site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कार्टुनमै तीन दशक
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


पत्रकारितामा तस्बिरसम्बन्धी एउटा भनाइ छ– हजार शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले बोल्छ । तस्बिरलाई कुनै विवरण चाहिँदैन, आफैं बोल्छ ।

अनि कार्टुन ? कार्टुनले हजार होइन, हजारौं शब्द बोल्छ । अझ कार्टुनका साधकहरू त एक कदम अगाडि बढ्छन् र भन्छन्– तस्बिर र कार्टुन विल्कुल फरक हुन् । हरेक कार्टुनिस्ट चित्रकार हुन सक्छन् तर हरेक चित्रकार कार्टुनिस्ट बन्न सक्छन् भन्ने छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्थ हो– साधनाको पनि विशिष्ट स्वरूप हो– कार्टुन । रहर गर्दैमा जो¬–कसैले कार्टुन बनाउन सक्दैन । हुन पनि हो । सानै देश भए पनि नेपालमा करिब ७ हजार पत्रकार छन् । तर, कार्टुनिस्टको संख्या कति छ ? यकिन विवरण त कसैसँग छैन । तर आैंलामा गन्न सकिने छन् ।

रवीन सायमि त्यस्ता थोरै कार्टुनिस्टमध्ये पर्छन्, जसले अनवरत दशकौंदेखि कार्टुनमार्फत बेथिति, अराजकता, भ्रष्टाचारलाई कटाक्ष गर्दै आएका छन् । चल्तीका कार्टुनिस्टको सूचीमा शीर्ष ५ भित्र पर्ने रवीन कसरी यो क्षेत्रमा टिकिरहेका छन् ? 

Global Ime bank

पत्रिकाको छेउमा आउने कार्टुन आकारमा सानो होला तर त्यसका लागि मेहनत भीमकाय चाहिन्छ । कला हो, त्यसलाई जन्माउन समय खर्चिनुपर्छ । अथक मेहनत गर्नुपर्छ । चित्र, भाषा, व्यङ्ग्य र समसामयिक विषयप्रति उत्तिकै अपडेट हुनुपर्छ । दिमागमा कार्टुनको भ्रुण तयार भएपछि कागजमा त्यसको स्केच तयार हुन्छ । त्यसलाई कार्टुनको आवश्यक आकार–प्रकारमा ढालेपछि पाठकले बुझ्छन् कि बुझ्दैनन्, कस्तो प्रतिक्रिया आउँछ सक्छ— पूर्वानुमान गर्छन् रवीन । 

कार्टुन भनेको गाली होइन, व्यङ्ग्य हो । कसरी सिर्जना गर्न सकिन्छ व्यङ्ग्य ? 

कार्टुनले सधैं शब्द बोल्छ भन्ने हुँदैन । त्यसका लागि क्याप्सन पनि चाहिन सक्छ । तर, रवीन भने सकेसम्म कार्टुनमा शब्द राख्न खोज्दैनन् । शब्दबिनाको कार्टुन उनको पहिलो रोजाइ हो । यसकै लागि उनको साधना रहन्छ ।

“शुरुमा कार्टुन केमा बनाउने भनेरै दशौं वटा विषय दिमागमा खेल्छन् । तिनै कयौं विषयबाट छनोट गरेर एउटामा झरेपछि दिमागमा त्यसको स्केच तयार हुन थाल्छ,” रवीन भन्छन्, “स्केच बनेपछि सकेसम्म शब्द प्रयोगै नगरौं भन्ने मेरो प्रयास रहन्छ । तर, कतिपय अवस्थामा अमूर्त कार्टुन हुने अवस्थामा भने थुप्रै वाक्यबाट दुई–तीन शब्दमा झार्नुपर्छ ।”

यही हो रवीनका लागि सबैभन्दा कठिन काम । उनलाई तस्बिरभन्दा पनि शब्द छोट्याउन महाभारत लाग्छ । तर, पनि उनी दुई÷तीन शब्दमै त्यसलाई झार्छन् । अन्ततः कार्टुन तयार हुन्छ ।

तीन दशक लामो रवीनको यात्रामा थुपै्र उतारचढाव आए । केही मीठा, केही तीता । यात्रा कार्टुनकै थियो । जानेको त्यही हो । एउटा संस्थापछि अर्को संस्थाको यात्रा यथावत् थियो । अफर आयो ‘कान्तिपुर पब्लिकेसन’बाट । उनले पनि चासो देखाए । हरेक संस्था प्रवेशअघि दुबै पक्षका केही न केही शर्त हुन्छन् । उनलाई शर्त राखियो— हरेक दिन एउटा पकेट कार्टुन अनिवार्य बनाउनुपर्नेछ । अरुले दिएको विषयभित्र बसेर कार्टुन बनाउनुपर्नेछ ।

सम्पादकले दिएको विषयभित्र बसेर कार्टुन बनाउन न उनले त्यसबेला स्वीकारे न आज । आज पनि उनी आफ्नो ब्रह्मले देखेको कार्टुनमात्रै बनाउँछन् । आजै होइन ब्रह्मले अह्राएको दिन ।

कार्टुन बनाएर पैसा आउला, कमाइ पनि होला । जीविकोपार्जन गर्ने माध्यम पनि बन्ला तर पनि यो कसैले दिएको विषयमा दिनदिनै बनाउने चिज होइन । 

कार्टुनलाई सिर्जनाको सुन्दर रूप ठान्ने उनले त्यो शर्त मञ्जुर गर्न सकेनन् । प्रवेशअगाडि नै हात उठाए । “कार्टुन भनेको स्केच होइन, सिर्जना हो,” रवीन भन्छन्, “क्यामेराले तस्बिर खिचेजस्तो कार्टुन बनाउन सजिलो छैन ।”

कार्टुनलाई स्केचका रूपमा बुझ्ने गरिएको प्रति आपत्ति छ उनको । कार्टुन कुनै एप्सले बनाइदिने स्केच होइन, यसका लागि समय लाग्छ । सोच्ने दिमाग चाहिन्छ । अनि त्यसले पाठकलाई कुतकुती लगाउन सक्नुपर्छ । विषय फुरेपछि एउटा कार्टुन तयार गर्न उनलाई कम्तीमा तीनदेखि चार घण्टा लाग्छ ।

दैनन्दिनका घटना, परिघटनामा आधारित रहेर बनाइने पकेट कार्टुनमा रवीन उति साह्रो रमाउन सक्दैनन् । ठूलो प्रभाव राख्ने विषय उठाउन मन लाग्छ उनलाई । त्यसका लागि जति नै समय लागोस्, उनलाई मतलब लाग्दैन ।

० ० ०

पञ्चायतले घुँडा टेकेको थियो । शासन व्यवस्था परिवर्तनसँगै शासकहरू फेरिएका थिए । ती शासकबाट जनताले फरक शासनशैलीको अपेक्षा गरेका थिए । तर, जनताले त्यो आभास गर्न सकेका थिएनन् । सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरिरहेका थिए । उनको शासनशैली अनपेक्षित रूपमा परिवर्तन हुँदै गइरहेको थियो । जनता कोइरालाको व्यवहारमा तानाशाही हावी हुँदै गएको आभास गरिरहेका थिए । रवीनले ‘दृष्टि’ साप्ताहिकका लागि कार्टुन बनाए— गिरिजाप्रसाद रूपरङ्गबाट सुरु भएको कार्टुन छैटौं व्यक्तिमा पुग्दा पञ्चायती शासक मरिचमानको रूपरङ्गसँग मिल्दोजुल्दो अवस्थामा पुगेको थियो ।

अहिले एनिमेसनबाट यो सहजै गर्न सकिए पनि त्यो समय भने हातैले बनाउनु पथ्र्यो । निकै मेहनत गरेर बनाएको त्यो कार्टुनले राम्रै प्रभाव पार्‍यो । कार्टुनलाई लिएर रवीनको आलोचनामात्रै भएन, धम्क्याइयो पनि ।

कहिले गाह्रो कहिले साह्रो । तर, पनि उनको यात्रा रोकिएन । बरु झन् बलिया बन्दै गए उनका कार्टुन । अक्सर त्यो समय कार्टुनलाई सिर्जनाभन्दा पनि गालीगलौच गर्ने माध्यमका रूपमा लिइन्थ्यो । तर, उनले कार्टुनलाई गाली गर्ने भर्‍याङको रूपमा प्रयोग गरेनन्, व्यङ्ग्य गर्ने सिर्जनाकै रूपमा लिए ।

काम ‘दृष्टि’मै थियो । कला भरिएको कार्टुन बनाउनु नै थियो । बारा जिल्लाका न्यायाधीश काठ तस्करीमा संलग्न भएका खबरहरू आइरहेका थिए । रवीनले कार्टुन बनाए । न्यायाधीशले व्यङ्य सहन सकेनन् । अदालतमा मुद्दा हाले । एक दशक चलेको मुद्दा अन्ततः रवीनले नै जिते ।

० ० ० 

सानैदेखि चित्रप्रति रुचि थियो । शिक्षक र चिनेजानेकाले चित्र राम्रो छ भन्थे । रवीन दङ्ग पर्थे । स्कुल तथा स्थानीय क्लबहरूले चित्र प्रतियोगितामा सहभागी हुन पठाउँथे तर उनी भने पैसा लिएर सिनेमाहल पुग्थे ।

पञ्चायतकाल उत्कर्षमा थियो । पञ्चायतको विरोधमा स–साना आन्दोलन भइरहन्थे । रवीनको बाल मष्तिस्कमा त्यसको छाप प¥यो । उनमा पनि व्यवस्थाविरोधी भाव जन्मियो । विद्यालय पढ्दाताका नै रवीनले साथीहरूसँग मिलेर ०३८ सालमै  ‘हातेमालो’ र ‘सहलह’ नामक पत्रिका प्रकाशन गरेका थिए । त्यसमा उनी स्केच बनाउँथे । उनका स्केचले पञ्चायतको विरोध गर्थे ।

टेलिभिजन थिएनन् । मनोरञ्जनका साधन कमिक्सहरू हुन्थे । त्यो बेला कमिक्स निकै बिक्री हुन्थे । रवीन पनि किन्थे ।

“३ रुपैयाँ पथ्र्यो कमिक्स किन्न । नयाँ कमिक्स त किन्नु परिहाल्यो, तर कसरी किन्ने ? आफैं कमिक्स देखाएर पैसा जम्मा गर्थें र त्यसबाट उठेको पैसाले नयाँ कमिक्स किन्थें,” रवीन भन्छन्, “तिनै कमिक्समा भएका चित्र हेरेर जस्ताको तस्तै बनाउने प्रयास गर्थें ।”

पञ्चायत ढलेर बहुदलीय व्यवस्था आयो । धमाधम पत्रिकाहरू निस्किन थाले । अधिकांश पत्रिकाले कार्टुन बनाउँथे । ती प्रत्येक पत्रिका हेर्थे रवीन । तिनले मात्रै पुग्दैनथ्यो । उनको चित्त बुझ्दैनथ्यो । त्यसैले भारतीयलगायत अरु देशका पत्रपत्रिका हेर्न ब्रिटिस काउन्सिल पुग्थे ।

विदेशबाट नेपाल आइपुगेका पत्रिकामा पनि कार्टुन हुन्थे । कार्टुन त कार्टुन नै हो तर फरक पाउँथे रवीन— नेपाली र विदेशी कार्टुनमा । नेपाली कार्टुनले गाली गर्थे तर विदेशका काटुनले व्यङ्ग्य गर्थे । उताका कार्टुनमा कला भेटिन्थ्यो, यताका कार्टुनमा गाली चित्र हुन्थ्यो ।

त्यो बेला नेपालमा सम्पादकले कसलाई गाली गर्नुपर्नेछ, त्यसलाई गर्ने गालीका शब्दसमेत दिएर स्केच गर्न लगाउँथे । रवीन भन्छन्, “तर त्यो कार्टुनिस्टको कार्टुन होइन । कार्टुनिस्ट आफैंले बनाएको कार्टुनमा व्यङ्ग्य हुनुपर्छ, ह्युमर हुनुपर्छ र क्यारिकेचर पनि हुनुपर्छ तर त्यो बेला नेपाली कार्टुनमा सीधै गालीमात्रै हुन्थ्यो ।”

रवीनले राजनीतिक विषयमा कार्टुन बनाएर छापेको पहिलो पत्रिका ‘दृष्टि’ हो । सरकार प्रमुख गिरिजाप्रसाद कोइराला थिए । उनकै कार्टुन बनाएका थिए रवीनले २०४७ सालमा । नारायण ढकाल सम्पादक थिए । उनले ७० रुपैयाँ पारिश्रमिक दिए ।

अफसेट प्रविधि नेपालमा भित्रिसकेको थिएन । लेटर प्रेसमा छापिने भएकाले ब्ल्कमा कार्टुन बनाउनु पथ्र्यो । इमेज जस्ताको तस्तै आउँदैनथ्यो । शब्द लतपतिएर आउँथ्यो । कार्टुन बनाउनका लागि घाम लाग्नुपथ्र्यो । उनी सम्झन्छन्, “असार–साउनमा कार्टुन बनाउन घाम पर्खिएर छतमा गएर बस्नुपथ्र्यो । घाम लागेन भने कार्टुनको आइडिया नै खेर जान्थ्यो ।”

‘दृष्टि’बाट शुरु भएको उनको कार्टुन करिअर अहिले ‘नागरिक’सम्म पुगेको छ । ‘कान्तिपुर’को अफर लत्याएका रवीनले ‘जन आस्था’, ‘छलफल’, ‘प्रकाश’ र ‘हिमाल’मा काम गरे । उनका थुप्रै कार्टुन विदेशी सञ्चारमाध्यमले पनि प्रयोग गरेका छन् । शक्तिराष्ट्रका विषयलाई व्यङ्ग्य गरेर बनाइएका कार्टुन विदेशी पत्रिकाले ‘क्यारी’ गर्छन् । एउटा कार्टुनको ६०–७० डलर दिन्छन् । सयौं सञ्चारमाध्यमले कार्टुन प्रयोग गरे भने एउटै कार्टुनले पनि हजारौं डलर कमाइ गर्न सक्छ ।

‘ग्लोबलाइज’ भएका विषय र व्यक्तिका विषयमा बनाइएका कार्टुन एजेन्सीमार्फत जान सके नेपाली कार्टुनिस्टले पनि राम्रो आम्दानी गर्न सक्ने उनी बताउँछन् । तर, यसका लागि विश्व राजनीति र अर्थतन्त्रमा जानकार हुनुपर्छ । भाषामा परिपक्व हुनुपर्छ । र, सम्बन्ध, सम्पर्क पनि हुनुपर्छ ।

कार्टुनमात्रै बनाएर जीविकोपार्जन हुने समय आइसकेको थिएन । सधैंभरि अभिभावकसँग हात थापेर जिन्दगी चल्दैनथ्यो । साइन्स पढाउने परिवारको सपना रवीनबाट पूरा भएन । उनीभन्दा पनि परिवार चिन्तित थियो ।

परिवारले एकदिन आफन्तकै मोटर कारखानामा लिएर गयो । त्यहीँ काम गर्न भन्यो ।

तीन–चार दिन काम पनि गरे उनले । तर, हातमा कलम र कुची बोकेर चित्र कोर्ने र कार्टुन बनाएर व्यङ्ग्य गर्ने उनका हातले मोटरका स्क्रू र रेन्चो समाउन मानेनन् । उनले घर पुगेर भने, “मबाट यस्तो काम सम्भव हुँदैन । म फाइन आर्ट पढ्छु ।”

रवीन ललितकला क्याम्पस पुगे । डिप्लोमासम्म पढाइ हुन्थ्यो । पढे ।

त्यो समय उज्ज्वल कुन्दन ज्यापू, शरद रञ्जित र बात्स्यायनका कार्टुन छापिन्थे । रवीन हेर्थे । उज्ज्वल कुन्दन र शरदका कार्टुनहरू कार्टुनभन्दा पनि धेरै स्केच हुन्थे । तर, वात्स्यायनका कार्टुनमा भने कला हुन्थ्यो ।

“म कार्टुनै बनाउँछु भनेर लाग्दा पनि कार्टुनलाई नै व्यवसाय बनाएर बाँच्न सकिन्छ भन्ने अवस्था थिएन,” पुराना दिन सम्झँदै रवीन भन्छन्, “हामीले नै हो कार्टुनलाई कलापक्षमा ढालेर यसलाई व्यवसाय बनाएको । कला भरिएको कार्टुन बनाएपछि पाठकले मन पराउँदै गए । माग बढ्दै गयो । माग बढेपछि कार्टुनिस्टले पनि कार्टुन बनाएरै जिउन सक्ने वातावरण बन्दै गयो ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०७५  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC