एजेन्सी । विश्व नम्बर एक स्पेनिस स्टार राफायल नाडाल बार्सिलोना ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बिहिबार राति भएको खेलमा स्पेनकै गुइर्लेमो गार्सिया लोपेजलाई हराउँदै नाडालले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
क्ले कोर्टको बादशाह मानिने नाडालले लोपेजलाई ६ – १ र ६ – ३ को सेटमा पराजित गरेका थिए । यो जितसँगै नाडालले क्ले कोर्टमा अपराजित यात्राको नयाँ कीर्तिमान बनाए । नाडालले ४० औं खेलसम्म अपराजित रहेर अपराजित यात्राको कीर्तिमान बनाएका हुन् ।
साविकको विजेतासमेत रहेका नाडालले अब क्वाटरफाइनलमा स्लोभाकियाका मार्टीन क्लिजानसँग खेल्ने छन् । नाडालले बार्सिलोना ओपन टेनिसको उपाधि १० पटक जितिसकेका छन् । क्लिजानले स्पेनकै फेलिसियानो लोपेजलाई ६ – १ र ६ – ४ ले हराएको थियो ।
बार्सिलोना ओपन टेनिस अन्तर्गत नै दोस्रो वरियताका ग्रिगोर दिमित्रोभ, तेस्रो वरियताका डोमिनिक थिम र दशौ वरियताका डेभिड गोफिनले पनि क्वाटरफाइनलमा स्थान बनाएका छन् ।