site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सनत संकल्प
Ghorahi CementGhorahi Cement

— अक्षर काका


सपनाले शिखर चुम्यो– लेखनाथ बाबाका प्रकाशित/अप्रकाशित कृतिको पाँचवटै संग्रह तयार भयो । आकर्षक साजसज्जासहित । वर्षौंअघि निशेचित सपनाको भ्रूण बच्चाको रूपमा पैदा भएको थियो त्यो ।

भीमकाय ग्रन्थ ‘कविशिरोमणि रचनावली बोकेर हानिए उनी, राष्ट्रकवि माधव घिमेरेकहाँ ।

Agni Group

नेपाली वाङ्मयका शताब्दी व्यक्तित्व । यशश्वी कृतित्व । शीर्ष साधक । उमेरले डाडाँपारि पुगे पनि ध्रुवताराझैं चहकिला छन् । कला–सिर्जना साधना छँदैछ । अध्ययन गरिरहेकै अवस्थामा भेटिए त्यस दिन पनि ।

लेखनाथ पौड्यालका २१ कृति रचनावलीमा संगृहीत गरेको देख्दा आह्लादित भए घिमिरे । हातमा लिनेबित्तिकै ढोगे र पुलकित भए, “लेखनाथ त मेरा पनि गुरू हुनुहुन्थ्यो । जस्तो गुरु, उस्तै । क्या सामग्री आएछ !”

Global Ime bank

कृतज्ञ भए । अनुहारका बूढा रेशामा दीपक प्रज्ज्वलित भयो । इन्द्रेणीसमान पाँचवटै ग्रन्थबाट आँखा ओझेल पर्न मानेनन् । ओठबाट उछिट्टको मुस्कानले कोठै धपक्क बल्यो भनौं ।

कृतार्थ भए प्रा.डा. सनतकुमार वस्ती । पाँच वर्षे प्रशव–पीडाले निकाश पाएझैं लाग्यो । सपनाको मुहूर्त इन्द्रधनुष थियो त्यो, वास्तवमै ।

० ० ०

सहरी भीडभाडबाट भित्र । शान्त र स्निग्ध पर्यावरण । खरीको रूख । बीचमा चौतारो पनि रहेछ । आदि–सर्जक लेखनाथ पौड्यालकै समयको गुरुकुलको आदिम दृश्य बिर्साउने । चिरचिर.. च्यारच्यार..., चराहरूको अलग्गै नाद थियो त्यहाँ ।

सौम्य वातावरणमा भेटिए– प्रा.डा. सनतकुमार वस्ती । संस्कृत वाङ्मयका अग्ला स्रष्टा । गजल विधाका भीष्म पितामह भने पनि हुन्छ उनलाई । गजलबाहेक साहित्यका अन्य फाँट–फगटामा पाइलै हालेनन् उनले । उल्लेख्य गजल लेखेका पनि होइनन् ।

“गजल श्रवण विधा पो हो त, लेख्यो भने यसको भाव निचोरिन्छ,” मिर्जा गालिव र जगजित सिंहका गजलमा प्रीति बसेदेखि यसै भन्दै आएका छन् उनी । तर, पछिल्लो पाँच वर्षयता लेखनाथका रचन उत्खननमा तल्लीन देखिए ।

किन त ?

एकैपटक बाल्यकालतिर डोहोर्‍याउँछन् उनी—

‘गर्दैन ठूलो व्यक्ति मर्यादा–स्थिति–लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।

दविन्छ गुणीको दोष गुणका राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।।

कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।

छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।।

ज्यादा सोझो हुनूभन्दा टेढिनु छ फलाऽधिक ।
गर्छ को लोकमा सोझो ग्रहको पूजनाऽऽदिक ।।

टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
को बोल्दछ अँध्यारोमा महाऽऽत्मा जुन्किरीसित ।।

सानैदेखि छुचो हुन्च दुष्ट मानिसकि मति ।
घोचने जङ्गली काँडा पहिले नै तिखा कति ।।’

नैतिक दृष्टान्तमा श्लोकबद्ध यी कवितांश हमेसा भट्याइरहन्थे पिताजी । तोते बोली पनि फुटेको थिएन । पिताजीको होइन, लेखनाथको सान्निध्यता पाए सनतकुमारले । दुई वर्ष जेठा दाजु शरदचन्द्रको चर्या पनि उस्तै थियो । धूलेटोमा कखरा कोर्न होइन, लेखनाथका श्लोक भाका हाल्थे उनी ।

नेपाली वाङ्मयको मानक पौड्यालका कविता यस्ता हुन्, कविता नजान्दै प्रत्येक मनमस्तिष्कमा पुगेर बास बसेका । सञ्चार गरिरहेका । कवि शिरोमणि लेखनाथका दुई हरफ कविता कण्ठस्थ नभएका मानिस भेटिँदैनन् भन्दा हुन्छ । नभए काल महिमा त कण्ठै छ–
राजा रङ्क सबै समान उसका, वैषम्य गर्दैन त्यो
आयो, टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो ।
लाखौं औषधि, अस्त्र–शस्त्र–महिमा देखेर डर्दैन त्यो
व्याधा–तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ।।

धरानको लक्ष्मी सडक हो उनी जन्मिएको । महाकवि लक्ष्मीप्रसाद देवकोटाको नामबाट सडक नामाकरण भएको पहिलो सडक हो त्यो । धनकुटाको फँलाटेभन्दा पर्तिरका वस्तीहरू हुन् उनीहरू ।

पिता टीकाप्रसाद शर्मा वस्ती संस्कृत, नेपाली साहित्यका धुरन्धर थिए, बनारस बसेर पढेका । ४० वर्षभन्दा लामो समय अध्यापनमा खर्चिएका पूर्वाञ्चलकै पहिलो प्राध्यापकसमेत हुन् उनी ।

चेतनाको द्वार नै लेखनाथको कविता सुनेर खुल्यो । आँखा उघ्रँदा उनका अघिल्तिर लेखनाथकृत ‘तरुण तपस्वी’, ‘लालित्य’ कविता सङ्ग्रह थिए । दुवै कृति ०१० सालमा प्रकाशित, पिताका प्रिय ।
प्राध्यापक बाबु । घरभरि हुन्थे चेलाचेली । घरमा आएका पाहुनलाई लेखनाथका कविता सुनाएर पठाउने संस्कार थियो ।

लेखनाथको कवितामा रस बस्नुको पछाडि दाजु शरदचन्द्रको पनि हात छ । दाजु लेखनाथकृत ‘पिँजडाको सुगा’ कवितांश मच्चिइमच्चिई सुनाउँथे–

‘बालक बबुरो दिजशुक नाम
हुँ म परेको छु पिँजडामा 
मकन हरे शिव शान्ति र चैन
सपनाबीच पनि रति भर छैन
मेरा बान्धव बाबु र आमा 
बस्छन् वनका एक कुनामा
कोसित पोखूँ मनको ताप 
गर्दै पिँजडाबाट बिलाप
अंशु बगाई कहिले रुन्छु 
कहिले मूर्दातुल्य म हुन्छु 
कहिले पागलसरि उफ्रन्छु 
केवल वनका सुख सम्झन्छु   
फलफूल खाई नित्य रमाई !’

दाजुको तोते आवाजमा उच्चारित हरफ सनतको मस्तिष्क अझै प्रगुम्फित छ ।

संस्कृत वाङ्मयका वर्णमात्रिक छन्दमा लेखनाथका शिल्प रङ्गिका छन् । परिनिष्ठित छन्द पनि हो यो । लेखनाथका कवितामा जीवनको सादृश्य तस्बिरमात्रै होइन, जीवन र जगतका अनेकन आयाम भेटिन्छन् । एउटै श्लोकसमेत अभेद्य दर्शन भेटिन्छ ।

“हामीले त क, ख, ग, घ... आदि व्यञ्जनभन्दा पहिले संस्कृत वाङ्मयका छन्द पो सिक्यौं, त्यो हाम्रो संस्कार थियो,” भित्तातिर नियाल्छन् उनी ।

०१५ सालमा जन्मिका उनले चन्द्र संस्कृत माध्यमिक विद्यालयबाट ०३० सालमा पूर्वमध्यमा, पिण्डेश्वर क्याम्पस धरानबाट उत्तरमध्यमा उत्तीर्ण गरे । आचार्य र शास्त्रीचाहिँ सम्पूर्णानन्द विश्वविद्यालयबाट गरे । सन् १९८१ मा उनले संस्कृत साहित्यमा विश्वविद्यालय नै ‘टप’ गरेपछि भने परिचयको आयाम बदिलियो । पुनः धरानै रमाना भए र अध्यापन कार्यमा सरिक भए । पता पिण्डेश्वर क्याम्पस प्रमुख । अस्थायी अध्यापकको पद पनि खाली थियो । पढाउने बाटोचाहिँ त्यसरी खुलेको हो उनको । ०४३ यता भने वाल्मीकि क्याम्पसमा प्राध्यापन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र प्रताप मल्लका अभिलेखमाथि विद्यावारिधि गरेर औपचारिक अध्ययनको पोयो गाँठो पारे उनले ।

गजलको छाप

संस्कृत साहित्यमा पैताला परे पनि कलाका विभिन्न आयामसँग अन्तर्घुलन थियो । बनारसमै बस्दा संगीतप्रति लगाव बढ्यो । उनका गुरू दुर्जेन्द्रनाथ शर्मा ‘निर्गुण’ संस्कृत वाङ्मयका महा–विद्वान थिए । भारतवर्षमै उनको ठूलो महिमा थियो । हिन्दी, बंगाली उर्दू, फारसी आदि भाषामा तीक्ष्ण थिए र काव्य–कथा रचना गर्थे । तिनै दुर्जेन्द्रनाथको सान्निध्यतामा गजलबाट आस्वादित हुने सौभाग्य पाए ।

गजल प्रिय विधा । त्यसका अतिरिक्त कला, शास्त्रीय–संगीत, कुची–कलामा पनि उनको रुचि नभएको होइन । वनारसमा बस्दा अभ्याससमेत गरे । “तर, प्राध्यापन पेशाले व्यक्तित्वका अरू आयामलाई घुर्मैलो तुल्याइदियो,” भन्छन् उनी ।

जगजित सिंहको ठूलो छाप पर्‍यो । वनारसमा बस्दा सिंहले गाएका सबैजसो गीत मुखाग्र थिए, शब्द होइन, धूनसमेत । अद्यापि कण्ठस्थ छन् उनलाई । र, समय हुनेबित्तिकै गुन्गुनाउन थालिहाल्छन् ।

काठमाडौं छिर्दा पूर्वाद्र्धपख नेपालीमा गजल लेखिँदैन जस्तो लाग्थ्यो । अक्षर संरचना मिलाएर अन्त्यानुप्रास मिलाएरमात्रै लेखिएका । अडबाङ्गे लाग्थ्यो । गजलको नाममा ‘कागजे फूल’ खडा भएझैं प्रतीत हुन्थ्यो । ज्ञानुवाकर पौडेलका गजल पढेपछि भने केही हदसम्म मेटियो त्यो धारणा ।

पछि उनले स्नातकोत्तर तहको ‘क्रियटिभ राइटिङ’ खण्डमा भने गजल विषय नै रोजे । तिनताका निकै गाह्रो थियो, गजल विषयमा लेख्न । स्रोत–सामग्री खोज्न पनि बनारसै हानिनुपर्ने । चाणन गोविन्द पुरीकृत ‘गजल एक अध्ययन’ पुस्तक बनारसबाट झिकाएर शोध पूरा गरे ।

त्यतिले मात्रै गजलको तिर्सना मेटिने कुरा थिएन । बढ्दो गजलको महिमामर्दन रोक्नलाई पनि गजलबारे नै कृति लेख्ने निधो गरेका थिए उनले । वस्तीकृत ‘वाह गजल !’ त्यही उत्पादन हो ।

गजलको सन्दर्भ उठान गर्दा त्यसको पहिलो श्रेय पनि कवि शिरोमणि लेखनाथलाई नै जान्छ । 

‘हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा !’

संरचना नमिले पनि यी उदृधृतांश गजल–शिल्प हुन् ।

उर्दू साहित्यको विशिष्ट विधा हो गजल । अध्ययनले तिखारिएको भाषा–शिल्पले खारिएको विम्ब–आयामका हिसाबले पारङ्गतहरू गजलमा सक्रिय छन् त्यहाँ । हाम्रो यहाँचाहिँ ठीक उल्टो विसङ्गतपूर्ण अवस्था छ भन्छन् उनी ।

० ० ०

झन्डै पाँच वर्ष साहित्यकार जगदीश घिमिरेले उठान गरेका हुन् ‘लेखनाथ रचनावली’ । वस्ती र जगदीशबीच साहित्यिक–आत्मीयता प्रगाढ थियो । “‘वाह गजल !’ चित्ताकर्षक कृति हो, गजल विधामा त्यसले सुमनोहर छाप छाडेको छ,” जगदीशले बेलाबखत प्रफुल्लित तुल्याउँथे । झन्डै १८ वटा प्रतिक्रिया दिएका थिए उनले ।

जगदीशसँग गालिवका गजल सुन्दै चक्रपथ फन्का मारेका कयौं किस्सा छन्, उनका ।

लेखनाथको एउटा श्लोक गुणवत्ताका हिसाबले पाश्चात्य दर्शनका ठूला ठेलीलाई उछिन्न सक्छ भनेर तर्क गर्थे उनी । भन्थे, “यत्रा दिग्गज कवि हुँदाहुँदै विभिन्न वाद, धार भन्दै विदेशी साहित्यका पानामा रमाइरहेका छौं हामी ।” खुब चित्त बुझ्थ्यो उनलाई ।

कुरैकुरामा एकदिन जगदीशले लेखनाथकी नातिनी प्रतिभा पाण्डेकहाँ पुर्‍याए । “कवि शिरोमणिको रचनावली त निकाल्ने तर सम्पादन कसले गर्छ ?” मथिङ्गल मत्थै थिए, दुवै एकमुख लागे, “रचनावली सम्पादनको जिम्मा तपाईंले नै लिनुपर्छ ।”

तर, उनले एउटा शर्तमा लिए, “सम्पादन मै गर्छु तर कविज्यूका सम्भव भएसम्म हस्तलिखित पाण्डुलिपि नै उपलब्ध गराउनुपर्छ । र, यो काम पूर्ण हुनुपर्छ, बीचमै अलपत्र पार्न पाइँदैन ।”

सामग्री खोज्न सजिलो थिएन । पौड्यालको निधन भएकै ५३ वर्ष भइसक्यो । पुस्तकालयका भित्तामा थन्किएका किताब धमिराको गुण बनेका छन् । पौड्यालको निधनपश्चात् कतिपयले उनका कृति नछापेका पनि होइनन् तर ती अशुद्धका प्रोकाप्रायः भेटिन्थे । धेरैजसो सामग्री पौड्यालकै आफन्तको घरमा फेला परे । कतिपय राष्ट्रिय अभिलेखालयबाट छायाप्रति जम्मा गरियो । केही मदन पुस्तकालय गुठीबाट पनि झिकाइयो ।

रचनावलीमा पौड्यालले सिर्जना गरेका तर पाठकले नामै नसुनेका केही कृति छन् । त्यस्तै, ‘लालित्य’को तेस्रो भागसमेत छ, जहाँ ५८ वटा कविता संगृहीत छन् । दोस्रोमा तेस्रो भागसमेत निकाल्छु भनेर पाठकलाई वचन दिएका रहेछन् कविवरले तर नियतिको फेला परे । कविशिरोमणिको वाचा सनतकुमारकै खोजबिनले पूरा गरिदियो ।

पौड्यालका रचनामा संस्कृतप्रधान केही पदावली छन्, जुन अहिलेका पुस्तालाई बुझ्न हम्मेहम्मे हुन्छ ।

तर, सरलीकृत गरेका छन् । ‘तरुण तपश्वी’ र ‘ऋतुविचार’मा पाद टिप्पणी राखेका छन् उनले । त्यस्तै, चौथो भागमा २००९ सालको ‘प्रतिभा’ पत्रिकामा प्रकाशित दुर्लभप्रायः हास्यव्यंग्य निबन्ध ‘फर्सीको झोल’ र दुइटा नाटक छापिएका छन् । पाँचौं खण्डमा कालीदासकृत महाकाव्य ‘शाकुन्तल’ र ‘पञ्चतन्त्र’ अनुदित छन् ।

“नेपाली वाङ्मयका युगपुरुषका अमर कृतिलाई आजको पुस्तासमक्ष हस्तान्तरण गर्न शिरोमणि रचनावली ल्याएका हौं, पछिल्लो पुस्ताले लेखनाथलाई नबिर्सिऊन् भन्ने हाम्रो ध्येय पनि हो,” यति भनेर कुराकानी टुंग्याए उनले ।
 

(कविशिरोमणि रचनालाई नेपालयले बजारमा ल्याएको हो ।)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०७५  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC