ब्लग

नयाँ वर्ष केही सन्दर्भ

दीपकराज सापकोटा

नयाँ वर्ष केही सन्दर्भ

समयको स्वभावै बित्ने हो । मानिसहरु भन्छन् ’समय चक्र’ । तर, मलाई त यो सिधा रेखामा सधैँँ अगाडि हिँड्छझैँँ लाग्छ । त्यसैले त वर्ष नयाँ आँउने होला नि ! सधैँझैं नयाँ वर्ष यसपटक पनि आएको छ तर यसको महत्त्व व्यापकरूपमा फैलँँदो छ । प्रविधिको चमत्कारले संसार र संचार कति सुलभ, सजिलो र सहज भएको छ भने कल्पनाभन्दा पनि पर !  भावलाई शब्द वा चित्रको आकार दियो, सामाजिक सञ्जालमा छुस्स छुवाइदिऐपछि संसारको जुनसुकै कुनामा पनि एकैसाथ पुग्ने । खप्तड बाबाले भनेको विचारको तरङ्गजस्तै जुन सुकै गन्तव्य, जतिबेलै भनेजस्तै । संयोग पनि कस्तो, नयाँ वर्ष यसपटक आकाशमा आयो त्यो पनि हिन्द महासागरमाथिको आकाशमा – अस्ट्रेलियाको यात्राका क्रममा, धेरै नेपाली साथीहरुका बीचमा । 

नयाँ वर्षमा धेरैले नयाँ नयाँ वाचा गर्छन्, नयाँ उद्देश्य प्राप्तिको कामना र अठोटका साथ । मैले पनि केही वर्ष यसो गर्ने बारेमा सोचेँ तर मन र बुद्धिको यौटा पाटोले भन्यो – काम गर्न औंसी पूर्णे कुर्नै पर्दैन । अनि वाचा कसम पनि मनमा आए र त्यतै बिलाए । यो पटक पनि मनमा विचार आए – केही त नयाँ वाचा गराँं । तर फेरि त्यही मनको यौटा कुनामा पलाएको विचारको सानो अंकुरले भन्यो – केही राम्रो काम गर्न कुरा किन गर्नुपर्छ र ?

त्यही र यस्तै तरङ्ग र लहडका बीचमा वर्षौं बिते । जीवनले घन चक्कर काट्यो वा वक्र रेखामा हिडँँ्यो वा  सिधा रेखामा अगि बढ्यो, म भन्न सक्तिन तर जीवन त अगाडि बढेकै छ । यौटा निश्चित अवधिपछि उमेरमा अर्को धर्को थपिन्छ, गालामा प्रौढताका रेखा कोरिन्छन् र कपालको रङ्ग फेरिदैंँ जानेमात्रै हैन, रौं पनि झर्दै जान्छन् । परिवारमा केही सदस्य थपिन्छन्, केही घट्छन् पनि । केही सम्बन्धहरु बन्छन्, केही टुट्छन् र केहि छुट्छन् पनि । भ्रमहरु कहिले झ्याँङिन्छन्, कहिले टुट्छन् अनि कहिले अनुभूत हुन्छन् । आखिर जीवन भनेको यस्तै उस्तै त रहेछ नि !  

जीवनको यो मोडमा नयाँ वर्ष कसरी मनाऊँ ? समयको रुप, स्वरुप र गतिका बारेमा म ठम्याउन समेत अक्षम भइरहेको छु । जीवनलाई फर्केर हेर्दा कति कुरा बिस्तारै खुल्दैआएका छन्, कति अझै अस्पष्ट छन् र सायद सधैँ अस्पष्टताका गर्भमा नै रहने छन् भने कति त स्मृति बाहिर भइसकेका छन् । अँ, ब्रम्हाण्डमा पृथ्वीमा हुने गतिविधि दाखिला हुने कुनै प्रक्रिया भए एकपटक हेर्न कति मजा आँउथ्यो होला है – जापानी कार्टुन डोराइमनको मूल पात्र डोरेमनले समयको अघि र पछि गर्न सकेझैँं ।  सायद आविष्कार र प्रविधिले यो बाटो पनि पहिल्याउला नै । चर्चित इजरायली लेखक युभल नोह हरारीका पुस्तक ‘होमो सेपियन्स’ तथा ‘होमो डेयस’ले मान्छेको अबको यात्रा स्पष्टरुपमा भगवान् हुने हो भनेर भनेझैं । यी पुस्तकहरु पढिरहँदा विचित्र प्रकारको छटपटी र बेचैनी कति भए कति ? मानव जिजीविषा देखेर, मानव मैमत्तापन देखेर, भोगेर र उसको अन्तहीन, अनवरत र असीमित आकांक्षा सम्झेर । 

नयाँ वर्ष हामी कहाँ छ पटक आँउछन् । आखिर सबैलाई आआफ्नो नयाँ वर्ष महत्वपूर्ण हुन्छ नै ।  सबैको खुसीमा रमाउन पाउँँदा आनन्द बढ्ने नै भयो । त्यसैले आनन्द बढाऊँ र सँगसँगै प्रतिज्ञा गरे पनि नगरे पनि हामी सबैले आफ्नो भागको काम चाँहि इमानदार, जिम्मेवार र उत्तरदायी भएर गरौंँ । काम नगर्न अर्काले नगरेको बहाना नबनाऊँ, कसैले गरेन नभनौ र दोषमात्र नदेखौँ । गणतन्त्र, संघीयता, राजनीतिक स्थिरता प्राप्त भएको छ, अब त केही गरौँ र गरेर देखाऊँ !  

गर्न खोजौँ, अवश्य सकिन्छ ।
 

तपाईंको मत