साहित्य र कला

लेख्ने हुटहुटी

लेख्ने हुटहुटी

— सानु शर्मा


लेखेर आफैँसँग राख्दा त ठिकै थियो तर लेखेका किताब प्रकाशनमा ल्याएपछि मैले धेरै नाम पाएँ । कसैले रहस्यमयी भने, कसैले भूमिगत । कसैले कुनै पुरुषको छद्मनामसम्म भनेर टिप्पणी गरे । खासमा मलाई भने महिलाहरूले यसरी टिप्पणी गरिरहँदा उदेक लाग्यो । दुस्ख लाग्यो भन्दिनँ, किनकि उहाँहरुको दुखाइहाल्ने उद्देश्य थिएन कि ? शायद ।

मेरा कथाहरू पत्रपत्रिका र अनलाइन माध्यमहरूमा छापिइरहेका हुन्छन् । मनले खाएका साथी र चिनजानका मान्छेहरूसँग भेटघाट गरेकै छु । सँगै बसेर चिया, कफी पिउने पनि गरेकै छु । तर, नितान्त अञ्जान मान्छेहरूबाट म टाढै बस्न रुचाउँछु । भन्नको लागि खासै केही छैन मसँग त्यसैले अन्तर्वार्तासँग पनि टाढिन्छु म। फेसबुकमा पनि मेरा साथीहरूको लिस्ट एकदमै सीमित छ । त्यो छोटो लिस्टमा पनि दोहोरो कुराकानी र च्याट गरेका साथीभाइ, आदरणीय, समवय र अनुज पुस्ताका साथीहरू एउटै हातको औंलामा अटाउनुहुन्छ । एकदमै नजिकका साथीहरूसँग बाहेक अरूसँग व्यक्तिगत कुराकानी गर्न म रुचाउन्नँ ।

म उमेरको त्यो मोडमा छु, जहाँ मनले हल्लाखल्ला, ग्यादरिङ भन्दा शान्तिको बढी चाह राख्छ । म आफूलाई कुनै सेलिब्रिटी मान्दिनँ त्यसैले मिडिया र अरु प्रचारबाजीदेखि टाढै बस्छु । हो, मेरो पनि घर छ, परिवार छ । तर, यससँग आफ्नो सिर्जनालाई नितान्त पृथक राख्न चाहन्छु । लेख्नु मेरो निजी ‘प्यासन’ हो, त्यसैले आफ्ना अनुभूतिबाहेक यसमा म अरु कसैलाई पनि मिसाउन चाहन्नँ । त्यसैले म केवल मेरो मात्र कुरा गर्न चाहन्छु । त्यत्तिमात्रै ।साथीहरू यसलाई ‘मिस्ट्री’ भन्नुस्,भूमिगत भन्नुस्  या छद्मभेषी, त्यो मैले तपाईंहरुकै विवेक र मूल्याङ्कनमा छोडेँ ।

लेखिएका उपन्यासहरूको कुरा गर्ने हो भने लगभग आधा दर्जन जति पुगेका छन्। तर, प्रकाशित भएका चारवटा । कथाहरू  ५० वटा जति लेखेकी छु, जुन बेलाबेला पत्रपत्रिका र अनलाइन माध्यममा छापिने गरेका छन् ।

जतिबेला मैले ‘अर्धविराम’, ‘जितको परिभाषा’ र यी जस्ता अरु कृतिको सिर्जना गरें— मलाई नै थाहा थिएन उपन्यास कसरी लेखिन्छ १ उपन्यास पुनर्लेखन गर्नुपर्छ, सम्पादन गर्नुपर्छ भन्ने त भर्खर सिक्दै छु । त्यतिबेला लेखेका केही पाण्डुलिपि मैले च्यातेर फ्याँकें र केहीलाई अचेल ठोकपिट गर्दैछु । हुन त मैले लेख्न शुरु गर्दा मेरा कृतिहरू प्रकाशित होऊन् भन्ने अभिष्ट मैले कहिल्यै राखिनँ । यिनले चर्चा बटुल्नेछन् या पुरस्कार जित्नेछन् या म एक उपन्यासकारका रूपमा चिनिनेछु, कथाकार कहलाइनेछु भन्ने रहर पनि गरिनँ । किनकि जुन उमेरदेखि मैले लेख्न शुरु गरें, त्यो उमेरमा मलाई यो सबको महत्व, मूल्य र अर्थ नै थाहा थिएन । म त बस आफूलाई खुशी पार्न या आफ्नो अन्तरमनको हुटहुटीलाई शमन गर्न लेख्थें र लेख्छु । तर, परिपक्व हुँदै गएपछि साथीभाइले ‘विषयवस्तु राम्रो छ, प्रकाशन गराऊ’ भनेर प्रोत्साहित गरे । त्यसपछि प्रकाशित मेरा लगभग सबै कृतिहरू लगभग एकै समयमा लेखिएका हुन् ।

मेरा प्रायः कृतिमा आफूले भोगेका, सुनेका र देखेका अनुभव अलिअलि मिसाएकै हुन्छु । चाहे त्यो एउटा च्याप्टर मात्र किन नहोस् । मैले भनिहालें— म आफ्ना लागि लेख्ने मान्छे । आज पनि मेरो लेख्नुको उद्देश्य उही छ— स्वस्थ, स्वच्छ र आफ्नो मन छुने विषयवस्तुमा उनेर कथा र उपन्यास लेख्नु । यिनले शिक्षा र ज्ञानमूलक सन्देश दिन्छन् कि दिँदैनन् भन्नेमा पनि म त्यति पीर गर्दिनँ ।यसका लागि त कोर्सका किताबहरू नै प्रशस्त छन् । त्यसले नपुगे जिन्दगी आफैंले सिकाइदिन्छ ।

मेरा सबै कथा र उपन्यास प्रायः कुनै न कुनै घटना र दुर्घटनाबाट प्रेरित हुन्छन् ।सानो, झिनो–मसिनो नै सही— वास्तविकतासँग ‘कनेक्सन’ मनपर्छ मलाई, कथा र उपन्यासमा ।

एकदिन प्रिन्सेस डायनाको पुरानो अन्तर्वार्ता हेर्दै थिएँ । उनको भनाइ, भावभंगिमा, घटनाको वर्णनले शरीरभरिकाँडा उमाऱ्यो । कैयौं दिन उनले बोलेका लाइनहरू दिमागमा गुञ्जिरहे । लाग्यो— एउटी राजकुमारी, भविष्यकी महारानीको व्यक्तिगत कहानी त यति दारुण  छ भने हाम्रो समाजका महिलाको के हविगत होला ?

त्यही अन्तर्वार्ताले उक्सायो मलाई ‘विप्लवी’ लेख्न । त्यसमा आफ्नै वरिपरिका केही घटना, केही साथीहरूको साथमा बितेका सत्यहरू गुथेर ‘विप्लवी’ बन्यो । तर, शुरु गर्दा यसको नाम ‘आश्रिता’ थियो । पछि सम्पादन हुँदा सम्पादक पारसप्रकाश नेपाल, सहृदय साथीभाइको सुझाव–सल्लाहमा उपन्यासको फेरि न्वारान गरियो, ‘विप्लवी’ !

छपाऊँ कि नछपाऊँ भन्ने दोधारमा परिरहँदा मेरी आत्मीय सखी ज्योतिले किताब पढेर मायालु हप्काइ लगाइन् ।उनी मेरा कथा र उपन्यासकी नियमित पाठक हुन् । उनको प्रतिक्रियाले मलाई लेखिरहने प्रेरणा दिन्छ । केही साथी, अग्रजहरू हुनुहुन्छ, जसले ‘विप्लवी’को पाण्डुलिपि पढेर सकारात्मक प्रतिक्रिया दिनुभयो । मलाई नयाँ पुस्ताको धारणा जान्ने इच्छा थियो— त्यो पनि केटा मान्छेको । त्यो बेला मेरो फेसबुकमा आबद्ध फुच्चे साथी राजुले किताब पढेर दिएको सकारात्मक प्रतिक्रिया र सगरमाथा जत्तिकै अग्लो प्रेरणाले पनि मद्दत गऱ्यो– ‘विप्लवी’लाई घाम र जून देखाउन । हुनत ‘विप्लवी’ लेख्दा मैले पंक्ति–पंक्ति सुनाएर दिक्क पारेकाहरूको लिस्ट लेख्न बसें भने यो संस्मरण निकै लामो बन्नेछ तर पनि ‘विप्लवी’ पढ्ने, सुन्ने, मन पराउने, मन नपराउने सबैलाई हृदयको तहदेखि धन्यवाद भन्न चाहन्छु ।

मलाई लेख्नु र सास फेर्नु, लेख्नु र सपना देख्नु उस्तै उस्तै लाग्छ । त्यसैले मलाई लेख्नका लागि कुनै विशेष समय वा परिस्थिति चाहिँदैन । म जहाँ बसेर पनि लेख्न सक्छु— बस मुड हुनुपर्छ । अँ, मन उदास र दुःखी हुँदा म घटनाहरूलाई अझै राम्ररी वर्णन गर्न सक्छु । तर, जबर्जस्ती एक लाइन पनि लेख्न सक्दिनँ ।

कहिलेकाहीँ मध्यरातमा ब्युँझिँदा दिमागमा मानौं बिजुली चम्कन्छ । कुनै प्लटले लेख्न घच्घच्याउँछ । पहिले कपी कलम खोज्नु पर्थ्यो, अहिले मोबाइल झिक्छु र फटाफट टाइप गर्न थाल्छु ।विषयले मन छोयो भने म हात फतक्क नगलेसम्म लेखिरहन्छुर टाइप गरिरहन्छु । जुन विषयमा लेख्छु, त्यो काल्पनिकनै भए पनि त्यसमा चुर्लुम्म डुब्छु । पात्रहरूसँग कुरा गर्छु । उनीहरूको ठाउँमा आफूलाई राखेर हेर्छु । फिल गरेर हेर्छु । लेख्न शुरु गरेपछि मेरो शरीर जहाँ भए पनि मेरो मन त्यसैका पात्रहरूसँग डुलिरहन्छ । त्यसैले पनि ‘विप्लवी’ लेख्न चार–पाँच महिनामात्र लागेको थियो ।

‘विप्लवी’ लेख्दा पनि मेरो मनमा त्यसबाहेक अरु केही थिएन । यहाँसम्म कि म काममा हुँदा पनि मेरो मनमा ‘विप्लवी’ हुँडलिरहेको हुन्थ्यो  ।साथीहरूले सुनाएका घटना, दुर्घटनाहरूमा आफूलाई उभ्याएर हेर्थें ।मन बारम्बार नोल्टाल्जिक हुन्थ्यो । म कति बेला काममा ब्रेक होला भनेर छट्पटाइरहन्थें । ब्रेक हुनेबित्तिकै बस्ने कुना खोज्थें । कफीको कप लिन्थें र घण्टौंदेखि मनमा छड्किरहेको च्याप्टर कापीमा उतार्थें । प्रायःजसो मनमा छड्किरहेका कुरा कापीमा पोखेर नसक्दै ब्रेक सकिन्थ्यो । त्यतिबेलाको बाध्यता अवर्णनीय हुन्थ्यो । काममा फर्कनु पर्थ्यो तर मनमा ‘विप्लवी’ छड्किरहेको हुन्थ्यो, पाकिरहेको हुन्थ्यो । म ‘विप्लवी’मा यसरी हराएकी हुन्थें— कि मानौं म यो सृष्टिमा एक्लै छु । वरिपरिको वातावरणदेखि निर्लप्त ‘विप्लवी’मै हराइरहन्थें म ।

लगभग चार–पाँच महिना ‘विप्लवी’ हरेक पल मसँगै रह्यो । मसँगै सुत्यो, उठ्यो, काममा गयो, रोयो, हाँस्यो र एउटा किताबको रूप लिएर मेरो सामुन्ने उभियो ।

यो उपन्यास मैले प्रायः होहल्ला र भीडभाडमै बसेर लेखें । उपन्यास चार–पाँच महिनामा लेखिसकिए पनि निकै समय थन्किएर बस्यो । मेरो उपन्यास ‘अर्थ’ प्रकाशन भएपछिको केही अनुभव खासै सुखद छैन। त्यसैले म अरु कुनै किताब प्रकाशन गरेर चर्चामा आउन चाहन्नथें । तर, मनभित्रका र जीवनसँग जोडिएका केही आफ्नाहरूले हप्काएपछि, हौसला दिएपछि मैले ‘विप्लवी’लाई जन्म दिने निधो गरें । फिनिक्स बुक्सले यसको अभिभारा लिइदियो । यसका लागि फिनिक्सलगायत ‘विप्लवी’सँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिनुभएका सबै साथी र सहयोगीहरूलाई धन्यवाद भन्न चाहन्छु ।

अब ‘विप्लवी’ तपाईंहरूको कठघरामा छ। मैले यसलाई न्याय गर्न सकें या सकिनँ, यसको निर्क्योल तपाईंहरूले गर्नुहुनेछ । पाठकहरूको आलोचनात्मक सुझाव–सल्लाहले नै अर्को उपन्यास प्रकाशन गर्न मलाई हौसला मिल्नेछ ।

तपाईंको मत