site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धून बेचेर नुनको जोहो
Sarbottam CementSarbottam Cement

मन्दिरको पित्तलको गजुरमाथि घामको स्वर्णआभा छाउँछ । एक हुल मलेवाहरू वसन्तपुरतिर पखेटिन्छन् । यात्रु पर्खिरहेका लहरै रिक्सावालाहरू दिक्दारलाग्दो उच्छवास छाड्छन्– “बेलुका हुन लागिसक्यो आज त बोहोनीसमेत पो भएन !”

‘छाड बाटो छाड..’ एक हुल भरियाहरू अजङ्गको भारी बोकेर आइपुग्छन् र विशालबजारतिर सोझिन्छन् । साँझपख फुटपाथ पसलेहरू गल्ली नै ओगटेर लत्ताकपडा बेचिरहेका छन् र बटुवाहरू मोलतोल गरिरहेका छन् । 

मानौँ न, इन्द्रचोक जीवन भोगाइको पाठशाला होइन, यो त पसिनाको प्रयोगशाला पनि हो । यायावरीका अनेककानेक यत्न देखिन्छन् त्यहाँ ।

Prabhu Bank
Agni Group
NIC Asia

इन्द्रचोकको बीचैमा सुन पसल छ । त्यसैको पेटीमा अडेस लागेर मुरली, बाँसुरी बेचिरहेका छन् मन्सुर । १५ वर्षदेखि त्यही थलोमा मुरली बेचेर जीवनको धून जगाउँदैछन् । र, ९–१० जनाको परिवार यही बाँसुरीले धानेको छ उनको ।

“तपाईंको पूरा नामचाहिँ के नि ?”

Global Ime bank

“मन्सुर, सारा इन्द्रचोकले मन्सुरै भनेर चिन्छ बुझ्नुभो !,” मीठो लवज निकाल्छन् । मानौं, मुरली–बाँसुरी बेच्दाबेच्दै आवाज पनि त्यस्तै श्रुति सुधा भइसकेको छ उनको ।

गोरखपुर घर । भारत त जन्मिएमात्रै । कर्म नेपालमै गरे । ५० वर्ष भइसक्यो, नेपालका गल्ली चहारेर परिवारको पेट पालेको ।

“यी.. यही मुरली बेच्ने त हो हजुर । अरू के गर्नु ?” फिस्स हाँस्छन् उनी ।

बाँसुरी बेच्ने मन्सुरको पुर्ख्यौली पेसा हो । बाबुबाजेबाट विरासतमा पाएका भनौँ । पुर्ख्यौली पेसासँग जोडिएको किस्सा, कहावत केही पनि थाहा छैन । उनलाई यत्ति थाहा छ– उनीहरूको सम्पत्ति भन्नु त्यही मुरली, बाँसुरी हो । त्यही बेचेर पेट पूजा गर्दै आएका छन् उनीहरूले ।

“कृष्णजीको बाँसुरी हाम्रो त भगवान हो यो,” फेरि हाँसे मन्सुर ।

० ० ०
सानामा लाग्थ्यो– सिंगो भारतवर्ष दुःखै–दुःखको भवसागर हो ।  अझ भनौँ न यो त ‘कुम्भिपाक नर्क’ हो । यहाँ जन्मनले दुःख सिवाय केही पाउँदैन ।

सानामा असाध्यै दुःख पाए । र त, उछिट्टिएर नेपाल आए उनी ।

“साथीहरूले जाउँ भने लहैलहैमा लागेर आएँ, नेपालसँग मायाप्रीति बसिहाल्यो । छोडेर जानै सकिनँ,” नेपाल आउनुपछाडिको यसबाहेक अर्को कथा छैन उनको ।

तिनताक नेपालीहरू यता दुःख पाइयो भने ढोके, कुल्ली काम गर्न भारत हानिन्थे । अतिसय दुःख पाइयो भनेर भारतीय चाहिँ कुम्लोकुटुरो च्यापेर नेपाल तेर्सिन्थे । आफ्नो दुःख पहाडको अर्काको दुःख तिल, यसैलाई भन्दा हुन् ।

“अहिले गोरखपुर त गर्मीले आगो बलेको छ । जहान, छोराछोरी हफहफी बाफिएका छन् । काठमाडौँ त निकै स्वर्ग छ नि हजुर । हेर्नुहोस् त यस्तो धूपमा पनि सररर्र हावा चलेको छ । केही बेरमा पानी पर्छ, शीतल हुन्छ,” आह्लादित हुँदै आकाश उद्वीक्षण गर्छन् उनी ।

नेपाल भित्रँदा ओठमाथि झुसिला रौँसमेत देखा परेका थिएन् । अहिले कपाल पूरै तिल–चामल भइसक्यो । तर पनि उनलाई नेपाल छाडिहाल्न मन छैन । एक त कमाइ राम्रै छ । अर्को यहाँको तिलस्मी हावापानीले मन उत्फुल्ल तुल्याइरहन्छ ।

लामो लठ्ठिमाथि बाँस अड्याएका छन् र त्यसमा थरीथरीका मुरली, बाँसुरी अड्याएका छन् । त्यही बोकेर इन्द्रचोक, असन, वसन्तपुर भौँतारिइरहन्छन् ।

कहिले मनग्गे व्यापार हुन्छ । कहिले बोहोनीसमेत नगरी डेरातिर सोझिन्छन् उनी ।

“पहिलेजस्तो कमाइधमाइ छैन हजुर । बाँसुरी बजाउने मान्छे पनि त हुनुपर्‍यो,” उद्विग्न देखिन्छन् उनी ।

उनीसँग ए, बी, सी स्केलका बाँसुरी छन् । पचास रुपैयाँदेखि दुई सयसम्मका । “बाँसुरी चिनेकाले धेरै दिँदैनन् । नचिनेकाले बिरलै किन्छन्, खासै महँगो मूल्यमा बेच्न पाइँदैन,” फेरि हाँसे उनी ।
 
दश वर्षअगाडिसम्म आजको अवस्था थिएन । दिनको पचास वटासम्म बाँसुरी बेचेका छन् उनले । त्यसबीचमा धेरै फेरवदल आयो । बाँसुरी बजाउनेहरू अस्ताउँदै गए । नयाँ पुस्ता नूतन उपकरणका दासी बने । कुनै समय गीतसंगीतमा बाँसुरीको धून अनिवार्यजस्तै प्रयोग हुन्थ्यो । अहिले कर्णसुधा धूनका लागि बाँसुरी नै आवश्यक पर्दैन, बाँसुरीजस्तै आवाज निकाल्ने अत्याधुनिक उपकरण बजारमा पाइन्छन् । लोकलयबाट क्रमशः बिस्थापित हुँदैछन् बाँसुरी ।

“मोबाइलले सबै चौपट पार्दियो हजुर । सबैकुरा मोबाइलमै छ । 

चाहेको धून सुन्न बजाउन सक्नुहुन्छ । हाम्रो बाँसुरी को किन्छ ?” खुइया काढ्छन् उनी ।

“बाँसुरी देख्दा पनि छक्क पर्नुपर्ने अवस्था आइक्यो,” खस्रो दाह्रीमा औँला दह्राल्छन् मन्सुर ।

उनीसँग केही वान्कीपूर्ण काठे बाँसुरीसमेत छन् । नेपाल घुम्न आएका विदेशीले आँखा लगाउँछन् कि भनेर राखेका तर फाट्टफुट्टबाहेक विदेशीले बाँसुरी किन्न मन गर्दैनन् ।

“बाँसुरी नै सिरानी हालेर सुतेकाले त बजाउन छाडे, विदेशीले कसरी चिन्नू !,” अनुहार सोहोरिन्छ उनको ।

०  ० ०
 
पुस्तैनी पेसा भए पनि बाँसुरी बजाउने कला छैन उनीसँग । कोही गाहकी आयो भने अलिअलि बजाउँछन् । “जबरजस्ती कहाँ बजाउन सकिन्छ र ? कि त कृष्णजीले दिनुपर्‍यो त्यो कला, कि त अभ्यास गर्नुपर्‍यो,” प्रष्ट्याउँछन् उनी ।

बजाउन जान्नेले त आफैँ बजाएर, छानेर लैजान्छ नि, बेच्नेले किन बजाउन जान्नुपर्‍यो,” बाँसुरीजस्तै सोझो जवाफ दिन्छन् उनी ।

त्यसबाहेक बाँसुरी बनाउन पनि आउँदैन उनलाई । काठ, निगालो बाँस काटेर त्यसमा सात वटा प्वाल खोपेर तयार पार्नुपर्छ बाँसुरी । त्यही आकारको मुरलीको मुखमा चाहिँ ठेडी ठोकेर मुस्किलले हावा छिर्ने बनाउनुपर्छ ।

तर, उनी जान्दैनन् । भन्छन्, “गोरखपुरमा कारखाना नै छ यसको, त्यहीँबाट किनेर ल्याउँछु ।”

नेपालमा ग्रामीण भेगमा बाँसुरी बनाउने बाँस, निगालो, नर्कट प्रशस्तै पाइन्छ । गाउँघरतिर आफैँले बाँसुरी खोपेर बजाउने चलन अद्यपर्यन्त छँदैछ ।

तर, उनीहरूले पूर्वी नेपालसँग सिमाना जोडिएको भारतीय राज्य आसाम, सिलगुढीबाट बाँस ल्याउँछन् र कलात्मक मुरली, बाँसुरी तयार पार्छन् ।

कुराकानीकै क्रममा दुईजना गाहकी आए र तिनले बालबच्चाका लागि बाँसुरी किनेर बाटो लागे ।

“देख्नुभो, उहिले यो हाम्रो वाद्यसामग्री थियो । सहरमा नामुद वंशीवादक पनि थिए । उनीहरूको धूनमा लट्ठिनेहरू कति हुँदा हुन् । तर, अहिले यो त खेलौना पो बन्दैछ,” गम्भीर देखिए ।

कुरा गर्दैगर्दा महानगरीय प्रहरीको भ्यान अघिल्तिर देखा पर्‍यो । भेडाको हुलमा बाघ पसेजस्तो तितरवितर भए फुटपाथ पसले ।

“ल है हजुर फेरिफेरि पनि कुरा गरौँला । अहिले प्रहरीले सबै बाँसुरी उठाइदियो भने वर्षभरिकै कमाइ पो स्वाहा हुन्छ,” अलि पर्तिर पुगेर छेका लागे उनी । अनुहारको डर भने अझै ओझेल परेको थिएन ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC