विचार

मोदीको नेपाल भ्रमण

आदित्यमान श्रेष्ठ

मोदीको नेपाल भ्रमण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमणमा आउँदै छन् । उनको भ्रमणको क्रम सन् २०१४ देखि जारी छ । पहिलो भ्रमण जति सफल र सुखद दोस्रो भ्रमण हुनसकेन । अहिले हुनलागेको तेस्रो भ्रमण झन् आशंकै आशंकाले भरिएको छ । हुन त नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमंत्रणामा मोदीको भ्रमण हुनलागेको हो । तर, वस्तुतः नेपालको चाहना कि भारतको इच्छाअनुसार यो भ्रमण अहिले हुनलागेको हो भन्ने प्रष्ट छैन । यसभन्दा अगाडि भारतीय विदेश मन्त्री सुषमा स्वराज आफूखुसी नेपाल आएकी हुन् । यसपालि पनि मोदीको भ्रमण त्यस्तै खालको भएको विश्वास गरिएको छ । यसले भारतकै पुराना विद्वान् विदुरलाई सम्झाउँ छ । उनले भनेका छन् – ‘अनाहूतः प्रविशति अपृष्टो बहुभाषते । अविश्वस्ते विश्वसीति मूढचेष्टो नराधमः ।’ जो मानिस नबोलाए पनि भित्र प्रवेश गर्छ, नसोधे पनि बोल्छ र जसले छोटो मानिसको विश्वास गर्छ त्यो मानिस मूर्ख हो । 

मोदीलाई भने नेपाल आउनुपर्ने अनेकौं कारण छन् । मोदी हिन्दु धर्मप्रतिको लगाव सबैलाई थाहै छ । नेपाीहरुलाई सन् २०१५ मा आर्थिक नाकाबन्दीद्वारा दिएको कष्ट र दुःखबाट आफू पनि दुःखी र पीडित भएको हुनुपर्छ । उनले नेपालीहरुलाई आफ्नो आशय नराम्रो नरहेको आश्वस्त पार्न र आफ्नै मनलाई शान्त पार्न नेपालको भ्रमण गर्न लागेका हुन् कि भन्ने लागेको छ । माहाभारतका भीष्मले राजनीति र कूटनीति बारे अनेक अर्तिहरु दिएर गएका छन् । मोदीले त्यसमध्ये एउटा अर्तिलाई मनन गरेजस्तो छ । भिष्मले भनेका छन्, ‘प्रहरिष्यन् प्रियं ब्रूयात् प्रहृत्यैव प्रियोत्तरम् । असिनापि शिरश्छित्वा शोचेत च रुदेत्न च ।’ अर्थात पिट्दा पनि मधुरो बचन बोल्नू, पिटेपछि पनि पछुताएको झैँ गर्नू, राजनीतिमा आफैँले विपक्षीको शिर काटेर पनि शोक सन्देश दिनू । यो कथन भारतीय नाकाबन्दी, त्यसबाट परेको प्रभाव, फलस्वरुप नेपालमा भारत विरोधी भावनाको वृद्धि, भारत सरकारले गरेको त्यसको महसूस र त्यसैअनुसार नेपाल नीतिमा ल्याएको बदलाव आदि कुराले पुष्टि गर्छ । त्यही अर्तिलाई अनुसरण गर्दै मोदीले नेपालीहरुको मनलाई शान्ति र ढाडस दिने केही वचन र काम पनि गर्न सक्छन् । 

प्रधानमन्त्री मोदी पहिलोपटक नेपाल आउनुभन्दा अगाडि १७ – १८ वर्षसम्म भारतका कुनै पनि प्रधानमन्त्री नेपालको भ्रमणमा आएका थिएनन् । त्यसकारण उनको पहिलो भ्रमणमा नेपालीहरुले ठूलो उत्साह र मित्रता देखाएका थिए । त्यो देखेर सबै दङ्ग परेका पनि थिए । तर, बारंबार आउन थाले पछि भिष्मले अर्को श्लोकमा भने झैँ हेलाँ हुनलागेको महसुस भइरहेको छ । उनले भनेका छन् – ‘अति परिचयाद् अवज्ञा संततगमनाद् अनादरो भवति । लोकः प्रयागवासी कूपे स्नानं समाचरति ।।’ अर्थात धेरै परिचय भए पनि हेलाँ हुन्छ, धेरै नै गैरहे पछि आदर हुँदैन । प्रयागमा बस्ने मानिसहरू कुवामा स्नान गर्ने गर्छन् । अलहावादमा रहेको नदीहरुको संगममा नुहाउन बाहिरका लाखौं मानिसहरु जान्छन् । तर स्थानीय वासीहरु भने कुवाको पानीमा नुहाउने गर्छन् । मानिसहरुले आफूसित भएको वस्तुको महत्त्व बुझ्दैनन् । त्यसैगरी नेपाल पनि बराबर आउन लाग्दा नेपालीहरुले उनको महत्त्व नबुझ्लान् कि? हुन त मोदी धार्मिक, त्यागी, इमानदार मानिन्छन् । उनी प्रधानमन्त्री भएदेखि उनको सरकारमाथि भ्रष्टाचारको खासै आरोप लागेको थाहा छैन । तर, उनले जसरी नेपालीलाई नाकाबन्दी गरेर दुःख दिए त्यसले गर्दा उनीप्रति नेपालीको धारणा सारै खस्किएको छ । त्यसलाई कसरी सुधार्ने हो उनकै हातको कुरा हो । 

यसै सिलसिलामा उनले पुनः भिष्मपितामहलाई सम्झेर यो कदम उठाएको देखिन्छ । भिष्मले भनेका छन् – ‘मृदुरित्यवजानन्ति तीक्ष्ण इत्युद्विजन्ति च । तीक्ष्णकाले भवेत् तीक्ष्णो मृदुकाले मृदुर्भवेत् ।।’ अर्थात्, सधैं शान्त हुँदा केही गर्न सक्दैन भनी हेप्छन्, सधैँ रिसाएर बस्दा कोही नजिक पर्दैनन् । तसर्थ हेरेर कतै तात्नू र कतै झुक्नू । दुई तीन वर्षअगाडि नेपालप्रति मोदी सारै नै तातेका थिए । होइन भने उनले नेपाललाई संविधान बनाइरहेको बेला यसो गर उसो नगर भन्ने थिएनन् । नेपाली नेताहले खुबै एकताबद्ध भएको देखाएका थिए । तर, मोदी रिसाएर नेपालीहरुलाई एउटा पाठ पढाउनै पर्छ भनेर दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति नै बन्द गराइदिए । नेपालीहरुले मोदी त आफ्नै मान्छे हुन् भनी ठानेका थिए । किनभने उनी एक कट्टर हिन्दू हुन् र नेपाललाई हिन्दू राष्ट्रको रुपमा राख्नु पर्छ भन्ने विश्वास गर्थे । तर, नाकाबन्दीले गर्दा नेपालीहरुको मन बदलियो र मोदी पनि उस्तै रहेछन् भनी ठाने । नेपालीहरुको त्यो बिग्रेको मन बदल्न कहिले त झुक्नु पर्दो रहेछ भनेर आउन लागेको पनि हुन सक्छ । 

यसो हो भने महाभारतकै अर्का पात्र विद्वान् विदुरो विचारलाई राम्ररी मनन गरिदिए हुने हो । उनले भनेका छन् – ‘संसारयति कृत्यानि सर्वत्र विचिकित्सते । चिरं करोति क्षिप्रार्थे स मूढो भरतर्षभ ।।‘ जुन मानिसले सानो कामको हल्ला धेरै गर्छ, ससानो कुरामा पनि शंका गर्छ, चाँडो हुने कामलाई पनि विनाकारण लम्याई दिन्छ त्यो मानिस मूर्ख मानिन्छ । नेपाल र भारतको सम्बन्ध बिगे्रको कारण पनि यही नै हो । दुई चारवटा गाडी उपहार दिएर के के नि दिएको जस्तो हल्ला गर्ने, कुनैै चिनियाँ नेता या अफिसर नेपाल आउँदा शंका गर्ने तर ठूला ठूला आयोजना कामहरु विनाकारण लम्याई दिने गरेकोले नै भारतको नीति र व्यवहारप्रति नेपालमा असन्तोष बढेको हो । विदुरकै अर्तिमात्र मानेर भारतले नेपालमा तद्अनुसार काम गर्न थाले भने नेपालीहरु दंग हुने छन् र मोदी जतिपटक आए पनि खुला दिलले स्वागत गर्नेछन् । 
तर त्यसको ठीक उल्टा प्रकारले काम गर्न खोजे त्यसको फल पनि उल्टै भएर आउँछ । जस्तो कि महाभारत मै भनिएको छ, ‘नार्थिकोऽर्थिनमभ्येति कृतार्थे नास्तिसंगतम् ।    तस्मात् सर्वाणि साध्यानि सावशेषाणि कारयेत् ।।’ जसको काम भई सकेकोछ, ऊ किन झुक्न आउँछ ? तसर्थ शत्रुको काम अधुरै छाड्नु पर्छ । भन्नलाई नेपाल र भारत मित्र हुन् भनिन्छ । तर, यसै उक्तिलाई हेर्दा पनि शत्रुको व्यवहार गरेसरह देखिन्छ । यसमा प्रष्ट भनिएको छ कसैलाई झुकाउनु छ भने उसको काम अधुरै छाडिदिनु पर्छ ताकि ऊ बारंबार झुक्दै चिरौरी गरोस् । कतै नेपालमा भारतले बनाइरहेका आयोजनाहरु प्नि यही नीतिको सिकार भएका हुन् कि भनेर शंका गर्नु पर्ने हुन्छ । त्यस्ता कामहरु समयमा समापन हुन थाले भने नेपालीहरुले सिकायत गर्ने ठाउँ रहँदैन । यसबाट भारतप्रति सद्भावना र मित्रता स्वतः प्रस्फुटित हुन्छ । 

दुई देश अथवा दुई व्यक्तिबीच नजीकको सम्बन्ध स्थापित गर्न सधैँ सँगै बस्नु जरुरी हुँदैन । यो भारतकै अर्का विद्वान् चाणक्यको कथनबाट साबित हुन्छ । उनले भनेका छन्, – ‘दूरस्थोपि समीपस्थो यो यस्य हृदि वर्तते । यो यस्य हृदये नास्ति समीपस्थापि दूरगः ।। ‘     जो दिलमा रहन्छ टाढा भए पनि नजिक हुन्छ । जो दिलमा छैन नजिक रहे पनि टाढा हुन्छ । नेपाल र भारत नजिक छन् तर मन नमिलेकोले एक अर्कालाई टाढा सम्झने गर्छन् । चाणक्यको कथनलाई चरितार्थ गर्ने एउटै उपाय छ – त्यो हो नेपाल र भारतले एक अर्कालाई दिलमा राख्ने र चित्त बुझ्दो काम गर्दै जाने । त्यसो भएपछि भौतिकरुपले र भावनात्मकरुपले पनि नजिक हुनेछन् । 

तपाईंको मत