सरकार, विद्रोही र तिनका संरक्षक विदेशी शक्ति राष्ट्रहरूको क्रूरतम हिंसाको चपेटामा परेका सिरियाली जनताले अझै शान्तिको सास फेर्न पाउने लक्षण देखिएन । सिरियाली जनतामाथि भएको पछिल्लो आक्रमण अमेरिकी नेतृत्वको सेनाले गरेको छ । सिरियाका राष्ट्रपति बसर अल असाद समर्थक सेनाले विद्रोहीहरूको कब्जामा रहेको इलाकामा रासायनिक अस्त्र प्रयोग गरेको समाचारपछि शुक्रवार अमेरिका, बेलायत र फ्रान्सको सेनाले संयुक्त हवाई आक्रमण सुरु गरेको हो । अमेरिकी नेतृत्वको सेनाले असारको सरकारले रासायनिक अस्त्र लुकाएको आरोप लगाएको छ । यसअघि असाद समर्थक सेनाले प्रयोग गरेको सन्देह गरिएको रासायनिक हतियारबाट पीडित बालबालिकाका तस्बिरहरू सञ्चार माध्यममा व्याप्त भएका थिए । त्यस जघन्य नरसंहारको जति निन्दा गरे पनि कम हुन्छ । यद्यपि, असादको सरकारले रासायनिक हतियार प्रयोग नगरेको अस्वीकार गर्दै आएको छ ।
निहत्था नागरिकमाथि त्यस प्रकारको नरसंहारकारी घातक रासायनिक अश्त्र प्रयोग गर्ने शासनको अन्त्यको चाहना मानवीयता भएको कसैले पनि गर्नु अस्वाभाविक होइन । अरब जागरणकै क्रममा सन् २०११ मा सिरियाका तानाशाह शासक बसर अल असादविरुद्ध नागरिक विद्रोह सुरु भएको थियो । तर, नागरिकहरूको लोकतन्त्रको मागलाई सैनिक शक्ति प्रयोग गरेर दबाइयो । त्यसपछि सन् २०११ कै उत्तरार्धतिर विद्रोहीले पनि हतियार उठाए । विद्रोहीहरूले हतियार प्रयोग गरेपछि असदले झन् चर्को बल प्रयोग गरेर दमन गर्न थाले । सिरियालीहरूलाई आपसमा संहारकारी युद्ध गर्नका लागि एकातिर पश्चिीमी राष्ट्रहरू र रुस, टर्की, इरानजस्ता मुलुकले हातहतियार दिएर उक्साउन थाले । पश्चिमका लोकतान्त्रिक भनिने मुलुकहरूले विद्रोहीलाई हतियार दिए भने रुस, इरान र टर्कीका शासकले असादलाई साथ दिए । त्यसपछि कहिले युद्ध विराम त कहिले चर्को संघर्ष हुँदै आएको छ । लाखौं सिरियाली शरण खोज्दै विदेशमा भौँतारिएका छन् ।
अमेरिकी नेतृत्वको संयुक्त सेनाले गरेको आक्रमणबाट पनि अन्ततः मारिने त निर्दोष निहत्था नागरिक नै हुन् । हिंसाको प्रतिवाद हिंसात्मक उपायबाट हुनसक्तैन । अमेरिका र रुसले धाप नमारेका भए सिरियाली जनताले आफैँ नै झगडा टुंगो लगाइसक्ने थिए । विद्रोह साम्य नभएपछि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा जनमत संग्रह गरेर लोकतान्त्रिक विधि एवं प्रक्रिया अपनाएको भए यति धेरै मानवीय क्षति हुने थिएन । युद्धबाट भएको भौतिक क्षति त कुनै दिन पूर्ति पनि होला तर मानवीय क्षति त अपूरणीय नै हुन्छ । अमेरिका र रुसजस्ता शक्तिशाली राष्ट्रहरूले यसरी हिंसा बढाउनका लागि पक्ष विपक्षलाई सहयोग गर्नुको साटो सिरियाली जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकारको रक्षालाई प्राथमिकता दिएका भए अहिले ‘तेस्रो विश्वयुद्ध’ हुनसक्ने चेतावनी दिनुपर्ने थिएन ।
सिरियाको गृहयुद्ध अहिले रुसी र अमेरिकी छायायुद्धमा परिणत भइसकेको देखिन्छ । यसैले दुवै मुलुकले सिरियाली जनताको बाँच्ने अधिकारको सम्मान गर्दै कुनै पक्षलाई पनि सहयोग गर्न तत्काल रोक्नुपर्छ । यद्यपि, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन वा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिरियामा युद्ध चर्कदाँ व्यक्तिगतरूपमा फाइदै भएको देखिएको छ । यी दुवैमा मानवीय पक्ष कमजोरै देखिएको छ । अरूले चाहेर पनि निर्णायक हस्तक्षेप गर्न सक्तैनन् । राष्ट्रपति द्वय पुटिन र ट्रम्पबीच व्यक्तिगत सम्बन्ध पनि सुमधुर रहेको बताइन्छ । दुर्भाग्य, यिनको शत्रुता र मित्रताको जटिलतामा सिरियामा भने अमानवीय, अस्वीकार्य नरसंहार उपेक्षित भइरहेको छ । नेपाललगायतका राष्ट्रहरूले मानवीय संकट समाधान गर्न निर्णायक हस्तक्षेप गर्न नसके पनि निहत्था नागरिकका पक्षमा अन्तर्राष्ट्रिय मञ्चहरूमा भन्नुपर्छ – सिरियामा नरसंहार रोक !