साहित्य र कला

ओलीजीको के दोष ?

ओलीजीको के दोष ?

– रवि मिश्र


कुन्नि के भा’ हो ? ठूला डोजका पीरहरू उति थाम्दैनन् ज्यानले । तर, परी नै रहन्छन् । अहिले त्यस्तै उल्काको पीरले थामिनसाध्धे भा’छ । पीर आफ्नै खास थिएन । जिन्दगीको नि थिएन । थियो केवल मुलुकको । भन्नुहोला— हैट् ! मुलुकको चिन्ता ? राष्ट्रवादी पो रहेछ क्यारे !

धत् ! त्यो हदको आरोप त नलाउनुस् है ! त्यतिसम्म लत्तो त छोडिन्न । खास चिन्ता मुलुकको थियो । त्यही पनि विज्ञापनतिर अम्बे सिमेन्टले बनाउँछु भन्याथ्यो र ढुक्क हुन थाल्याथ्यो । त्यसपछि देशको चिन्ता अम्बे सिमेन्टलाई बाँढ्दा आधामात्रै भागमा प¥याथ्यो । मन हलुंगो भा’थ्यो । पछि ओलीजी आउनुभो । हुटिट्याउँ सरले आकाश थामेझैं मुलुक एक्लै थाम्न तम्सनुभो । राष्ट्रवादले जीवन पायो । जनतालाई हाइसन्चो भयो । अब देशको चिन्ता लिन नपर्ने भो । गैरदौरेहरूको खेदो खनेरै उहाँ एक्लैले राष्ट्र थेग्नुभो । देशको पीरले कुलमानजीपछिको लोडसेडिङझैं कुलेलम ठोक्यो ।

अचेल देशको भन्दा नि ओलीजीकै पीरले मन थामिनसाध्धे भा’छ । बरा कति खेद्या ? ओलीको राष्ट्रवादको इँजार खुस्कियो भन्या छ कसैले, ओलीको राष्ट्रवादको धोती खुस्कियो भन्या छ कसैले । यस्तो नि हुन्छ ? धोती पनि इजार पनि खुस्किन्छ एकै पटक ? त्यही पनि इँजार खुस्केसी सुरुवाल पो हिँड्छ त । धोती फुस्किन्छ ? कि धोतीको नि इजार हुन थाल्यो ? खैर जे भए नि जनकपुर पुग्दाको उहाँको वेष देख्दा चैं इँजार फुस्केको हो कि झैं शंका लाग्या छ है ! दौरा र टिम्काने सुरुवालमा हिँड्ने र यी इतरकालाई धरतीका बोझै सम्झिने उहाँ  किन कुर्ता र पाइजामामा जनकपुरमा देखिनुभो ? टिम्कानेको इँजार फुस्केर आकस्मिक अवतरण त हैन यो ? यस्ता कुरा ठूलो स्वरमा लेख्न गाह्रो छ । फेरि सुने भने झन् खेद्न बेर छैन । उहाँ खेदिया खेदियै हुनुभो भने यो मुलुकमा राष्ट्रवाद कसले थेग्ला ? पछि पो द्वारिकाजमा टिम्काने सुरुवालमा देख्दा थाहा भो । केका छिन्नु इँजार ! अरु त को, ओलीजीको इँजार फुस्केला राष्ट्रवादको ?

मान्छे मोदीको आगमनले ओलीजीमाथि खनिएका छन् । तर, यसमा उनको कुनै दोष छैन । नाकाबन्दीमा त्यस्तरी राष्ट्रवाद जगाएको मान्छे । अहिले लम्पसारवादी भए भनेर खेद्न हुन्छ ? लम्पसारवादी हुनुमा उहाँको के दोष ? लोकतन्त्रमा जनता सबैभन्दा ठूला हुन्छन् भनिन्छ । जनताले नै झन्डै दुईतिहाइ बहुमतसहित लम्पसारवादी बन्ने म्यान्डेट दिए त उहाँको के दोष ? उहिले पो कांग्रेसलाई जनताले ठूलो दल बनाइदिएका थिए । बहुमत कसैलाई दिएका थिएनन् । सरकारमा कहिले कांग्रेस त कहिले माओवादी हुन्थे र लम्पसारवादको जिम्मेवारी कहिले देउवाजी त कहिले प्रचण्डजीले लिनुहुन्थ्यो । उहाँलाई सानो स्वरमा कहिल्यै बोल्नै परेको थिएन । लास्टमा जनताले नै धोका दिए । चाहिँदो नचाहिँदो भोट थोपरेर सरकारमा पु¥याइदिए । त्यत्रो राष्ट्रवादी स्वर सुकाउन कम्ता गाह्रो भयो होला उहाँलाई ? आखिर दोष जनताकै हो । उहाँको राष्ट्रवादमा धरी शंका गर्ने अवस्थामा ल्याइदिए । उहाँलाई लम्पसारवाद भिराउनमा प्रचण्डजीको नि कम्ता हात छैन । चुनावमा मिलेर नगएको भए उहाँको यो दिन आउँथ्यो ? त्यत्रो ४८ क्यारेटका राष्ट्रवादीको छवि धमिल्याउन पार्टी एकतासमेत गर्न राजी भए । इतिहासले भुल्ने छैन यो षड्यन्त्रलाई । आफूलाई लम्पसारवादी भनेको झोक फेरेरै छोडे ।

प्रचण्डजी मात्रै होइन, ओलीजीको राष्ट्रवाद संकटमा पार्न देउवाजीको पनि कम्ता हात छैन । देउवाजी र उनको पार्टी नाकाबन्दीमा चुइँक्क बोलिदिएको भए, अलोकप्रियताको दौडमा अलिकति मात्रै ठाउँ राख्दिएको भए आजको यो दिन देख्नु पथ्र्यो ? भन्थे— देउवाजीले कांग्रेस सके । कांग्रेस त के सके र जति ओलीजीलाई सक्नुभो ।

इतिहास त पूरै उल्टिएसी कली अचेल मुसुक्क हाँस्न थालेको छ । राष्ट्रवादीको सिटमा कांग्रेस । लम्पसारवादीको सिटमा एमाले । आखिर चुनाव भन्नु नै को राष्ट्रवादी बन्ने, को लम्पसारवादी बन्ने म्यान्डेट रहेछ । अचम्म ! अचेल त कांग्रेसको नि घाँटीको नसा फुक्न थाल्या छ । रुद्रघण्टी बज्न थाल्या छ । पहिलो पटक जिब्राले नाकाबन्दी शब्द उच्चारण गर्न थाल्या छ । राष्ट्रवादी लयमा हल्का खुट्टा हल्लिन थाल्या छ । यसैगरी यही गतिमा बढाउँदै लग्यो भने खुंखार राष्ट्रवादी बन्न धेरै समय कुर्नु पर्दैन । यसो भयो भने अर्को चुनावमा फेरि लम्पसारवादी बन्ने म्यान्डेट प्राप्त हुन नि बेर छैन । अहिलेलाई जनताले नै यही म्यान्डेट दिए त ओलीजीको के दोष ?

जहाँसम्म अभिनन्दनको कुरा छ, त्यत्रा स्थानीय निकाय बनाइयो, प्रदेश बने तर कामै छैन भन्या छ, बस्या छ । प्रदेश, स्थानीय निकायलाई रोजगार दिनु परेन ? अभिनन्दनको व्यवस्थाले २ नम्बर प्रदेशलाई तयारीदेखि हिसाब गर्दा झन्डै २–३ महिनाको रोजगारी मिल्यो । यता, काठमाडौंका मेयर विद्यासुन्दरजी निर्वाचित भएको केही दिनपछि झाडु लिएर सडक बढारिसकेपश्चात् बेरोजगार हुनुहुन्थ्यो । काम गरेन भनेर उहाँले नि कम्ता आलोचना खेप्नु परेको थिएन । काठमाडौंमा अभिनन्दन गर्ने भनेसी उहाँले नि रोजगारी पाउनुभो । उता मुस्ताङका स्थानीय निकाय पनि पक्कै रोजगार छैनन् । उता पनि अभिनन्दन गर्ने भएसी रोजगार पाए । सिंहदरबारको अधिकार गाउँमा भन्या छ । कामचैं केही नदिएर हुन्छ ?

फेरि भारतीय सुरक्षा फौज नेपाल आए भन्ने कुरा छ । ए बाबा ! स्वागत गर्नु छ मोदीजीको, अभिनन्दन गर्नु छ मोदीजीको, सुरक्षा गर्नु छ मोदीजीको— अनि सुरक्षाकर्मी चैं नेपालको ? अर्को देशको प्रधानमन्त्रीका लागि हाम्रो देशका सुरक्षाकर्मीले सुरक्षा दिने ? यसरी अर्काका लागि आफ्नो सुरक्षास्रोतको दुरुपयोग गर्नु कहाँसम्मको लम्पसारवाद हो ? भारतीय सुरक्षाकर्मी नै झिकाएर मोदीजीको सुरक्षामा खटाएर ओलीजीले लम्पसारवाद टार्नुभो । त्यसैले ओलीजी महान् हुनुहुन्छ । राष्ट्रवादी हुनुहुन्छ । जनताले म्यान्डेटै त्यस्तो दिए त उहाँको के दोष ?

तपाईंको मत