काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मुलुकको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित नेपालको विशिष्टता समाजवादी शिक्षाको प्रारुप विषय एक दिवसीय वृहत शैक्षिक कार्याशालालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाल निर्माणमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । अध्यक्ष दाहालले भने, "नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ । जति पनि नेपालमा भएका परिवर्तनमा शिक्षकहरुको अतुलनिय योगदान छ । यदी शिक्षकहरु अन्यायमा नपरेका भए क्रान्तिकारी र परिवर्तनक्रारी हुँदैनथे, अन्यायमा परेरनै मुलुक बदल्ने आँट आएको हो ।"
उनले आफूहरुको नयाँ समाजवादको यात्रा पनि शिक्षकहरुको भूमिका महत्वपर्ण हुनुपर्ने विचार व्यक्त पनि गरे । "हामीले अहिले स्थिरता र समृद्धिको कुरा गरिरहेका छौं, हाम्रो नयाँ समाजवादको यात्रामा पनि शिक्षक साथीहरुले साथ दिनुहुन्छ भन्ने मैले विश्वास गरेको छु, "दाहालले भने ।
उनले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानि नपुगेको बताउँदै शिक्षकहरुको पेसालाई राज्यले नै सम्बोधन गर्नुपर्ने बताए ।
अध्यक्ष दाहालले पुँजीवादी शिक्षाले विद्यार्थीलाई आतंक मच्याउने भन्दै अबको शिक्षा आत्मनिर्भर र स्वरोजगार किसिमको बनाउन शिक्षकहरुलाई आग्रह समेत गरे ।
जागिर खानको लागि शिक्षक पेसा होइन : पोखरेल
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शिक्षक पेसा जागिरको लागि नभएको बताए । "हरेक व्यक्तिमा रहेको ज्ञानलाई जागृत गर्ने पेसा नै शिक्षक हो, "मन्त्री पोखरेलले भने, "शिक्षकमा देश बनाउने जिम्मा हुन्छ । मुलुकमा रहेका हरेक नेपालीलाई मेरो देश हो भन्ने भावना बताउने काम शिक्षकको हो ।"
मन्त्री पोखरेलले विज्ञान र प्रविधिलाई आत्मसात गर्दै अबको शिक्षा अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे । "विश्व प्रविधिको दुनियामा धेरै अगाडि बढिसक्यो, विज्ञान र प्रविधिले विश्वलाई नै साघुरो बनाइदिएको छ । त्यसैले नेपालको शिक्षा प्रणाली पनि विज्ञान र प्रविधिलाई आत्मसात गर्दै अगाडि लैजानुपर्छ, "पोखरेलले भने ।
उनले शिक्षाले राजनीति गर्ने बताउँदै अनियमित तरिकाले हुने शिक्षक नियुक्त रोक्नुपर्ने जोड समेत दिए ।