काठमाडौं । नेपाल आर्मी ‘ए’ र जेभियरले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित हात पारेका छन् ।
सोमबार भएको खेलमा आर्मी ‘ए’ ले बलर्जलाई ७४–५१ ले परजित गर्दै लगातार दोस्रो जित निकालेको हो । आर्मीको जितमा सदीश प्रधानले २४ अंक जोडे । पहिलो क्वाटरमा २६–१४ को अग्रता लिएको आर्मीले दोस्रोमा १६–१८ ले पछि परेको थियो । तर, तेस्रो र चौथो क्वाटरमा अगाडि रहेको आर्मीले क्रमशः १६–६ र १६–१३ अंक जोड्न सफल भएको थियो ।
पुरुषतर्फ नै लगातार दोस्रो जित निकाल्ने क्रममा जेभियरले आर्मी ‘बी’ लाई ७४–७२ को साँघुरो अन्तरले हरायो । जेभियरका निकेश मगरले २३ स्कोर गरे । सुरुको क्वाटरमा १५–२२ ले पछि परेको जेभियरले दोस्रो र तेस्रो क्वाटरमा अग्रता बनाउदै जित सुनिश्चित गरेको थियो । जेभियरले दोस्रोमा २२–१७ र तेस्रो २३–१३ स्कोर गर्यो । चौथो क्वाटर आर्मी ‘बी’ ले २०–१४ ले आफ्नो पक्षमा पारेपनि जित हात पार्न सकेन ।
पुरुषमै बुढानीलकण्ठले युनिभर्सललाई ७९–६२ ले हराएको छ । बुढानीलकण्ठका लागि विराज रानाले १७ अंक जोडे । बुढानीलकण्ठले पहिलोमा १५–८, दोस्रोमा २२–१४, तेस्रोमा १२–१८ र चौथोमा ३०–२० को स्कोर गरेका थिए ।
महिलातर्फ समृद्ध गोरिल्लाजले आयोजक नेकोसमाथि ४८–५ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का बनाएको छ । समृद्धकी मुना महर्जनले १५ अंक जोडिन् । ३ टोली रहेको समूह ‘बी’ मा लगातार दोस्रो पराजयसंगै नेकोस प्रतियोगिताबाट बाहिरिएको छ । नेकोस अघिल्लो दिन साइपाल एकेडेमीसंग पराजित भएको थियो । नेकोसको हारसँगै साइपाल पनि सेमिफाइनलमा पुग्न सफल भएको छ ।