विचार

मलाई मेरो मातृभाषा आउँदैन !

रमेश भट्टराई ‘सहृदयी’

मलाई मेरो मातृभाषा आउँदैन !

कुराकानीका क्रममा कलेजका एकजना विद्यार्थीसँग मैले सोधेँ– ‘तपाईँलाई आफ्नो मातृभाषा आउँछ ?’ उनको जवाफ थियो, “आमाबाबाले ‘बोर्डिङ’ पढाउनुभयो । घरमा आपूmहरू मात्र गुरुङ भाषामा बोल्नुहुन्छ । मसँग बोल्दा नेपालीमा कुरा गर्नुहुन्छ । स्कुलमा अङ्ग्रेजी पढियो । त्यहाँ नेपाली बोले बापत ‘फाइन‘ तिरियो । घरमा आयो ‘गुरुङ भाषा सिकेर तेरो के काम छ र !’ भन्ने जवाफ पाइयो । म अहिले न अङ्ग्रेजी राम्ररी जान्दछु । न नेपाली शुद्ध छ । न त आफ्नो मातृभाषा जान्दछु ।” एकातिर संविधानले मातृभाषामा शिक्षा लिन पाउने हकलाई सुनिश्चित गरेको छ । “मैले मेरो मगर भाषा सिकेर के गर्नु, बरु त्यो समयमा कोरियन भाषा सिके महिनाको लाखभन्दा बढी कमाइ गर्न सकिन्छ ।” एकजना मित्रसँगको टेबल गफले मलाई झक्झक्यायो । विडम्बना, चाहेर पनि आजको संसारमा प्रतिस्पर्धामा मातृभाषा सिक्ने विषय नारामै सीमित भएको छ । अर्कातिर, हामीलाई अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले जान्नै पर्ने बाध्यता छ । नेपाली राष्ट्रिय सम्पर्कको भाषा भएकाले औपचारिक कार्य यसैबाट हुन्छ । प्रदेशलाई सरकारी कामकाजको भाषा चुन्ने अधिकार भए पनि देशभरको साझा भाषा त नेपाली नै हो । 

एकजना अभिभावकले भने – “अङ्ग्रेजी पढे सजिलै विदेश जान सकिन्छ । सरकारी स्कुलमा शिक्षकले राम्ररी पढाउँदैनन् । स्कुल पनि थोत्रा र पुराना छन् । आखिर नेपाली भाषा, मातृभाषा नजानेर पनि त काम चलेकै छ ।” उनले आफ्नो कमजोरीको सूची तेस्र्याए । नेपालले शिक्षामा बहुभाषिक नीति अँगालेको भए पनि मूलतः अङ्ग्रेजी र नेपाली भाषामा नै पढाइ हुन्छ । आज अङ्ग्रेजी सिकाउनै पर्छ भन्ने मानसिकताले नेपाली र मातृभाषाप्रतिको झुकाव कमजोर हुँदैगएको हुन्छ । तीन महिना भाषा सिकेर बोल्नसक्ने भइन्छ भने हामीमा धेरैभन्दा धेरै भाषा सिक्ने खुबी त हुन्छ । लक्ष्य, परिश्रम र निरन्तरताले बहुभाषिक व्यक्तित्व निर्माण गर्न सक्ने हामीले आफ्नै मातृभाषालाई किन उपेक्षा गरिरहेका छौँ ?

राज्यले शिक्षामा लगानी बढाउँदै गएका बेला मातृभाषाको विकासमा समाज कति गम्भिर छ त ? एकजना अभिभावकले भने – “तपार्इँहरू विद्यालयमा अङ्ग्रेजी पढाउनुहोस् न । तामाङ भाषा त हामी नै घरमा सिकाइहाल्छौँ नि ।” बालमस्तिष्कमा अंङ्ग्रेजी भाषा सिके विदेश जान सहज बन्ने छाप पारेका छौँ । अङ्ग्रेजी मोहको अन्धो भक्तिको भूत चढेपछि महङ्गा स्कुलमा भर्ना गर्नु र अङ्ग्रेजीमा बोल्नु नै सबै थोक हो भन्ने ठान्दै नेपाली भाषा सहायक आवश्यकतामा र मातृभाषा त गौण आवश्यकतामा पर्न पुग्दा रहेछन् । अङ्ग्रेजी भाषा हरेक विषयवस्तुको गहन अध्ययन, शोध अध्ययन, प्राज्ञिक बौद्धिक विकास, अन्तर्राष्ट्रिय सहसम्बन्ध, भौतिक वैज्ञानिक विकास मात्रै होइन विश्वव्यापीकृत बन्ने कुरासम्ममा उपयोगी र आवश्यक छ । तर, आफ्नो पहिचान र स्वाभिमानका लागि त आफ्नै भाषाको स्थान महत्त्वपूर्ण हुन्छ । 

ताना शर्माको “पातालमा बिलाउने रोग” र “बेलायततिर बरालिँदा” निबन्धले घच्घच्याउँछ । विदेशका पीडा मात्र होइन आफ्ना संस्कृति, परम्परा, आफन्त, नेपाली मौलिकतालाई छोडेर अर्कैको संसारमा रम्ने प्रवृत्तिमा लिप्त मानसिकतामा मातृभाषाको दोहन भइरहेको छ । हरेक भाषालाई बाँच्न र प्रसारित हुन वर्ण, लिपि, व्याकरण, शब्दकोश, साहित्य, वाङ्मय विकास तथा प्रसारित र स्वीकरण गर्ने राज्यनीतिको खाँचो पर्छ । एउटा भाषाको वर्ण र लिपि तयार पारेर त्यसलाई जीवन्त बनाउने महान् र वैज्ञानिक कार्य कुनै केटाकेटीको भाँडाकुटी खेल होइन । २०६८ को जनगणनामा पेस गरिएको तथ्याङ्कलाई हेर्दा नेपालमा १२३ भाषा बोलिन्छन् । जसमध्ये १३ वटा भाषामा मात्र १ प्रतिशतभन्दा बढी वक्ता सङ्ख्या छन् भने ११० वटा भाषाको वक्ता १ प्रतिशतभन्दा कम छन् । नेपाली भाषा केन्द्रीय विभागका प्रा.डा. दानराज रेग्मीले प्रस्तुत गर्नुभएको तथ्याङ्कका अनुसार नेपालमा ५३ प्रतिशत भाषा सुरक्षित, ५१ प्रतिशत सङ्कटापन्न, ११ वटा अपशरणशील, ६ वटा मृतप्रायको स्थितिमा छन् भने एउटा सुषुप्त र एउटा भाषा लोपोन्मुख अवस्थामा पुगेको छ । मातृभाषामा २४ वटा बढी पाठ्यक्रम तयार भएका छन् तर यसको विकासमा बौद्धिक वर्गको ध्यान जान थाले पनि समाज मनोविज्ञानले तगारो हालेकै छ ।

भाषा हाम्रा पुर्खाले दिएको अमूल्य निधि हो । एउटा भाषाको निर्माण गर्नु अनि भाषासँग जोडिएको संस्कृति, धर्म, परम्परा, चालचलन, शिल्प कलात्मकता, आचरण, व्यावहारिकता, औषधी विज्ञान र विज्ञानको सम्मिलन जस्ता पक्षलाई हामीले बोध गर्न जान्दैनौँ भने हाम्रो मौलिकता नै मक्काउँदै गएको होइन र । परिवर्तन त्यो होइन जसमा आपैmँलाई लगेर बेचौँ । हाम्रा मातृभाषालाई बोल्न जानिरहेकै पुस्ताले नजोगाए यी केवल इतिहासका पानामा सीमित रहने भय छन् । हाम्रा भावी पिँढीले हामीलाई पक्कै सत्तो सराप गर्लान् । हिजो एकभाषिक नीति थियो तर यो कुनै जातिको आधारमा भएकै होइन शासन र सोचले जन्माएको वास्तविकता हो । भाषासँगै समाज र संस्कृतिले नातो गाँस्दा त्यहाँ युगीन चित्र र मनोरञ्जनका झलकलाई मुखर पारेको हुँदो रहेछ । बरु अब त इमानसिँह चेमजोङको देन, सत्यमोहन जोशी जस्ताका प्रयाससँग हामीले हातेमालो गर्न जान्ने बेला आएको छ । मातृभाषाप्रतिको हीन सङ्कीर्णतालाई मेट्न समाज, स्थानीय सरकार र राज्यले प्रोत्साहन गर्ने बेला आएको छ । यी विषयमा मूलतः गोरखापत्र दैनिकले समावेशी समाजको दर्बिलो सम्बोधन गर्दै बहुभाषिक पृष्ठभूमिमा रहेर समाचार सम्प्रेषण गर्दै गरेका विषय पक्कै सह्राहनीय छन् । रेडियो नेपालले प्रसारण गर्ने बहुभाषिक कार्यक्रम वास्तवमा प्रशंसनीय छन् ।

एकजना विद्यार्थीले नेपाली विषयको परीक्षा लेखिरहँदा सोधे, “सर सिस्टमलाई नेपालीमा के भनिन्छ ?” आज माद्यमिक तहका धेरै विद्यार्थीलाई एउटा निवेदनसम्म पनि राम्ररी मिलाएर लेख्न आउँदैन । नेपालीका खबर समाचारलाई अक्षर फुटाएर पढ्नै जान्दैनन् । कार्यालयमा एउटा चिठी लेखेर कुनै औपचारिकता व्यक्त गर्नुप¥यो भने कसैको सहारा चाहिन्छ । देशमा उत्पादन गरिरहेको जनशक्तिले दैनिक आवश्यक कागजातका विषयहरूमा प्रयोगात्मक तबरले प्रस्तुत गर्न सक्नुपर्ने हो । तर आजको शिक्षित वर्गले सजिलै भनिदिन्छ, “मलाई नेपाली आउँदैन ।” आजका धेरै नेपालीलाई रोमनको अङ्कलाई नेपालीबाट भन्न र लेख्न आउँदैन । बरु नेपालीका अङ्कलाई पनि अङ्ग्रेजीमा अनुवाद गरेर बोल्ने आदत मौलाएको छ । भाषामा परिवर्तनशीलताको गुण हुन्छ भन्दै गर्दा अपशरणशील भएमा हामीले पहिचान गुमाएका लाञ्छना झेल्नु नपर्ला भन्न सकिन्न । हुनसक्छ, भाषिक विषयसँग जोडिएका वैज्ञानिकतामा भोलि विज्ञानले जादु भेट्ला । समयले कोल्टो फेर्दै गर्दा आवश्यकता र मूल्यको सूचीलाई पेस गर्ला । के हामीले आपैmँलाई, आफ्नो मातृभाषालाई, देशको साझा सम्पर्कको भाषालाई नै बिर्सेर अन्धानुकरण गर्दै दगुरिरहेका त छैनौँ ? कमसेकम जनगणनामा सोधिने प्रश्नमा मातृभाषा नजान्नेले ‘मेरो मातृभाषा फलानो हो’ भनी भन्दै गर्दा आफ्नो सक्षमतालाई पनि ख्याल गरौँ ।  
bhattarairamesh353@gmail.com

तपाईंको मत