काठमाडौं । नेपालिज स्कलर्स एसोसियसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टा र नेपलिज क्यानेडियन सोसाइटी अफ एडमन्टन, एडमन्टन, क्यानाडाको संयुक्त आयोजनामा हालै “तेस्रो नेपाली कार्यशाला गोष्ठी“ सम्पन्न भएको छ । क्यानाडाको अल्बेर्टा तथा अन्य स्थानमा रहेर अनुसन्धान गर्ने तथा अनुसन्धानमा यसमा रुची राख्ने करिब ६० जना नेपाली विज्ञ र अनुसन्धानकर्मीले गोष्ठीमा भाग लिएका थिए ।
नेसाबाट प्राप्त जानकारीअनुसार अनुसन्धान र नवीन प्रयोगको माध्यमबाट शिक्षा, प्राज्ञिक तथा व्यावसायिक व्यक्ति र नेपाली समुदायलाई जोड्ने ‘लिंकिङ एकेडेमिआ, प्रोफेसनल एन्ड कम्युनिटी थ्रो रिसर्च एन्ड इन्नोभेसन’ शीर्षकको कार्यशाला गोष्ठीमा क्यानाडामा रहेर विभिन्न विषयमा अनुसन्धान गर्ने १४ जना अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गरेका थिए । इन्जिनियरिङ, स्वास्थ्य विज्ञान र पशुचिकित्सा, विकास तथा सामाजिक विज्ञान र प्राकृतिक तथा वातावरणिय विज्ञान गरी ४ वटा सत्र आयोजना गरिएकोे थियो ।
कार्यशालाको आरम्भमा युनिभर्सिटी अफ अल्बेर्टाका संयोजक उज्वल तिवारीले उक्त कार्यक्रम उपस्थित सहभागीहरु, कार्यपत्र प्रस्तोताहरु, कार्यशालाको बिभिन्न चरणहरुका अध्यक्षता गर्ने प्राज्ञिक व्यक्तित्वको स्वागत गरेका थिए ।
अल्बेर्टा राज्यको भौतिक पूर्वाधार मन्त्रालयमा ऊर्जा तथा वातावरण विशेषज्ञरुपमा कार्यरत डा. अर्जुनबहादुर केसीले नेपालमा विद्युतिय सवारी साधनको आवश्यकताका बारेमा प्रकाश पारेका थिए । राष्ट्रको ब्यापार घाटा कम गर्न, पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधनले गर्ने प्रदूषण कम गर्न नेपालले विद्युतीय सवारी साधनलाई बढावा दिन आवश्यक नीति नियम र संरचना बनाउन ढिलाभइसकेको औँल्याएका थिए ।
अल्बेर्टा सरकारमा बाँध (ड्याम) विज्ञको रुपमा कार्यरत मोहनाथ आचार्यले बाँध (ड्याम) तथा जलविद्युत्मा हुनसक्ने विपत्तिको आपातकालीन तैयारी र व्यवस्थापन विषयमा प्रकार पारेका थिए । आचार्यका अनुसार नेपालमा अहिलेसम्म पनि बाँध र जलविद्युत् निर्माण गर्दा तल्लो तटीय क्षेत्र हुने जोखिमलाई अध्ययन गरिएको नदेखिएको र हाम्रो जस्तो उच्च भूकम्पीय जोखिम भएको क्षेत्र यस्तो सम्भावित विपद्को आपातकालीन तैयारी र व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण हुन्छ ।
रिजाइना सहरका सहरी योजनाकार डा. पुण्यसागर मरहट्टाले नेपालका विेशेषगरी काठमाडौंमा विकासको नाममा भएको संस्कृति र ऐतिहासिक तथा पुरातात्विक संरचनाको विनाश तथा नेपालको मौलिक वैैज्ञानिक निर्माण पद्धति र सहरी बिकासलाई गरिएको अपहरणका सम्बन्धमा रानीपोखरीको उदाहरण सहित प्रकाश पारेका थिए ।
डा. जनकराज आचार्यले नेपालीमूलका क्यानाडावासीले ५५, ६० वा ६५ बर्षमा अवकाश लियर बाँकी जीवन क्यानाडा र नेपाल बिताउन लाग्ने अनुमानित खर्च प्रस्तुत गर्दै अवकाशमा क्यानाडामा पाइने सुबिधा लिएर नेपाल बस्नु आर्थिकरुपले धेरै सहज हुने तथ्याङ्क प्रस्तुत गरेका थिए ।
कार्यक्रममा युनिभर्सिटी अफ अल्बेर्टामा अध्ययनरत प्रशन्ना पोखरेलले नेपालमा रातो पाण्डालगायत अन्य लोपोन्मुख जनावारलाई संरक्षण गर्न तिनको व्यवहारको अध्ययन गरी संख्या वृ्िरध्द गर्न आवश्यक वातावारण निर्माण गर्न सकिनेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा डा. रेमन्त केसीले क्यान्सर, युवराज पौडेलले नेपालमा बाल विवाह र परीवार नियोजन, प्रेम पोखरेलले प्रतिकूल वातावरण र नयाँ माटोमा हुर्कन सक्ने बिरुवाको विकास, अनिमेश केसीले सौर्य ऊर्जा, डा. दिपक पुडासैनीले विषाक्त वायुको नियन्त्रण, डा. कृष्ण काफ्ले गाई, उज्ज्वल तिवारीले नेपाली मनसुनको गतिशीलता, मधुसुदन रिमालले प्राचीन नेपालको स्वास्थ्य पध्दति र डा. भरतमान श्रेष्ठले नेपालमा जमिन प्रयोगको परिवर्तनको बारेमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जुनेली नेपाली विद्यालय एडमन्टनका विद्यार्थीले पोस्टर प्रदर्शन गरेका थिए । कार्यक्रमको अन्त्यमा रामकृष्ण शर्मालेसहभागी सबैलाई धन्यवाद दिएका थिए ।