साहित्य र कला

राजनको रङ्गमञ्च राग

राजनको रङ्गमञ्च राग


“नाटकको काम भनेको फलामको सानो किलामा गएर अड्किन्छ । बिजुलीको सानो तारमा गएर अड्किँदोरहेछ नाटक,” मंगलबार मण्डला थिएटरमा भेटिएका राजन खतिवडा जिन्दगीमा अक्सर बेकम्मा लाग्ने साना–साना कुरामा नाटकको जिन्दगी र सुन्दरता कहाँ गएर कसरी अड्कििन्छ भन्ने सुनाउँछन् । 

हुन त नाटकजस्तै हो मान्छेको जिन्दगी पनि । मात्र यसलाई जिउने तौरतरिका फरक–फरक होला । फरक यत्ति हो, कसैले निर्देशकले कलाकारबाट आफूलाई चाहिएको अभिनय निकाले जस्तै जिन्दगीलाई आफू अनुकूल जिउन सक्लान्, कसैले देखेको जिन्दगी भोग्न नपाउलान् । 

हेर्दा नेपाली चलचित्र उद्योगलाई नामी कलाकार दिएको नाटकघर मण्डला थिएटरका संस्थापक मध्येका एक हुन् राजन । फाट्टफुट्ट चलचित्र खेल्ने, तर अभिनयको वाहीवाही कमाउने । धेरै उनलाई गुरु मान्छन् । कत्तिका आइडल हुन् राजन । उनीजस्तै हुन खाज्ने धेरै छन् । तर देखे जस्तो मात्रै पनि हुँदैन जिन्दगी । सोचे जस्तो सुखी पनि हुँदैन जिन्दगी । 

पर्दामा देखिएको सुन्दर सिनेमाजस्तै हो राजनको जिन्दगी । जहाँ पर्दा पछाडि थुप्रै संघर्षका पहाड फोरिएका छन् । त्यस्तै, ठ्याक्कै सिनेमाको जस्तै । 

परिभाषा आ–आफ्नै हुन्छ, तर, नाटक जस्तै भने होइन रे जिन्दगी ! कतिले नाटकलाई जिन्दगी र जिन्दगीलाई नाटक भने पनि राजन भने यसमा सहमत देखिँदैनन् । उनको बेग्लै परिभाषा छ नाटकको ।

यस्तो–  

कथाभन्दा अभिनेताले अपनाउने तौरतरिका नाटकीय पद्धति हो भने आफूसँग पूर्ण रुपमा सबै कुरा नहुँदा नहुँदै पनि सुन्दर तरिकाले कथा भन्नु नै नाटक हो । अर्को परिभाषा पनि छ, राजनसँग,– त्यो हो, अभिनेताका लागि अभ्यास गर्ने माध्यम हो नाटक ।  दर्शकलाई अगाडि साक्षी राखेर प्रत्यक्ष कथा भन्ने माध्यम हो नाटक ।

० ० ०

राजनको पनि परिवार छ । आफ्नै छुट्टै संसार छ । जहाँ उनी जिउनुपर्छ । सके खुसी–खुसी, नसके जबरजस्त ओठका कापबाट निकालेको मन्द मुस्कान देखाएर भए पनि  । 

आम्दानीको भरपर्दो स्रोत छैन । महिनाको मसान्तमा खातामा पैसा जम्मा हुन सरकारी तथा कुनै गैरसरकारी संस्थाको जागिर छैन । सरकारले अनुदान दिँदैन । आए फाट्फुट्ट नाटक देखाउँदा बेचिएको टिकटबाट बचेको पैसा अथवा कुनै बेला एनजीओ तथा आईएनजीओको काम गरिदिएबापत प्राप्त हुने रकम । यही हो आम्दानीको स्रोत । कहिलेकाहिँ छोरीको स्कुलको बिल समयमै तिर्न नसकेको अमिलो भोगाइ पनि संग्रहित छ राजनको जिन्दगीमा । 

मोटाउँदै गएका स्कुलको मोटो रकम समयमै तिर्न अहिले आम नेपालीले सक्तैनन् । त्यसैले आम नेपालीको भोगाइ हो यो । तर पनि अभिभावक भएर परिवारका आवश्यकता पनि पूरा गर्न सकिन भन्ने उनको तुस भने मनमा रहन्छ कहिले–कहिले । 

यस्ता थुप्रै अनुभव छन् राजनसँग जुन चाहेर पनि उनी बिर्सिन सक्तैनन् । 

दुई वर्षअगाडि 

मोबाइल थिएटर सञ्चालन गर्ने ठूलो सपना थियो राजनको । मेहनतले आकार पायो । उद्घाटन भयो । धेरै मान्छे आए । राजनको प्रशंसा भयो । पत्रकारले अन्तर्वार्ता लिए । फोटो पत्रकारले तस्बिर खिचे । प्रशन्न थिए राजन । राति मिठो निद्रा पर्यो । संयोग बुबा पनि गाउँबाट काठमाडौं आएका थिए । 

भोलिपल्ट बिहान राजन दूध किन्न पसल गए । छोरीलाई बिस्कुट पनि किनिदि । फर्किँदै थिए, स्टेशनरीमा झुण्डाइएको पत्रिकामा उनले आफ्नै ठूलो फोटो देखे । तस्बिर छाप्ने ‘शुक्रबार’ म्यागेजिन थियो । खल्तीमा हेरे । बाँकी जम्मा १० रुपैयाँ । उनले पसलेलाई भने, “भाइ ! अहिले मसँग १० रुपैयाँमात्रै रहेछ । एक छिनमा बाँकी ५ रुपैयाँ ल्याइदिन्छु है ।”
पसलेले भने, “हुँदैन ।”  

उनी कोठा गएर यत्तिकै फालिएका सिक्का भेला गरेर पसलमा आएर आफ्नैबारे लेखिएको पत्रिका किनेर लगे । 

अभावको पीडाले मन अमिलो भएको थियो । तर गाँठो परेको मनभित्रै लुकाएर नक्कली मुस्कान ओठसम्म ल्याए र बुबालाई भने, “बुबा पत्रिकामा छोराको फोटो आएछ,  बबालै पो छ त ।”
बुवाले केही भनेनन् तर अनुहारमा खुुुसीका लाभाहरु एकैपटक तरंगित भए । मुसुक्क हाँसेमात्रै । 

“सायद त्यो बेला मेरो बुबाले छोराले ठूलो ट्रक किनेछ, अब कमाउँछ भन्ने सोच्नुभयो होला तर त्यो मेरो गाडी नभएर नाटक घर थियो,” त्यो क्षण मैले बिर्सनै नसक्ने भोगेको साह्रै दुर्लभ क्षण हो । बाहिरको सुन्दर संसार देखिए पनि भित्री तहसम्म पुग्दा भने संसार फरक पनि हुन्छ, जुन हेर्ने पहुँच सबैसँग सधै हुँदैन,” राजन खुसी लगत्तै आएको दुःखद क्षण सम्झन्छन् । 

० ० ०

राजनका कति समकालीनहरु अहिले नेपाली चलचित्रको शिखरमा यात्रा गरिरहेका छन् । कति त्यही बाटोमा छन् । उनका शिष्यहरु नाम र दामले मोटाउँदै गए । तर उनले त्यो शिखरको यात्रा कहिल्यै हिँडेनन् । अभाव होस् या समकालीनहरुको फड्को, उनले समकालीनको बाटो हिँड्ने लालसा नै पालेनन् । 

आक्कल झुक्कल केही चलचित्रमा देखिए पनि उनले चलचित्रका लागि कहिले पनि मरिहत्ते गरेनन् ।

आफैंसँग सिकेका व्यक्ति स्टार हुँदा उनलाई त्यसको लोभ कहिल्यै लागेन । “दयाहाङ राई अहिलेका स्टार हुन् । मलाई लाग्छ, उसको अहिलेको घेरा साँगुरो छ । नेपाल यातायात चढेर ऊ हिँड्न सक्तैन । चिया पसलमा बसेर चिया खान सक्तैन,” राजन खुल्छन्, “मेरो सार्वजनिक जिन्दगी म गुमाउन चाहन्न । हुन त उनीहरु जत्तिको मसँग प्रतिभा नहुन पनि सक्छ तर म सधै लो प्रोफइलमै बस्न रुचाउँछु ।”

करिब एक वर्षपछि हामीसँग कुरा गर्न तयार भएका उनी भन्छन्, “म चलचित्रमा अभिनय गर्दा पनि त्यस्तो भूमिका होस् भन्ने चाहना राख्छु । चलचित्र हेरेर हलबाट निस्किएको दर्शकले मलाई चिया पसल र बाटोमा नचिनोस् ।”

दयाहाङ हुन् या सौगात मल्ल, विपिन कार्की हुन् या सिर्जना सुब्बा अथवा बुद्धि तामाङ अहिलेका यी चर्चित नाम रङ्गमञ्चकै हुन् । यी कलाकारले चलचित्रलाई नाटक जस्तो पारिदए भन्नेपनि एउटा जमातले टिप्पणी गर्छ । राजन सहजै भनिदिन्छन्, “छैन, म यसलाई स्वीकार्दिन । केही समानता अवश्य होला तर चलचित्र र नाटकको भाषा बिल्कुल फरक छ । केही कलाकार कुनै चलचित्रमा हाबी भए होला । त्यसमा त्यो कलाकारको गल्ती होइन । निर्देशक आफ्नो कथामा स्पष्ट छ भने उसले कलाकारको लिमिटेशन कति हो तोक्न सक्छ । अन्यथा आफू स्थापित हुन कलाकारले आफूलाई सकेसम्म एक्स्पोज गर्छ ।”

राजनलाई लाग्छ भनेजस्तो सिनेमा बन्न सकेकै छैनन् । कति स्क्रिप्ट आए तीनलाई दिल खोलेर राजनले आजसम्म प्रशंसा गर्न सकेकै छैनन् । 

कला साधना हो । साधनाले व्यक्तिलाई पूर्ण बनाउँछ । कलालाई साधना मानेर त्यसमा डुबेका केही कलाकार पनि छन् उनको नजरमा । जो अहिले सेतो पर्दामा छन् । तर तिनको अभिनयमा राजन भने सन्तुष्ट छैनन् । 

किन ?

कारण अभिनयका लागि अभिनय गराइएन । केवल हाँस्न र हँसाउन अभिनय गराइयो । “मलाई लाग्छ उनीहरुले अभिनय गर्नै पाएका छैनन् । पाए भने उनीहरुले आफ्नो प्रतिभा मजाले देखाउने छन्,” उनी नरमाइलो मान्दै भन्छन्, “मैले पनि केही चलचित्र गरेँ । तर चलचित्रप्रति जुन मेरो सम्मान छ, त्यो सम्मान गर्ने बाटो मैले भेटिरहेको छैन । चलचित्र भनेको निकै गाह्रो काम हो । त्यहाँ चन्द्रमा पनि देखाउनुपर्छ । बागबजारको सवारी जाम पनि देखाउनुपर्छ । अस्तव्यस्त काठमाडौं रमाइरहेको जिन्दगी र त्यही सडकमा जिन्दगीबाट दिक्क लागेर थाकेको जीवन पनि देखाउनुपर्छ । तर यसलाई यति हल्का रुपमा लिइएको छ, त्यसले चलचित्रप्रतिको सम्मानलाई नै घटाइरहेको छ ।”

० ० ०

काठमाडौं रंगीचंगी जीवन सुनेका राजन ०५१ सालमा फलामे ढोका एसएलसी दिएपछि राजधानी छिरे । बाँच्नुपथ्र्यो, ६ महिना कुल्ली काम गरे । भाग्यले डोर्यायो, दूरसञ्चारमा जागिर मिल्यो । 
एकदिन एउटै घरमा बस्ने सुमित्रा भण्डारीले राष्ट्रियसभामा नाटक हेर्न लगिन् । 

नाटक के थियो ? 

राजनलाई घुर्मैलो याद पनि छैन । तर थाहा छ त्यो दिन जिन्दगी नाटकमा रहेछ भन्ने देखेको । नाटक हेर्ने लत लाग्यो । उनले दूरसञ्चारको जागिर नै छाडिदिए । 

लागे नाटकमा । ०५२ सालमै उनले नाटक खेले ‘चेलीको जिन्दगी’ । त्यसपछि यो नाटकको लतबाट उनी बाहिर निस्किनै सकेनन् । वीरेन्द्र हमाललाई भेटे । उनले यही क्षेत्रमा लाग्न प्रेरित गरे । 

लहडै लहडमा नाचघरको माहोल भेटे । त्यतै रमाए । ०५७ सालमा सुनिल पोखरेलसँग भेट भयो । सुनिल आफैमा नाटक स्कुल थिए । सुनिलसँगको त्यो भेट नै राजनको जिन्दगीको टर्निङ प्वाइन्ट बन्यो । बल्ल थाहा पाए उनले नाटकको सौन्दर्य चेत । अभिनयले मेलो समात्यो । जिन्दगीले बाटो भेट्यो । त्यसमै रमाउन थाले । गुरुकुल खुल्यो । त्यसमा काम गर्न थाले । सुनिलको संगतले उनलाई पोख्त बनाउँदै लग्यो । 

कहिलेकाहिँ उनी आफ्नै जिन्दगीलाई फर्किएर हेर्छन् ।  समीक्षा गर्ने प्रयत्न गर्छन् । जिन्दगीका कति भ्रम तोडिएको पाउँछन् । बाटोमा अवरोध गर्न आएका र आउनेहरुका अनुहार भल्झली आउँछन् । बैगुनीलाई गुनले मारेको सम्झन्छन् । 

जिन्दगी विगतमात्रै हैन । वर्तमान र भविष्य पनि हो । देखेका केही सपनाहरु पूरा भए, केही सपनाहरु अहिले पनि देखिएका छन् । राजनलाई नाटक देखाउन संरचनाको विकास र विस्तार गर्दै जानु छ । नाटकको स्वरुप पनि परिमार्जन र परिवर्तन गर्दै जानुछ । त्यसैले त उनी भन्छन्, “आजकाल रङ्गहरुको उतारचढावमा म केन्द्रित भैरहेको छु । त्यसमा नाटकको जिन्दगी खोजिरहेको छु ।”
दृढताको प्रतिमूर्ति हुन् राजन । गुरुकुल बन्द भए पनि विचलित नभएका र अग्रजहरु नै तगारो हाल्न उद्यत भएका बेला पनि अटल भएर बसेका रङ्गकर्मी हुन् उनी । नाटकसँग राजनले यस्तो सम्बन्ध गाँसे, त्यसलाई पछि विकास भएको कुनै पनि सम्बन्धले बिर्साउन त के हल्लाउन पनि सकेनन् । 

यसलाई पुष्टि गर्दै उनी भन्छन्, “संसारका सबै सुन्दर चिजहरु म गुमाउन तयार छु तर म नाटक गुमाउन चाहन्न र सक्तिन ।” 
 

तपाईंको मत