ad

साहित्य र कला

असन्तुष्ट मान्छेको गाथा

असन्तुष्ट मान्छेको गाथा

– अक्षर काका


भव्य कोठा । चित्ताकर्षक सजावट । भित्तामा प्रतिध्वनित भइरहने पियानो–धून । लहरै राखिएका आदिम वास्तु–सौन्दर्य । लाग्छ— घरमा सुखै–सुख प्रगुम्फित छ ।

तर, होइन । यहाँ त केवल निरुद्देश्य जीवन सलबलाइरहेको छ । बाँच्नुको पीडा, असीम दुःखको तीव्र छटपटाहट छ । बेचैन छ मन । विशृंखलित छ जीवन !

समय–यौवनको प्रतिछाया हो । समय दिनहुँ तन्नेरी बन्दै जान्छ तर मानिस बूढो बन्दै जान्छ । र, छाड्दै जान्छ आ–आफ्ना पदचापहरू । हुन सक्छ— सुख–दुःखको निःस्वास पनि ! त्यसैको आभाष हो– ‘तीन बहिनी’ !

एन्टोन चेखब– यथार्थवादी धाराका परिचायक हुन् । सन् १८६०मा जन्मिएका रसियाली लेखक चेखब आधुनिकता र विसङ्गतपूर्ण जीवनको उद्घाटन गर्छन्, लेखनका माध्यमबाट । उनका बहुसंख्यक कथा त्यसैका ध्वनि बनेका छन् ।

पेशाले मेडिकल चिकित्सक तर कथाकर्ममा ज्यादा विश्वास गरे र त जीवनयापनका अनेक निःस्वास, उच्छ्वास, उनका रङ्ग–कौशल बनेका छन् ।

‘द सिगल’, ‘अंकल भान्या’, ‘चेरी अर्किड’ लगायत विश्वविख्यात नाटकका सर्जक चेखबकृत ‘थ्री सिस्टरर्स’को नेपाली अनुवाद ‘तीन बहिनी’ शिल्पी थिएटर, बत्तिसपुतलीमा वैशाख २१ गतेदेखि मञ्चन भइरहेको छ । र, यो नाटक जेठ १२ सम्म मञ्चन हुनेछ ।

घनश्याम श्रेष्ठको परिकल्पना÷निर्देशन रहेको ‘तीन बहिनी’लाई आकारले मञ्चमा उतारेको हो ।

० ० ०

दिवंगत सैनिक अधिकृत पिताका तीन छोरी, जो राजधानीबाहिरको उदेकलाग्दो संसारमा बाँचिरहेका छन्, जसको हिजोको उमेर घडीको टिकटिकसँगै ओइलिँदै जान्छ । हिजोका सपना, आजका विपना होइन, भ्रमका थपना बनिथिन्छन् । सबैले बाँचेका हुन्छन् आफ्नो हिस्साको समय । तर, ‘तीन बहिनी’का पात्रहरूले निकै बोझिलो समय बाँचिरहेका छन् ।

स्वर्गबासी सैनिक अधिकृतकी तीन छोरी– आभा, माया र रिना । नाटकका केन्द्रीय चरित्र यिनै हुन् । र, यिनै तीनै चरित्रको वरिपरि नाटकको रोटेपिङ मच्चिइरहन्छ ।

यौवनवयबाट प्रौढतिर उक्लिइसकेकी आभा अविवाहित छिन् । उनको निराशा र मुर्च्छनाले हाम्रो सहरीया र पछिल्लो समयका ग्राम्य–जनजीवनका केही हिस्साको प्रतिनिधित्व गर्छन् । उनी आफूसँग पटक्कै खुसी छैनन् । र, छैनन्, आफू बाँचिरहेको र बितिरहेको समयसँग पनि । हामीले आज बाँचिरहेको समय पनि ठ्याक्कै त्यस्तै हो । अझ चेखोब भन्छन्– अब २०० वर्षपछाडिको समय पनि त्यस्तै निराशायुक्तै रहन्छ । आफ्ना पिता–पुखाभन्दा जान्नेबुझ्ने हुँदा पनि मानिस असन्तोषको ज्वाला बोकेर बाँचिरहेका छन् । त्यसैको लप्कामा पलपल जलिरहेका छन् । ‘तीन बहिनी’ त्यस्तै उच्छवास हो ।

अर्की दिदी मायाको जीवन पनि स्वाभाविक लयमा छैन । लोग्नेसँगको सम्बन्ध निकै निरसिलो बनिरहेको छ । समय पनि उस्तै पट्यारलाग्दो । त्यसैले उनी कर्णेल आशुतोषसँग सघन प्रेममा छिन् । सन् १९०० मा चेखोवरचित ‘थ्री सिस्टरर्स’ले ठ्याक्कै आजको जस्तै यौनविकृत मनोदशालाई कसरी उत्कण्ठित गर्न सक्यो होला भनेर घोत्लिन विवश बनाउँछ ।

कान्छी रिना । २० वर्षको हुँदा शुरू भएको नाटक उत्तरार्द्धमा पुग्दा ३० वर्षकी हुन्छिन् । समयको पदचापमा यौवनको राप–ताप छाड्दै आएकी उनको राजधानी जाने मनोकामनाले नाटकलाई अन्तिमसम्मै गति दिइरहन्छ ।

सैनिक अधिकृतका छोरा दीपजङ्गले देहाती निकितासँग लगठनगाँठो कस्छ । क्रोधको हुरी बोकेर आएकी उनले घरको धुरी डगमगाइदिन्छिन् । निकिता र तीन दिदीबहिनीको निरपेक्ष सोचले परिवार एकपछि अर्को झमेलामा फस्दै जान्छ ।

एउटै छानामुनि ओत लागेका अनेक विरोधाभाष चरित्र र त्यही स्वभावजन्य कारणले दुर्घटित बन्न पुगेका सपनाको सिलसिलालाई एउटै सूत्रमा उन्नु चानचुने काम हुँदै होइन । त्यसलाई मञ्चमा सादृश्य उतार्न सक्नु झनै कष्ठसाध्य कुरा हो । तर, यस मानेमा सफल छन्– निर्देशक ।

त्यसो त चेखबका नाटकमा विनोद र करुण रसको सम्मिश्रण पाइन्छ । त्यसको झल्को ‘तीन बहिनीमा नभेटिने होइन । तर, धाराप्रवाह सम्वाद र क्लिष्ट अभिव्यञ्जनाले दर्शक कहिले उत्फुल्ल त कहिले रनभुल्लमा परिरहन्छन् । र, अन्तिम दृश्यांशले नाटक वियोगान्त हो भन्न करै लाग्छ ।

यो नाटक संवृत्त हुँदाताक रुस तीव्र औद्योगिकीकरणको प्रश्रवमा थियो । त्यसबाट आधुनिकता पैदा हुने छर्लङ्गै थियो तर त्यो चानचुने कठिन थिएन । अतः नाटकले हाम्रो विकासे सपना र समृद्धिको मनोकामनालाई धेरेथोर प्रतिनिधित्व गरेको छ भन्दा अतिशयोक्ति हुँदैन । बारम्बार पात्रहरूमार्फत ‘राजधानी’प्रतिको लगावलाई देखाउन खोज्नुको अर्थ हो— समाज जुनसुकै भए पनि शहरीप्रतिको मोह सबैको उस्तै हुन्छ ।

स–साना घटनाको सिलसिला । आजभन्दा एकसय ११८ वर्षअघिको रुसको औद्योगिकीकरणउन्मुख सामाजिक मनोदशालाई मञ्च–सापेक्ष तुल्याउनु ज्यादै कष्टसाध्य कुरा हो । अझ नेपाली स्वादमा पस्किएर यहाँका दर्शकको अनुहारमा प्रतिविम्बत तुल्याउनु झनै गाह्रो कुरा हो । यसमा सफल देखिन्छन् अनुवादक–मेघराज अधिकारी । त्यसमाथि भौतिक वस्तु (प्रप्स) प्रयोग पनि जीवन्त छ । कलाकारका गतिविधि र उनीहरूले प्रयोग गर्ने सबैजसो ‘प्रप्स’ सकेसम्म वास्तविक छन् ।

मूलतः ‘तीन बहिनी’ मेलोड्रामा हो । शारीरिक हाउभाउ, संवादको घनत्व र मञ्च सजावटमा यस्तो विधालाई संसारभर रुचाइन्छ । तर, समकालीन नेपाली ‘मेलोड्रामा’ अझै पनि जटिल संवादको धङ्धङीबाट माथि उठ्न सकेका छैनन् । यो समस्या अनुवादित नाटकमा झनै भयंकर छ । अनुवाद गरेर नेपाली समाजअनुकूल बनाउने प्रयास गरिए पनि त्यसअनुरूप संवादमा काम गर्न नसक्दा भातमा ढुंगा लागेको जस्तो हुन्छ । नेपाली भाषामा अंग्रेजी वा हिन्दीको जस्तो एकरूपता छैन । क्षेत्रीय भाषिकालाई छेउमा राख्ने हो भने आम रूपमा लेखिने र बोलिने भाषा फरक छन् । झर्रो भाषाको आफ्नै मीठास छ । आमदैनिकीमा बोलिने भाषा प्रयोग गर्दा दर्शकले छिटो नाटकसँग सम्बन्ध स्थापित गर्न सक्छन् । ‘तीन बहिनी’ यो समस्याबाट मुक्त हुन सकेको छैन । त्यससँगै  मानवीय संवेदनाबाहेक नाटकको समग्र कथा र सेटिङले दर्शकलाई अपनत्व अनुभव गराउन सक्दैन । रुसी समाजको सेरोफेरोमा लेखिएको भए पनि नेपाली जीवनशैली र समाजअनुसार ढाल्न सकिएको भए ‘तीन बहिनी’ अझै उम्दा बन्न सक्थ्यो ।

मञ्चमा
शान्ति गिरी
शुष्मा कोइराला
सुनिसा बजागाईं
श्याम खड्का
श्री ओम रोदन
घिमिरे युवराज
जीवन बराल
विकास जोशी
अर्जुन न्यौपाने
आन्ना देउजा
सुरेश जीसी
अस्मिता खनाल
अमुल श्रेष्ठ
शुलभ पाण्डे

 

तपाईंको मत