मनोज गजुरेल हास्यव्यंग्य कलाकारभन्दा पनि हास्ययंग्य अभियन्ताका रुपमा स्थापित छन् । स्ट्यान्डअप एक्टिभिस्टका रुपमा लामो समयदेखि नेपाली प्रहशनको क्षेत्रमा काम गर्दै आएका गजुरेल समाज परिवर्तन र सुशासनका पक्षमा चोटिला प्रहशन गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मको हुबहु नक्कल गरेर नेपाली हास्यव्यंग्यलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउने काम उनले गरे । स्ट्यान्डअप कमेडीमा अहिलेसम्म नेपालमा उनलाई चुनौती दिने हास्य कलाकार कमै रहेको अवस्थामा गजुरेल अचानक चलचित्र विधामा मिसिन पुगे । अधिकांश हास्य कलाकार चलचित्र क्षेत्रमा प्रवेश गरिरहेका बेला उनी पनि चलचित्र ‘सयकडा दश’ मार्फत् रजतपटमै हामफालेका छन् । स्टेज कार्यक्रममा भ्याईनभ्याई भए पनि उनी किन चलचित्रको अभिनयमा आइपुगे, केले तान्यो उनलाई ? यस्ता जिज्ञासा गजुरेलसँग बाह्रखरीका नरेश फुयाँलले राखेका छन्ः
कमेडीबाट रजतपटमा डेब्यू गर्नु भएछ, चलचित्रमा आउनु नै थियो भने अलि ढिलो भएजस्तो लाग्दैन ?
जुनसुकै क्षेत्रमा आउन पनि समय आउनुपर्छ । त्यो समय भनेको यो उमेर, त्यो उमेर, यो काल र त्यो काल भन्ने हुँदैन । समयको माग हो जस्तो लाग्छ मलाई । मैले लामो समयसम्म मोटिभेसनल कमेडी प्रस्तुत गरेँ । त्यो कुरा अब डिजिटलाइज हुनुपर्छ भन्ने लाग्यो । म चलचित्रमा जानुको कारण पनि यही हो । मैले सन्देशसहित स्टेजमा गरेको कमेडी पर्दामा पनि आउनुपर्छ भन्ने लाग्यो र विज्ञान तथा प्रविधिको युगमा मेरा प्रस्तुपतहरु पनि डिजिटलाइज हुनुपर्छ भनेर चलचित्रमा जोडिएको हुँ ।
चलचित्र क्षेत्रमा आउन केले आकर्षित गर्यो, डिजिटल प्रविधिमात्रै हो त ?
पहिलो कुरा जनतासमक्ष जान र नागरिकलाई मनोरञ्जन दिन चलचित्रमा मात्रै आउनुपर्छ भन्ने छैन, थुप्रै माध्यम छन् । युट्युब, फेसबुक, ब्लग, भिडियो पनि छन् । यो प्रविधिको प्रयोग मैले गर्दै पनि आएको छु । यसकै अलि ठूलो रुप हो सिनेमा । केले प्रभाव पार्यो भन्दा पनि गरिरहेको कामको विस्तृत रुप हो यो ।
दोस्रो कुरा जुन चलचित्रमा म काम गर्दैछु । त्यो चलचित्र फगत चलचित्रमात्रै नभएर मोटिभेसनल चलचित्र पनि हो । यसले मरो चरित्रलाई पनि मजवुत बनाउँदैछ । म जसरी स्ट्याण्डअप कमेडीमार्फत् समाजमा चेतना फैल्याउने काममा व्यक्तिगत रुपमा लागिरहेँ । त्यो चलचित्रमा पनि लगभग मेरै कथा जस्तो छ, त्यसैले पनि म चलचित्रमा आइपुगें ।
प्रहशन पनि अभिनय नै हो भने किन अधिकांश प्रहशनकर्मीहरु चलचित्रतर्फ आकर्षित भैरहेका छन् ?
अरुबारे म केही भन्न सक्तिन तर मेरोबारे म के भन्छु भने म चलचित्रमा डेब्यू गरें भन्दैमा मूलधारका चलचित्रमा अब प्रवेश गरें, अब सुपरडुपर हिट भएँ, मेरो सिर्जनाको रुप परिवर्तन भयो, पुरानो रुपबाट पूरै नयाँ धारमा गएँ भन्ने होइन । त्यसरी नबुझिदिन पनि म आग्रह गर्छु ।
मेरो प्राथमिकता भनेको त्यो सिनेमाले समाजलाई के दिन्छ, मैले अभिनय गर्दै गरेको चलचित्रको टिम समाजिक रुपमा कति प्रतिष्ठित छ, उसको मूल उद्देश्य के हो, सुपर हिटमात्रै हुने र पैसामात्रै कमाउने हो कि सामाजिक दायित्वबोध पनि गर्ने हो । यी पक्षलाई अध्ययन गर्नुपर्छ । अध्यात्ममा पनि म पछिल्लो समय नजिक छु । यो टिम पनि अध्यात्मसँग सामिप्य भएका कारण यो टिमसँग म पनि जोडिन पुगेँ ।
प्रहशनका लागि गाईजात्रा नै कुर्नुपर्ने भएका कारण पनि चलचित्र अभिनय थाल्नु भएको हो कि ?
हैन । गाईजात्रा मात्रैका कारण पनि भ्याईनभ्याई हुन्छ । गाईजात्राकै लागि मात्रै पनि वैशाखदेखि भदौसम्म हुन्छ । असोज र कात्तिक दसैंका कार्यक्रममा विदेशमा बोलाउनुहुन्छ । त्यसपछि महोत्सवमा व्यस्त भइन्छ । त्यसैले प्रहशनका लागि गाईजात्रा नै कुर्नुपर्दैन । गाईजात्राबाट मात्रै पनि धेरै पैसा आउने होइन । संस्कृतिसँग जोडिएकाले समूहमा काम गर्दै आएका छौं ।
यसको अर्थ जिविकोपार्जनका हिसावले चलचित्रमा आउनुभएको हो भन्न मिल्छ ?
होइन । म चलचित्र क्षेत्रका लागि पूरै नयाँ छु । चलचित्रको व्यावसायिकताबारे मलाई केही पनि थाहा छैन । कति पारिश्रमिक लिनुपर्छ, मैले कति पारिश्रमिक डिजर्व गर्छु म अनविज्ञ छु । चलचित्रमा आबद्ध भएपछि मेरो सामाजिक, आर्थिक तथा नैतिक बन्धन के कति हुन्छ त्यो पनि मेरा लागि नयाँ छ । यसकारण पनि अर्थ जोडिएर आउँदैन ।
जसरी मैले कमेडियन एक्टिभिस्टको छवि बनाएको छु । त्यही खालको चलचित्र भएकाले म चलचित्रका लागि सहमत भएको हुँ । यसमा अर्थ मेरो प्राथमिकतामा परेको छैन । यसको अर्थ मसँग टन्न पैसा छ भन्ने होइन । तर रक्सी चुरोटको विज्ञापन गर्ने हो भने मलाई टन्न पैसा हुन्छ तर मैले समाजलाई पनि हेर्नुपर्छ । मेरो नैतिकताले पनि यसो गर्न दिँदैन ।
अब तपाईँको करिअरमा प्रहशन कम चलचित्र बढी हुने हो ?
हुँदैन । किनभने जुन रस मेरो लेखनमा छ त्यो रस हाँस्यव्यंग्य प्रस्तुतिमा छैन । जुन रस स्टेजको हाँस्यव्यंग्य प्रस्तुतिान छ, त्यो सिनेमामा छैन । एकल स्ट्याण्डअप कमेडीमा जसरी मैले जनताको मन जितेको छु, जनताले मलाई स्वीकार गर्नुभएको छ, त्यो सधै मेरो प्राथमिकतामा पर्छ ।
यही वर्ष तपाईंको स्ट्याण्डअप कमेडीको ख्याति अमेरिकाका पत्रिकाले समेत छापे, विश्वका उत्कृष्ठ १५ भित्र पर्नुभयो तर यही वर्ष त्यही प्रहशनबाट चलचित्रमा प्रवेश गर्नु भयो नि !
मैले योभन्दा अगाडि पनि नेपाली हाँस्यव्यंग्यलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने प्रयास गरेको थिएँ । राजा ज्ञानेन्द्रको नक्कल गर्दा शाही शासनविरुद्ध कलाकार सडकमा गएको खबर विदेशी सञ्चारमाध्यममा आएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गर्दा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कभरेज गरेका थिए ।
पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गर्दा संसारका गरिब राष्ट्रहरुको सूचीमा रहेको देश, मजदुरहरुको देश, आन्दोलन र झै झगडा भैरहने देश, राजा मारिएको देश भनेर जसरी चिनिन्थ्यो, त्योभन्दा पनि फरक विश्वको राजनीतिलाई नजिकबाट विश्लेषण गर्ने कमेडियनहरु पनि छन् है भन्ने सन्देश दियो । यसकारण यसको फरक स्थान छ तर यसलाई चलचित्रसँग जोड्न जरुरी छैन । चलचित्र मेरा लागि नयाँ प्रयोग हो । मलाई यो क्षेत्रमा पनि जनताले स्वीकार गर्नुभयो भने स्वभावत मैले स्टेजमा गरेका कुराहरु डिजिटलाइज भएर पर्दामा आउनेछन् । यो मेरा लागि प्रयोग हो ।
जुन सफलता स्डायान्डअप कमेडिमा पाउनुभयो, त्यो चलचित्रमा पनि पाउन कत्तिको गाह्रो होला ?
आत्मविश्वास विना त कसैले पनि काम गर्दैन । आत्मविश्वास भएर नै काम गर्न लागेको हुँ । मेरो दायरा के र कति हो त्यो मलाई थाहा छ । म कमेडियन एक्टर होइन कमेडियन एक्टिभिस्ट हुँ । मेरा सबै कमेडि र क्रियाकलापहरु समाजसँग जोडिएका हुन्छन् । त्यो समाजलाई जोडिरहँदा जनताले जुन नयाँ टेस्टको कमेडी प्राप्त गरिरहेका छन्, त्यसलाई छोड्नु म आफैका लागि पनि घातक हुन्छ र हाँस्यव्यंग्यको स्ट्याण्डअप पक्षलाई सम्हाल्ने व्यक्तिको पनि अभाव छ । अहिले राम्रा प्रतिभा भएका भाइबहिनीहरुलाई यो क्षेत्रमा स्थापित नगरुञ्जेल मैले यो क्षेत्रलाई छाड्नु हुँदैन । समयले मेरो ट्रयाक अटोमेटिक परिवर्तन गराउँदै लैजान्छ । यो मैले गर्ने होइन, समयले आफै गराउने छ ।
चलचित्रमा भित्रिएको दिन म मेरा लागि उपयुक्त चलचित्रको पर्खाइमा थिएँ भन्नु भएको थियो, आजसम्म तपाईंंका उपयुक्त चलचित्र नै बनेका थिएनन् कि अफर नआएको हो ?
अफरहरु नआएका होइनन् । तर म के भन्छु भने म कमेडिमा, युट्युबमा, फेसबुकमा, ब्लगमा जस्तो देखिन्छु वास्तविक जिन्दगीमा पनि म त्यस्तै हुनुपर्छ भन्छु । कति सक्छु म त्यो प्रयास गर्छु । यस्ता कुरामा मेरै मात्रै हुँदैन । समाजिक, आर्थिक, सांस्कृतिक कारणले पनि प्रभाव पार्छ । व्यवहारिक कुराहरु जोडिएर आउँछन् तर मेरो व्यक्तिगत प्रयास भने समानतामै रहन्छ । यो चलचित्रमा एन्टि करप्सनको कथा छ । कमेडियनको व्यक्तिगत जीवन पर्दाबाहिर कस्तो हुन्छ त्यो यो चलचित्रमा छ । त्यसैले यो कथा मेरो व्यक्तिगत जीवनसँग पनि जोडिएको छ ।
समाज परिवर्तनको सकारात्मक कथा बोकेका चलचित्रमात्रै गर्छु भन्ने आदर्शवादी सोच लिएर बस्ने अभिनेताको आदर्श कति समय टिक्ला ?
आफ्नो बाटो आफै बनाउँदै जाने हो । बाटो फराकिलो बनाउँदै जाने क्रममा बीचबाटोमा साथीहरु थपिन पनि सक्छन् । मजस्तै विचार र सोच भएको व्यक्ति मसँग जोडिन आइपुग्छ, यो विज्ञानको नियम नै हो ।
चलचित्रमै तपाईंको प्रस्तुति देखिने भएपछि प्रहशनमा तपाईंको लोकप्रियता त घट्ने होला नि !
दुई घण्टाको चलचित्रमा थुप्रै कलाकार हुन्छन्, थुप्रै कथावस्तु हुन्छन् त्यसैले मेरो भूमिका निश्चित हुन्छ । तर स्ट्याण्डअप कमेडि भनेको तत्कालीन विषयमा तत्काल विषयबस्तुको गहिराइमा पुगेर व्यंग्य गरिने भएकाले त्यो सबै चलचित्रले संम्बोधन गर्न सक्तैन । यहाँ प्रत्येक आउने नयाँ नयाँ विषयलाई वर्षमा एक पटक सिनेमा समेट्न सक्तैन, त्यसका लागि स्ट्यान्डअप कमेडि नै जरुरी हुन्छ, स्टान्डअप कमेडियन नै जरुरी हुन्छ । त्यसका लागि म जन्मिएको हुँ ।