदारक क्षण । मधुमेहमाथि मुटु रोगको भारी बोकेका थिए पिताले । अतिशय पीडा हुन्थ्यो । धनगढीमा केहीसीप नचलेपछि काठमाडौंको नर्भिकमा ल्याइयो र केही समय उपचार गरियो । सारसौंदो पनि देखिए ।

असार, उदेकलाग्दो महिना थियो । बिहान बाबुले फोन गरे, “अहिले मुटु दुख्न कम भएको छ । दुई–चार दिनमा उपचार गर्न आउँछु होला ।”

ढुक्क भइन् ऋचा । सबैलाई बाबु तन्दुरुस्त भएको सुनाइन् । दिदीहरू पनि फुरुंग परे ।

तर, दिउँसो अचानक गाह्रो भएको खबर आयो । त्यसको केही बेरपछि थाहा लाग्यो । मुटुको व्यथाले निमोठेछ उनलाई ।

त्यो क्षणले उनलाई अहिले पनि पिरोलिरहन्छ । आँखा भरिन्छन् । “जीवनको अन्तिम घडीमा उहाँसँग हुन पाइनँ । त्यो दिन सम्झिँदा सबैभन्दा दुःखी हुन्छु,” अनुहारमा पीडाको भाव देखापर्छ र पत्तै नपाई आँखाको छेउभित्ता रसाइदिन्छ ।


चलचित्रसँगको साइनो

तराईमा जन्मिए, हुर्किएकी । भारतीय सीमावर्ती क्षेत्र । हिन्दी चलचित्रको जबर्जस्त प्रभाव थियो । धनगढी, थारू बहुल क्षेत्र । सुदूरका पहाडी जिल्लाबाट गरिखान झरेकाहरू पनि छरछिमेकी थिए । टोलभरि उनीहरूको घरमा मात्रै टीभी थियो । शनिबार सधैंजसो हिन्दी चलचित्र आउँथ्यो । नबिराई, नछुटाई हेर्थिन् । त्यसैले चलचित्रप्रति दिलचस्पी बढाउँदै लग्यो उनलाई ।

आमा–दिदी बहिनीसँग हलसम्मै पुगेर पनि फिल्म हेर्थिन् उनी । पर्दामा मानिस सल्बलाउँदा उनी सोचिबस्थिन्, “यी मानिसहरू टीभीमा कसरी देखिँदा हुन् ? हलमा कसरी आउँदा हुन् ?”

तिनताक टीभीमा ‘शक्तिमान’ सिरियल आउँथ्यो । ‘शक्तिमान’ हेर्दा उनको मनले कयौंपटक हावामा कावा खाएको छ । मथिंगल हुँडलिएको छ । ‘शक्तिमान’ चरित्र ‘सुपरहिरो’ प्रतीत हुन्थ्यो ।

जब आइतबार आउँथ्यो, पेट दुःखेर आलसतालस हुन्थिन् । आमाले बुझिहाल्थिन् उनको बहाना । चारजना लगाएर घिच्याउँदै स्कुल पुर्‍याउन लगाउँथिन् ।

११ वर्षको उमेरमा काठमाडौं आएपछि कैलालीसँगको सामीप्यता फिक्का बन्दै गयो । लिटल एन्जल्सले उनीभित्रको अभिनय कौशल मुखर गर्ने मञ्च प्रदान गर्‍यो । त्यस्तै कक्षा ८ मा पढ्दा हुनुपर्छ— अभिभावक दिवसमा नाटक देखाउनुपर्ने भयो । लागू–लती (दुर्व्यसनी)को भूमिका निभाउनुपर्ने चरित्र खोजी भयो । सबैले उनलाई पो अनुरोध गरे । उनले नकारिनन् ।

नाटक सकिएपछि सबैले तारिफ गरे । वाहवाही बटुलिन् उनले । असाध्यै मन परेपछि केही साथीहरूले सोधे नै, “कसरी जीवन्त अभिनय गर्न सक्यौ ? ड्रग्स खाएको मानिस कहाँ देखेकी थियौ ?”

“टीभीमा हेरेर जानेको नि !” टारिन् उनले ।

तर, आफूभित्र जीवन्त अभिनय क्षमता देखेर नायिकाको सपना त्यतिबेलादेखि नै हुर्काउन थालेकी हुन् उनले । लगातार दुई वर्ष उत्कृष्ट अभिनयकर्ताको उपाधि चुमेपछि उनीभित्रको अभिनय कौशलले हाँगा हाल्न थाल्यो ।

अग्लो कद । सुशील स्वभाव । वाक स्पष्टता । साथीहरूले उनलाई पटक–पटक सुझाउँथे, “स्कुल सकिएपछि मोडलिङको कक्षा लिन थाल ।”

“के थाहा ! त्यही प्रेरणाले पो चलचित्र दुनियाँमा पुर्‍यायो कि ?” ती साथीप्रति अनुग्रहित छिन् उनी ।


असफल ‘मिस नेपाल’

किशोरवय । अभिनयको हुटहुटी । मोडलिङको छटपटी । त्यसैले उनलाई मिस नेपालको मञ्चमा पुर्‍यायो ।

उनले बुझेकी थिइन्– मिस नेपाल वैयक्तिक विकास र क्षमता अभिवृद्धिको महत्त्वपूर्ण खुड्किला हो । मञ्चमा नपुगी क्षमता प्रदर्शन हुँदैन भन्ने राम्रोसँग थाहा पाएकी ऋचाले मिस नेपालमा जाने मौका किन छाड्थिन् ! उनी प्रतिस्पर्धामा सामेल भइन् ।

तर, उपाधि भने चुम्न पाइनन् । ललितपुरकै शिताष्मा चन्दले त्यो सिजनको ताज पहिरिन् । उनले चाहिँ उत्कृष्ट १० मै मिस नेपाल बन्ने लालसा थन्क्याउनुपर्‍यो ।

तर, दुःखी छैनिन् उनी । जित्नैपर्छ भनेर गएकी पनि थिइनन् । “मिस नेपालमा सहभागी भएर उपाधि नचुम्ने कोही पनि दुःखी हुँदैनन् । ६ हप्ताको छोटै अवधिमा जीवनभरलाई काम लाग्ने कुरा सिक्न, जान्न र बुझ्न पाइन्छ,” हिडन ट्रेजरप्रति पनि अनुग्रहित छिन् उनी ।

मिस नेपालको प्रतिस्पर्धाबाट बाहिरिएपछि उनी जयन मानन्धरको ‘र्‍याम्प मोडलिङ एजेन्सी’मा जोडिइन् पहिलो ‘फोटो शुट’ गरिन् । वास्तवमा त्यो नै उनको करिअरको प्रस्थानबिन्दु थियो ।

त्यो ‘फोटो शुट’ आलोक नेम्वाङले देखेछन् । यस कुमारको ‘थाकेको यो नजरमा’ गीतको म्युजिक भिडियोमा ‘डेब्यु’ गराए ।

‘कान्तिपुर टेलिभिजन’बाट ‘हाउसफुल’ भन्ने टेलिशृंखला प्रसारण भइरहेको थियो । १०–११ औं शृंखलाका लागि नयाँ अनुहार खोजी भइरहेको रहेछ । उनले निर्देशक प्रचण्डमान श्रेष्ठलाई भेटिन् । ऋचा घिमिरे, आर्यन सिग्देललगायतले अभिनय गरिरहेका थिए त्यहाँ । उनले पनि संवादसहितको अभिनय गर्न पाइन् । पर्दामा त ‘थाकेको यो नजर’ले नै देखाइसकेको थियो । संवादसहित ‘हाउसफुल’ले आम दर्शकमाझ पुर्‍याइदियो ।

‘इमेज च्यानल’मा भीजे बनिन्, डेढ वर्षजति । डेढ सयजति म्युजिक भिडियोमा अभिनय पस्किइन् । र, क्रमशः जीवनलाई अभिनयसँग एकाकार गराउँदै गइन् ।


चिसो जर्मनी

सन् २००८ मा बाबुको निधनपश्चात् ऋचाले जर्मनीतिर पखेंटा फिँजारिन् । उद्देश्य एकातिर, पैताला अर्कातिर । जर्मनीमा मन अडिन सकेन । बाबुको चोला उठेपछि आमाले एक्ली महसुस गरेकी थिइन् । कान्छी छोरी जर्मनी हानिएपछि आमा औधी नियास्रिइन् । आमाकै मायाले तानेर नेपाल ल्यायो— ६ महिनामै ।

“चिसो जर्मनीले मेरो सपनामा न्यानोपना दिन सकेनँ, नेपालै फर्किएँ । शायद मैले नेपालमै केही गर्नुपर्ने थियो,” जर्मनीबाट नेपाल फर्कनुको कारण यत्ति हो उनको ।

नभन्दै नेपाल फर्किएपछि फिल्मी करिअरले पो गति लिन थाल्यो । तिनताक सिमोस सुनुवारले निर्देशन गरेको चलचित्र ‘फस्र्ट लव’मा अडिसन लिइँदैछ भन्ने थाहा पाइन् । धेरैजना प्रत्यासी थिए, उनी पनि थपिइन् ।

माधव वाग्लेले ऋचा देख्नेबित्तिकै पुलकित भावमा भने, “यही नानी हुन्छ !”

आर्यन सिग्देल, निशा शर्मासँगै ठूलो पर्दामा पदार्पण भइन् ऋचा । त्यसयता भने १५–१७ वटा चलचित्रमा अभिनय गरेकी छन् उनले । चलचित्रमा काम गर्ने उनकै आफ्नै विधि–विधान छ । चलचित्र जीवन सादृश्य हुनुपर्छ । समाजको छाया सन्निहत हुनुपर्छ । चलचित्र निर्माता–निर्देशक दूरगामी र दूरदृष्टि राख्ने हुनुपर्छ । सम्झौतापरस्त उनी हुँदै होइनन् ।

“र त मैले धेरै चलचित्रमा अभिनय गरेकी छैन नि !” आत्मस्वीकारोक्तिपूर्ण गजबको घाम उदाउँछ उनको अनुहारमा ।

१५–१६ चलचित्रमा निभाएका भूमिकामध्ये मन खाएको अभिनय कुन चरित्रमा होला ? आम मानिसको मनमा ठिंग उभिने प्रश्न हो यो । हरेकजसो अन्तर्वातामा उनलाई यस्तै प्रश्न गरिन्छ । हामीले पनि गर्‍यौं ।

तर, यसको मूर्त जवाफ उनीसँग पनि छैन । उत्तर दिनपरेपछि अनुहारको आभा लगभग ओझेल पर्छ । चलचित्र अभिनयमा उनी ‘चुजी’ हुन् । चलोस्–नचलोस्— चलचित्रमा काम गरेपछि पश्चाताप नहोस् भनेर शुरूमै सतर्क हुन्छिन् उनी ।

धेरै बेर कर गरेपछि उनले भनिन्, “अनिल थापाले निर्देशन गर्नुभएको ‘को आफ्नो’को काम मलाई धेरै मन पर्छ । फिल्म चले पनि नचले पनि मलाई त्यो चरित्रले सन्तोष दिन्छ ।”

०७२ फागुनमा प्रदर्शन भएको ‘को आफ्नो’मा ऋचा र सुवास थापाको मुख्य भूमिका थियो । आमाको भूमिकामा प्रस्तुत हुँदा उनको अनुहार बिग्रिएको थियो । नक्कली दाँत राख्दा–राख्दा गाला नै सुन्निएको थियो । चरित्रमा चुर्लुम्म भिज्दा साँच्चिकै आमा नै हुँ कि क्या हो भन्ने भान भएर थुप्रैपटक झुक्किएकी छन् ।

“यस्तो भूमिका शायदै नेपाली चलचित्रमा लेखिन्छ र मैले अभिनय गर्न पाउँछु । आमा बन्न कति गाह्रो हुँदो रहेछ भनेर गहिरोसँग अनुभूत गर्ने मौकासमेत पाएँ,” अद्यपर्यन्त दिमागमा ‘को आफ्नो’को छाप छ । र, त्यही पदचाप पछ्याउन खोज्छिन् उनी ।


हिरोइनको मानक

सुडौल जिउडाल । सुन्दर अनुहार । ठूला र चहकिला आँखा । बटारिएका परेला । गुलाबी ओठ । घामजस्तो हाँसो । नायिकाको सन्दर्भमा हाम्रो सौन्दर्यचेत यत्ति हो ।

तर, यो विम्ब बिस्तारै बदलिँदैछ । चलचित्रमा भित्रँदो अभिनयात्मक विविधताले हिरोइनबारेको परम्परागत धारणामा कुचो लगाउँदैछ । व्यक्तिविशेष भन्दा पनि चरित्रविशेषको चर्चा हुनु नै त्यसको कारण हो ।

त्यसो त ऋचा पनि आफूलाई कलाकारमात्रै भन्न रुचाउँछिन् । अभिनेत्रीमात्रै । “ममा हिरोइनमा हुने धेरै (परम्परागत) गुण छैनन् । नाचगानमा पारंगत पनि होइन । एकाधबाहेक चलचित्रमा नृत्य पनि गरेकी छैन,” आफैंलाई नियाल्छिन् ।

हलिउड, बलिउडलगायत विश्व सिने जगतमा हिरो–हिरोइन दुवैको मानक बदलिँदै जाँदा त्यसको बाछिटा हामीसम्म पनि आइपुगेको छ । रिस्मा गुरुङ, दयाहाङ राई त्यसैको प्रतिविम्ब भएको उनको ठहर छ ।

पछिल्लो समय उनी निर्मात्रीको भूमिकामा छिन् । ‘फस्ट लव’बाट शुरू भएको उनको यात्रा ‘आधा लव’मा आइपुग्दा नायिकाबाट निर्मात्रीमा बदलियो । त्यसो त उनी आफूलाई सधैं नायिकाको आवरणमा राख्न रुचाउन्निन् । प्राकृतिक हिसाबले त्यो सम्भव पनि होइन । यसर्थ उनी विभिन्न चरित्रसँग समाहार गराउँदैछिन् आफूलाई ।

“समयक्रमसँगै मैले आमाको चरित्र निभाउनुपर्ला । हिरोइनकी दिदी बन्नुपर्ला, काकी बन्नुपर्ला तर अप्ठ्यारो महसुस गरेकी छैन । बरु त्यो चरित्रसँग आफूलाई एकाकार गराउँदै अभ्यस्त बनाउँदै लगेकी छु,” अभिनय उमेरसापेक्ष बनाउँदैछिन् ऋचा ।

हाम्रोजस्तो सौन्दर्यचेत भएको समाजमा हिरोइनको उमेर हुन्छ । वास्तवमा अभिनयको कुनै उमेर हुँदैन । यही तथ्यलाई बलियोसँग मनन गर्ने अभिनेत्रीमा पर्छिन् ऋचा । उनको मापदण्डमा हिरोइनको पहिलो शर्त अभिनय हो, सौन्दर्य होइन ।


नायिकादेखि निमात्रीसम्म

चलचित्रवृत्तमा चर्चा चल्ने गर्छ– नायिकाहरू चलचित्र बजारमा बिक्न छाडेपछि चलचित्र बनाउन थाल्छन् । प्रतिवाद गर्दिनन् ऋचा ।

“मैले सारा जीवन चलचित्रमै व्यतीत गर्ने निधो गरिसकें । चलचित्रबाहेक अरू काम गर्न अनुभवको दृष्टिले काँची छु । नायिकाको उमेर होला, समय होला, अभिनेत्री या निर्मात्रीको त हुँदैन नि !” आफ्नै तर्कमा उभिन्छिन् ऋचा ।

करिष्मा मानन्धर, सिर्जना बस्नेत, रेखा थापा, निशा अधिकारी हुँदै निमात्रीको छिमलमा जोडिन आइपुगेकी ऋचा चलचित्रबाट ओझेल नपर्न निर्माणमा हात हालेको बताउँछिन् ।

भनेजस्तो भूमिकामा अभिनय गर्न नपाएपछि आफैं चलचित्र निर्माण गर्न कस्सिएको उनी हाँसी–हाँसी बताउँछिन् ।

“मलाई ‘आधा लव’ जस्तो चलचित्र बनोस् भन्ने लाग्थ्यो र हरर चलचित्रमा अभिनय गर्ने उत्कण्ठा थियो । र त, निर्मात्री बनें नि,” ‘आधा लव’ बनाएर निर्मात्रीमा ‘डेब्यु’ हुनुको तात्पर्य केलाइन् उनले ।


र, सुनकेसरी

अर्पण थापा र ऋचा मिलेर ‘आधा लव’ निर्माण गरे । त्यसले ऋचाको चलचित्र बनाउने अभिप्सामात्रै पूरा गर्‍यो । व्यापार गर्न सकेन ।

“अब कुन चलचित्र बनाउने र मनग्य व्यापार गर्ने ?” गहन चिन्तनमा थिए उनीहरू । तिनताकै उनीहरूले दुइटाजस्तो हरर फिल्म हेरे– ‘कन्ज्युरिङ’ र ‘इन्साइडियस’ । तिनको व्यापार देखेर चित खाए । दर्शक थिए— प्रायशः नवयौवना ।

२००७ मै अर्पण थापाले एउटा कथा लेखेका थिए– माया । ‘आधा लव’ प्रदर्शनपछि अस्ट्रेलिया पुगेका थिए । त्यहीबेला निर्माता भीम न्यौपानेले प्रस्ताव गरे, “मैले मूलधारका सबैजसो चलचित्रमा लगानी गरें । फरक विधाको चलचित्र बनाउने इच्छा छ ।”

अर्पणले भने, “मसँग हरर चलचित्रको कथा छ । तर, त्यसको लागि ‘क्यासल’ (किल्ला)जस्तो ठाउँ चाहिन्छ । कि लन्डन कि अस्ट्रेलियामा छायांकन गर्नुपर्छ ।”

क्यासलको खोजी भयो । नेपालमा पाल्पाको रानीमहलबाहेक अन्यत्र ठाउँ पत्ता लागेन । रानीमहलमा शुटिङ गर्न सम्भव भएन । अन्ततः अस्ट्रेलियामै छायांकन गर्ने टुंगो लागेपछि कथा पुनर्लेखन गरे ।

त्यही बेला मनीषा कोइरालाअभिनीत ‘डियर माया’ आयो । यो चलचित्रको नाममा ‘माया’ थियो । यो शब्द धेरै नै प्रयोग भएको ठाने र नाम फेरेर ‘सुनकेसरी’ जुराए ।

चलचित्र छायांकन गर्न अस्ट्रेलियाको मेलबर्न पुगे शुरूमा । तर, भनेजस्तो घर पाइएन । त्यसपछि सिड्नी लागे । घर फेला पर्‍यो तर कथा त्यो अनुरूपको छैन । त्यसपछि पुनः कथा बदले ।

हरर विश्वव्यापी जानरा । अंग्रेजी सबटाइटल हालेपछि विश्वभर प्रदर्शन गर्न मिल्ने । कम्मर कसे उनीहरूले ।

ऋचा, रवीन्द्र झा, सनी ढकालबाहेक सबै अस्ट्रेलियन ‘क्रु’ प्रयोग गरिएको छ । अस्ट्रेलियनलाई अति व्यावसायिक पाइन् उनले । एकपल्ट कामको निर्देशन दिएपछि दोहोर्‍याएर भन्नै नपर्ने । १८ दिनमै सुटिङ फत्ते भयो ।

‘सुनकेसरी’ ऋचाका लागि पाठाशाला सावित भयो । अस्ट्रेलियन ‘क्रु’सँगको सान्निध्यमा अभिनय कौशलका अतिरिक्त चलचित्र निर्माणका धेरैजसो विषयसँग परिचित हुने मौका पाइन् । सबैको जिम्मेवारी परिभाषित, मूल्य भुक्तानीको तौरतरिका सबैले आश्चर्यचकित तुल्यायो उनलाई ।

पेरिसमा अभिनय सिकेर आएकी ऋचाले केही समयअघि फ्रेन्च चलचित्रमा समेत अभिनय गरेकी थिइन् । त्यतिबेलै अनुभूत भएको हो–हामी धेरै पछाडि छौं । अस्ट्रेलियन ‘क्रु’सँग काम गर्दा घामजस्तै छर्लंग भयो ।

सिड्नीको भूताहा घरलाई ३४ हजार डलर मूल्य भुक्तान गर्नुपर्‍यो उनीहरूले । बज लुर्मान निर्देशित ‘अस्ट्रेलिया’ त्यही घरमा छायांकन भएको हो भने अस्ट्रेलियन टेलिचलचित्र निर्माताहरूको रोजाइमा समेत उक्त घर परिरहन्छ ।

स्टन्टको समन्वय गर्न जर्ज सालिवालाई अनुबन्धित गरे, जो सन् १९९९ देखि उदाएका नामी स्टन्टबाज हुन् ।

नेपालमा हरर चलचित्र नबनेका होइनन् । ‘एकदिन एक रात’, ‘मसान’, ‘आत्मा’, ‘डार्क हाउस’, ‘हँसिया’, ‘माला’, ‘पर्व’ हुँदै ‘सुनकेसरी’सम्म आइपुगेको नेपालको हरर मुभीले अपेक्षाकृत व्यापार गर्ला कि नगर्ला— संशय नै छ ।

तर, नेपाली चलचित्र उद्योगमा चलेको ‘नाटक’, ‘हास्य’, ‘माया’ जानराकै हाराहारीमा हररलाई ल्याइपुर्‍याउन ‘सुनकेसरी’मा हात हालेको बताउँछिन् ऋचा ।

“कन्ज्युरिङ हेर्ने दर्शकलाई फर्काएर सेतो साडी लगाएको चलचित्र हेराउन मन थिएन । त्यसैले सुनकेसरीमा कुनै सम्झौता गरेनौं । चलचित्रको ट्रेलर सार्वजनिक गरेपछि दर्शकको प्रतिक्रियाले उत्साहित तुल्याएको छ, बाँकी थाहा पाउन त आगामी हप्तासम्म पर्खैनैपर्छ,” चलचित्रबारे सबै कुरा दर्शकको जिम्मामा छाड्दै जुरुक्क उठिन् उनी ।


(तस्बिरहरू : लेनिन बञ्जाडे)
 

तपाईंको मत