एजेन्सी । सामसङले यसअघि नै नयाँ ग्यालेक्सी नोट ९ यही वर्ष लन्च हुनेबारे जानकारी दिएको थियो । तर अन्य चर्चित मोबाइल कम्पनीले लन्च अगावै नयाँ मोडलका विभिन्न विशेषताको खुलासा गर्ने गरेपनि सामसङले भने कम जानकारी मात्र सार्वजानिक गराउने गरेको छ । ग्यालेक्सी नोट ८ जसरी नै नोट ९ ले पनि प्रयोगकर्ताहरुलाई निराश नबनाउने प्रतिबद्धता व्यक्त गर्दै सामसङले थोरै विशेषताहरु बाहिर ल्याएको संचार एजेन्सी विजनेस इन्साइडरले बताएको छ ।
यस क्रममा नोट ९ ले नोट ८ को तुलनामा धेरै पक्षमा सुधार ल्याउने तयारी गरिरहेको बताइएको छ । त्यस अन्र्तगत ग्यालेक्सी नोट ९ को डिस्प्लेमा (इन्भिजिबल) नदेखिने फिङ्गर प्रिन्ट स्क्यानर हुने बताइएको छ । त्यसैगरी यस नयाँ मोडलमा अन्य स्मार्टफोन भन्दा भिन्दै प्रकारको बाहिरी स्कीन कभर प्रयोग गरिने बताइएको छ, जसले नोट ९ लाई अन्य फोनबाट सजिलै छुट्याउन सक्नेछ । त्यसैगरी एस–पेन मा समेत ठूलो परिवर्तन ल्याउने कम्पनीले यसअघि नै उल्लेख गरेको थियो ।
त्यस्तै नयाँ नोट ९ को ब्याट्री पनि ३,८५० एमएएचको हुने बताइएको छ । यसअघिको नोट ८ को ब्याट्री भने ३३०० एमएएच को रहेको थियो । त्यस्तै यसको क्यामरामा पनि नोट ८ को तुलनामा धेरै ठूलो र विशेष सुधार ल्याइने बताइएको छ । यसरी सामसङ कम्पनीले थोरै जानकारी मात्र बाहिर ल्याएपनि प्रयोगकर्ताहरु यसको लन्चलाई लिएर धेरै उत्साहित रहेको बताइएको छ ।