site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इतिहास खिच्ने पत्रकार
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल 


तीन दशक लामो पञ्चायतविरोधी जनआन्दोलनको झल्को सम्झिनुपर्‍यो भने धेरैको मनमा एउटा तस्बिर नाच्छ । ०४६ चैत २७ गते आयोजित विजयोत्सवमा सहभागी आन्दोलनकारी दुर्गा थापाले उत्साहित हुँदै दुवै हात उचालेको त्यो तस्बिरले परिवर्तनप्रतिको आम सपनालाई प्रतिविम्बित गर्छ । तीन दशकपछि पनि त्यो तस्बिर उत्तिकै जीवन्त र सान्दर्भिक लाग्छ ।

यो ऐतिहासिक तस्बिर थियो । मीन बज्राचार्यसँग यो तस्बिरको आफ्नै लामो कथा छ । तर, त्यसअघि मीनका अरु कथा सुनौं ।

Agni Group

० ० ०

नियम–कानुन पञ्चायतको खल्तीमा थियो । मन परेकालाई काखा, नपरेकालाई पाखा लगाउन कानुनै चाहिन्थेन । पञ्चहरूको बोली नै काफी थियो । राजनीतिक विचारधारा मिलेन या कार्यशैली चित्त बुझेन भने जतिखेरै पनि समातेर जेल हाल्थे ।

Global Ime bank

परोपकार हाइस्कुुललका प्रधानाध्यापक भए पनि सिद्धिरत्न बज्राचार्यको जागिर सरकारले खोसिदियो । जिन्दगीको ऊर्जाशील समय राज्यको सेवामा बिताएबापत उनले सेवा–सुविधा त पाएनन् नै, पेन्सनबाट पनि बञ्चित भए । उनी ०२८ सालमा परलोक भए । मीनको उमेर जम्मा ४ वर्षको थियो । बुवा बितेको सम्झना उनको दिमागमा धमिलो छायाजस्तै छ ।

बुवा बितेपछि उनी स्कुल भर्ना भए । स्कुलले छात्रवृत्तिमा पढ्ने चाँजोपाँजो भने मिलाइदियो । पढ्न भन्दा पनि उनलाई फेसनमा रुचि थियो । स्कुल ‘बंक’ हानेर फिल्म हल पुग्थे । त्यो बेला नेपाली फिल्म आक्कलझुक्कल मात्रै बन्थे । हेर्ने हिन्दी फिल्म नै थियो । मौका परे मीन एउटै फिल्म दर्जन पटक हेर्थे । अमिताभ बच्चन, राजकुमारलगायत हिरोका कुनै चलचित्र छुट्दैनथे । उनीहरू जस्तो ड्रेसअप गर्थे, मीनलाई पनि त्यस्तै लगाउनु पर्ने । 

बुधबार ‘बाह्रखरी’को कार्यालय आइपुग्दा पनि उनी कम ‘फेसनेबल’ लाग्दैनथे । जिन्सको नीलो ग्रन्च पाइन्ट र जिन्सकै सर्टमा ठाँटिएका मीनको टाउकोमा गोलो ह्याट थियो । आँखामा चश्मा । उमेरले फड्को मारे पनि उनको ‘लुक्स’ तन्नेरी नै थियो । डे«सअपमा ‘सेन्स’सँगै बोलीमा पनि उस्तै ‘चार्म’ छ उनको ।

परोपकार हाइस्कुलनजिकै विष्णुमती नदी थियो । पौडी भनेपछि मीन हुरुक्कै । परोपकार हाइस्कुलको पर्खाल नाघेर अर्कोतिर हामफाल्दा विष्णुमतीको किनारमा पुगिन्थ्यो । कलकल बग्ने विष्णुमतीको त्यो बेलाको कञ्चन पानीमा माछाजस्तै पौडिन्थे मीन । डुबुल्की मार्दै उनी कालमोचनसम्म पुग्थे । 

बुवा प्रधानाध्यापक भए पनि आमा ‘ल्याप्चे’ थिइन् । तर, निकै व्यवहारिक । घर चलाउन सहज थिएन । आमाले भनिन्, “छोरा, घर चलाउन म एक्लैलाई गाह्रो भयो । तैले केही काम गर्नुपर्छ होला ।”

प्रिन्टिङ प्रेसमा काम गर्न थाले मीन । कटर मेसिनले बिल कटिङ गर्ने र नम्बरिङ गर्ने उनको काम थियो । ८ वर्षमै बिहान–बेलुका प्रेसमा काम गर्नु र दिउँसो स्कुल जानु उनको दैनिकी बन्यो । बुवा नहुँदाको पीडा उनी सुनाउँछन्, “बिहान–बेलुका प्रेसमा काम गर्नु पथ्र्यो । शरीर थाकेर पनि होला— राति पढ्न मन लाग्दैनथ्यो । त्यसैले होमवर्क स्किप गर्न कक्षा बंक गरिन्थ्यो । रिजल्ट जहिले पनि दोस्रो श्रेणीमा आउँथ्यो ।”

८ वर्षको बच्चालाई काममा लगाएर पढाइ बिगारिदिएको भन्दै छिमेकीले कुरा काट्न थालेका थिए । आमाले मीनलाई काम नगर्न भनिन् । छिमेकीको करकर र कुरा कटेको सहन नसकेर उनले छोरालाई कामबाट छुटाइदिइन् ।

घर चलाउन सहज थिएन । गाह्रो भएपछि उनले भनिन्, “बाबु गाह्रै भयो । दाइ त मान्दैन, तँ काम गर् न है ।”

फेरि उनले आफन्तलाई भनेर ट्रेलरमा काम लगाइदिइन् । सेवक ट्रेलरमा काम गर्न थाले मीन— उमेर ११ वर्ष थियो । उनले काम गरेको ‘सेवक टेलर’ अहिले रुपान्तरण भएर ‘ह्युमेन फिट’ टेलर भएको छ । एसएलसी दिएको वर्षसम्म उनले त्यहीँ काम गरे ।

एसएलसी दिएको वर्ष जाइकाको सहयोगमा सञ्चालित फेसन डिजाइनिङको कोर्स गर्ने अवसर पाए । ०४१ सालको कुरा थियो । डमीमा राखेर आधुनिक जुकी मेसिनबाट अत्याधुनिक फेसनका लुगा सिलाउने तालिम पाए । सानैदेखि टेलरिङमा काम गरेकाले प्राक्टिकल र ड्रइङमा उनी अब्बल थिए । थ्योरीमा थोरै कमजोर भए पनि केही नजान्ने भने थिएनन् । प्रयोगात्मक परीक्षामा उनैले सहयोग गरेकी महिला प्रथम भइन् । पहिलो र दोस्रो दुबै जापान जान पाउँथे । तर, उनलाई ‘ब्याक’ गरियो । मीन जापान जाने अवसरबाट बञ्चित भए ।

त्यसपछि उनले हिमालयन टुर एन्ड ट्राभल्समा काम गर्न थाले । नौ महिना काम गरेपछि मीनका अस्ट्रेलियन साथी नेभी क्याप्टेन ली लेन पोन्टेनले सोधे, “अवसर पायौ भने तिमी अस्ट्रेलिया आउँछौ ?”

मीनकी आमा भर्खर बितेकी थिइन् । उनलाई उदासीले छोपेको थियो । मुखमै आइसकेको जापान जाने अवसर गुमेको थियो । ठीक त्यही बेला पोन्टेनले अस्ट्रेलिया बोलाएपछि उनले भने, “ह्वाइ नट ?”

मीनले फेसन डिजाइनसम्बन्धी कोर्ससमेत गर्न चाहेको सुनाए । पोन्टेनले फेसन डिजाइनको कोर्सका लागि आफू पक्का नभए पनि ‘घुम्न भने आउन सक्छौ’ भनेपछि ०४२ मा मीनले पखेटा हाले अस्ट्रेलियाको । 

६ महिना अस्ट्रेलिया बस्दा उनले फेसन डिजाइन गर्न पाएनन् । पढ्न पनि पाएनन् । तर, उनी अस्ट्रेलियाका अधिकांश शहर घुमे । फेसन शोहरू हेरे ।

अप्रिल–१४ मीनको जन्मदिनमा पोन्टेनकी बहिनीले मिनल्टा अटोमेटिक क्यामेरा उपहार दिइन् । त्यसपछि तस्बिर  खिच्न थाले मीन ।

एकदिन सर्कल क्युबाट म्यान्ली बिच जाँदा मीनले पानी जाहाजबाट ओपेरा हाउसको तस्बिर खिचे । त्यो तस्बिर देखेर त्यहाँका साथीहरूले भने, “ओहो, यो त पूरै प्रोफेसनल तस्बिरजस्तो छ । तिमी पनि प्रोफेसनल फोटोग्राफर जस्तै लाग्छौ ।”

\"\"६ महिनापछि मीन नेपाल फर्किए । उनलाई अस्ट्रेलियन साथीहरू ‘फोटोग्राफर’ भन्थे । मीन मच्छेन्द्रनाथको फोटो खिचेर उनीहरूलाई पठाइदिन्थे ।

अस्ट्रेलियाबाट फर्किएपछि उनी फोटो खिच्न खुब घुमे । कहिले चन्द्रागिरि, कहिले नागार्जुन त कहिले फुलचोकी र चाँगुनारायण पुग्थे । घुम्दा ल्यान्डस्केप, कल्चरल, लाइफ स्टाइललगायतका सबैखाले तस्बिर खिचे ।

तस्बिरमा उनका हात कुशल भइसकेका थिए । तस्बिरको एंगल हेर्न उनका आँखा बानी परिसकेका थिए । त्यसबेला उनका एकजना साथी पत्रकारिता गर्थे । उनले एक दिन भने, “मीन तिमी यस्तो राम्रो फोटो खिच्दो रहेछौ । आज एउटा घटना छ, त्यसको फोटो खिच्न सक्छौ ?”

‘खिच्न सक्छौ ?’ भन्ने उसको शब्दले मीनलाई मुटुमै रोप्यो ।

“शायद उसले ‘खिच्न सक्छौ ?’ नभनेको भए म खिच्दिनथें होला । त्यो शब्द नै मेरा लागि च्यालेन्जजस्तो भयो । त्यसैले उसैले भनेको फोटो खिचें,” मीन सम्झन्छन्, “त्यही फोटो १९८७ जुलाई १७ मा ‘द कमनर’मा छापियो । त्यो मेरो पहिलो तस्बिर थियो पत्रिकामा छापिएको ।”

त्यो तस्बिर छापिएपछि गोपालदास श्रेष्ठले मीनलाई भने, “तिमी त सिद्धरत्नको छोरा रे हैन ? ऊ त मेरो साथी हो । तिमी यो क्षेत्रमा कसरी आयौ ? यो त राम्रो क्षेत्र हो । तर, च्यालेन्जिङ पेसा पनि हो । तिमी काम गर्छौ ?”

लगत्तै मीन ‘विमर्श’मा काम गर्न थाले । केशवराज पिँडाली, कमल जोशी, श्री आचार्य, बलदेव थापा, पदम ठकुराठीलाई भेटे । पिँडालीले एकदिन सोधे, “बाबु, हामीसँग मिलेर काम गर्ने हो ?”

“म कलेज पढ्छु,” मीनले भने ।

“हुन्छ, हरेक बिहीबार आउनुपर्छ । तिमीलाई फोन आउँछ अनि अन्तर्वार्ताका लागि फोटो खिच्न जानुपर्छ,” पिँडालीले भने, “अरु दिन तिमी मस्त घुम । तिमीले जस्तो फोटो खिच्छौ, खिचेर ल्याऊ ।”

आमा बितिसकेकी थिइन् । घरबहालले बिजुली र पानीको पैसा तिर्नमात्रै पुग्थ्यो । पिँडालीले २ हजार दिन्छु भनेका थिए । त्यही भए पनि ‘पकेट मनी’ हुन्छ भनेर मीनले ‘हुन्छ’ भन्दिए ।

०४४ फागुन २९ गते दशरथ रंगशालामा खेल भइरहेका बेला आँधीबेहरी आएपछि शुरु भएको भागदौडमा थुप्रै दर्शककको मृत्यु भएको थियो । त्यो घटनाको फोटो मीनले खिचेका थिए । त्यही फोटो लिएर गएका थिए उनी । पिँडाली त्यो फोटो देखेर मीनसँग निकै प्रभावित भए । 

श्री आचार्य, बलदेव थापासँग उनी अन्तर्वार्ताको तस्बिर खिच्न जान्थे । पछि जेलबाट छुटेर हरिहर विरही आएपछि प्रत्येक हप्ता हरिहरसँग उनी तस्बिर खिच्न सँगै जान्थे ।

त्यो अन्तर्वार्ताबाट उनले अन्तर्वार्ताको फोटोमा नयाँ शैली विकास गरे । त्यसअघि अन्तर्वार्तामा स्टुडियोमा खिचिएको तस्बिर छाप्ने चलन थियो । तर, उनले अन्तरर्वार्ताको ‘मुड क्याप्चर’ गर्न थाले । अन्तर्वार्ताको सन्दर्भअनुसार तस्बिर छाप्न थालियो, जुन त्यो बेला निकै मन पराइयो ।

० ० ०

‘कामना’ प्रकाशन गृहको फिल्मी पत्रिका ‘कामना’ बजारमा निकै रुचाइएको थियो । त्यसलाई टक्कर दिन कमल जोशीले ०४५ भदौ ५ गते ‘रुपरंग’ प्रकाशन आरम्भ गरे ।

श्री आचार्य सम्पादकको जिम्मेवारीमा थिए । त्यसैमा रमण घिमिरे पनि थिए । कभर र ब्लोअप तस्बिरको जिम्मा मीनलाई थियो । त्यसका लागि फोटो सेसन गर्नुपथ्र्यो । जहिले पनि उही गौरी मल्ल, उही सुस्मा केसीकै ब्लोअप तस्बिर छापिन्थ्यो । मीनले सोचे— किन नयाँ अनुहार नल्याउने ?

जनार्दन आचार्य र कमल केसीले ‘हुन्छ’ भने । पिँडालीले नेवारीमै भने, “आफैं खोजेर ल्याऊ न त ।”

मीनको दिमागमा मनीषा कोइराला ‘क्लिक’ भइन् । ‘मेगा उल’को विज्ञापनमा उनले मोडलिङ गरेकी थिइन् ।

भर्खर १२ कक्षा सकेकी मनीषा दिल्लीमै थिइन् । काठमाडौं फर्केकै थिइनन् ।

भारतीय नेता चन्द्रशेखर नेपाल आएका थिए । हरिहर विरही र मीन ‘विमर्श’का लागि चन्द्रशेखरको अन्तर्वार्ता लिन शेराटन होटल पुगे । अन्तर्वार्ता लिँदालिँदै प्रकाश कोइराला (मनीषाका बुवा) आइपुगे ।

मीनले प्रकाशलाई ‘रुपरंग’को आवरण तस्बिरका लागि मनीषाको फोटो खिच्न चाहेको बताए । प्रकाशले पनि ‘छोरीले माने म खबर गर्छु’ भन्दै मीनको टेलिफोन नम्बर मागे ।

मीनलाई थाहा थियो— चलचित्रमा खेल्ने चाहना भएकै कारण उनले विज्ञापनमा मोडलिङ गरेकी हुन् । त्यसैले नेपाली चलचित्रका लागि नयाँ अनुहार भनेर आवरण तस्बिर खिच्ने उनको योजना थियो ।

दुई महिनापछिको एक बिहान भाडामा बस्ने एक जनाले मीनलाई बोलाए । त्यो प्रकाशको फोन थियो । आफ्नो फोन नभएको हुँदा मीनले भाडामा बस्नेको नम्बर दिन्थे ।

प्रकाशले भने, “छोरी दिल्लीबाट आइन् । उनले मानिन् । तपाईंहरू तस्बिर खिच्न आउनुस् ।”

क्यामेरा बोकेर मीन महाराजगन्जस्थित कोइराला निवास पुगे । आवरण तस्बिरका लागि मीनले मनीषाको तस्बिर कोठामै खिचे । उनले कोठाभित्र हाफ स्याडो र न्याचुरल तस्बिर खिचे, खास्टो (सल) मा । सल ओडेको तस्बिरमात्रै मीनका लागि पर्याप्त थिएन । ‘ग्ल्यामरस’ फोटो चाहिएको थियो उनलाई । जुक्ति लगाए ।

“आउटसाइड तस्बिर पनि लिऊँ न गार्डेनमा,” मीनले भने । मनीषा राजी भइन् । बगैंचामा पनि उनले तस्बिर खिचे । तर, त्यतिले पनि पुगेन उनलाई ।

थप जुक्ति लगाउनु नै पर्ने भयो । बीपी कोइरालाकी नातिनीलाई छोटो लुगा लगाउनुस् भनेर सीधै भन्न आँट आएन । 

उनले भने, “यस्तो घाम छ, गर्मी भएन मनीषा जी ?”

मीनको आशय बुझिन् मनीषाले, सल फ्याँकेर टिसर्टमा आइन् ।

मीनले सोचेजस्तो तस्बिर खिचे । बगैंचामा दिएको पोजसहित ‘फूल फिगर ब्लोअप’मा छापियो ।

बीपीकी नातिनीको तस्बिर पत्रिकामा पहिलोपटक छापियो ब्लोअपका रूपमा । प्रशंसा र प्रतिक्रियाको ओइरो लाग्यो । कसैले नाक खुम्च्याए, कसैले आ–आफ्नो इच्छा भने ।

यो पनि ऐतिहासिक तस्बिर थियो ।

मनीषामात्रै होइन, नयाँ अनुहार धेरैको तस्बिर खिचे मीनले । निशा शर्मा, अग्नि गुरुङ, पार्वती अधिकारी, निलम केसीलगायत थुप्रैका तस्बिर उनको क्यामरामा कैद भए ।

पत्रिकामै बीपीकी नातिनी मनीषा चलचित्रमा अभिनय गर्न चाहन्छिन् भन्ने छापिएपछि पोखराका फुर्वा छिरिङ गुरुङले मनीषालाई हिरोइन बनाएर चलचित्र निर्माण गर्ने घोषणा गरे । प्रकाश अधिकारीलाई हिरो लिए । चलचित्रको नाम थियो, ‘फेरि भेटौंला ।’

चलचित्रको शुटिङ पोखरामा थियो । चलचित्र युनिटले मीनलाई रिपोर्टिङका लागि बोलायो । उनी पोखरा पुगे । होटलमा एकातिर मनीषाको कोठा थियो, अर्कोतिर प्रकाश अधिकारीको । मीनले रोचक त के देखे भने छोरीको ‘टेक केयर’का लागि मनीषाकी आमा त्यहीँ थिइन् । मीन भने प्रकाशसँगै एउटै कोठामा बसे ।

\"\"

शुटिङ रिपोर्टको तस्बिरसहित समाचार छापियो । फिल्मी पत्रिका बजारमा मजाले दरिएको ‘कामना’ले प्रतिस्पर्धी ‘रुपरंग’का फोटोग्राफर मीनसँग त्यही शुटिङको तस्बिर माग्यो । उनले दिए । ‘कामनाले’ मीनलाई क्रेडिट दिएर ब्लोअप छाप्यो ।

० ० ०

हरि अधिकारीले ‘विमर्श’ लागि कांग्रेस संस्थापक नेता गणेशमान सिंहको अन्तर्वार्ता लिएका रहेछन् । उनले भने, “मीन ! मैले गणेशमान सिंहको अन्तर्वार्ता लिइसकेको छु । तिमीले जमल गएर उहाँको तस्बिर खिचेर ल्याऊ ।”

जमल पुग्दा उनले गणेशमानलाई देखे । “स्कुलमा लौहपुरुष भनेर पढेका व्यक्तिलाई पहिलोपटक मैले त्यहीँ देखें । कुर्सीमा कालो चस्मा लगाएर टक्क बसेको । ठूलो नाक, छेउमा कृष्णप्रसाद भट्टराई,” मीन ०४६ सालतिर फर्किन्छन्, “साँच्चै उहाँ लौहपुरुष जस्तै लाग्यो ।”

उनले गणेशमानको तस्बिर खिचे । फरक–फरक भावभंगिमा खिच्ने प्रयास गरे । किसुनजीले छेउमा बसेर खुब ख्याल गरिरहेको देखेपछि मीनले उनको पनि तस्बिर खिचे ।

पत्रिकामा फोटो छापिएपछि गणेशमानका सहयोगी पीएल सिंहले फोन गरेर तस्बिर मागे । उनी तस्बिर लिएर गणेशमानकै घर क्षेत्रपाटी पुगे ।

पीएल सिंहले मीनलाई सोधे, “तिमी के गर्छौ ?”

मीनले आफू कलेज पढ्दै गरेको र पत्रिकामा तस्बिर खिच्ने गरेको सुनाए ।

सिंहले भने, “हामीलाई एउटा सहयोग गर्न सक्छौ ? माघ ५, ६ र ७ (०४६) गते आन्दोलन हुँदैछ । त्यसको फोटो खिचिदिनु पर्‍यो । त्यसका लागि किसुनजीले हस्ताक्षर गरेको चिठी तिमीलाई आउँछ ।”

५ गते चाक्सीबारीमा कांग्रेसको बैठक बस्यो । मीनले आठै प्रहर सतर्क भएर तस्बिर खिचे । पञ्चायतविरुद्ध उपत्यकामा भएका आन्दोलनको तस्बिर क्यामेरामा कैद गरे । चन्द्रशेखर बसेको होटलमा गएर उनले आन्दोलनको तस्बिर दिए । भारतीय पत्रिकामा समेत उनले खिचेका तस्बिर छापिए ।

आन्दोलनको प्रभाव ‘विमर्श’मा पनि पर्‍यो । ‘विमर्श’ फुट्यो । मीन स्वतन्त्र भएर काम गर्न थाले ।

आन्दोलनसँगै गणेशमानसँग उनको राम्रो सम्बन्ध कायम भयो । चाक्सीबारीको ढोका उनका लागि सधैं खुला थियो । मीनले मनैमन सोचे, “लौहपुरुषको एक दशक शीर्षकमा गणेशमानका दुर्लभ तस्बिरहरू समेटेर पुस्तक निकाल्न सकियो भने त गज्जब ! खिच्छु र निकाल्छु ।”

उनले गणेशमानलाई पछ्याउन थाले । तर, विडम्बना ! मीनले गणेशमानसँग एक दशक बिताउनै पाएनन् । सपना साकार हुनै नपाई ओइलायो ।

मीन खल्तीमा जति पैसा छ, त्यतिको रिल किनेर तस्बिर खिच्थे । विदेशी पत्रपत्रिकामा उनका तस्बिर छापिन्थे । ‘इन्डिया टुडे’मा छापिएको एउटा तस्बिरबापत उनले सय डलर पाए । उनी छक्क परे । “एउटा तस्बिरको यत्रो पैसा ?” उनी ‘शक’ भए । ०४६ सालको आन्दोलनको तस्बिर थियो त्यो ।

त्यो फोटोको कथा अब शुरु हुन्छ ।

जनआन्दोलन सफल भयो । चैत २७ गते विजय जुलुस निस्कियो । टुँडिखेलमा विजयी सभा भयो । मीनले कोण–कोणका तस्बिर खिचे । बहुदलीय व्यवस्था फर्किएको खुसियालीमा उफ्रिएर दुई हात माथि उठाउँदै नारा लगाइरहेकी एक युवतीको तस्बिर मीनको क्यामेराले कैद ग¥यो ।

विभिन्न पत्रपत्रिकाले तस्बिर मागे । मीनले आफूलाई मन परेकामध्ये छानेर केही तस्बिर पठाए । जतिलाई पठाए, हरेकमा ती महिलाको तस्बिर थियो । तर कसैले पनि छापेनन् त्यो तस्बिर । सबैले नेताकै तस्बिर रोजे ।

केही समयपछि ‘डन अफ डेमोक्रेसी’ नामक पत्रिका प्रकाशन भयो । त्यसको आवरणमा त्यही तस्बिर थियो । किन राख्यो त्यो तस्बिर ‘डन अफ डेमोक्रेसी’ले आवरणमा ? मीनले अर्थ खोज्न थाले ।

पत्ता लगाए । कारण रहेछ, ‘डोमिनेटेड बाई द पिपुल्स भ्वाइस पावर ।” त्यो किताबको सम्पादक जर्मन नागरिक थोमस बङ थिए ।

मीनले खिचेको तस्बिरकी ती महिला को थिइन् ? उनी आफैंलाई थाहा थिएन । जुलुसबाट कसैले बुरुक्क उफ्रिएर नारा लगायो । मीनलाई गज्जब लाग्यो । उनले क्यामेराको बटम थिचे, तस्बिर कैद भयो ।

किताबले छापेपछि बल्ल पत्रिकाले त्यो तस्बिर माग्न थाले । कतिपय पत्रिकाले त किताबबाटै खिचेर पनि प्रयोग गरे । 

राजा ज्ञानेन्द्रले ‘कू’ गरेपछि कांग्रेस र एमालेले तत्कालीन सरकारविरुद्ध आन्दोलन शुरु गर्दा पोस्टरमा समेत त्यही तस्बिर प्रयोग भयो । कांग्रेस र एमाले दुबैले त्यही तस्बिर आफ्नो पोस्टरमा प्रयोग गरेका थिए । भित्तामा दुबै दलले त्यही पोस्टर टाँसेका थिए ।

नेपाल बन्दको दिन थियो । खानेपानी संस्थानमा काम गर्ने एकजना दाइसँग मीन गफ गर्दै साँझ ‘हिमाल’ खबरपत्रिकाको कार्यालयबाट घर फर्किरहेका थिए ।

“ए मीन ! ती महिलालाई के फिल भयो होला है ? कांग्रेसले पनि त्यही फोटो टाँसेको छ, एमालेले पनि त्यही फोटो टाँसेको छ,” सँगै हिँड्दै गरेका दाइले मीनलाई पोस्टर देखाउँदै भने ।

संयोग नै थियो— जिफन्टको कार्यालय छेउबाट तिनै महिला लुखुरलुखुर हिँड्दै त्यतै आइरहेकी । मीन ‘शक’ भए । उनले चिनीहाले । अनुहार चिने पनि नाम थाहा थिएन । भने, “ल, उहाँ नै हो, उहाँलाई नै सोध्नुस् ।”

\"\"

एकछिन कुराकानी भयो । उनले भनिन्, “यही कुरामा जिफन्टसँग झगडा गरेर आएकी । एमालेले मेरो फोटो मलाई नै नसोधी कसरी छाप्यो ? मलाई सोध्नु पर्दैन ?”

मीनले भने, “किन सोध्नु पर्‍यो तपाईंलाई । मैले खिचेको फोटो हो नि ! फोटोमा तपाईं भए पनि त्यो फोटो त मेरो हो । मलाई पो सोध्नुपर्ने होइन ? बरु कांग्रेसले चाहिँ छाप्नुअघि भीमसेनदास प्रधानले मसँग सोध्नुभएको थियो ।”

“हैन, कांग्रेसले छापेकोमा त मलाई केही आपत्ति छैन,” ती महिलाले भनिन् ।

उनी कांग्रेसकी कार्यकर्ता रहिछन् । पीके (पद्मकन्या क्याम्पस) पढेकी । त्यही बेला विजय सभामा सहभागी हुँदा मीनले उनको तस्बिर खिचेका थिए ।

मौकामा चौका छोपिगए मीनले, उनकै पोस्टरअगाडि उभ्याएर उनकै तस्बिर खिचे । केही कुरा सोधे । ‘नेपाली टाइम्स’लाई समाचार भयो । कुन्द दीक्षितले ‘फलोअप स्टोरी’ भन्दै छापे ।

त्यही मौकामा मीनले उनको नाम सोधे । दुर्गा थापा रहेछ । “महालेखापरीक्षकको कार्यालयमा जागिर खाइछन् । काजमा खटिएर एयरपोर्टदेखि भन्सारसम्म पुगेको सुनाइन् । ट्रेड युनियनको सदस्यसमेत भइछन्,” मीनले दुर्गाबारे सुनाए ।

० ० ०

०४४ देखि व्यावसायिक फोटोग्राफी शुरु गरेका मीनको हातमा कहिल्यै पनि क्यामेरा छुट्दैन । सधैं दुई क्यामेरा बोक्ने मीनले थुप्रै स्वदेशी तथा विदेशी पत्रपत्रिकामा काम गरे । नेपालको ‘विमर्श’ देखि फ्रेन्च पत्रिका ‘ला फिगारो’सम्म उनले कला देखाए । ‘न्युयोर्क टाइम्स’सम्ममा उनका तस्बिर छापिए । जर्मनी, जापान तथा हिन्दी भाषाका थुप्रै पुस्तकमा उनका तस्बिर आवरणदेखि भित्री सामग्रीमा छापिएका छन् ।

आम तस्बिरभन्दा फरक खिच्न रुचाउने मीनलाई सधैं भिन्न कोणको खोजी हुन्छ ।

माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण भएको थियो । बेलायती पत्रकारहरू अध्यक्ष प्रचण्डको अन्तर्वार्ता लिन चाहन्थे । मीनले माओवादी नेतृत्वसँग प्रस्ताव राखे । नेतृत्व तयार भयो । बेलायतबाट पत्रकार आए । बुद्धनगरमा माओवादीको पार्टी कार्यालय थियो । मीनसहित बेलायती पत्रकार पार्टी कार्यालय पुगे । मीनलाई देखेपछि ‘ए मीन पनि छौ, तिमी आएछौ, त्यसो भए म निस्किएँ’ भन्दै डा. बाबुराम भट्टराई बाहिरिए । अन्तर्वार्ता सकियो ।

मीनले भने, “अध्यक्षज्यूको एउटा पोट्रे फोटो त लिनैपर्‍यो । त्यहाँबाट उठ्नुस् ।”

“कहाँ खिच्ने त ?” प्रचण्डले सोधे ।

मीनले प्रचण्डको ‘वर्किङ टेबल’ इंगित गर्दै भने, “त्यहाँ ।”

तस्बिर लिएर मीन कुन्दकहाँ पुगे । पहिलोपटक प्रचण्ड ‘नेम प्लेट’सहितको आफ्नो ‘वर्किङ टेबल’मा बसेको तस्बिर ‘नेपाली टाइम्स’मा छापियो ।

यो पनि ऐतिहासिक तस्बिर थियो ।

० ० ०

अहिले ललितपुरको गोदावरीस्थित टौखेलको सिर्जना घरमा मीनले खिचेका तस्बिर प्रदर्शनीमा राखिएका छन् । फोटो पत्रकारिता करिअरको शुरुदेखि अहिलेसम्मका ‘सेलेक्टेड’ ८७ वटा तस्बिर राखिएका छन् । मे ५ बाट शुरु भएको प्रदर्शनी जुन २८ सम्म चल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC