पानीले मेटेको भोक

पानीले मेटेको भोक

– राजेश खनाल


सात वर्षअघिको एउटा शनिबार । फागुन महिना । शनिबार भए पनि एफएम पुगें । सिटिजन एफएम ९४ मेगाहर्जका कार्यक्रमहरू हेर्नुपर्ने जिम्मेवारी थियो । 

म कुर्सीमा अडेसिएर आफ्नो सोमबारे कार्यक्रम ‘नेपथ्य’मा कसलाई अतिथि बोलाउने सोच्दै थिएँ । ‘नेपथ्य’मा पुराना कलाकर्मीसँग पुराना कुरा हुन्थे ।

रेडियोमा सहकर्मी किरण खनाल फिल्म सम्पादक तथा निर्देशक तुलसी घिमिरेसँग कुराकानी गर्दै रहेछन् । घिमिरेको स्वर सुन्नासाथ मेरो मन शीतल भयो । अर्थात् मैले ‘नेपथ्य’का लागि अतिथि पाएँ । दंग परें । आफ्नो गाउँतिरको उखानले मनै मगमगायो, ‘बगल मे कनिया, शहरमे ढिँढोरा’ (छेउमै बेहुली र शहरमा खोजी) ।

किरणसँगको लाइभ कार्यक्रमको ब्रेकमा मैले तुलसी घिमिरेलाई अनुरोध गरें, “मलाई आधा घण्टा, पैतालीस मिनेट दिन सक्नुहुन्छ तुलसी दाइ ?”

उनले कुनै नाइनुकुर गरेनन् । केही समयपछि उनी मसँगै रेकर्डिङ स्टुडियो छिरे । अनि शुरु भयो कालिम्पोङदेखि बम्बई (अहिलेको मुम्बई) हुँदै काठमाडौंसम्मको संघर्ष यात्राका कथा ।

० ० ०

आफ्ना सम्पादन कलाका गुरु कमलाकर कारखानेजबाट सम्पादनकर्म सिकेका तुलसीले गुरुको आदेश शिरोधार्य गरी नेपाली फिल्म ‘बाँसुरी’ निर्देशन गरे । तर, त्यहाँसम्मको बाटो तय गर्न उनले के–कति पापड बेले, कति संघर्ष गरे, कति हात मले— त्यसको बयान गर्न उनी सक्दैनन् ।

नेपाली फिल्मका सफल सम्पादक तथा निर्देशक तुलसी घिमिरे कालिम्पोङको नाम सुन्नासाथ नोस्टाल्जिक हुन्छन् । तुलसीलाई त्यहाँ होश सम्हाल्दादेखिका कुराहरूको सम्झना हुन्छ । कारण— कालिङपोङ उनको बिसाउने ठाउँ हो ।

उनको जन्मस्थान र बाल्यकाल बितेको ठाउँ हो कालिङपोङको सिन्देकुङ । यो सानो बस्ती हो । यहाँको घर उनकी आमाले सजाएकी हुन् । आमाले बुनेका अनेकन सपना, आमाको आँगन, आमाको काख, सबै सन्दर्भहरू चलचित्रका दृश्यझैं उनको मष्तिष्कमा सल्बलाइरहन्छन् ।

सिन्देकुङमा उनका रिटायर्ड आर्मी बुवा खेती–किसानीमा व्यस्त थिए । नितान्त गाउँले परिवेशमा हुर्किएका हुन् उनी । खेतीको आर्जनबाटै उनको परिवार चल्थ्यो ।

तुलसीका बुवा खुला सोचका थिए । आफूलाई लागेको कर्म गर्न उनले कहिल्यै छोराछोरीलाई बारबन्देज लगाएनन् । उनका बाबाले यति सधैं भन्थे, “राजाले चिन्ने र प्रजाले मान्ने हुनू ।”

तुलसी भन्छन्, “त्यतिबेला हामी बाबाको कुरा बुझ्दैनथ्यौं । राजारानी त कथा–कहानीमा मात्रै सुनेका थियौं, आमाबाट । पछि गएर मात्रै बुबाको आशीर्वादको अर्थ बुझ्यौं ।”

बाल्यकालदेखि नै फिल्म हेर्ने र कलाकर्मतर्फको आकर्षणले ताने पनि उनले पढाइलाई पहिलो नम्बरमै राखे । यसरी पढ्दै, फिल्म हेर्दै, नाटक गर्दै उनले कालिङपोङबाटै बीए पास गरे ।

एउटा प्रसंग सुनाए, “कक्षा ८ मा पढ्दाको कुरा हो । एकजना बीसी सरले हामीलाई तिमीहरूको एम्बिसन के हो भनेर सोध्नुभयो र एक हप्ता सोच्ने समय दिनुभयो । एक हप्तासम्म मैले पनि सोचें तर जति नै सोच्दा पनि मेरो सोच फिल्मभन्दा बाहिर जान सकेन । म फिल्ममै लाग्छु भन्ने ५ कक्षादेखिको सोचाइलाई त्याग्नै सकिनँ । मैले ‘म फिल्ममा जान्छु’ भनें । कतिपय साथीहरूले आर्मी अफिसर हुने कुरा गरे ।”

भोलिपल्टदेखि तुलसीका साथीहरूले उनलाई ‘के छ धर्मेन्द्र’ भनेर बोलाउन थाले । यो सुनाउँदै गर्दा उनी लामो र उन्मुक्त हाँसो हाँसे । उनी भन्दै थिए, “बीसी सरले तिम्रो रहर हो वा मनको कुरा भनेर धेरै केर्नुभयो । मैले मेरो मनको इच्छा नै यही हो भनें ।”

वास्तवमा आफूलाई सबैले चिन्ने पेशा भनेको फिल्म नै हो भन्ने निक्र्यौल गर्ने उनको आधार थियो, बुवाको त्यही आशीर्वाद । त्यसैले पनि आर्मी, पुलिस, सरकारी अधिकारी, डक्टर वा इन्जिनियरको पदवीतिर हेर्दै हेरेनन् । उनका लागि सबैभन्दा आकर्षक करिअर नै फिल्म थियो ।

५ कक्षादेखि पलाएको फिल्मी आकर्षणका कारण उनले स्कुल र कलेजमा हुने नाटकहरूमा भाग लिन थाले । नाटकको अवस्था त्यति राम्रो नभए पनि उनीहरू नाटक मञ्चनमा लागिरहन्थे । शायद त्यसले पनि उनको फिल्मी सोचाइलाई तिखार्दै लगेको थियो ।

स्नातक पास गरिसकेपछि तुलसी सिक्किमको ‘वाटर पावर कमिसन’मा काम गर्न थाले । तर, सपनाको शहर बम्बईले उनलाई तानेको तान्यै थियो । त्यहाँ पुग्ने मार्ग र आधारको खोजीमा उनको अधिक समय खर्च भइरहेको थियो । सिक्किममै दलसिंह गहतराज नाम गरेका एक संगीतकार थिए, जसको परिचय बलिउड नायिका माला सिन्हासँग थियो । यो थाहा पाएपछि तुलसी पनि उनीकहाँ सिफारिसी पत्र लिन पुगे ।

तुलसी भन्छन्, “अनेक हरकत गरियो बम्बई छिर्न । भाग्यले त्यसैबेला सिक्किममा ‘रोमियो इन सिक्किम’को सुटिङ हुँदै थियो । मलाई त ढुंगो खोज्दा देउतै मिलेको महसुस भयो । त्यसपछि मैले त्यो फिल्मको युनिटका विभिन्न मानिसलाई साथी बनाउन थालें । मःमः खुवाएर हुन्छ कि अरु केही गरेर हुन्छ— साथी बनाउँदै गएँ । मलाई लाग्यो— भोलि बम्बई जाँदा एक–दुइ जना साथी त हुन्छन् ।”

फिल्म युनिटसँग आबद्ध मानिसलाई अनेक गरेर साथी बनाउँदै जाँदा तत्कालै त्यसको सकारात्मक परिणाम पनि देखियो । तुलसीले त्यो फिल्ममा सानो भूमिका निर्वाह गर्न पाए । यसले तुलसीलाई झन् उत्साहित बनायो । तर, उनको सुटिङ पूरा हुन सकेन । सुटिङ युनिट बम्बई फर्कियो । तुलसीलाई भने बोलाएका बेला बम्बई आउन अह्राइयो । पछि बुझ्दा उनी ‘कन्टिन्युटी’मा फसेका रहेछन् । र, त्यही नै उनको बम्बई जाने आधार बन्यो ।

बम्बई जाने आधार त उनले फेला पारे तर घरमा आमालाई ‘कन्भिन्स’ गर्नु गाह्रो काम थियो । शुरुमा त बुवाले गाह्रो माने । कारण थियो— बम्बई गए मान्छे हराउँछन् भन्ने चर्चा । तर, उनले रोकेनन् ।

बुवाले भनेको एउटा कुरा सम्झिन्छन् उनी, “बाबाले भन्नुभयो— ठीकै छ जा । त्यहाँ अड्न सकिनस् भने केही गर्नू । यदि भएन वा सफलता मिलेन भने फर्केर घरै आउनू । फ्रस्टेसनमा त्यहीँ नबरालिनू, नहराउनू ।”

केही समयपछि नै तुलसी स्वप्नशहर बम्बई उत्रिए । केही दिन त निर्माण पक्षले नै खाने र बस्ने प्रबन्ध मिलाइदियो । केही दिनमै उनको बाँकी रहेको दृश्य छायाँकन सकियो ।

तुलसीलाई सकस त्यसपछि पर्नेवाला थियो । यहीँबाट त्यो विशाल शहरमा उनको संघर्ष गाथा शुरु भयो । यद्यपि उनले आफूलाई मानसिक रूपमा बलियो बनाउँदै लगे । उनलाई लाग्थ्यो, आफूले देखेको सपनालाई सार्थक गर्ने ठाउँमा आएको छु, यहाँबाट म रित्तो हात फर्किनु हुँदैन । चाहे जति कष्टकर र दुःखपूर्ण जीवन किन नहोस् !

तुलसी ती दिन सम्झिँदै बोल्दै थिए, “मलाई लाग्यो, मैले केही गर्न नसक्नु भनेको मेरो नै कमजोरी हुन्छ । त्यसैले केही गर्नैपर्छ । यथार्थमा त्यही ‘स्ट्रगल’ नै मेरो जिन्दगीको सबैभन्दा ठूलो पाठ भइदियो ।”

‘रोमियो इन सिक्किम’को सुटिङ सिध्याएर गेस्ट हाउसबाट बाहिरिँदा उनको गोजीमा ५ सय रुपैयाँमात्रै बाँकी थियो । त्यति पैसामा उनले बम्बईमा बस्नु थियो, खानु थियो, महिना गुजार्नु थियो । त्यसैले आफ्ना एक साथीको साथ रोजे । उनकै झुपडीमा बस्न थाले ।

त्यो ठाउँ झन् विकट थियो । नुहाउने काम बाउडी (कुवाँजस्तो)मा गर्नुपथ्र्यो । साह्रै उकुसमुकुस भयो उनलाई । मन त एकपटक आत्तियो पनि । यतिबेला घरै फर्केर जाने सोचाइ बलियो हुँदै गएको थियो तर पनि मनलाई दह्रो बनाए । अनि रोकिए झुपडीमै ।

उनले आफ्ना साथी लालजी यादवलाई सम्झिए र भने, “मैले लालजीलाई सोधें, म जाऊँ कि बसूँ ? लालजीले मलाई सीधै भने— जाना है या ठहरना है, सिधा सिधा बोलो ।”

लालजीले मनको कुरा फ्याट्ट भन्न दबाब दिए । “मैले घर जान नसक्ने बताएँ । त्यसपछि उनले बम्बईमै बस्न भने । तर, बम्बईमा बस्दा कडा संघर्ष गर्नुपर्ने कुरा सम्झाए । उनले भनेका थिए— ए बम्बई है भइ । समुद्रके किनारे दस पैसे ग्लास पानी खरिद के पिना तो पडेगा । र, यो धु्रवसत्य हो— बम्बईको समुद्री किनारमा आज पनि पानी किनेरै पिउनुपर्छ ।”

लालजीले भनेको यही सत्यले तुलसीलाई बाटो देखायो । साथीकैमा उनले सुत्ने ठाउँ पनि फेला पारे । नामझैं तुलसीमा सकारात्मक ऊर्जा झांगिँदै गयो, जसले उनलाई बम्बईमा टिकाउँदै लग्यो ।

तुलसी काम खोज्न थाले । पापी पेटको सवाल थियो । यसका लागि उनले जे काम पाए, गर्दै गए । एउटा साथीले क्यामेरा एटेन्डेन्ट (क्यामेरा बोक्ने मानिस)को काम दिलायो । क्यामेरा बोक्ने केटो महिना दिनलाई घर गएको रहेछ । त्यसकै खाली ठाउँ भर्दै थिए तुलसी । अर्थात् थोरै दिनका लागि मात्रै उनले यो काम पाएका थिए ।

यो काम गर्दै जाँदा तुलसीले खाना खानेसम्मको पैसा पाए । त्यसको एक महिनापछि पुरानो क्यामेरा एटेन्डेन्ट आयो । उनी फेरि कामविहीन भए । कष्टका दिन फेरि शुरु भए ।

तुलसी भन्दै थिए, “निकै दिन गाह्रो भयो । कामको खोजीमा हिँडिरहेँ । त्यहीबेला फिल्म ‘लैला मजनु’ निर्माण हुँदै थियो । त्यसमा ‘एक्स्ट्रा आर्टिस्ट’ चाहिएको रहेछ । त्यही काम भए पनि गरें । सेटमा भाला लिएर बस्नु पर्ने थियो । दुई–तीन दिन त्यो काम गरे । फेरि केही पैसा हात लाग्यो । दुई–चार दिन बाँच्ने आधार पाएँ ।”

बम्बईमा कुनै पनि हालतमा टिक्नु थियो उनलाई । फिल्म ‘सीआईडी’को गीत ‘जिना यहाँ... ए है बम्बे मेरी जान’ सम्झँदै उनको दिनचर्या बित्दै गयो ।

त्यसै बीचमा एउटा मेकअप म्यानको सहयोगी बन्ने काम पाए । यो काम जानेका थिएनन् उनले । तुलसीलाई यो काम पनि सिकाइयो । काम गरे पनि । त्यसले उनलाई बम्बईमा बाँच्न केही सहज त बनायो तर कताकता उनलाई यो काम आफ्नो लागि होइन भन्ने लागिरह्यो ।

उनी फुर्सदमा अर्को काम पनि खोज्दै हिँडे । त्यहीबेला एकजना मराठी चलचित्रका सम्पादक जीजी पाटिलकहाँ सम्पादन सहयोगी चाहिएको थाहा पाए । मेकअपभन्दा दृश्य सम्पादनको काम राम्रो । यही सोचेर उनी त्यहाँ काम गर्न पुगे । 

तुलसलेी हाँस्दै सुनाउन थाले, “त्यहाँ एडिटिङको काम सिक्छु भनेको त कहाँ सिक्न पाउनु । घरि ‘तुलसी पानी लाओ, चाय लाओ, घरि पान लाओ, तुलसी नास्ता लाओ, ग्लास बाहर रखदो’ जस्ता अह्रौतेपह्रौते काममात्रै पो लगाउन थाले । त्यही पनि झन्डै ६–७ महिना मैले यस्तै काम गरें ।”

त्यसउप्रान्त उनले सम्पादन सहयोगीमा काम गर्न पाउने कार्ड बनाए । कार्ड बनेपछि भने उनी ढुक्क भए । त्यसपछि उनी वरिष्ठ चलचित्र सम्पादक कमलाकर कारखानेजसँग एडिटिङको काम सिक्न थाले । अन्ततः कारखानेज नै उनका सम्पादन कलाका गुरु भए, जसप्रति तुलसी आज पनि नतमस्तक हुन्छन् ।

गुरुलाई सम्झँदै तुलसी भावुक बने । अनि उधिन्दै गए पुराना पत्रैपत्र । भन्न थाले, “यद्यपि त्यो काम पनि पैसा पाउने काम थिएन । मलाई त काम सिक्नु थियो । त्यसैले काम सिक्ने कर्मलाई प्राथमिकता दिएँ । हो, दुई छाक खाना खान भने पाइन्थ्यो ।”

काम गर्दै जाँदा त्यहीँको क्यान्टिनमा खान पाउने गरी गुरुले कुपन लेखिदिन्थे । कुपन लिएर सम्पादन सहयोगीहरू खाना खान्थे । अर्थात् काम पनि सिक्थे, खाना पनि खान्थे । काम गरेपछि भोको बस्नु पर्दैनथ्यो ।

एकदिन कारखानेज पुना गए कामविशेषले । उनी केही दिनका लागि बाहिरिएका थिए । बाहिर जाँदा उनले आफ्ना सहयोगीका लागि खानाको कुपन लेखिदिएनन् । शायद बिर्सिए ।

“गुरुले कुपन नकाट्दा म तीन दिन भोकै रहेँ । गोजीमा एक पैसा थिएन । कसैसँग पैसा माग्ने बानी थिएन । त्यसैले पानी पिउँदै काम गर्न थालें । पछिपछि त पानी पनि पिउन सकिँदो रहेनछ । पानी पिउन पनि गाह्रो हुन थाल्यो । तर पनि पानीलेमात्रै पेट भर्दै गएँ । निरन्तरको भोक बिर्साउने उपाय एउटै थियो— काम, काम अनि काम । मैले दिनरात भनिनँ । कामैमात्र गर्दै गएँ ।”

तेस्रो दिन साँझ अचम्मसँग उनले आफ्ना गुरुलाई नजिकैको पान पसलमा देखे । गुरुलाई देख्नासाथ उनी अघिल्तिर गएर उभिए । तुलसीलाई देख्नेबित्तिकै गुरुले भने, “क्या हुवा ? खाना नही खाया क्या ? मुह लट्का हुवा है ।”

तुलसीले ‘जी हाँ’ भने । गुरुले सोधे, “कबसे नही खाया ?”

तुलसीले लामो सास फेरेर गलेको स्वरमा भने, “तीन दिन हुवा ।”

गुरुले भने, “अच्छा । भगवान् करे, दो चार दिन और ना मिले ।” त्यसपछि पान मुखमा हाले र हिँडे । तुलसी हेरेको हेर्‍यै भए । कस्तो ढुंगाजस्तो मन ! मनमनै गाली पनि गरे । अफिस फर्किएर फेरि पानी पिए र काम गर्न थाले ।

चौथो दिन बिहान एउटा साथीले खाजा खान लिएर गयो तुलसीलाई । आफूले तीन दिनदेखि केही नखाएको बताएपछि साथीले दाल र नरम पाउरोटी खुवाए ।

तुलसी आज पनि ती तीन दिन सम्झिन्छन् । आज उनले गर्ने कामको ऊर्जा नै त्यही तीन दिनको भोकले दिन्छ । र, त्यही भोकले आज पनि उनलाई काममा सक्रिय हुन र उत्कृष्ट नतिजा दिनतर्फ अभिप्रेरित गरिरहन्छ ।

कालान्तरमा उनको कामबाट गुरु प्रभावित हुँदै गए । उनलाई कतिपय काम पनि दिलाए । तर, एकदिन मौका पाउँदा तुलसीले अझै चार–पाँच दिन खान नपाओस् भनेर दिएको श्रापबारे गुरुलाई सोधे ।

कमलाकरले भनेको कुरा तुलसी अझै सम्झिन्छन्, “तैले बुझेको छस् कि छैनस— तेरा लागि समयले दिएको सबैभन्दा ठूलो उपहार हो त्यो तीन दिनको भोक । त्यो भोकले गर्दा तेरो विचारमा जति उत्तेजना आयो, त्यही नै तेरो विचारको जग हो । मैले सोचेको थिएँ, ६–७ दिन जति तैंले खान नपाएको भए तँ आफ्नो क्षेत्रमा अद्वितीय व्यक्ति हुने थिइस् । धेरै कुरो तँबाट आशा गर्न सक्थ्यो फिल्म इन्डस्ट्रिजले । तर, तेरो भाग्यमा तीन दिनको भोकमात्रै रहेछ ।”

तुलसीले गुरु कमलाकरका कुरा सम्झिँदै गए, “अब तैले कमाउन थालिस् । तीन दिन के, अब एकदिन पनि भोको बस्न सक्दैनस् तँ । किनभने तेरो खल्तीमा अब पैसा हुन्छ । खल्तीभरि पैसा भएर भोको बस्नु भनेको त उपवास हो । व्रत हो ।”

आफूलाई चलचित्र सम्पादन सिकाउने गुरुको कुरा सुनेर तुलसी छ्यांग भए । उनले सोचे, वास्तवमा समयले दिएको सबैभन्दा ठूलो ‘गिफ्ट’ नै रहेछ यो भोक । आज पनि तुलसीलाई लाग्छ, उनले जे–जति पाए, त्यही तीन दिनको भोकले दिएको हो ।

मैले सोधें, “त्यतिबेला नकारात्मक सोचाइ हावी भएको भए के हुन्थ्यो ?”

तुलसी लामो हाँसो हाँसे र भन्न थाले, “शायद चोर, डाँका वा तस्कर हुन्थें होला ।”

बम्बईमा बितेका संघर्षमय समय सम्झना गर्दै उनले केही प्रसंग सुनाए । 

एकपल्ट तुलसीले ७२ घण्टासम्म लगातार काम गरेछन् । लामो समय काम गर्दा उनी निकै थाके । उनले गुरुलाई सोधे, “म केही समय सुतौं ?” गुरुले ‘कति काम बाँकी छ ?’ भनेर सोधे । उनले ‘करिब एक घण्टाको काम बाँकी छ’ भने । त्यसपछि गुरुले भनेछन्, “मौतके बाद तो सोना ही सोना है । अभी काम खतम करो ।”

आज उनलाई लाग्छ— त्यसबेला गुरुले शाश्वत सत्य बोलेका थिए । उनी भन्छन्, “अनुभवी थिए मेरा गुरु । उसको कुरा सुनेरै पनि ऊर्जा आउँथ्यो ।”

तुलसी सहायक चलचित्र सम्पादक हुँदा उनका गुरु कमलाकर ८२ वर्षका थिए । भारतीय फिल्म इन्डस्ट्रिजका अत्यन्तै व्यस्त सम्पादक मानिन्थे कमलाकर । दिनको १६ घण्टा काम गर्थे र आफ्ना सहयोगीहरूलाई २० घण्टासम्म काममा लगाउँथे ।  तुलसी भन्छन्, “सम्भवतः ८–१० वर्ष त मैले गोधुली साँझ पनि देखिनँ । बिहानै एडिटिङ टेबुलमा बसेपछि एकैचोटि रातिमात्रै निस्किन्थें ।”

करमाकरसित करिब १० वर्ष लगातार काम गरे तुलसीले । उनले कतै हेरेनन्, मात्रै ध्यान दिए आफूलाई जिम्मा लगाइएको काममा । फलतः त्यो एक दशकमा उनी एउटा राम्रो प्राविधिक भइसकेका थिए । त्यसपछि खान, लाउन र बस्न उनलाई दुःख भएन । “हो, बैंक ब्यालेन्स भने भएन,” तुलसी सुनाउँछन्, “म आज पनि त्यस्तै संघर्ष गर्र्दै छु ।”

गुरुको पछि लागेर तुलसीले ‘अमर अकबर एन्थोनी’, ‘धरम वीर’, ‘चाचा भतिजा’ लगायत १५० भन्दा बढी हिन्दी चलचित्रमा सहायक सम्पादक भएर काम गरे । ‘श्रद्धाञ्जली’, ‘बन्धन कच्चे धागो का’, ‘हुकुमत’, ‘हमसे बढकर कौन’ लगायतका फिल्मको पूरा सम्पादन जिम्मेवारी आफ्नो काँधमा बोके ।

बम्बई बसूँ कि सिक्किम फर्कूं भन्ने दोधारमा रुमल्लिएका तुलसी चलचित्र सम्पादन कलाका पारखी बने । उनको क्षमताका कारण नै गुरुले कतिपय फिल्मको पूर्ण सम्पादन जिम्मेवारी तुलसीलाई दिलाए । यसबाहेक क्षेत्रीय भाषाका फिल्महरूको सम्पादन पनि गरे ।

एकफेर नेपाली चलचित्र निर्देशक प्रकाश थापा कमलाकरकहाँ पुगे । कुनै चलचित्रको गीत काट्नुपर्ने थियो । तुलसी भने प्रकाशका फ्यान थिए । एडिटिङ गर्ने ठाउँमै अचानक भेट हुँदा उनको खुशीको सीमै रहेन ।

तुलसी घिमिरे त्यो दृश्य सम्झिन्छन्, “प्रकाश थापालाई छेउँमै देखेपछि म त त्यसै–त्यसै खुशीले फुर्किएँ । म सहायक भइसकेको हुँदा गुरुले मलाई ‘गीत तु काट्दे’ भन्नुभयो । उहाँहरूलाई एक घण्टापछि आउन भन्दै मैले फटाफट त्यो नेपाली गीतको एडिटिङ गरिदिएँ । गुरुलाई मैले ‘बहुत अच्छा गाना है दादा’ भनें । उहाँले भन्नुभयो, “ए भाषा आता है तुमको ?” मैले ‘हाँ’ भनें र आफू नेपाली नै भएको बताएँ । गुरु छक्क पर्नुभयो ।”

तुलसीद्वारा सम्पादित गीत हेरेर प्रकाश पनि खुशी भए । उनलाई लाग्यो— त्यो कमलाकरले काटेका हुन् । तर, तुलसीले साँचो कुरा बताएपछि प्रकाश छक्क परे ।

तुलसीले भने, “मैले सम्पादन गरेको थाहा पाएपछि उहाँले मलाई स्याबासी दिनुभयो । त्यो स्याबासी मेरा लागि मेरो प्रेरणा नै भयो, जसलाई म शब्दमा बयान गर्न सक्दिनँ ।”

आफ्ना गुरुसित प्राविधिकमात्रै नभई जीवन–जगतका धेरै विषयमा ज्ञान मिलेको बताउँछन् तुलसी । भन्छन्, “त्यस दिन गुरुले नेपालीमा फिल्म कतिवटा बन्छ भनेर सोध्नुभयो । मैले अहिलेसम्म ७–८ वटा बन्यो होला भनेँ । नेपाल त एउटा देश हो, त्यहाँ अहिलेसम्म जम्मा ७–८ वटा फिल्म ? उहाँले आश्चर्य मान्नुभयो ।”

एकपटक कमलाकर दादासँग मिटिङमा थिए— तुलसीसहित ३५ असिस्टेन्ट एडिटरहरू । गुरु पूर्णिमाको दिन थियो । त्यसदिन उनले सबैलाई काम जिम्मा लगाए । तुलसीलाई भने, “तिमीले आफ्नो भाषाका १० वटा फिल्म बनाऊ । यही नै मेरा लागि गुरुदक्षिणा हुनेछ ।”

आनाकानी गर्दै तुलसीले ‘हुन्छ’ भने ।

“फिल्म बनाउन त पैसा लाग्छ, पैसा मैले कहाँ खोज्ने ? भनेर अर्को भेटमा भन्छु भनेको थिएँ । बरु मेरा लागि अरु कुनै काम तोकिदिन आग्रह गर्छु भन्ने सोचेको थिएँ,” तुलसी सम्झिन्छन्, “तर, मैले अर्को आज्ञा लिन नपाउँदै दादा बित्नुभयो । मैले १० वटा फिल्म बनाउनै पर्ने भयो ।”

र, यहीँबाट तुलसीको नेपाली फिल्मी यात्रा शुरु भयो । उनी ‘बाँसुरी’ निर्माणको काममा लागे । साथीहरूको साथ र सहयोगले निकै गाह्रो गरी ‘बाँसुरी’ तयार भयो । त्यतिबेला यो फिल्म ४ लाख ७५ हजारमा बनेको थियो ।

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पानीले मेटेको भोक

– राजेश खनाल सात वर्षअघिको एउटा शनिबार । फागुन महिना । शनिबार भए पनि एफएम पुगें । सिटिजन एफएम ९४ मेगाहर्जका