site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गजलमा गोता मार्दै राणा 
Sarbottam CementSarbottam Cement

महफिल जम्ने कक्ष छेउमै रहेको शान्त चौतारो । महफिल पछि कवि गजलकारहरुको चौतारा वरपरको जमघट रौनकपूर्ण रहँदै आएको छ । हरेक महिनाको अन्तिम शुक्रबार त्यहाँ महफिल जम्छ । नेपाली, हिन्दी र उर्दूमा लेखिएका आ–आफ्ना रचना सुन्ने सुनाउने क्रम चल्छ, कविहरुमा । 

चार पाँच महिना अघिको एकदिन कुनै ज्ञानी ध्यानी झैं विराजीत थिए चौतारोमा, महफिल–ए–काव्य उपासनाका संरक्षक डा.कृष्ण जंग राणा (८६) । यस पङ्तीकारसंग उनी भन्दै थिए, ‘मेरो जीवन डोर्‍याउने साधन भएको छ यो महफिल’ । यसरी हरेक महिना आफ्ना भावलाई स्रोता सामू पोख्न आइपुग्छन् उनी, महफिलमा । 

कार्यक्रमहरुमा उनी सधै गजल गुन्गुनाउँछन् । नेपाली होस् वा हिन्दी । हो पनि, गजल गुनगुनाउनु नै पर्छ । किनकी गजल गेय विधा हो । गजलका विज्ञ यही भन्छन् ।  केही दिन अघि डा. राणाको निवासमै पुग्यो यो पङ्तीकार, गजल स्रष्टा प्राडा सनतकुमार वस्तीका साथ लागेर । त्यहीँ राणाले सुनाए उनको बाल्यकालका केही कथा ब्यथा ।

Prabhu Bank
Agni Group
NIC Asia

कवि तथा गजलकार राणाको बाल्यकाल नेपालगंजमै बितेको होे । थर राणा भएपनि उनको बाल्यकाल निक्कै दुःख र कष्टका साथ बित्यो । पढ्नलाई पनि रोक लगाइएको थियो । आफ्नो परिवारका कोही पढ्न गएको थाहा पाए शमशेर खलकका बडाहाकिमले दुःख दिन्थे । त्यसैले कोसौ परको बोर्डरपारि लुकेर पुग्थे कृष्ण जंग, पढ्नलाई । टाँगा चढ्ने पैसा थिएन । पैदलै पुग्नु पर्दथ्यो स्कूल । उनी भन्छन्, ‘हामी भन्दा धेरै राम्रो अवस्थामा थिए नेपालगंजका अन्य नेपाली परिवार ।’

राणाले आफ्नो पुर्खाका कथा सुनाए, ‘हामी जंगबहादुर राणाका सन्तती । जगतजंग हाम्रो पुर्खा । जगतजंग पनि सत्ताधारीबाट मारिएका थिए । उनका छोरा पनि त्यसैगरि मारिए । हाम्रा पूर्वज सुदूरपश्चिमको नेपालगंज पुगे । तर त्यहाँ पनि तिनले दुःखनै पाए । त्यो दुःख हाम्रो पालोसम्म पनि यथावत नै थियो ।’

Global Ime bank

घरपरिवारले पाएको यस्तै दुःख र पीडाले उनलाई छट्पटी हुन्थ्यो । त्यही छट्पटीले मनमा विद्रोही भाव पैदा गर्दथ्यो । अनि यो विद्रोहको भाव कागजमा कोरिन्थ्यो । यसरी उनको मनको पीडा छताछुल्ल भएर कवितामा पोखिन्थ्यो । उनी भन्छन्, ‘म बेग्लै सोच्थें । त्यसैले कविता  पनि कडा कडा लेख्थे, उमेरमा । किनभने म भुक्तभोगी थिए, अथाह पीडाको ।’

जब मानिसमा दवाव पर्छ, थिचोमिचो हुन्छ, त्यस पछि उसको मनमा अनेक तर्कना जाग्न थाल्दछ । सायद त्यहिँबाटै भावको जन्म हुन्छ । कवि तथा गजलकार डा. राणालाई यस्तै लाग्छ । 
उनी आज पनि आफ्नो पीडाले भरिएको बाल्यकाल सम्झिरहन्छन् । 

यस्तैयस्तै पीडाले उनलाई कवि बनायो । तर उहिले उनी लेख्थे मात्रै । लेखिएका भाव–अभिव्यक्ति बाहिर आउँथेन । प्रकाशित हुने अवस्थै थिएन ।

बहराइचबाट म्याट्रिक गरेपछि उनी लखनउ पुगे उच्च शिक्षाका लागि । मेधावी छात्र भएकोले उनले छात्रवृत्ति पाउँदै गए । र, छात्रवृत्ति पाएरै लखनउको मेडिकल कलेजबाट एमबीबीएस पास गरे । 

आइएससी पढ्दा उनको पहिलो कविता कलेजबाट प्रकाशित हुने वार्षिक स्मारिकामा छापिएको थियो । यसरी कविता छापिँदै गएपछि उनको लेखनले गति लियो ।

यद्यपि, उनले हिन्दी कविता धेरै लेखे । कारण थियो उनको पढाइ । घरमा नेपाली बोलिए पनि स्कूल कलेजमा उनले हिन्दी नै पढ्नु प¥यो । नेपालगंजमै पनि त्यतिबेला हिन्दीमा पढाइ हुन्थ्यो । शिक्षकहरु सबै भारतीय सिमावर्ती शहरबाटै आउँथे । त्यसैले हिन्दीको वर्चस्व थियो ।

डा. राणा भन्छन्, ‘मैले केही नेपाली कविता र गजल लेखें । तर नेपालीमा लेख्नुभन्दा हिन्दीमा कविता लेख्न सहज भएकोले मैले पछि हिन्दी र उर्दू भाषामै कविता र गजल लेख्न थालेँ ।’

कलेज पढ्दा उनले हिन्दीका नामूद कविहरुको काव्य रचना पढ्न पाए । हरिवंश राय बच्चन, सुमित्रानन्दन पन्त, महादेवी वर्मा जस्ता कविका कविता पढदै गए । तिनका कविता कन्ठै पारे । ठाउँ ठाउँमा गएर सुनाए पनि । संभवतः आफ्नो गुनगुनाउने शैली यहीबाट विकसित हुँदैगएको उनीलाई लाग्छ । कतिपय कार्यक्रममा त उनले कविता वाचन गरेरै पुरस्कार पनि पाए । यो उनका लागि ‘हौसला अफजाई’ थियो ।

तर चिकित्सा विज्ञानको अध्ययन गर्दा पुरा समय पढालाई दिए । त्यतिबेला कविताले समय पाएन । तथापि, पढाइमा ध्यान दिएपनि उनको काब्य भाव भने हराएको थिएन । कतै कुनामा थान्को लागेर बसेको थियो ।

सन् १९५७ मा एमबीबीएस पास गरेपछि डाक्टर भएर डा. राणा पाल्पा अस्पतालमा जागीर खान पुगे । पाल्पा तानसेनको प्राकृतिक सौन्दर्यले उनको काव्य चेतलाई जागृत गरायो । मनको अन्तरकुन्तरमा थान्को लागेर बसेको काब्य चेतना जागेर उनलाई लेख्न प्रेरित गर्‍यो । बतासे डाँडा र श्रीनगरको सौन्दर्यले काव्य सिर्जनमा प्रशव वेदनाको काम ग¥यो । त्यस पछि फेरि डा. राणाबाट कविता जन्मिन सुरु भए । 

कविता लेख्दै गएपछि एउटा संग्रह निकाल्ने जाँगर पलायो । र, सन् १९७२ मा उनको पहिलो काब्यकृति प्रकाशित भयो, ‘देशको लागि मन दुखाउ’ शीर्षकमा ।  उनी भन्छन्, ‘मैले सानोमा जस्तो दुःख पाएको थिएँ, त्यस्तै कालान्तरमा मेरो भाग्यले साथ दिँदै गयो । मैले ‘डब्लुएचओ’ मा जागिर खाने अवसर पाएँ । अनि लामो समय मैले यसमा काम गरेँ ।’ 

करिब पच्चीस वर्ष डा. राणा डब्लुएचओमा सेवारत रहे । उनी विदेशमै धेरै बसे । इन्डोनेशिया, जकार्ता, बंगलादेश, भारतलगायतका मुलुकमा उनले काम गरे र सिनियर रिजनल डाइरेक्टरबाट अवकास लिए ।

यो अवधिमा पनि उनले आफ्नो भावनालाई कागजमा उतार्न छोडेनन् । उनको लेखनीमा चिकित्सकको व्यस्तता वा डब्ल्ुएचओको जागिरले कहिले भाँजो हालेन । उनको भाव डायरी भरि फैलिँदै गयो । ती भावहरुले उन्नाइस वटा किताब भरिएका छन् । 

अहिले पनि डा. राणाको भावनाले डायरी भरिँदै छ ।

एकपटक उनको डायरी भरिएको देखिएपछि डा. राणा पत्नी शान्ताले उनका कविताहरुको एउटा संग्रह नै प्रकाशित गरिदिइन । त्यो किताब थियो, ‘बिखरे काँटे बिखरे फूल’ । राणा छक्क परे । त्यस पछि उनले आफूले लेखेका रचनाहरुलाई पुस्तकस्वरुपमा ल्याउँदै गए । 

उनका मेरो गीत तिम्रो लागि, मनका उद्गार, अन्तर्भाव, मनकै सेरोफेरोमा लगायत केही नेपाली कविता र गजल संग्रह प्रकाशित भए । यसका साथै नेपाली संगसगै हिन्दी र उर्दुका काब्यरचना पनि थुप्रिँदै गए । 
त्यसपछि मात्रै उनको पहिलो हिन्दी गजल संग्रह ‘जिन्दगी की परछाइयाँ प्रकाशित भयो ।

डा. राणा भन्छन्, ‘मेरो स्कूलिङ नै हिन्दी भाषामा भएकोले पछिल्लो समयमा मैले हिन्दी भाषाका गजल र गीतहरुका संग्रह प्रकाशित गर्दै आएको हुँ ।’

केही वर्ष यता उनका केही किताबहरु लगातार आए । यो कुरा उठाउँदा एउटा मिठो मुस्कान उनको ओँठ भरि फैलियो । उनले भने, ‘अहिले मेरो काम नै लेख्ने र सुनाउने भएको छ । कविता, गीत, गजल जे होस्, म लेखिरहेको हुन्छु । सुनाइरहेको हुन्छु ।’

डब्लुएचओबाट अवकास लिएर आएपछि आफ्नो बसोबास इलाका धोवीघाट ठाडोढुँगा क्षेत्रको विकासका लागि उनी निक्कै सक्रिय भए । सबैको सहयोगमा हार्ट क्लब खोलियो । त्यसको जिम्मा उनैले लिए । त्यस पछि टोल सुधार समितिको जिम्मा पनि लिए । त्यही बीचमा डा. मृगेन्द्रराज पाण्डे आएर मृगेन्द्र सम्झना मेडिकल ट्रष्टमा सहयोग गर्न भने । डा. राणा त्यहाँ पनि सक्रिय भए । यसका अतिरिक्त त्रिविवि टिचिङ हस्पिटलमा भिजिटिङ प्रोफेसरको काम छँदैथियो ।

योसंगै काठमाडौंका कविता गोष्ठीहरुमा जाने क्रम पनि सुरु भयो । त्यही मेसोमा कवि रमेश खकुरेलसित उनको परिचय भयो । खकुरेलले साहित्यसेवी कृष्णप्रसाद पराजुलीसित परिचय गराइदिए । उनी काब्य यात्रामा झन सक्रिय भए । 
पछि डा. राणालाई मुटुको ब्यथाले च्याप्यो । रोगलागे पछि उनका छोराहरुले उनलाई धेरै काम नगर्न भने । उनी भन्छन्, ‘त्यसपछि त मेरो काम भनेकै लेख्ने मात्रै भयो । अनि त लेख्दै गएँ । छपाउँदै गएँ । अहिले मेरो रोगको उपचार र औषधि भनेकै मेरा यीनै काव्य र गजल रचनाहरु हुन ।’    

बच्चन, पन्त र वर्माबाट अभिपे्ररित यी कविको यात्रा आजको समयमा गजल मार्गमा दौडिँदो छ । लखनउमा लामो समय बिताएकोले पनि उनको गजल मोह त्यहीँबाट पैदा भएको हो भन्ने लाग्न सक्छ । तर उनले आफूले गजल नेपाल फर्किए पछि मात्रै लेख्न थालेको बताए । 

उनी भन्छन, ‘हो, मेरो अधिक समय लखनउमा बितेको हो । हिन्दी र उर्दु भाषामा मेरो दख्खल पनि रह्यो । त्यसैले पनि यतातिर मेरो लगाव भएको हुन सक्छ । तर, धेरै पछि मात्रै मैले गजल लेख्न थालेको हुँ ।’

लेखनको निरन्तरताकै क्रममा उनको भेट सनतकुमारसित भयो । गजल लेखनमै समर्पित यी स्रष्टाले डा. राणालाई गजल लेखन तर्फ मलजल गर्दैगए । 

आज उनी तिव्र गजल गतिमा यात्रारत छन् । उनी गजलमा गोता लगाउँदै आइरहेका छन् ।

गजलसित जोडिएको एउटा घटना डा. राणाले सुनाए । घटना उनको थातथलो नेपालगंजको थियो । एकपटक नेपालगंज गजल प्रतिष्ठानले डा. राणालाई प्रमुख अतिथि बनाएर नेपालगंज निम्त्यायो । त्यहाँ उनले गजलका कुराहरु सुने । त्यसपछि उनलाई गजलका बारेमा थप जान्ने उत्सुकता जाग्यो । उनले गजलका किताबहरु खोजे । गजलको नीति नियम पहिल्याउने प्रयास गरे । त्यसै बेलामा सनतकुमार पनि भेट भए । उनको ‘वाह गजल’ किताब पनि पढे । 
उन्नाइस पुस्तकका स्रष्टा राणा भन्छन्, ‘यहीँबाट मैले गजल लेख्न सुरु गरे । गजल आज मेरो साथी भएको छ । औषधि भएको छ ।’


 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC