साहित्य र कला

तिलस्मी प्रमोद

तिलस्मी प्रमोद

– अक्षर काका


पुतलीसडकको पलेंटी । हामी दुई उनको प्रतीक्षामा थियौं । छिनमै लुखुरलुखुर हिँड्दै भित्र छिरे । घाँटी–घाँटी आइपुगेको कपाल । चिउँडोमा चुस्स दाह्री । फिस्स हाँसेर हामीलाई कुनातिर लिएर गए । कफी अर्डर गरेपछि उनी सोझै काठमाडौंको चिन्तामा डुबे ।

“गर्न चाहने हो भने त रातारात बाटाघाटा बन्दा रहेछन् नि !” खुइय गरे, “कार्यकारी अधिकार हुनेहरूले नचाहेर पो देश नबनेको रहेछ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने दिन ढिप्किँदै जाँदा वर्षौंदेखि घाइते सडकहरू एक्कासि तंग्रिन थालेका थिए । मोदी हिँड्ने बाटाघाटा टालिएका मात्र थिएनन्, धोई–पखाली चिल्ला बनाइएका थिए ।

“देख्नुभो त ? इच्छाशक्ति हुने हो भने विकास गर्न कसैले रोक्न सक्दैनरहेछ नि !” उनी भन्दै थिए, “कसले रोक्छ होला विकास ? तपाईंलाई के लाग्छ ?”

उनले प्रश्न हामीतिर तेस्र्याए । भन्यौं, “यसमा धेरै पक्ष जोडिन्छन् । अधिकारप्राप्त निकायदेखि सडकछेउका नागरिकसम्म । बरु यो छाड्नुस्, तपाईंचाहिँ कहाँ जन्मिनुभो, कहाँ हुर्किनुभो ?”

हामीले कुराको गाँठो समात्यौं । उनले रोचक संयोग सुनाए ।

“आसाम, ब्रह्मपुत्रको पल्लो किनारमा हरिभक्त कटुवाल दाइ ब्रह्मलीन हुनुभयो, वल्लो किनारमा म जन्मिएँ,” उनी भन्दै थिए, “उहाँले संसार छाडेको वर्ष म जन्मिएँ । त्यसैले पनि होला— कताकता उहाँसँग म गाँसिएझैं लाग्छ ।”

हरिभक्त दिवंगत भएकै साल धर्तीमा पदार्पण भएका प्रमोद खरेलले आफ्नो सांगीतिक जीवनको पोयो फुकाउँदै गर्दा मस्तिष्कको कुना–कन्दरामा कताकता झंकृत हुन्छ ‘मलाई नसोध कहाँ दुख्छ घाउ !’
 
त्यही ब्रह्मपुत्रको नादमा निःस्वास लिएकाले होला— भरजीवन संगीत निनाद भइरह्यो । मन—मथिंगलमा ध्वनित भइरह्यो ।

शिक्षित परिवारमा जन्मिए, हुर्किए । सपना थियो– शल्यचिकित्सक (सर्जन) बन्ने । रसायनशास्त्रमा स्नातकोत्तर पढ्न त्रिविमा भर्ना भएपछि उनको उपनाम जन्मिएको थियो— ‘केमेस्ट्रीको रामकृष्ण ढकाल’ ! भनौं न— रामकृष्ण ढकालको प्रतिछाया थिए उनी ।

“त्यस्तो जादुयी स्वर छ, गीत गाएरै जीविका चलाउलाजस्तो ! केमेस्ट्री पढेर के टाइमपास गरिरा’ होला !” साथीभाइ भन्थे ।

यता डोरेमीमा संगीत सिक्थे । गुरुदेव कामतको सान्निध्यमा । यता पनि सहपाठी भन्थे, “एमएस्सी गरिरहेको मान्छे । पढाइमा उस्तै तीक्ष्ण छ, संगीतमा त टाइमपास गर्न आएको होला ! हामी पो व्यावसायिक गायक त !”

प्रकारान्तरले त्यही टाइमपास गायक, नेपाली आधुनिक गीत–संगीतको खसोखास बन्यो ।

पलेंटीको पाश्र्वभागमा सौम्य मुद्रामा आफ्ना अतीत उधिन्दै थिए उनी । केही अनौठा । केही विलुप्त । र, अधिकांश प्रदीप्त ।

० ० ०

पुख्र्यौली थातथलो ताप्लेजुङ । यायावरीका लागि भारत पस्ने चलन पुरानै हो । त्यसैलाई पछ्याए— पुस्ताले । र, उनी उतै आसाममा जन्मिए ।

तर, जन्मिएको एक वर्ष पनि ब्रह्मपुत्रको सुस्केरामा रम्न र जम्न पाएनन् । झापा आउनु पर्‍यो ।

तिनताक आसाम, सिलिगुडीतिर पढेर आएकाहरूले झापामा अध्यापन शुुरु गर्थे । ३० को दशकको उत्तराद्र्ध । प्रमोदका पिताले पनि आएर दक्षिणी झापामा मास्टरी शुरू गरे । र, त्यसको एक वर्षपछि सपरिवारै झापा बसाइँ सरे उनीहरू ।

बनियानी, सुदूर–कर्णाली लाग्छ उनलाई । ३० वर्षपछि अहिले बल्ल बाटो कालोपत्रे हुँदैछ । मेची राजमार्ग– देशकै पहिलो उत्तर–दक्षिण जोड्ने राजपथको सन्निकट भएर के गर्नु, घर पुग्न १७ किलोमिटर धुलाम्य र हिलाम्य बाटो छिचोल्नुपर्ने । धेरै पछिसम्म बिजुलीको उज्यालो देख्न सीमापारि पुग्नुपथ्र्यो । चोर–डाँकाको बिगबिगी उस्तै ।

झोंडा फाडेर गृहस्थी बसालेको । बाबुआमा फरक–फरक विद्यालयका शिक्षक–शिक्षिका । पढाइबाहेक अन्यत्र मन बहलाउन फुर्सदै पाएनन् ।

जेठा सन्तान, आमाको सामीप्यतामा हुर्किए प्रमोद । शिशु कक्षादेखि कक्षा ७ सम्म आमाकै सान्निध्यता पाए । आमाले त्यतिबेला लक्ष्मी मावि बनियानीमा पढाउँथिन् । त्यसपछिका तीन वर्ष कक्षा ८ देखि १० सम्म भने बाबुको स्कुल हिमाली मावि, पृथ्वीनगरमा पढे ।

बामे सर्ने र ताते गर्ने बेलादेखि नै पढ्न थालेकाले होला— २२ वर्षको कलिलै उमेरमा विश्वविद्यालय तहको पढाइ पूरा गरिसकेका थिए उनले ।

घरबाट पाँच किलोमिटरको दूरीमा फिल्म हल थियो । पढाइबाट फुर्सद पाउनेबित्तिकै फिल्म हेर्न दौडिहाल्थे ।

“फिल्मको त कीरै थिएँ म,” बाल्यकालको स्मृतिदहमा फाल हाल्न पुगे उनी, “चलचित्रका डाइलग कण्ठै हुन्थे । पर्दामा देखिने हिरो–हिरोइनदेखि भान्सेसम्मका नाम पढ्थें र पछिसम्म याद गर्थें । अहिले पनि मुखारू होला कतिपयको त !” फिस्स हाँसे उनी ।

सर्जन बन्ने लक्ष्यका साथ सपनाको कुम्लोकुटुरो बोकेर काठमाडौं हान्निएका हुन् प्रमोद । सर्जनबाहेक अरू कुनै सपना मस्तिष्कमा खाँदिएका थिएनन् । खाँदा, बस्दा गाऊन लगाएर अप्रेसन गरेको मात्रै तर्कना आउँथ्यो । मस्तिष्का तन्तुतन्तुमा चिकित्सकीय भूत नै सवार थियो भनौं ।

आईएस्सी पढ्दा दोस्रो वर्षमा गणित विषय थप रोज्न पाइन्थ्यो । इन्जिनियरिङतिर छड्किन पनि पाइन्थ्यो, त्यो पढे । इन्जिनियरिङतिर शून्य लगाव भएकाले होला— गणित पढेनन् उनले ।

किताबकापीको सामीप्यताबाट फुर्सद पाउनेबित्तिकै गुन्गुनाउथे । भर्खर देशमा प्रजातन्त्र आएको । क्रान्तिको उर्वर भूमि झापा । आगो बलेको थियो तिनताक ।

दिनहुँजसो आमसभा हुन्थे । कुद्दै पुगिहाल्थे उनी । गीत गाउँथे– ‘हेर न सहिदहरूलाई...’, ‘आमा मरें भने...’, ‘आमा दिदी–बहिनी हो...!’

कर्णसुधा थिए उनका लागि ती । हरबखत गुनगुनाइरहन्थे । झ्याउँकीरीझैं भुन्भुनाइरहन्थे ।

“रेडियो नेपालबाट बज्ने हरेक गीत सुन्थें । र, सबै गीत नारायण गोपालले गाएको भन्ठान्थें । मोटो स्वर भएको गीत बज्यो भने नारायण गोपालले नै गाएको भन्ने लाग्थ्यो,” फेरि हाँस्छन् प्रमोद ।

त्यसबाहेक रेडियो नेपालबाट बज्ने विज्ञापन, सूचनाहरू हुबहु कपी गर्थे र चिच्याउँदै हिँड्थे । ती सबैले संगीतसँग चिनापर्ची गराउँदै लगे । भित्रभित्रै गीत–संगीतप्रतिको अभिप्सा जगाउँदै लगे ।

हिरो बन्ने भूत

भारतको सीमावर्ती क्षेत्र । भारतीय चलचित्र नै बढी लाग्थे । मिथुन चक्रवर्तीका ‘फ्यान’ थिए प्रमोद । साइकलको पछाडि मिथुन चक्रवर्ती, माधुरी दीक्षित, अमिताभ बच्चनका तस्बिर झुन्डिएका हुन्थे ।

त्यतिबेलाको एउटा रमाइलो किस्सा सुनाए प्रमोदलेः

६–७ कक्षा कति हो, खासै याद छैन । धुमिल सम्झनाको आभामात्रै मस्तिष्क वरिपरि घुमिरहन्छ । शाही नेपाली चलचित्र संस्थान गठन भएको थियो, यादव खरेल थिए त्यसका प्रमुख । प्रमोदले यादवलाई पहिल्यैदेखि पछ्याउँथे । कसैले भनिदियो– त्यही चलचित्र संस्थानले हो, नेपालमा सबै फिल्म बनाउने, कलाकार छान्ने पनि । केटौले दिमाग, हो क्यारे लाग्यो उनलाई पनि ।

घर आएर चिठी लेखे उनले, “आदरणीय यादव खरेल सर, नमस्कार ! म झापा बनियानीबाट प्रमोद खरेल । मलाई बाल कलाकार हुन औधी रहर छ, फिल्ममा खेलाइदिनुपर्‍यो !”

संस्थानको ठेगानामा दुई रुपैयाँ खर्च गरेर रजिस्टर गरिदिए ।

त्यस्तै एक महिना बितेको हुँदो हो । घरको पछाडिपट्टि अलिक पर मोजाको बल बनाएर खेल्दै थिए । बाटोबाट हुलाकी चिठी बोकेर आउँदै गरेको देखे । उनको मुटु ठप्प अडिएझैं भयो ।

“धन्य भगवान् ! बाल कलाकार बनें म । कति चाँडै पत्र पनि आएको !” खुशीको सीमै रहेन । हातको बल फुत्त साथीतिर मिल्काए । दौडिँदै बाटोमा पुगे । हुलाकीको नजिक पुगेर बडो उत्साहले उभिए ।

केको बालकलाकार बन्नु, ठेगाना नमिलेर पत्र पो फर्किएको रहेछ । 

खङ्ग्रङ्ग भए उनी ।

बालकलाकार भइसकें भनेर अघि साथीहरूलाई फुर्ती लगाएको । कुन मुखले चिठी फिर्ता आयो भन्न जानू, शीतांग भयो शरीर । कलाकार बन्ने मोह त्यहीँबाट टुट्यो ।

स्कुल गयो, घर फर्किएर गृहकार्य गर्‍यो, किताबमै घोप्टियो । एकांकी जीवन । राजवंशीका छोराछोरी घाँसदाउरा गर्न जंगल जान्थे । खेतीपाती, अर्मपर्म धान्थे । आफू घरबाहिर निस्कन पाउनु छैन । मनमा अतिशय रहर पैदा भएपछि उनी दाउरा–घाँस गर्न जंगल जान्थे । खेतमा गएर बीउ पाँज्थे ।

“कहाँ त्यतिमात्रै हो र ! दिनभर आमाहरूसँग खेत पनि पो रोपेको छु,” यति भनिरहँदा उनको अनुहारमा आभा देखिन्थ्यो ।

निमावि तह पढ्दा होचो थिए उनी । बेन्चमा बसेर पढ्दा कहिलेकाहीँ उँघ्थे । निद्राले पढाइ बिग्रिएला भनेर उभिइउभिई पढ्थे ।

“घरमा पनि बाले अग्लो कुसी बनाइदिनुभएको थियो । त्यही कुर्सीमा खुट्टा नगलुन्जेल उभिएर पढिरहन्थें,” उनी अहिले सम्झन्छन् ।

०५१ मा झन्डै ७० प्रतिशत प्राप्तांक ल्याएर प्रवेशिका उत्तीर्ण गरे उनले । त्यसको भोलिपल्टै चिकित्सक बन्ने लक्ष्यका साथ काठमाडौं पँखेटिए र पुतलीसडमा आएर एड्भान्स साइन्स कोर्स गर्न थाले ।

त्यो पुनर्जन्म

पाटन मल्टिपल कलेजबाट उनले आईएस्सी तहको पढाइ पूरा गरे । ०३६ सालको विद्यार्थी आन्दोलनका कारण शैक्षिक सत्र तलवितल परेको थियो । ‘ग्याप’ मिलाउन एक वर्ष पढाइ ‘होल्ड’ गर्नुपथ्र्यो । त्यसको शिकार उनी पनि भए । आईएस्सी सकेपछि जिल्लाकै क्याम्पस पढ्ने भनेर उनी झापा फर्किए र मेची क्याम्पसमा भर्ना भए । आईएस्सी दोस्रो वर्षमा पढ्दा कलेजले शैक्षिक भ्रमण लगेको थियो । सम्झनाका लागि भनेर फोटो पनि खिचेका थिए । फोटो लिएर घर पुगेका थिए उनी । आमाले हेर्न रहर गरिन् ।

त्यतिबेला ‘क्याट ब्याग’ खुब चल्तीमा थियो । त्यसैको पछाडि राखेका रहेछन् फोटो ।

घरमा बत्ती थिएन । इनामेलको बट्टा प्वाल पारेर टुकी बनाइएको थियो ।

झोला ल्याउने भएको, मट्टितेलसहितको बत्तीको भाँडो भुइँमा ढल्यो र आगो सल्किइहाल्यो । नकिजै टिभी हेर्न ल्याएको २४ भोल्टको ठूलो ब्याट्री रहेछ, आगोको ध्यान त्यतै खिचियो । आत्तिएपछि ब्याट्री उचालेर तल फ्याँक्न थालेका थिए, पग्लिएको तेजाबसहितको ब्याट्री हातैमा टाँसियोे ।

“त्यतिञ्जेल पनि हात भेट्यो होला भन्ने लागेको थिएन । आगो सल्किन कम भएपछि हेर्दा त हात झुन्डिरहेको रहेछ । राति नै मेडिकल त गयौं तर प्राथमिक उपचारमात्रै भयो । पानीमा डुबाउँदा पानी नै बाफिलो बनेको थ्यो,” अझै आङ सिरिंग हुन्छ उनको । अढाई महिना लाग्यो औंला जोडिन ।

“घरै खरानी बनाउला जस्तो आगोको मुस्लो छुटेको थियो, कसरी बाँचे हुँला ?” अहिले सम्झँदा पनि कहालिन्छन् । विदारक घटनाबाट बाँचेको क्षण पुनर्जन्म नै पाएजस्तो प्रतीत हुन्छ ।

सपनाको स्थानान्तरण

आईएस्सी दोस्रो वर्ष पढ्दा नै उनको सपनाले बाटो फे¥यो । आफू संगीतकै लागि बनेको भान भयो । घरबाट सर्जन बन्ने सपनामा पाइन हालेर आएका प्रमोदको चाह एक वर्षमै भुत्ते भयो ।

आईएस्सी दोस्रो वर्षको प्रयोगात्मक खण्ड पूरा गर्दानगर्दै क्यासेटको लती भइसकेका थिए । एउटा ‘एम्लिफायर’ थियो, कुमार सानुको ‘नशा’ बिहानदेखि बेलुकासम्म सुन्थे । नारायण गोपाल, किशोर कुमार, मोहम्मद रफी, रामकृष्ण ढकालका सांगीतिक तरंगले उनको चिकित्सकीय सपना विस्थापन गरिदियो । गायक बन्ने सपना प्रतिस्थापन भयो भनौं ।

आईएस्सी तहको पढाइ पूरा भएपछि उनले एमबीबीएसको तयारी नगरेका होइनन् । प्रवेश परीक्षा दिने मनसाय पनि बनाए ।

तर, तनमन संगीततिर ढल्किइसकेकाले चिकित्सकीय चाह ओरालो लाग्दै थियो । त्यही बखत सांगीतिक दुनियातिर पैताला सोझ्याए ।
एमबीबीएसको प्रवेश परीक्षै दिएनन् उनले ।

“नाम निस्किने माहोल पनि थिएन, चाह पनि मुर्झाइसकेको थियो,” अनुहारमा चिकित्सक नबन्नुको दुःखको क्लेस पनि भेटिँदैन । बरु सांगीतिक सफलताको खुशीका मिहिन धर्सा अनुहारभरि फिँजिन्छन् ।

नाटकले थमाएको उपनाम

प्रमोदले अनेक आयामबाट जीवनको आमोद खोजे । बान्किपूर्ण अक्षर लेख्ने पेन्टर पनि हुन् उनी । स्वरमा मात्रै होइन, अक्षरमा पनि उस्तै जादू चलाउँछन् उनी ।

“सांगीतिक करिअरको भरणपोषणका लागि त्यो बाटो पहिल्याएको थिएँ । केही भएन भने पेन्टिङ गरेर भए पनि सांगीतिक जीवन उँभो लगाउँछु भन्ने थियो,” पेन्टिङ गर्नुको रहस्यको गाँठो फुकाउँछन् उनी ।

त्यसबाहेक नाटकसमेत खेलेका छन् उनले । ‘देवी’ टेलिचलचित्रले बजार पिटेको थियो त्यतिबेला । प्रमोदले त्यही भावको नाटक लेखे, आफैं निर्देशन गरे र मञ्चन गरे– ‘साहसी पाइलाहरू ।’

१५ वर्षको नवयौवना । तर, उनले ४०–५० कटेका प्रौढलाई समेत अभिनयमा सामेल गराए ।

‘पूर्णे’को चरित्रबाट कलाकार शिवहरि पौडेल उदाएका थिए । प्रमोदा उता झापामा ‘किस्ने’ बनेका थिए । साहूमहाजनको दमन, उत्पीडिन, गरिब, निमुखाको दुःख–पीडा नै नाटकका मुख्य विषय थिए ।

नाटक हेर्न ८–१० हजार दर्शक भेला भएका हुँदा हुन् । कुमार सानुको ‘साथीसंगी भयो छुट्ने बेला’ भन्ने गीत सुनाएर नाटक मैझारो गरे ।

तर, दर्शकका सामुन्नेबाट उनी कहिल्यै ओझेल पर्न सकेनन् । उनीहरूका आँखावरिपरि त्यही किस्ने र ‘साथीसंगी’ बोलको गीत आइरह्यो । “बाटाघाटामा भेट्दा पनि केटाकेटीले ‘ओई किस्ने’ भनेर बोलाउन थाले !” सम्झँदा पनि मन आह्लादित हुन्छ उनको । 

पहिलो मञ्चीय प्रस्तुति भने यो होइन । आईएस्सी पढ्दाताक नै उनले मोहम्मद रफीको ‘चाहुङ्गा मे तुझे’ गाइसकेका थिए ।

त्यसपछि बीएसस्सी तहको पढाइ पूरा गर्न क्याम्पससँगै काठमाडौं स्थानान्तरण भए उनी । त्रिचन्द्र कलेजमा पढाइले त निरन्तरता पायो नै, सांगीतिक करिअरले पनि गगनलाई माथ गर्दै गयो ।

०५६ सालमा उनले पहिलो गीत रेकर्डिङ गरे, ‘निर्दोषी मायालुलाई ।’ उनकै शब्द र पवित्रजंग खालिङले संगीत भरेको उक्त गीतले प्रमोदको पहिलो तिर्खा मेट्यो ।

त्यसपछि डोरेमीकै कोरस, फाट्टफुट्ट राष्ट्रिय गान, कलेक्सन एल्बममा गाउँदै स्वर उजिल्याउँदै लगे ।

५० कै आधाआधी दशकबाट गीत–संगीतमा उकालो चढेको भए पनि एल्बम निकाल्न कहिल्यै हतारिएनन् उनी । हिट, कन्सर्टतिर ध्यानै गएन । स्वरमै निखार ल्याउनुपर्छ भन्ने लागिरह्यो ।

पहिलो ‘अटोग्राफ’

बीएस्सी अन्तिमतिर थिए उनी । रामकृष्ण ढकालको ‘डाइहार्ट फ्यान’ । कक्षा कोठामा समय मिल्नै हुँदैनथ्यो । ‘ओराली लागेको....’ गाइहाल्नुपर्ने । ‘वर्षातमा उनी रुझ्दा’ सुनाउँदा भोकप्यास बिर्सन्थे साथीहरू ।

एकदिन कक्षामा ‘गल्ती हजार हुन्छन् यहाँ होस हराएका बेला...’ गाउँदै थिए । एकजना सहपाठी तीन–चारवटा बेन्च नै नाघेर अगाडि हुत्तिँदै आइपुगे र भने, “अटोग्राफ, प्लिज !”

“आफ्नै साथीसँग पनि यस्तो एक्साइटेड हुनुपर्छ त ?” केटीहरू खित्का छाड्न थाले ।

“यस्तो क्रेज !” केही क्षण त भावविह्वल बने उनी ।

त्यो नै उनको सांगीतिक करिअरको पहिलो ‘अटोग्राफ’ थियो ।

० ० ०

०५८ साल । एमएस्सीको प्रवेश परीक्षा दिनुपर्ने तर उनको प्रार्थना थियो– नाम ननिस्कियोस् !

किन ? प्रश्न सुन्नासाथ उनको अनुहारमा हाँसो घामझैं फैलियो ।

“गीत–संगीतको मोहले अवर्णनीय तानिरहेको थियो,” जवाफ दिन्छन् उनी ।

‘ड्रिम्स स्टुडियो’मा एउटा राष्ट्रिय गीत रेकर्ड गरेर परीक्षा हलमा पुगे । गार्ड भन्छन्– १५ मिनेट ढिला हुनुभयो ।

बेपर्वाह छन् उनी । कारण– उनलाई प्रवेश परीक्षा उत्तीर्ण गर्नु नै छैन । मन नलागी–नलागी परीक्षा दिएर बाहिर निस्किए । ९० जनाको सिट थियो । झन्डै ४ सय प्रत्यासी थिए । अचम्म ! उनको नाम त ७७ औं नम्बरमा पो निस्कियो !

पास हुनेहरूको सूची पढेर बाहिर निस्किन्छन् त बाहिर गेटमा सहपाठी छात्राहरू फेल भएर भक्कानिइरहेका छन् । कक्षाका अब्बल छात्रा थिए ती । बल्ल पास भएकोमा खुशी भए उनी । अरुको पीडा देखेर पास हुनुको खुशी बोध भयो उनलाई ।

त्यसको केही समयपछि कलेजले नव–प्रवेशी विद्यार्थीलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो । व्यवस्थापक थियो– एमएस्सी दोस्रो तह । एमएस्सी दोस्रो वर्षका केही विद्यार्थीहरूले सांगीतिक प्रस्तुति देखाउने कार्यक्रम पनि रहेछ ।

सहपाठी भन्न थाले, “प्रमोदलाई पनि गीत गाउन दिनुपर्छ ।” 

आयोजकले भने, “खै ! पालो आउँछ कि आउँदैन ! दोस्रो वर्षका थुप्रै विद्यार्थीले नाम टिपाएका छन् ।”

९० विद्यार्थीमध्ये आधा त त्रिचन्द्रकै हुँदा हुन् । प्रमोदका साथीहरूले अड्डी कसे, “नत्र हामी कार्यक्रममा बस्दैनौं ।”

सहपाठीले आयोजकलाई अनुरोधै गरेर मञ्चमा के गाउन लगाएका थिए— चारवटा गीत नगाई मञ्चबाट ओर्लिनै पाएनन् । “अन्तिममा आफ्नै कन्सर्टजस्तो पो भयो !” ओठबाट खित्का छुट्छ उनको ।

० ० ०

बीएस्सीको आधाआधीदेखि नै उनले एल्बमको काम गरिरहेका थिए तर निकालिहाल्ने आँट थिएन । पैसाकै कारणले भन्दा हुन्छ । तर, ०६० सालमा एमएस्सी तहको अध्ययन उत्कर्षमा पुगेपछि उनले ‘प्राप्ति’ एल्बम निकाले ।

“झन्डै डेढ लाख लाग्यो । पहिलो एल्बम नै मेरो सबैभन्दा महँगो एल्बम बन्न पुग्यो । आफ्नोमात्रै खर्चले त के धान्थ्यो ! सबै साथीहरूले पाँच सय, हजार सहयोग गरे,” सहपाठीप्रति अनुग्रहित पनि छन् उनी ।

कालीप्रसाद रिजाल, रमण घिमिरे, न्ह्यू बज्राचार्य, आलोक श्री, राजु सिंह, सचिन सिंह, नारायण ओलीलगायत नाम चलेका संगीतकारले संगीत दिएका छन् त्यसमा । यो नै उनको पहिलो सोलो एल्बम हो । ९ वटा गीत संगृहीत छन् त्यहाँ ।

आर्यन सिग्देल र प्रमोद खरेलले एकैसाथ त्यही एल्बमबाट म्युजिक भिडियोमा ‘डेब्यु’ गरेका हुन् ।

यो गीतले मिडियामा नाम त दियो तर मासमा खासै चिनाएन । पप स्वादको दोस्रो एल्बम ‘सेन्टिमेन्ट्स’ निकालेपछि भने प्रमोदको आयतन बढ्यो ।

सङ्घर्षको मुर्च्छना

एल्बम निकालिसके तर चर्चा कतै हुँदैन । एकदिन गायक–संगीतकार साथीहरूको जमघटमा गएका थिए । त्यहाँ त सबै साथीहरू आ—आफ्ना गीत काउन्टडाउनमा परेको भन्दै उफ्रिरहेका !

प्रमोदले भेउ पाएनन् । काउन्टडाउनबारे थाहा पाउन टेलिभिजन चाहिन्थ्यो । उनको कोठामा टेलिभिजन थिएन । काउन्टडाउनमा पर्न म्युजिक भिडियो चाहिने थाहा पाएपछि भिडियो छायांकन गरे उनले । आफ्नै खर्चमा । उषा पौडेलसँग उनले भिडियो बनाए ।

दोस्रो एल्बम बजारमा आएपछि एकदिन इमेज एफएमले अन्तर्वार्तामा बोलायो । पुतलीसडकबाट हिँड्दै लैनचौर पुगे । हिँड्दाहिँड्दा बाटैमा जुत्ता फाट्यो । सोलै उक्किएछ ! पैसा जोगाउन पैदल हिँडेको, झन् खर्च बढ्यो । अन्तर्वार्ताका लागि बोलाएको समय भइसक्यो, बाटामा जुत्ता सिउने सूचीकार (मोचे) नै भेटिँदैनन् । टेम्पो चढेर मोचे नियाल्दै हिँडेका थिए, शिक्षण अस्पताल पो पुगेछन् ! गायन–सङ्घर्षका यस्ता अनेक किस्सा छन् उनका ।

पढाइले लुगा निचोरिएझैं निचोरिएका थिए उनी । ग्ल्यामरस दुनियाँमा लामो समय भिज्नै सकेनन् । साथीहरू भन्थे, “कस्तो सेन्टी ?”

एमएस्सीको कडा पढाइ । पाठ्यपुस्तकबाट पर्तिर मन डुलाउन पाइँदैनथ्यो । टिठलाग्दो देखिन्थे उनी । साथीसर्कलमा सुन्थे– घमण्डी । चित्त काढिन्थ्यो उनको । यसबाट पार पाउन खुबै पापड बेल्नुपर्‍यो उनले ।

“पपले आधुनिक गीतलाई थिचेको अवस्था थियो । सुगम पोखरेल, अनिल सिंह, सुदीन पोखरेललगायत गायकहरू पिकमा थिए । शुरू–शुरूमा मचाहिँ चल्न सकिनँ,” विगततिर फर्कन्छन् उनी ।

त्यसबाहेक उनले आफ्नो जानरा पनि चिन्न सकेनन् । उनको गायन–कलामा रामकृष्ण ढकालको छाया थियो । ‘प्राप्ति’ पछि भने उनले आफ्नो स्वरको ‘टेक्स्चर’ पत्ता लगाए । र, ‘हाइरेन्ज’का गीतहरूमा अनुबन्धित हुँदै गए ।

उनले जानरा बदलेर ‘हाइरेन्ज’का गीत गाउँदै थिए, संगीतकार महेश खड्काको सम्पर्कमा पुगे ।

प्रमोदले हाइरेन्जको गीत गाउँछन् भन्ने थाहा पाएका महेशले शुरूमै एउटा चलचित्रको गीत प्रस्ताव गरे । जीवनै संगीतसँग एकाकार गराइसकेका प्रमोदले नाइँ किन भन्नू ! उत्साहित देखिए । 

‘पलपलमा’ चलचित्रको शीर्ष गीत थियो त्यो– ‘त्यो अँगालोभरिको माया...।’ रेकर्डिङमै हिट भयो त्यो गीत । चलचित्र आउनपूर्व नै तरंग ल्याइसकेको थियो त्यसले । त्यसपछि भने उनले पाश्र्वगायनबाट पछाडि फर्कनु परेन ।

“पाश्र्वगायनले नै हो मलाई गायक बन्ने अभिप्सा जगाएको,” अझै पुलकित देखिन्छन् उनी । आजसम्म २ सयभन्दा बढी चलचित्रका गीत गाएका छन् उनले ।

उचाइमा पुर्‍याउने त्यो पोखरा...

स्टुडियोमा अभ्यस्त भए पनि संगीतमा सफलताको स्वाद चाखिसकेका थिएनन् । चिकित्सक बन्ने चाहना पचासकै दशकमा बिसर्जन गरिसके पनि मनमा ‘डक्टरेट’को लक्ष्य जीवितै थियो । कहिलेकाहीँ मनमा उछाल पैदा हुन्थ्यो— पीएचडी गर्न बाहिर जाऊँ कि क्या हो !

तथापि उद्देश्य बदलेर हिँडिहाल्न भने सक्दैनथे उनी ।

चलचित्र पत्रकार संघको पहिलो सम्मेलन पोखराको सिटी हलमा आयोजना भएको थियो । प्रमोद पनि गएका थिए त्यहाँ । त्यहीँका रैथाने गीतकार शीतल गिरीले महेशलाई घरमै लगेछन्, कास्कीकोट ।

पानी झमझम परिरहेको । डाँडामा रहेछ घर । डायरी नै लिएर पाना पल्टाए तर एउटाबाहेक अन्य गीतमा मन गएन । मन परेको गीतको भने पानै च्यातेर ल्याएछन् उनले ।

काठमाडौं आएर कम्पोज भयो । तर, कुनै चलचित्रले राख्न मानेनन् । चोभारमै सबै सुटिङ सिध्याउन बानी परेकालाई पोखरा पायक पर्ने कुरै भएन । अलपत्र थियो गीत । गीतकार डा. कृष्णहरि बरालकी छोरीको विवाहको दिन त्यस गीतको चर्चा भयो ।

प्रमोद एल्बमको तयारी सकेर बसेका थिए । सबैले ‘त्यो गीत किन नराखेको ? खत्रा छ त !’ भनेपछि उनको पनि ध्यान खिचियो ।

कोठामा आएर पल्टिन्छन्, निद्रै लागे पो ! भोलिपल्ट महेश खड्कालाई गएर भने, “पोखरावाला गीत मै गाउनुपर्छ कि क्या हो ?”

महेशले पनि ‘आ ! त्यो गीत अर्कैले गाउँछ, तिमी आफ्नो एल्बमको तयारी गर न !’ भन्दै शुरूमा त आनकानी गरेका थिए । संयोगै आइसकेपछि कसरी उम्कन्थ्यो ! तिनै प्रमोदले गाए— ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा !’

त्यही शीर्ष गीतसहितको ‘प्रणय’ एल्बम ०६७ वैशाख १ गते कान्तिपुर एफएमबाट रिलिज भयो । सातादिन नबित्दै गीत हिट भयो । अनामनगरको बाटो हुँदै पुतलीसडकको बाटो आउँथे । तरकारी पसलमा त्यो गीत बजेको सुन्दा उनी जुरुकजुरुक् भए ।

‘पलपलमा’को ‘त्यो अँगालोभरिको माया..’, ‘बाँचेको थिएँ..’ गीतले उनको सांगीतिक आलोक फिँजिइसकेको थियो । ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा’ आएपछि करिअरको सगरमाथामा पुगे प्रमोद । तिनताक कलेज पढाउँथे । कक्षा पस्न गाह्रो हुन थाल्यो । केही वर्षअघिसम्म प्रमोसन पछ्याउन भौंतारिने प्रमोदलाई प्रमोसन आफैंले पछ्याउन थाल्यो ।

आफ्नै सफलतामा आस्वादित हुन नसकिरहेका प्रमोद ‘सेलिब्रिटी’ बने । कन्सर्ट र महोत्सवमा ‘वान्समोर’को नाद धाराप्रवाह गुञ्जिरह्यो । आजसम्म एउटाबाहेक सबैजसो कन्सर्टमा दुई–तीन पटकसम्म गाएका छन् उनले त्यो गीत ।

“त्यो गीतमा एक लुप्त चिज छ, जसले युगौंसम्म जीवित तुल्याइरहन्छ । कहिलेकाहीँ त मलाई लाग्छ– यो गीत भर्खर रिलिज भएको हो,” उद्विग्न देखिन्छन् उनी ।

थरीथरीका फ्यान

दोस्रो एल्बम आएदेखि नै एकजना प्रशंसक थिइन् उनको । असाध्यै ‘क्रेजी’ ।

आफ्नो नाममा प्रमोद जोडेकी उनले निरन्तर पछ्याइन् र नियमितजसो फोन गरिन् । हरेकजसो भेटमा सम्झाउँथे उनले ।

पछि अमेरिकाको भिसा लाग्यो उनको । अमेरिका उड्ने दिनसमेत फोन गरेर भनिन् रे, “हजुरले स्वीकार्नुभयो भने म अमेरिका जान्नँ, एअरपोर्टबाटै फर्किन्छु !”

केही दिनअघि बर्दियामा त्यस्तै घटना भयो । कन्सर्टमा गीत गाइसकेर गाडीमा फर्किंदै थिए । एकजना प्रशंसक बाटो छेकेर सुते । फसाद पो आइलाग्यो !

सुरक्षाकर्मीले उठाएर सोध्छन् त उनी भन्दा रहेछन्, “मेरी गर्लफ्रेन्ड प्रमोद खरेलकी फ्यान हुन् । उहाँसँग एउटा सेल्फी खिचाइदिनुस् न !”

१० मिनेट पर्खिएर ती युगल जोडीसँग सेल्फी खिचेर फर्किए उनी ।

त्यसबाहेक हातमा प्रमोदको ट्याटु खोप्ने, भेट्नेबित्तिकै डाँको छाडेर रुने, अत्ताल्ल्निे, फेसबुकमा प्रमोदको नाम जोडेर खाता खोल्ने शुभचिन्तक कति छन् कति ।

“यी सबै स्वरले जोडेका नाता हुन्,” गर्व महसुस गर्छन् उनी ।

क्रिकेटको विकास गर्ने सोच

झन्डै २ हजार गीतमा आवाज दिइसकेका प्रमोदले जीवनमा पीएचडीको ढोका खुलै राखेका छन् । त्यसबाहेक उनी क्रिकेटको विकासका लागि दिलोज्यान दिएर लागिपरेका छन् । क्रिकेटको विकासका लागि क्यानसँग मिलेर क्यानको ‘एन्थम’ बनाएका  थिए । क्रिकेटको प्रत्यक्ष प्रसारण हुँदा त्यो गीत सधैं गुञ्जिन्छ ।

पछिल्लो समय हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)लगायतसँग मिलेर क्रिकेट रंगशाला बनाउने सोच पालेका छन् । त्यसबाहेक क्रिकेट एकेडेमी खोल्ने र खेलाडी उत्पादन गर्ने दीर्घकालीन सोचसमेत छ उनको ।

कुराकानी बिट मार्नुपूर्व उनले केही आफ्नो रहस्यको कुम्लो फुकाए ।

गीतियात्रामा अप्ठ्यारो–सप्ठ्यारो बेहोरेका गायक प्रमोद पछिल्लो समय किताब लेखनमा व्यस्त छन् । आधाआधी त लेखिसकेका पनि छन् ।

कस्तो किताब आउला त ? आख्यान कि गैरआख्यान ?

प्रश्न बीचमै रोकेर उनले प्रष्ट्याए, “यो विशुद्ध अनुभूति हुनेछ । साथमा आफूले भोग्दै यहाँसम्म आएको जीवनको शब्दकथा त हुने नै भयो !”


तस्बिरः प्रसिम खनाल
 

तपाईंको मत