site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आफ्नै प्रतिबद्धता तोड्दै अभिनेता
Ghorahi CementGhorahi Cement

काठमाडौं । दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने र विपीन कार्की अहिलेका लोकप्रिय अभिनेता हुन् । यी अभिनेता अभिनीत चलचित्रले ‘बक्स अफिस’मा राम्रो उपस्थिति जनाउन सकून् या नसकून् तर यी अभिनेताको सधैं तारिफ हुँदै आएको छ । चलचित्र ‘फ्लप’ भए पनि निर्देशक तथा कथाकार नै त्यसको बढी जिम्मेवार मानिँदै आएका छन् । समीक्षकहरुबाट अभिनयको सधैं तारिफ हुन्छ, दर्शकले पनि उनीहरुको कामको तारिफ गर्छन् तर पनि अधिकांश चलचित्र ‘फ्लप’ । 

अशोक शर्मा निर्देशित चलचित्र ‘जय भोले’ निर्माण घोषणा कार्यक्रममा होटल र्याडिसनमा अभिनेता खगेन्द्र लामिछाने चलचित्र लेखकहरुलाई चुनौती दिँदै भन्दै थिए, "चलचित्रको राम्रो कथा लेख्ने व्यक्ति आऊन्, म आजै यही मञ्चबाट घोषणा गर्छु, म आजैबाट चलचित्रको कथा लेख्न छोड्दिन्छु ।" आफूलाई चित्त बुझ्दो कथा नभेटेकाले आफ्नो चलचित्रका लागि आफैं कथा लेख्ने गरेको उनको स्पष्टोक्ति थियो ।  

उनकै विचारसँग मिल्दोजुल्दो विचार छ अर्का अभिनेता दयाहाङ राईको पनि । आफूसँग आइपुग्ने अधिकांश स्क्रिप्ट चित्तबुझ्दो नहुने उनी बताउँछन् । उनकै शब्द सापटी लिने हो भने राई ‘अफर’ आएका ९० प्रतिशत चलचित्रलाई नकार्छन् । चलचित्रको क्याप्टेन निर्देशक हो भन्ने उनी एउटा व्यक्ति विशेषले मात्रै चलचित्र नचल्ने बताउँछन् । “म एक्लैले चलचित्र चल्ने भए अरु एक-दुई जना राखेर म, सौगात अथवा विपीनलार्ई राम्रो पारिश्रमिम दिएर अभिनय गराए भैगयो नि,” राई अगाडि थप्छन्, “तर यसरी चलचित्र चल्दैन । त्यसैले चलचित्रमा कथासँगै पात्र पनि कथालाई न्याय गर्न सक्ने हुनुपर्छ, अनिमात्रै चलचित्र राम्रो बन्छ ।”

Agni Group

त्यसो त उनले सुरुमा भनेजस्तै बजारमा रुचाइएको एउटा कलाकारलाई लिएर चलचित्र बनाउनेको पनि ठूलै भीड छ । त्यस्ता चलचित्र कस्ता बन्छन्, त्यो बजारले बताइसकेको छ । 
सकेसम्म कथा हेरेर मात्रै चलचित्रमा साइन गर्ने गरेको बताउने उनी आर्थिक कारणले पनि संख्यात्मक रुपमा आफ्नो चलचित्रको संख्या बढी रहेको उनी स्वीकार्छन् । 

दयाहाङकै समकालीन हुन् सौगात मल्ल । सञ्चारमाध्यमसँग लुक्दै हिँड्ने उनी पनि ‘चुजी’ हुँ भन्छन् । आफूलाई चित्त नबुझेसम्म चलचित्रमा काम नगर्ने बताउने उनका चलचित्र पनि बर्सेनि बाक्लै रुपमा सार्वजनिक हुन्छन् । राम्रो कथा भेटिए मात्रै काम गर्छु भने पनि पर्दामा हेर्दा उनको भनाइ मेल खाँदैन । अभिनयको तारिफ नगर्ने नभेटिए पनि चलचित्र हेरेर नाक नखुम्च्याउने दर्शक भेट्न भने गाह्रै पर्छ । 

Global Ime bank

“कामका लागि धेरैले आग्रह गर्नुहुन्छ तर मलाई चित्तबुझ्दो स्क्रिप्टमा मात्रै काम गर्छु । बोल्नुभन्दा पनि कामले पुष्टि गरोस् भन्ने लाग्छ त्यसैले म सकेसम्म नयाँ र समाजमा केही सन्देश दिने चलचित्रमा मात्रै काम गर्छु ।” उनको यो भनाइको औचित्य पुष्टि गर्ने चलचित्र भेट्न सजिलो छैन ।

सौगात र दयाहाङजस्तै रङ्गमञ्चबाट रजतपटमा फड्को मारेका अभिनेता हुन् विपीन कार्की । थोरै तर फरक र राम्रा चलचित्रमा मात्रै काम गर्ने प्रतिबद्धता जनाउने विपिनको प्रतिबद्धता पनि बोलीमै सीमित हुने छाँटकाट देखिँदैछ । उनका फ्लप चलचित्रको सूची पनि लामो हुँदैछ । 

भलै विपीनअभिनीत फ्लप चलचित्र ‘लालपुर्जा’ र ‘नाका’मा उनको अभिनयको चौतर्फी प्रशंसा नै भयो । चलचित्रले बक्स अफिसमा कमाल देखाउन नसके पनि विपीनलाई यी चलचित्रले अभिनयमा थप पारंगत नै बनाए । दर्शकमाझ आफ्नो अभिनय कौशल दुर्बलभन्दा अब्बल नै बन्दै गएको सन्देश दिन सके । 

“राम्रो पारिश्रमिक लिएर राम्रो काम गर्छु तर चलचित्रको संख्या मात्रै बढाउँदिन । वर्षमा एउटा वा दुईटा चलचित्रमा मात्रै काम  गर्छु,” विपीन भन्छन् । यो वर्ष उनको ‘हरि’ रिलिज हुँदैछ । ‘फनफनी’मा अनुबन्ध भए पनि कथामै चलचित्र अड्किएपछि यसको रिलिज निश्चित छैन । ‘प्रसाद’मा भने उनले ‘साइन’ गरिसकेका छन् । आफैं पनि चलचित्र निर्माण गर्ने उनी तयारीमा छन् । अहिलेसम्म संख्यामात्रै नबढाउने आफ्नो प्रतिबद्धतामा भने विपीन अडिग देखिएका छन् । 

केही दिनअघि खगेन्द्र लामिछानेले भनेजस्तै राम्रो कथा भएको चलचित्र पाएछन् । चलचित्र ‘गोपी’को कथा सुनेपछि आफूले उक्त चलचित्रलाई लत्याउन नसकेको सुनाए । वर्षमा एउटा मात्रै चलचित्र गर्ने बताउँदै आएका उनी राम्रो कथा देखेपछि आफ्नै प्रतिबद्धता लत्याउँदा पनि फरक नपर्ने बताउँदै भन्दै थिए, “संख्या बढाउने भन्ने त होइन । अभिनेताका लागि फिल्मको अफर आउनु सुखद कुरा हो । ‘गोपी’ फिल्म त्यस्तै थियो । कथा सुनेपछि मैले छाड्नै सकिनँ ।”

'गोपी'लाई सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । 

खगेन्द्रले अगाडि थपे, “नेपालको सन्दर्भमा एउटा कलाकारले वर्षमा एउटा मात्र फिल्म गरेर जीवन चलाउन गाह्रो हुँदोरहेछ । बलिउडमा जस्तो एउटा फिल्म गरेर करोडौं पाउने भए पो २–३ वर्षमा एउटा फिल्म गरौँ भन्ने हुन्छ । नेपालमा वर्षमा एउटा फिल्म गरेर जीवन चलाउनै गाह्रो हुने भएपछि वर्षमा दुईवटा चाहिँ गरौँ भन्ने लागेको छ ।” 

‘डम्बरुको डन्डिबियो’बाट अपेक्षित सफलता पाउन नसकेका खगेन्द्रको चलचित्र ‘जय भोले’ दसैंको फूलपातीका दिन रिलिज हुँदैछ ।  

वि.सं. २०२२ सालदेखि नेपालमा चलचित्र निर्माण सुरु भए पनि चलचित्र क्षेत्रले अझै अपेक्षित रुपमा फड्को मार्न सकेको छैन । सीमित बजारका कारण सानो लगानीमा चलचित्र निर्माण गर्नुपर्ने बाध्यता छ । फलतः कम पारिश्रमिकमा काम गर्नु पर्दा कलाकार जीविकोपार्जनका कारण पनि आफ्नै आदर्शमा बाँच्न सक्तैनन्  । र, गुणस्तरमा भन्दा पनि संख्या जोड दिन पुग्छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC